logo
२०८१ मंसिर ९ आईतवार



घुम्छ घडी धेरै ढिलो

शनिवार |


घुम्छ घडी धेरै ढिलो


एस्पी कोइराला

घुम्छ घडी आफैँ ढिलो, बिदाइको बेला
त्यही घडी घुम्छ छिटो, बधाईको बेला ।।१।।

कहिले हिँड्छ साह्रै ढिलो, कसैलाई छिटो
घामछायाँको जिन्दगी हो, उपहार मिठो ।
रातले सास फेर्न भुल्छ, विछोडको पलमा
धड्कनभित्र जुन फुल्छ, मिलनको क्षणमा ।।२।।

सँगै हिँड्न नसक्नेलाई, छोड्छ पर्खिंदैन
गल्ती भूल भयो भनी, पछि फर्किंदैन ।
सूर्य चन्द्र ढिलो सर्छ, पर्खाइको पलमा
खुसी भाग्न हतार गर्छ, रोजाइको क्षणमा ।।३।।

घुम्छ घडी आफैँ ढिलो, बिदाइको बेला
त्यही घडी घुम्छ छिटो, बधाईको बेला ।।४।।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?