जेम्स बोस्वेल सिर्जना–सम्प्रदायभित्रका मान्छे थिएनन् तर उनी आफ्नो समयका सबैभन्दा प्रभावशाली साहित्यकार सेम्युल जोन्सन जुन कार्यक्रममा जान्थे, त्यहीँ पुग्थे । जसलाई भेट्थे, उनैको चियोचर्चो गर्थे । जे बोल्थे त्यो कतै लेखेर राख्थे । जोन्सनको मात्रै हैन, उनका समकालीन अन्य कविको पनि दिनचर्याको चुपचाप अभिलेख राख्थे । निम्ता नपाएका कार्यक्रममा भवन वा घरभित्र प्रवेश नपाए ढोकामै बसेर पनि सबै कुरा निया(ल्थे अथवा सुन्थे । धेरैले गाली पनि गर्थे तर उनी पर्वाह गर्दैनथे । अन्त्यमा ‘लाइफ अफ जोन्सन’ नाम गरेको, जोन्सकोे जीवनीको पुस्तक प्रकाशित भयो । आजको जस्तो प्रेसको विकास पनि भइनसकेको सन्दर्भमा उनले गरेको कार्यले अङ्ग्रेजी साहित्यमा जीवनी परम्पराको थालनीमात्रै गरेन, त्यस बेलाका धेरै साहित्यकारलाई अमर पनि बनाइदियो ।
जीवनी वा संस्मरण लेख्नेहरूको यस्तो महानता हुन्छ । सर्जकहरू आफ्नै बारेका अभिलेखलाई खासै व्यवस्थित गरेर राख्दैनन् । त्यसलाई बटुल्नु, समेट्नु, कोरिबाटी गर्नु, लिपिबद्ध गर्नु, सिलसिला मिलाउनु, सम्पादन गर्नु र प्रकाशित गर्नु आफैँमा एक कठिन तर पुनीत कार्य हो । यस्तै कार्य गरेर साहित्यकार तथा पत्रकार जयदेव भट्टराईले नेपाली साहित्यको ढुकुटीमा एक अनमोल कार्य गर्नुभएको छ । एउटामात्रै होइन, उहाँले यसरी अनेक ग्रन्थ प्रकाशित गर्नुभएको छ । जसले धेरै दिवङ्गत स्रष्टाहरूलाई अमरत्व प्रदान गरेको छ । त्यसै कडीमा जोडिन आएको छ, २०७६ सालमा प्रकाशित उहाँको संस्मरण ‘स्मृतिमा छोडेर जानेहरू’ । कृति जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा प्रकाशित गरिएको हो ।
लेखक भट्टराईको मान्यता छ— ‘कथा, कविता, निबन्ध, उपन्यास, नाटक आदि लेखनलाई सिर्जनशील लेखन भनिएजस्तै स्रष्टाहरूबारे लेखिएका शब्दचित्र, कुराकानी, अनुभूति आदि पनि सिर्जनशील लेखन नै हुन् ।’ आफ्नो यसै मान्यतालाई चरितार्थ पार्दै भट्टराईले स्रष्टाहरूबारे शुष्क सूचना, तिथिमिति, पुस्तकका सूची, सम्मान र पुरस्कारको चाङ थुपार्नुभन्दा आफ्ना संस्मरणहरूमा भेटघाटका रमाइला प्रसङ्ग, वैयक्तिक कुरा, जीवनबोध, विश्वदृष्टि, समालोचकीय चेत, मूल्य, मान्यता र अवधारणा तथा सिर्जनाप्रतिका दृष्टिबिन्दुहरूलाई बढीभन्दा बढी उत्खनन गरेर यस ग्रन्थलाई सुरुचिपूर्ण बनाउनुभएको छ । डायमन शम्सेर (वि.सं. १९७५) देखि कृष्णभूषण बल (विसं २००४) सम्मका स्रष्टालाई समेटेर उहाँले करिब सय वर्षको कालावधिभित्र जन्मेहुर्केका, साहित्यमा स्तुत्य योगदान दिएका र छोडेर गएका स्रष्टाहरूलाई श्रद्धाभावसहित यस कृतिमा समेट्नुभएको छ । यसमा समेटिएका ३६ जना स्रष्टा हुन्— डायमन्ड शम्सेर, गोविन्दबहादुर मल्ल गोठाले, फणीन्द्रराज खेताला, पुण्यरश्मि, धर्मराज थापा, कृष्णचन्द्रसिंह प्रधान, माधवलाल कर्माचार्य, इन्द्रबहादुर राई, देवकुमारी थापा, बुलु शर्मा, जगदीशशम्सेर राणा, कमलमणि दीक्षित, भवानी घिमिरे, राजेश्वर देवकोटा, सुन्दरप्रसाद शाह ‘दुःखी’, राधिका राया, नित्यराज पाण्डे, भीग विराग, सोमध्वज विष्ट, कृष्णप्रसाद पराजुली, वासु शशी, हेम हमाल, मोहनराज शर्मा, देवी शर्मा, राममणि रिसाल, वासु रिमाल ‘यात्री’, राममान तृषित, शिव रेग्मी, कुमारबहादुर जोशी, मनु ब्राजाकी, क्षेत्रप्रताप अधिकारी, जगदीश