डा. रवीन्द्र पाण्डे
जनस्वास्थ्य विज्ञ
कोरोना भाइरसको सङ्क्रमणबाट नेपाल पनि अछुतो रहने सवाल थिएन । अन्य देशको अवस्था देखेर हामी यति भयातुर भयौँ कि दोस्रो केस देखिनेबित्तिकै बन्दाबन्दी ग¥यौँ । निश्चय नै यो बन्दाबन्दीको कारण कोरोना भाइरस हवाईजहाज चढेर नेपाल आउन पाएन । आएको भए पनि घरभित्र थुनिँदा निसास्सिएर म¥यो, त्यो निर्जीव भाइरस । बन्दाबन्दीका कारण कोरोना भाइरसको प्रचार भयो, प्रसार भने हुन पाएन ।
पृथ्वी नै ध्वस्त पार्नसक्ने क्षमता भएका मुलुक पनि यतिखेर आँखाले देख्न नसक्ने नाथे भाइरससँग माघको जाडोमा जस्तै थुरथुर कामिरहेका छन् । भाइरसका कारण लाखौँ व्यक्तिको निधन भएको छ । करोडौँ नागरिकको रोजगारी गुमेको छ । विश्व अर्थतन्त्र धराशायी भएको छ ।
नेपालमा बन्दाबन्दी भएको झण्डै तीन महिना पुग्न लागिसक्यो । बन्दाबन्दीको सुरुमा देखिएका भोज र मोज अहिले चिन्ता र सोचमा परिवर्तन भएको छ । सम्भ्रान्त वर्गको व्यवसाय चौपट भएर हात उठाउने स्थितिमा पुगेको छ । मध्यमवर्गका व्यक्ति न मागेर खान सकेका छन्, न कमाएको बाँकी छ । निम्न आय भएका व्यक्ति त रोगले भन्दा भोकले मर्ने चिन्तामा आधा पेट खाएर प्राण धानिरहेका छन् ।
बिकसित तथा सामाजिक सुरक्षाको राम्रो प्रबन्ध भएका देशले सबै वर्गलाई आ–आफ्नो क्षति न्यून गर्न ठोस राहतको व्यवस्था गरेका छन् तर हामीकहाँ राहतको नाममा कतै दाल र चामल वितरण गरिएको छ, कतै एउटा चाउचाउ र दुईवटा मास्क । मुखमा मास्क लगाएपछि खान नपर्ने भए बन्दाबन्दीलाई लम्ब्याउन कसैलाई आपत्ति हुने थिएन तर मास्कले भोक रोक्न सक्दोरहेनछ ।
कोरोना सङ्क्रमणको आयु हुने विभिन्न अध्ययनले देखाएको छ । संसारमा फैलिएका भाइरल रोग जस्तै– एचआईभी र एड्स, स्वाइन फ्लु, बर्ड फ्लु आदिको ठोस औषधि वा खोप अहिलेसम्म पत्ता लागेकोे छैन । एचआईभी र एड्सको उमेर ४० वर्ष पुगेको हामीलाई अवगत नै छ । अन्य भाइरल रोग पनि कम उमेरका छैनन् । अहिले कोरोना भाइरसमा चलाइएका औषधि पनि ‘अड्को पड्को तेलको धूप’ मात्रै हुन् । विज्ञान रन्थनिएर कहिले मलेरियाको औषधिको शरणमा पुगेको छ त कहिले इबोलाको औषधिको शरणमा । कहिले जापानी इन्फ्लुएन्जामा प्रयोग हुने औषधिको शरणमा त कहिले सार्स र मर्स रोगका औषधिको शरणमा । त्यति मात्र होइन, गाँजा, तीतेपाती, गुर्जो, बेसारदेखि जुम्राको औषधि आइभरमेक्टिनसम्म बिज्ञान दौडिरहेको छ । खोप निर्माणका लागि संसारका सयभन्दा धेरै प्रयोगशालामा ‘तालु खुइले’हरू ‘ट्रयाल एण्ड इरर’मा पसिना बगाइरहेका छन् । कोरोना सङ्क्रमणबिरुद्ध खोप कहिले आउँछ ? हामीले कहिले पाउँछौँ ? यी प्रश्नको उत्तर पाउन एक÷दुई वर्ष वा अझै लाग्न सक्छ । ७० प्रतिशतभन्दा धेरै जनसङ्ख्यामा रोग फैलिएर बाँकी ३० प्रतिशत जनसङ्ख्यालाई ‘हर्ड इम्युनिटी’ हुने परिकल्पनामा पुग्न पनि हामीले लामो र खतरनाक बाटो हिँड्नुपर्ने हुनसक्छ । तसर्थ अबको हाम्रो बाटो भनेको यो भाइरसलाई छल्दै हाम्रो जनजीवन सहज बनाउने हो ।
कसैले कोरोना सङ्क्रमणलाई ‘फ्लु’ अर्थात् रुघाखोकीसँग तुलना गरेका छन् । कसैले कोरोना सङ्क्रमण भयो भने मरिहालिन्छ भन्ने भ्रम राखेका छन् । यी दुवै सोच अतिवादी हुन् । सामान्य रुघाखोकी लागेको एकजना व्यक्तिले औसत १.३ जनालाई यो रोग सार्न सक्छ भने कोरोना सङ्क्रमित एकजनाले औसत ३ जनालाई यो रोग सार्न सक्छ । एकजनाले १.३ जनालाई, १.३ जनाले अर्को १.३ जनालाई गर्दै १० पटक यो चक्र पुग्दा १४ जनामा रुघाखोकी सर्छ भने कोरोना सङ्क्रमण एकजनाले तीनजना, तीनजनाले नौजना, नौजनाले २७ जना हुँदै १० पटक यो चक्र घुम्दा ५९ हजार ४९ जनालाई सर्न सक्छ । तसर्थ हामी सबै गम्भीर भएर यो भाइरसको गुणन तोड्न सजग हुनु जरुरी छ ।
नेपालमा सङ्क्रमितको सङ्ख्या बढिरहेको, छिमेकी भारतमा जुलाईसम्ममा दशौँ लाख सङ्क्रमित हुनसक्ने अनुमान गरिएको, सिमानामा बैज्ञानिक ढङ्गले परीक्षण तथा क्वारेन्टाइनको व्यवस्था नगरिएको, लाखौँ नेपाली असुरक्षित तरिकाले आफ्नो थातथलोमा जाने क्रम बढिरहेको हुनाले आगामी तीन महिनामा नेपालमा सङ्क्रमितको सङ्ख्या ३० हजारसम्म पुग्ने अनुमान गर्न सकिन्छ । यस्तो अवस्था हँुदाहुँदै पनि बन्दाबन्दी गरेर घरमै बस्ने क्षमता हामीसँग छैन । अबको विकल्प भनेको सुरक्षा र रोकथामका उपाय अपनाएर आफ्नो काम गर्ने नै हो । छ फिटको व्यक्तिगत दूरी, मास्क, चस्मा, पञ्जा र बाहिरी पोसाकको प्रयोग, साबुनपानीले हात धोइरहने तथा भीडभाडमा नजाने नै हो । त्यस्तै जनजीवन सुरक्षित र सहज बनाउन तलका उपाय अवलम्बन गर्नु जरुरी छ ।
- बिना काम घर बाहिर नजाने । भीडभाडमा नजाने ।
घरबाहिर जाँदा सही तरिकाले मास्कको प्रयोग गर्ने, चस्मा लगाउने, सकभर पन्जा पनि लगाउने । पातलो ज्याकेट–ट्राउजर र साबुनपानीले धुन मिल्ने सेन्थेटिकको जुत्ता लगाउने ।
बाटोमा, कार्यस्थलमा वा पसलमा छ फिटको दूरी
कायम राख्ने ।
नाक, मुख, आँखा तथा अनुहारमा नछुने । छुन परेमा साबुन पानीले मिचिमिची हात धुने । झोलामा ‘ह्याण्ड स्यानिटाइजर’ राख्ने । बाटोमा वा साबुनपानी नभएको ठाउँमा ‘ह्यान्ड स्यानिटाइजर’ प्रयोग गर्ने ।
