logo
२०८१ मंसिर १३ बिहीवार



तिब्बतसँग केर्मीको ऐँचोपैँचो

नियात्रा

शनिवार |


तिब्बतसँग केर्मीको ऐँचोपैँचो


युवराज नयाँघरे

आँखाको पाले भयो ज्यान ! निद्रा लागेन । झिँगाको भुनभुन र खस्रो कार्पेटले निद्रा ल्याएनन् आँखामा । क्यै गरे नि आएन । निद्रा आउला र आराम गरुँला भनेको शरीरले पाले भएर सिङ्गो रात हेरविचार ग¥यो आँखालाई । ओहो, राति त भीरकै फेदीमा बास बसेका रहेछौँ हामी । उत्तरतिर गुँडुल्किन तयार भएका बडेमानका ढुङ्गा रिले रेसका लागि तयार भएका देखिन्थे । कसो हामी जस्तै यी पनि बास बसेछन् राति ।
०००
३१ जेठ । सात बजे बिहान । पश्चिमतिर बटारिई–बटारिई गइरहेको छ बाटो । गाउँलेले वर्षौं अघि गोरेटो मात्र कोरेका थिए तर अहिले ती गोरेटालाई डोजरले फोरफार पारेर फराकिलो र ठूलो पारेका छन् । मोटरैसम्म कुद्ने पो कहिले होला ? घुम्ती पुग्नुअघि केही घर टुप्लुकिए । माथि लेकमा चौंरी र घोडा राखेर यी घरमा झरेथे गाउँलेहरू । छुर्पी, घिउ पाइने सूचना भित्तामा लेखिएको उभिएरै पढ्दै थिएँ म ।
‘यो घरमा त्यसो भए दूध पाइएला ?’ कन्जोगले पिँढीतिर लगी पो हाले । बाटो घुमेर केर्मीतिर लाग्यो । राति हामी कम्मर कसी आएका भए नि हुन्थ्यो– केर्मीमा । किन हो डेढ घण्टा वरै बास बस्न पुगेछौँ ।
०००
बाटो मोडिएर उत्तर लाग्दै गर्दा आमा, छोरी र भगौडे लामा आइपुगे । लामा पढ्न गएको किशोर भागेथ्यो धर्मशालाको गुम्बाबाट । उसले पटक–पटक भन्यो– ‘बाले चौँरी हेर्न नआए म मर्छु भने । अनि म आएको... !’ पेमा छिटो हिँड्थ्यो । आमाछोरीकै भारी उसले बोकेथ्यो । आमाचाहिँ मौका प¥यो कि पेमालाई हप्काउँथी । सोनाम पनि पेमासँगै लम्किहाल्थी ।
बिस्तारै पाइला सार्ने भएकाले नवाङ निमा र मेरो पारा मिल्यो । अझ उसले अग्ला हिल भएको जुत्ता लाएकी थिई । निमा प्रायः हिन्दीमा बोल्थी । मसुरीमा पढेकी ऊ १० वर्षपछि हुम्ला आएकी रहिछ । पटक–पटक भन्थी– ‘आमाले कुरै बुझ्नुभएन । बिहे होइन पढाइ ठूलो हो ।’
आमाले बिहे गर्न ल्याएकी रहिछ– निमालाई । ऊ त्यो कुराले मुर्मुरिइरहेकी थिई । ‘फेरि तिब्बतकै केटा चाहिने रे !’ ऊ पड्किइरहन्थी बारम्बार । ‘यहाँ के छ र ? मान्छे बाँच्नका लागि बाँचेका छन् । अरू के छ पहाड र विकटतामा ?’ हुम्ला कर्णाली सुसाइरहेको छ । मास्तिर सेता हिउँका चुचुरालाई बादलले छेक्ने र छोड्ने भइरहेको छ । उत्तरतिरका रूखले नछोपेका अरिमट्ठे पत्रे पहाड झरुँला–झरुँला देखिन्छन्– हाम्रै टाउकोमाथि ।
०००
बाटो अलिक उकालोपछि स्वात्तै ओरालोमा पुग्दा केर्मीको सौन्दर्य ह्वात्तै आयो आँखामा । चारपाँच घर बाटातिर टुप्लुकिए । हरिया रूख र जौको लहलहले केर्मी लोभलाग्दो देखियो । बस्ती चिरेर बाटो पश्चिम गएथ्यो । उत्तरतिर झुरुप्प रहरलाग्दो बस्ती देखियो ।