घिमिरे, प्रेमा शाह, दैवज्ञराज न्यौपाने तथा कृष्णभूषण बल । नेपाली साहित्यका उपन्यास, कथा, कविता, गीत, समालोचना, निबन्ध, जीवनी तथा अनुसन्धान फाँटका यी मनीषिहरूको यो तारापुञ्ज हरेक नेपाली साहित्यका पाठक, शिक्षक, सम्पादक, साहित्यिक पत्रकार, साहित्यिक इतिहासकार र अनुसन्धाताका लागि एउटा अनमोल र अपरिहार्य ग्रन्थ बन्न पुगेको छ । फेरि जीवनको लामो समय देशकै जेठो प्रामाणिक संस्था, गोरखापत्र संस्थानमा बिताउनुभएका भट्टराईले जुटाएका सूचना र तथ्यहरूमाथि विश्वास गर्न गाह्रो छैन । यस संस्मरणमा समेटिएका अधिकांश लेखकसँग उहाँको व्यक्तिगत सामीप्य पनि रहेको हुँदा यस सङ्ग्रहले सुनेका भरमा तयार गरिएका अन्य संस्मरण र जीवनीलाई बाटोमा टाढा कतै छोडिदिएर निःसन्देश धेरै अगाडि बढेको छ ।
छत्तीसजना स्रष्टा र साहित्यसेवीमाथि तयार पारिएका तीन दर्जन संस्मरणमा प्रत्येकमाथि दृष्टिक्षेप गर्नु यस छोटो आलेखको सीमाभित्र असम्भव छ । त्यसैले यसमा ती संस्मरणको स्वभावलाई सङ्केत गर्ने चेष्टा गरिएको छ । केही संस्मरणका प्रसङ्गलाई साक्ष्यका रूपमा उद्धृत गरिएको छ ।
जीवनीसँग नैसर्गिक रूपमा गाँसिएर आउने तिथिमिति, पुस्तक र पुरस्कार त छँदैछन् तर तिनका अतिरिक्त पाठकको दिमागमा कतिपय सोच र विचार पहिलोपल्ट झुल्कने गरी लेखकले नवीनता ल्याउनुभएको छ । डायमन्ड शम्सेर, गोविन्दबहादुर मल्ल तथा जगदीश शम्सेरजस्ता कतिपय लेखकको समय राणाकालको समयसँग पनि ओभरलेप हुने हुँदा त्यस युगका कतिपय सूक्ष्म पाटा पनि यस ग्रन्थमा आएका छन् । कृष्णचन्द्रसिंह प्रधानजस्ता चिन्तकहरूको सम्झनामा लेखनप्रक्रियाकै गुह्य पक्षमा दृष्टिक्षेप भएको छ, जसले सिर्जनशील लेखकलाई फाइदा पु¥याउने निश्चित छ । इन्द्रबहादुर राईको प्रसङ्गमा लेखकीय उद्देश्यमाथिकै गहिरो चिन्तन पुस्तकले समेटेको छ । देवकुमारी थापा बारेको निबन्धले साहित्यिक प्रगतिमा कसरी साहित्यकारहरूबीचको परिचय र सामीप्य एउटा सिँढी बन्छ, त्यसको सुन्दर उल्लेख गरिएको छ । यसै सन्दर्भमा हाम्रो बालसाहित्यले आजसम्म पनि अपेक्षाकृत उचाइ लिन नसक्नुका केही कारणको पनि उत्खनन गरिएको छ । पलायन, पुरुषप्रधान समाजमा महिला लेखकका भोगाइ, राजनीति र साहित्यको शत्रुवत् सम्बन्ध, गरिबी र लेखकको विरोधाभासपूर्ण सम्बन्ध, साहित्य र राज्यको उपेक्षा, लेखनमा मौलिकताको प्रश्न, सङ्घसंस्था, साहित्यक–राजनीतिक आन्दोलन आदिका प्रसङ्गले सपाट जीवनीभन्दा धेरै सरस यी संस्मरणलाई बनाएको छ । करिब करिब सबै साहित्यकारका जीवनप्रसङ्गमा कतै न कतै, कुनै न कुनै प्रकारको पीडा र प्रतिकूलता छ तर सबैले एउटै बलियो सन्देश प्रवाह गरिरहेको प्रतीत हुन्छ— सिर्जना सबैभन्दा ठूलो कुरा हो । अरू सब तपसिलका कुरा हुन् । अर्को कुरा, स्रष्टा अक्षरमै अमर हुन्छ, अरू कुनै अभिलेखमा हुँदैन ।
यी तमाम सन्दर्भमा हेर्दा यो एक उत्कृष्ट पुस्तक हो । अँ, केही प्राविधिक कुरा भने छन् । कृतिकारले लेखकहरूका भनाइ समेट्दा छुट्टै, इन्भर्टेड कमामा वा अर्को अनुच्छेदमा राख्नुपर्ने चीज पनि आफ्नै अनुच्छेदमा मिसमास पार्नुभएको छ । पुस्तकहरूका नाम कि इटालिक कि बोल्ड गर्ने अभ्यास छ, जो यहाँ मिचिएको छ । केही छिटपुट त्रुटि छन्, जो पेसाले नै सम्पादक भएका मान्छेले नगरिदिएको भए हुने ।
महेश पौड्याल