सकभर रेलिङ, टेबुल वा अन्य ठाउँ नछुने ।
तरकारी बजार तथा डिपार्टमेन्टल स्टोरमा भीडभाड हुने भएकोले स्थानीय किराना पसल र तरकारी पसलबाट किन्ने बानी गर्ने ।
कार्यस्थल जाँदा खाजा तथा पानी आफैँले लिएर जाने ।
रुघाखोकी तथा ज्वरो आएका व्यक्ति घरमै बस्ने । घरका सदस्यसँग पनि दूरी कायम गरेर बस्ने । गाह्रो भएमा मात्र स्वास्थ्य संस्थामा जाने ।
सिनेमा हल, स्विमिङ पुल, जिम, नाइट क्लब, रङ्गशालालगायतका भीडभाड हुने ठाउँ केही महिना नजाने ।
रेस्टुरेन्टलाई पटकपटक सङ्क्रमणरहित बनाएर, सामाजिक दूरी कायम गरेर तथा कर्मचारीलाई होटेलमा लगाउने पीपीईको व्यवस्था गरेर सञ्चालन गर्ने ।
निर्माणकार्यमा धेरै कामदारको रोजगारी गाँसिएकाले भौतिक दूरी कायम गरेर सुचारु गर्ने ।
खाली भएका पार्टी प्यालेस, सार्वजनिक भवन तथा खेलकुद स्थानलाई भाडामा लिएर त्यहाँ मजदुर बस्ने व्यवस्था मिलाउने । उनीहरूलाई बसमार्फत कलकारखानामा पु¥याएर उद्योग सञ्चालन गर्ने । सम्भव भए उद्योगमा आवासीय व्यवस्था मिलाउने । भौतिक दूरी कायम गर्ने । मास्क अनिवार्य गर्ने ।
बैङ्क, मालपोत, कर कार्यालय, बिद्युत कार्यालय, दूरसञ्चारलगायत धेरै आवतजावत हुने कार्यालय बिहान र अपराह्न गरेर दुई चरणमा चलाउने । फोन वा अनलाइनबाट पालो र समय लिएर त्यही समयमा जाने व्यवस्था मिलाउने ।
यातायातका साधनलाई जोर र बिजोर प्रणाली लागु गर्ने ।
सार्वजनिक यातायातलाई हरेक पटक धोएर सङ्क्रमणरहित बनाउने, बस स्टाफ तथा यात्रुले मास्क, चस्मा तथा पञ्जा लगाउने, बसमा कम्तीमा एक मिटरको दूरी कायम हुने गरी यात्रु राख्ने ।
सङ्क्रमित क्षेत्र सील गर्ने । ग्रिन जोनबाट लामो दूरीका बस सुरु गर्ने । यसो गर्दा माथि भनेका तरिका अपनाउने । यात्रुले बाटो खाजा÷खाना आफैँले लिएर जाने वा खानाको प्याकेट किनेर भौतिक दूरी कायम गरेर खाने ।
आन्तरिक हवाईजहाज ‘ग्रिन जोन’बाट चलाउने । हवाईजहाजलाई प्रत्येकपटक सङ्क्रमणरहित बनाउने । यात्रुलाई मास्क, पञ्जा, भाइजर तथा स्यानिटाइजरको व्यवस्था गर्ने । लगेजलाई बाहिरबाट सङ्क्रमणरहित बनाउने ।