लामा कुरिरहेथे मलाई– ‘अब बस्ती पस्नुपर्छ !’ माटे घरको आँगन भएर मास्तिर हामी लाग्यौँ । उकालो बाटोले हामीलाई केर्मी गाउँतिर लगिरहेको छ । बाटोमा महिलाहरू गरा–गरामा आलु गोडमेल गरिरहेका थिए । खोल्सोमा हात धोएर उकालो लागेँ म । त्यो गोरेटोले गाउँमै पु¥यायो । यहीँबाट नि केर्मीका खेतबारी, गरा, तलको कर्णाली र उत्तरतिरका ससाना टहराहरू गजबले देखिए । ‘यो पूरै लामा बस्ती !’ मुनले चिनाए । बिहानको तातो घाम आइरहेको छ । जाउँ कि बसुँ भइरहेछ– मेरो ज्यानमा चिसो । आरुबखडा र स्याउका हाँगाले बाटै छेकेथे । हाँगाका चेपबाट केर्मीको नीलो अकास हेरेँ मैले । पाले लामाको घरमा हामी पुगेका थियौँ । केर्मीका बूढा, पुराना र माझिएका अनुहारमा परिचय रहेछ उनको ।
०००
उत्तर–दक्षिण फैलेको केर्मीमा ८० घर थिए । जौ पाकेर पहेँलपुर थियो, तल खोलादेखि माथि टाँतौ मेलाको पाखोसम्म । तिब्बतसँग हुम्लीहरूको गहिरो आत्मीयता र नाता थियो । बिहेवारी, नातागोता, चाडबाड, किनमेल, ऐँचोपैंचोसमेतको व्यवहारमा जोडिएथे– हुम्ली र तिब्बतीहरू । हिजोआज ती सबै कुरा युआनमा गाँसिएछ । पालेले सुनाए– ‘हामी सबै लामा हौँ । नागरिकता बनाउन जाँदा कर्मचारी आफैँले अनुहार हेर्दै अनुमानको भरमा तामाङ लेखिदिए । सबैको नागरिकतामा तामाङ थर छ । खासमा हामी लामा !’
केर्मीमा गहुँ, कागुन, चिनु र फापर हुँदोरहेछ । रातो र दूधे गरी दुईखाले चिनु फल्दोरहेछ केर्मीमा । गुलियो र तीते गरी दुई फापर फलाउँदारहेछन् । केर्मी गाउँमा पहिला–पहिला धान पनि रोपिएछ कर्णाली तीरमा तर धान हरियै भएछ । उर्गेन लामाले सम्झिए– ‘धानको हरियो नल काटेर सुकायौँ । पछि गोरुलाई दियौँ । हुम्लीलाई भात जस्तै गोरुलाई भाते नल मन पर्दोरहेछ । खुबै खाए गोरुले ।’ ‘तातोपानीले हामी धनी छौँ ।’ पाले भनिरहेथे ।
०००
घाम उकालिएपछि हामी केर्मीको बस्ती चिरेर उत्तरतिर लाग्यौँ । बाजुरा, अछामसम्म पाठा चराउन हिउँदमा जाने चलन हुम्लीहरूको रहेछ । बर्खामा लिमी–लाप्चा पुग्थे । पाठासँगै भोटको नुन र ऊन धनगढीमा लाने गर्थे रे हुम्लीहरू । फर्कंदा चामल ल्याउने थिति लामैसम्म भएछ । जति–जति गाडी माथि आउन थाल्यो– चौमुला, साँफेबगरसम्म पाठा लिएर चामल लिन जाने क्रम स्वात्तै घट्न थालेछ । हरेक घरमा ४०–५० देखि ३–४ सय पाठा पाल्थे रे हुम्लीले । उर्गेनकै पनि २ सय पाठा रहेछन् ।
‘अहिले एक आँखा देखिन्न पाठाको !’ उर्गेनले सम्झिए पुराना कुरा । ‘पाठा नहुनेको एक माना चामल पनि पाउँदैनथे ।’ पालेले उर्गेनतिर औँल्याएर भनेथे– ‘२२ वर्ष गया हुन् ।’
