डा. दीनबन्धु शर्मा
वसन्तको यो पल्लो छेउ
किन काम्दछु खै यसरी थरथर
अर्धरात्रिको नीरवतामा
आँत सुकेको हरहर हरहर
भटटट भटटट
तिम्रो घोडा टाप प्रहार
त्यस्तै भटभट यता पनि
आफ्नै मुटुको यत्रो भार
चुसिरहेछ राहुल आज
छाती मेरो बारम्बार ।
साइत तिम्रो पनि यही बेला
कन्थकको त्यो चर्को स्वर
घोडा चढ्ने तिम्रो छायाँ
मै अबला कति लाचार
पुरुषार्थको घोडा टाप
यो मुटुमा हो किन भार ?
एकैचोटि भटटट भटटट
दुवै चोट मैमाथि प्रहार
मधुमासमा एकै डल्लो
यादहरूका कति अवतार ।
दशवर्षे मधुरात बिती
खुल्दा आँखा खुल्छ बहार
हामी कौसीबाटै खस्दा
फूल बिछ्यौना सुकुमार
तिम्रो स्वरमा प्रेमध्वनि भै
गुञ्जिरहेको बारम्बार
(एक्लै भाग्यौ हाय विधाता !)
प्रश्न एउटा अन्तर्मनमा
आइरह्यो यो तारन्तार
हाम्रो सुखमय सहयात्रा त्यो
प्रेम थियो वा व्यभिचार ?