पैदल दूरी भएको स्कुलमा भर्ना गर्ने व्यवस्था मिलाउने । यो सम्भव नभए स्कुल बसलाई सङ्क्रमणरहित बनाउने, भौतिक दूरी कायम गराउने, मास्क चस्मा पञ्जा स्यानिटाइजर अनिवार्य गर्ने । एउटा कक्षामा ३० जना विद्यार्थी छन् भने १५ जनालाई एक दिन र १५ जनालाई अर्को दिन छुट्टी दिएर भौतिक दूरी कायम गर्ने । कुनै विद्यार्थीलाई रुघाखोकी लागेमा, ज्वरो आएमा घरमै बस्न लगाउने । विद्यालयमा शौचालय थप्ने । सफा गरिरहने । साबुनपानी तथा स्प्रिट कपासको व्यवस्था गर्ने । सामूहिक प्रार्थना नगर्ने । स्कुलमा धेरै ठाउँ छ भने अस्थायी संरचना बनाएर कक्षाकोठा थप्ने । कलेज पनि यसैगरी सञ्चालन गर्ने ।
क्वारेन्टाइनमा एकैपटक एउटा समूह राख्ने । त्यसमा नयाँ एकजना पनि नथप्ने । बीचमा नयाँ व्यक्ति थपेमा नयाँको सङ्क्रमण अरूलाई सर्न सक्छ । क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने ।
सामान्य समस्यामा अस्पताल नजाने । अस्पतालबाट सङ्क्रमण सर्ने सम्भावना धेरै हुन्छ । ठूला केही अस्पताललाई रुघाखोकी, ज्वरो तथा कोरोना अस्पतालका रूपमा विकास गर्ने । त्यहाँ कोरोना सङ्क्रमणको परीक्षण, उपचार, भर्ना, आईसीयू तथा भेन्टिलेटरलगायत सबै सुविधाको व्यवस्था गर्ने । अरू अस्पताललाई सङ्क्रमित नबनाउन उच्च सतर्कता अपनाउने ।
कोरोना सङ्क्रमण पोजिटिभ देखिँदैमा अस्पताल भर्ना नगर्ने । घर तथा होटेलमा आइसोलेसनको व्यवस्था गर्ने । घरमा वातावरण नभए सामुदायिक भवनमा आइसोलेसन केन्द्र बनाउने । सङ्क्रमितमध्ये ९० प्रतिशतलाई सामान्य लक्षण देखिन्छ, नदेखिन पनि सक्छ । सङ्क्रमितलाई ज्वरो, खोकी, पखाला आदि भएमा आफैँले कुन कुन औषधि कति मात्रा र समयमा खाने भनेर सिकाउने । सङ्क्रमितमध्ये ९० प्रतिशतलाई अस्पताल नजाने परिस्थिति निर्माण गर्न सकेमा अस्पतालमा भीडभाड हुँदैन । १० प्रतिशत गम्भीर बिरामीलाई कोरोना अस्पतालमा उपचार गर्ने । यसो गरेमा स्वास्थ्यकर्मी सङ्क्रमित हुने सम्भावना कम हुन्छ । अन्य रोगका बिरामीले सजिलोसँग उपचार पाउँछन् । अस्पतालमा भीड नहोस् भन्नका लागि टेलिफोन वा इन्टरनेटबाट नाम लेखाएर पालो र समय लिनुपर्छ । अनि त्यही समयमा अस्पताल जाने व्यवस्था मिलाउनुपर्छ ।
यस्तो महामारीको बेलामा अस्पताल तथा स्वास्थ्यकर्मीलाई बचाएर राख्नु सरकार एवं नागरिकको दायित्व हो । तसर्थ अस्पतालमा भीड कम गर्ने, चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई सात दिन काम गर्ने, १४ दिन आफ्नो घरमा वा नजिकको होटेलमा बस्ने प्रबन्ध मिलाउने । यसो गर्दा धेरै स्वास्थ्यकर्मीलाई एकैपटक सङ्क्रमण भएर अस्पताल बन्द गर्ने अवस्था आउँदैन ।
एम्बुलेन्सलाई हरेक बिरामी बोक्नुपूर्व सङ्क्रमणरहित बनाउने ।
क्लिनिकको साटो टेलिमेडिसिनलाई प्रवर्धन गर्ने ।