०००
केर्मीको सिस्नो साह्रै मीठो मानिँदोरहेछ । यहाँ बाह्रैकाल जस्तो सिस्नु उमिँ्रदोरहेछ । लामा भाषामा शाराक भनिँदोरहेछ सिस्नोलाई । केर्मीको पुरानो र चल्ती नामै ‘शाराक’ रहेछ । अपि र सैपाल लोभ्याएर अग्लिइरहेथे दक्षिणी विकट कुनातिर । हुम्लाको पश्चिमी अन्तिम गाउँ थियो– चाला । त्यहाँ जम्मा ३२ घर रहेछन् लामाहरूका । चौँरी पालेर बसेका छन्– चालाका गाउँले ।
घरिया गाउँको नाममा नि परिचित रहेछ केर्मी । जाँड, चिया राख्नका लागि माटाका हाँडी बनाइँदोरहेछ केर्मीमा । लामाहरू, घरिया भन्छन् त्यसलाई । केर्मीकै नोर्बु छिरिङ लामाले घरिया बनाउँथे र वरपरकाहरू घरिया बनाउन यहाँसम्म आइपुग्थे रे । केर्मीका गाउँलेले मरेका मानिसलाई जलाउने, गाड्ने र कर्णालीमा फ्याँक्ने निर्णय लामाले हेरेपछि मात्र गर्दारहेछन् ।
०००
अचेल केर्मीको धेरै कुरा फेरियो रे । जङ्गलको कमी, चरनको अभाव, सडकको विस्तार भएर पाठा पाल्ने चलन पूरै छुटेछ । कृषितिर मान्छे जुटेछन् । स्याउ, ओखर फलाउन थालेछन् । फाँटभरि घोडा थिए ।
कुदाकुदमा थिए फापर छर्ने, उवा टिप्नेहरू । ‘पर्गे लेक उता मात्र दुम्सी र भालु थिए । अचेल आलु खान यारीसम्म आइपुगेका छन् ।’ उर्गेनले भने । उत्तरतिरको टाँतौं मेलाको पाखोमा ३८ वटा गुफा थिए । गुफा देखाएर कन्जोगले बताए– ‘केर्मीका वृद्धवृद्धाले बूढेसकाल काट्छन् यतै ।’
खाने, बस्ने परिबन्द सन्तानले, बाउआमालाई गुफामा गरिदिँदारहेछन् । बूढाबूढीहरू गुफामा काल कुरी बस्छन् रे । लामाहरू छाङबाङ भन्दारहेछन् गुफालाई । ‘अलिकति चामल लगेर राखिदिन्छन् । बूढाबूढीहरू त्यो नि पकाएर खान सक्दैनन् ।’ कति बूढाबूढी माला जपिरहेका, ऊन कातिरहेका र गुफातिर गइरहेका देखिन्थे ।
०००
‘यीँ बसिराखे पत्तो पाइन्न । तल झरे गाडीको पत्तो पाइन्छ कि ?’ कन्जोगलाई बताएपछि केर्मीबाट तल बजारतिर झ¥यौँ हामी । दक्षिणतिर सिमकोट, हिल्सा जोडिन–जोडिन लागेको बाटो थियो । भर्खरै खनिए पनि बाटो पूरा नभएको ठाउँसम्म त्रिपालमा छाप्रे पसल ठडिएथे । त्यहाँबाट भोलि बिहान अलिक परसम्म टिपर पाइने खबर सुनेकाले सडकतिर जान हतारिएको थिएँ म ।
कान्ला, तेर्सो र आली नाघ्दै तल बाटोमा आयौँ । बाटोमुनि सेतो त्रिपाल थियो । अरू नि केही पाल हालिएका पसल थिए । त्रिपालतिर पस्यौँ । पुसी डोमाको त्रिपाल रहेछ । पाल तातेर रातो अनुहार अरू राप्पिएर आगो फुक्दै थिइन् पुसी । ‘यो गर्मीलाई खेदौँ !’ मैले भनिसक्दा ल्हासा बियर अगाडि आइसकेथ्यो । त्यै बेला कन्जोगले गाए– ‘झिँगा फिरिरी, उडेर हैन गुडेर, झिँगा फिरिरी !’
