राजु सिलवाल
नेपालको प्रसिद्ध कफी सप मानिने जाभा कफी सपद्वारा ठमेलको त्रिदेवी मार्गस्थित आफ्नो पसल जाने भ¥याङमा अब कफी सप खुला भएको तर लिएर जानमात्र पाइने भनी सूचना लेखेर झुन्ड्याइएको छ । यसैगरी, ठमेलका अन्य रेस्टुरेन्टहरूमा पनि बसेर खान नपाइने तर खानेकुरा लिएर जान पाइने सूचना टाँसिएकोे देख्न सकिन्छ । मुख्य सडकका फास्टफुडहरूमा पनि बसेर खान नपाइए पनि लाने सुविधा उपलब्ध छ । कतिपय रेस्टुरेन्टले खानेकुरा घरसम्म नै पु¥याइदिने गरेका छन् । हिजोआज ठमेल क्षेत्रमा केही सपिङ सेन्टर तथा पुराताŒिवक सामग्रीका गिफ्ट सप पनि खुलेका देखिन्छन् ।
ठमेल, विश्वमै प्रसिद्ध नेपालको प्रमुख पर्यटकीय स्थल हो । यहाँ विभिन्नस्तरका होटेलका साथै संसारकै खानाका परिकार पाइन्छन् । यसैगरी, ट्राभल तथा ट्रेकिङ एजेन्सी, मनी चेन्जिङ, गिफ्ट सप तथा पर्यटनसँग सम्बन्धित थुप्रै कार्यालय यही क्षेत्रमा छन् । विकिपिडियाले ठमेललाई कहिल्यै नसुत्ने तथा बन्द नहुने इलाका भनी उल्लेख गरेको छ । विगतमा पर्यटकहरूका लागि मात्र प्रिय मानिएको ठमेल पछिल्लो समयमा स्वदेशीहरूको चहलपहल पनि निकै बढ्न थालेको पाइन्छ । यहाँका रेस्टुरेन्टमा स्वदेशीहरूको उपस्थिति उल्लेखनीय रूपमा हुने गरेको छ । यसैगरी, नाइट क्लब तथा रात्रि गतिविधिमा समेत स्वदेशीहरूकै बाहुल्य बढी भइरहेको देख्न सकिन्छ । बन्दाबन्दीले केही समय ठमेल थला परे पनि बिस्तारै चहलपहल सुरु हुन थालेको छ । बन्दाबन्दीको अन्त्यपछि विदेशी पर्यटक आउन समय लागे पनि विगतमा जस्तै स्वदेशीहरूको आगमन बढ्दै जाने आशामा स्थानीय व्यवसायी ढुक्क छन् । बन्दाबन्दीको बेला पर्यटकीय स्थल ठमेलको हालखबर कस्तो रह्यो त ?
अन्धकार ठमेल
विकिपिडियामा ठमेलको रात्रि जीवन एकदमै राम्रो हुने भनी स्पष्ट लेखिएको छ । यहाँका नाइट क्लब, दोहरी रेस्टुरेन्ट, बारमा राति अबेरसम्म चहलपहल हुने गरेको थियो । तर, बन्दाबन्दीले रङ्गीन ठमेललाई अन्धकारमय बनाइदियो । बन्दाबन्दीमा दिउँसै सुनसान देखिएको ठमेल राति त पूरै चकमन्न हुन पुग्यो । भरिभराउ हुने ठमेल एक्लै हिँड्न पनि डर लाग्ने अवस्थामा परिणत हुन पुग्यो । प्रायः सबै होटल तथा रेष्टुरेन्ट अन्धकार थिए । सडक बत्तीको पनि उचित व्यवस्था हुन नसक्दा आपत परेर हिँड्नै परेकालाई समस्या परेको थियो । २०४६ सालको जनआन्दोलनमा ‘लाइट अफ’ गर्ने आन्दोलनपछि ठमेल यसपालिमात्र अन्धकार हुन पुगेको स्थानीयवासी बताउँछन् ।
नियम लागेन
गत २०७६ साल चैत ११ गते बन्दाबन्दी सुरु भएदेखि नै ठमेल क्षेत्रमा जुनसुकै समयमा पनि पर्यटक सडकमा देखिए । बन्दाबन्दीको अवस्थामा नेपालीलाई हिँड्न सुरक्षाकर्मीहरूले कडाइ गरेका थिए । तर, पर्यटकहरू भने निर्धक्क सडकमा हिँडिरहेका हुन्थे । जुन क्रम आजसम्म पनि जारी छ । पर्यटकहरूले यस्तो अवस्थालाई नेपालको वर्तमान अवस्था बुझ्न र तस्बिर खिच्न उपयोग गरेका थिए । विश्वलाई नै कोरोना भाइरसले आक्रान्त पारिरहेको बेला अमेरिका तथा युरोपेली मुलुकहरूको तुलनामा नेपाल बढी सुरक्षित महसुस गरेर पर्यटकहरू निर्वाध रूपमा आफ्ना गतिविधि जारी राखेका थिए ।