निजी अस्पताललाई सरकारी अस्पतालसरह सेवाप्रवाह गर्न अनिवार्य व्यवस्था मिलाउने ।
निजी क्लिनिक, पोलिक्लिनिक तथा स्वास्थ्य संस्थालाई भेन्टिलेसन, भौतिक दूरी, पीपीई, सरसफाइ आदिको मापदण्ड बनाएर तयार गर्ने ।
पङ्खा तथा एसीको प्रयोग कम गर्ने । अस्पताल, कार्यालय, रेस्टुरेन्ट तथा होटेलमा पङ्खा तथा एसीको हावा मानिसको विपरीत दिशामा फ्याँक्ने व्यवस्था मिलाउने ।
समूहमा बस्ने, सँगै खाना खाने, सहकार्य गर्ने समूह जस्तै सेना, प्रहरी, स्वास्थ्यकर्मीलाई सङ्क्रमण नहोस् भनेर रणनीति बनाउने ।
अन्य व्यापारिक पसल सुचारु गर्ने । ठूला स्टोरमा भौतिक दूरी र भित्र रहने समय अधिकतम छोटो लागु गर्ने ।
मन्दिर, गुम्बा, मस्जिद, चर्च तथा अन्य धार्मिक तथा सांस्कृतिक स्थानमा कडा रूपमा भौतिक दूरी लागु गराउने ।
भोजभतेर बन्द गर्ने ।
‘ग्रिन जोन’को बन्दाबन्दी हटाउने ।
अध्ययनका लागि सुरक्षित देशमा जान पाउने अवसरबाट विद्यार्थीलाई वञ्चित नगर्न राज्यले सहजीकरण गर्ने ।
रेडियो, टेलिभिजन, पत्रिका आदि सञ्चार माध्यमबाट सुरक्षा तथा रोकथामका प्रभावकारी कार्यक्रम तथा विज्ञापन प्रचारप्रसार गर्ने ।
भोकमरीबाट बच्नका लागि किसानलाई तुरुन्तै बीउ, मल, प्रविधि, राहत, कृषि बीमा, बजारीकरण आदिको व्यवस्था गर्ने । खेतीपाती गर्दा सामाजिक दूरी अपनाउन भने त्यति गाह्रो छैन ।
हजारौँ भ्यान, ट्रक आदिलाई कृषि एम्बुलेन्सको अनुमति दिएर गाउँगाउँमा उत्पादित अन्न, दलहन, तरकारी, फलपूmल, दुग्धपदार्थ, अण्डा तथा पशुपक्षीलाई बजारीकरण गर्ने ।
विदेशमा रहेका नेपालीलाई परामर्श प्रदान गर्न जनस्वास्थ्य सहचारीको व्यवस्था गर्ने । रोजगारी गुमेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्ने । सङ्क्रमणरहित भएपछि आफ्नो थातथलोमा बीउ, मल तथा सहुलियत ऋण दिएर पुनस्र्थापित गर्ने ।
अबको दुई वर्षका लागि अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धन नगर्ने । आन्तरिक पर्यटनका लागि सुरक्षित रूपमा प्रवर्धन गर्ने ।
राष्ट्रिय गौरवका आयोजना, हाइड्रोपावर निर्माण आदिलाई भौतिक दूरीसहित सञ्चालन गर्ने ।
स्वच्छ वातावरणका लागि वायु प्रदूषण, धुलो आदि नियन्त्रण गर्ने । व्यापक वृक्षरोपण गर्ने ।
¥यापिड किट तथा रेमडेजेभिर लगायतका औषधि नेपालमा निर्माण र उत्पादन गर्न प्रोत्साहित गर्ने ।
भारतबाट सामान सिमानासम्म ल्याउने तथा सिमानाबाट नेपालकै ट्रकमा भित्र्याउने । एकजना चालक र एकजना हेल्परबाहेक अरू आउन नपाउने नियम कडाइका साथ लागु गर्ने ।