गिलास, बोतल, ओठतिर झिँगाका बथानले घेरिसकेथे । खानभन्दा नि झिँगाबाट जोगिनै महाभारत ! केर्मीउता याल्वाङ, यांगर, मुचु, तुम्कोट, यारी र हिल्सा गाउँ रहेछन् । बाटाभरि यस्तै पाल बजार छन् भने– कन्जोगले । पालभित्र तेलका ड्रम, प्लेट, कप, जुत्ता, ब्याग सबै चिनियाँ थिए । बियर, अण्डा, माछामासुका प्याकेट, चकलेट पनि चिनियाँ नै थिए । खाने थियौँ हामी नेपाली ।
०००
कन्जोगका मामा थिए पालभित्र । ‘नुन र ऊन लिएर कति गएँ कति !’ कोरला गएका डुक थुन्डुपले भने– ‘त्यो बेला लिमे चल्तीमा थियो अहिले छैन । ताक्लाकोट बढ्यो, लिमे सुक्यो ।’ थुन्डुपका ८० भेडा, १० चौँरी, १०० जति पाठा रहेछन् । लिमेबाट नुन र ऊन खेपेरै जीवन बितेको रहेछ उनको ।
ताक्लाकोट खोलेपछि यताको अन्न जान छुटेछ । बरु काठ चोरी–चोरी उता भित्रिने गर्छ रे । आँटा, जौ, उवा, कोदो, गहुँ जान्थ्यो हुम्लाबाट । थुन्डुपले भने–
धधध‘ताक्लाकोट पाल्ने हामी हौँ । अहिले अनाज माथिबाट ल्याउँछन् ।’
ऊनको चलनै हरायो । ऊनको दोचा नि छुट्यो तिब्बतीका ज्यानबाट । सीमा छेउमा नातागोता चल्थ्यो । त्यो नि चिनियाँ सीमाले हटायो रे । थुन्डुपले पुरानो कुरा सम्झिए– ‘पहिला आउजाउ थियो– वारिपारि । यताबाट त जान्छन् अहिले पनि । उताबाट पाहुना पनि आउँदैनन् ।’
‘पहिला निकै चौँरी पाल्थ्यौँ । अहिले कम भो । लिमेकाले पाल्छन्– चौँरी र च्याङ्ग्रा । तिब्बतमा हिउँदमा चौँरी चराउँदै जान्थे यताका । अहिले भोट जान दिँदैन ।’ थुन्डुपले भने– ‘च्याङ्ग्रा पाल्नेहरू सबै काठमाडौं पसे ! केर्मीका धेरैजसो व्यापार गर्न कोरलातिर जाने गर्थे । अहिले पासपोर्ट खोज्छन् सिमानाका जाँचकीले । धेरैसँग पासपोर्ट हुँदैन । अहिले रोक्छन् पुलिस र सेनाले ।
तीन वर्ष यता फाट्टफुट्ट गाडी पनि आएको देख्दा अनौठो लागेको छ थुन्डुपलाई । बीस दिनमा हिँडेर काठमाडौं पुगेका थुन्डुपले भने– ‘वैशाखदेखि कात्तिकसम्म बाटो छेउमा पसल थाप्ने, त्यसपछि गाउँ जाने ।’
०००
पालबजार झिलिमिली देखियो राति । पाँच÷छवटा पसल भए पनि पालभित्रको उज्यालोले एउटा बेग्लै चमक दिन्थ्यो । बेला–बेलामा हावा बटारिएर उडाउन खोज्थ्यो । त्रिपालमा सुत्ने व्यवस्था भएछ । अबेरसम्म म बाहिरै बसेँ । कर्णाली सुसाएको सुनिरहेँ । बादल, तारा र हिउँका थाप्लामा मन कुदाइरहेँ ।
जिउलोमा पानी लाउने पुसीका खसम साँझ अबेर फर्के– ‘गोठ गएको थेंँ !’ आज पनि म सुत्न सकिनँ– सेता भुसुनाले शरीरैभरि टोकेर हैरानै पारे । यताउता फर्किंदा र ओल्टोकोल्टो गर्दागर्दै आँखाको निद्रा भागिसकेथ्यो मेरो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?