पर्यटकले थापे राहत
नेपालमा घुम्न आई अलपत्र परेका कैयौँ पर्यटकलाई उनीहरूको सरकारले विमान चार्टर गरी स्वदेश फर्कायो । यो क्रम अझै पनि जारी छ । तर, विभिन्न कारणले स्वदेश फर्कन नसकेका कतिपय पर्यटकले अझै पनि ठमेलका विभिन्न होटलमा गुजारा गरिरहेका छन् । यसरी लामो समयसम्म नेपालमा बस्नुपरेकाले उनीहरूलाई विशेष छुट दिइएको सम्बन्धित व्यवसायीले बताएका छन् । लामो समय बस्नका लागि खर्च धान्नुपरेकाले विशेषगरी सस्तोमा बस्न पाइने ब्याक प्याकरजस्ता होस्टलखालका स्थान उनीहरूको पहिलो रोजाइमा पर्ने गरेको छ । यस्ता कतिपय ठाउँमा पर्यटकहरूलाई खाना पकाउने सुविधा पनि दिइएको छ । हिजोआज ठमेलवरिपरिका तरकारी बजारमा किनमेल गर्न आएका पर्यटकसमेत देखिन्छन् । केहीले भने फास्टफुड खाएर दिन बिताइरहेका छन् ।
बन्दाबन्दी अवधिभर कोरोना सङ्क्रमणको डरले विभिन्न होटेलले पर्यटकलाई खाना प्याक गरेर दिने गरेका छन् । लकडाउन सुरु भएको अवस्थामा ठमेलका केही होटेल तथा रेस्टुरेन्टले निःशुल्क खाना खुवाएका थिए । पर्यटकको चाप घट्दै गएपछि निःशुल्क भोजन वितरण पनि कमी हुँदै गयो । तर, केही पर्यटकले भने सडकबाट वितरण हुने राहतबाट छाक टारिरहेकोसमेत देखियो । साँझपख त्रिदेवी मार्गस्थित कर्मचारी सञ्चयकोष अगाडि वितरण गर्ने गरिएको खाना पर्यटकहरूले समेत थापेका थिए । स्वदेशीहरूकै बढी भीड लाग्ने सो राहत वितरण स्थलमा खाना खाएर प्याकिङ गरिएका कागज भने सडकमै फाल्ने गरिएकाले सडकको शोभा भने बिगारेको देखिन्थ्यो ।
महिनौँ बिर्यानी वितरण
ठमेलको सातघुम्तीस्थित एउटा रेस्टुरेन्टले बन्दाबन्दीको लामो अवधिसम्म पनि निःशुल्क खाना वितरण गरी सामाजिक सेवामा सक्रियता देखायो । रेस्टुरेन्टका मालिक मुस्लिम धर्मावलम्बी थिए । रमजानको व्रतका बेला उनी दिनभर निराहार बस्थे तर नियमित रूपमा खाना बिर्यानी वितरण गर्न उनी आपैmँ खटिन्थे । नेपालमा अलपत्र परेका कैयौँ पर्यटकसमेत यिर्बानी वितरणको प्रतीक्षामा बस्थे ।
पर्यटक पनि सक्रिय
ठमेलका विभिन्न स्थानमा गरिएको राहत वितरणमा पर्यटकहरू समेत सक्रिय रहेको पाइयो । उनीहरूले तयारी खानेकुरा किनेर ल्याई हरेक दिन वितरण गरेका थिए । उनीहरूले यो कार्यमा सवारीसाधनका रूपमा मोटरसाइकल प्रयोग गरेका थिए । उनीहरूलाई केही नेपाली स्वयम्सेवकहरूले समेत सघाएको देखिन्थ्यो । यी विदेशीले सुरक्षाकवच (पीपीई) भने लगाएका थिए । विभिन्न सामाजिक संस्थाले ठमेलमा श्रम गर्ने श्रमिक एवम् रात्रिकालिन व्यवसायमा आबद्ध श्रमिक महिलालाई राहत वितरण गरेको थियो । डिस्को, डान्स र दोहोरीमा आबद्ध महिलालाई पनि राहत वितरण गरिएको थियो । यसैगरी, यस क्षेत्रमा बन्दाबन्दीको अवस्थामा पनि पर्यटक तथा अन्यलाई सेवा जारी नै राख्ने रिक्सा चालकहरूलाई पनि राहत प्रदान गरिएको थियो ।
सडकमा कालोपत्रे