सङ्क्रमित भारतीयहरू नेपाल आउन पूर्णतया बन्देज लगाउनका लागि सिमामा गस्ती थप प्रभावकारी बनाउने ।
सङ्क्रमितलाई घृणा गर्ने परिपाटी अन्त्य गर्न प्रभावकारी कार्यक्रम बनाएर प्रकाशन र प्रसारण गर्ने ।
यी उपायलाई व्यापक प्रचार गर्ने, अनुगमन गर्ने, दण्ड तथा प्रोत्साहनको व्यवस्था गर्ने र चरणबद्ध लागु गर्ने हो भने कोरोना सङ्क्रमणलाई छल्दै हाम्रो जनजीवन सुचारु गर्न सकिन्छ ।
त्यस्तै रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पोषिलो खाना खाने, व्यायाम गर्ने, घाममा बस्ने, योग तथा ध्यान गर्ने, सकारात्मक सोचको विकास गर्ने तथा गुर्जो, तुलसी, अश्वगन्धा, बेसार, अमला, कागतीलगायतका जडीबुटीको सेवन गर्ने ।
कोरोना भाइरसको घातक प्रभाव कम छ । एकजना व्यक्तिले धेरै व्यक्तिलाई सार्न सक्दैन । सङ्क्रमितसँग छुँदैमा, छोटो कुराकानी गर्दैमा, सङ्क्रमित बसेको ठाउँमा बस्दैमा कोरोना सङ्क्रमण हुन्छ भन्ने छैन । सर्नका लागि भाइरसको सङ्ख्या र एक्सपोजर समय धेरै हुनुपर्छ । त्यस्तै सिङ्गापुरको ‘नेसनल सेन्टर अफ इन्फेक्सियस डिजिज एण्ड एकेडेमी अफ मेडिसिन’को संयुक्त अध्ययनले भनेको छ कि सङ्क्रमण भएको ११ दिनसम्म रोग सार्न सक्ने क्षमता हुन्छ । १२ दिनपछि परीक्षणमा पोजिटिभ देखिए पनि रोग सार्न सक्दैन । अनुहारतिर फर्केर खोकेमा, हाच्छ्युँ गरेमा वा चिच्याएमा सर्ने सम्भावना धेरै हुन्छ । अन्यथा सर्ने सम्भावना कम हुन्छ । त्यस्तै वासिङ्गटन पोस्टले जनाए अनुसार खाद्यपदार्थ तथा सतहबाट रोग सर्ने सम्भावना निकै कम हुन्छ । कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने भएकोले भौतिक दूरी कायम गर्दा धेरै सुरक्षित भइन्छ । विभिन्न निकायका अलगअलग उद्देश्य हुनसक्छ । तसर्थ भयानक र नकारात्मक सूचना आउँदैमा भयाक्रान्त हुनुपर्दैन । त्यस्तै सङ्क्रमित र मृतकको सङ्ख्या बढ्दै जाँदा हामी डराउनुहुँदैन । विश्वभर यो सङ्ख्या बढिरहेको परिप्रेक्ष्यमा हामी पनि मानसिक रूपमा तयार हुनुपर्दछ । हामीले उच्च स्तरको सुरक्षा अभ्यास गर्यौं भने कोरोना भाइरससँगै आफ्नो जीवनचर्या सञ्चालन गर्न सक्छौँ । रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि हाम्रो आहारविहार, आचार र व्यवहार स्वस्थ हुनु जरुरी छ । सरकारले पीसीआर परीक्षणको दायरा बढाएर सङ्क्रमितलाई चामलमा बियाँ खोजेझैँ खोज्ने, आइसोलेसनमा राख्ने र गुणस्तरीय उपचार गर्ने काम निरन्तर अघि बढाउनुपर्छ ।