मुख्य पर्यटकीय गन्तव्य भएर पनि सडकको कारण ठमेल बेलाबखत आलोचित हुँदै आएको छ । सडकका खाल्डाखुल्डीले ठमेलको स्वरूप बिगारेको तथा नेपाल घुम्न आएका पर्यटकले यस्तो बाटो देखेपछि कस्तो सन्देश लिएर फर्कने हुन् भनी स्थानीय पर्यटन व्यवसायीले विभिन्न मञ्चमा आवाजसमेत उठाउँदै आएका थिए । अझ वर्षाको समयमा खाल्डाखुल्डीमा पानी जमेर बटुवालाई हिँड्न अप्ठ्यारो पर्ने गरेको कुरा नौलो थिएन । त्यसमाथि ठमेलको भित्री भागमा ठुल्ठूला होटेल भए पनि वर्षाको बेला सडकमा पानी जमेर डुङ्गा नै चढ्नुपर्ने हो कि जस्तो स्थिति बर्सेनि उत्पन्न हुने गरेको छ । तर, बन्दाबन्दीले ठमेलको स्वरूप नै परिवर्तन गरेको छ । मुख्य बाटो त्रिदेवी मार्गदेखि अन्य भित्री बाटोमा समेत कालोपत्रे गरिएको छ । कालोपत्रे भएपछि ठमेलको स्वरूप नै बदलिएको छ । बन्दाबन्दीको शून्यताले कालोपत्रे गर्न कामदारलाई सजिलो पनि बनायो ।
शान्तिपूर्ण ठमेल
ठमेल चोकमा प्रहरीको भ्यान ड्युटीमा प्रायः सधैँ रहन्छ । यसैगरी, ठमेलका विभिन्न स्थानमा प्रहरीका बुथसमेत छन् । पर्यटक प्रहरी पनि ठमेल क्षेत्रमा क्रियाशील छ । यहाँ कार्यरत प्रहरी प्रायः राति हुनेझैँ झगडामा बढी व्यस्त हुनुपर्दछ । विदेशीका साथै स्वदेशीहरूको समेत रातिको समयमा ठमेलमा बढी चहलपहल हुने गरेको छ । यहाँ रहेका नाइट क्लबहरूमा प्रायः नेपाली युवकयुवतीको भीड लाग्छ । जतिखेर पनि मदिरा सेवन गर्न पाइने हुनाले आपसी विवाद बढ्न गई ठूलै घटनासमेत घट्न पुगेकोे छ । यसैगरी, विदेशीका सामान चोरी, ठगी, लागूऔषध तथा विदेशी मुद्राको अवैध कारोबारजस्ता क्रियाकलाप रोक्न प्रहरी क्रियाशील हुनुपरेको छ । बन्दाबन्दीको अवस्थामा ठमेल शान्तिपूर्ण रहेको सुरक्षा अधिकारीहरूले बताएका छन् । ठमेल क्षेत्रमा शान्ति सुरक्षाको स्थिति कायम राख्न सुरक्षाकर्मी चौबीसै घण्टा खट्छन् । बन्दाबन्दीको समयमा भने बन्द घर, पसलको सुरक्षामा उनीहरू खटिएका थिए ।
नियम मिचियो
त्रिदेवी मार्गबाट ठमेल प्रवेश गरिसकेपछि नर्सिङ चोक हुँदै ठमेलको भित्री भागमा सवारीसाधन छिर्न प्रतिबन्ध लगाइएको लामो समय भइसक्यो । २०७४ साल कात्तिक ६ गतेदेखि पर्यटकहरूको बढी चहलपहल हुने स्थानमा सवारीसाधन लैजान नपाइने व्यवस्था लागू गरी पैदल मार्गका रूपमा परिणत गरिएको थियो । यो स्थललाई सवारीसाधन निषेधित क्षेत्रका रूपमा विकास गरिएपछि स्थानीय व्यवसायीहरू खुसी भएका थिए । पर्यटकहरूलाई पनि आवतजावत गर्न सजिलो भएको थियो । ठमेलका सबै भागमा सवारी चलाउन प्रतिबन्ध लगाई पैदल मार्गको दायरा फराकिलो पार्नुपर्ने दबाब बढ्दो थियो । तर, बन्दाबन्दीको अवस्थामा यो नियम तोडिएको छ । त्यस क्षेत्रमा अहिले गाडी तथा मोटरसाइकलहरू निर्धक्क प्रवेश गरेको देख्न सकिन्छ । मानिसमात्र हिँड्ने गरेका सडकमा हिजोआज सवारीसाधन पार्किङ गर्ने गरिएबाट ठमेलको स्वरूप नै बि(ग्रिएको अनुभव गर्न सकिन्छ । ठमेलमा बिस्तारै चहलपहल बढ्न थाले पनि पूर्वअवस्थामै फर्किन भने धेरै समय लाग्ने देखिन्छ ।