विद्यार्थीको वर्तमान र भविष्यलाई लिएर निकै कलात्मक शैलीमा नाटककार घिमिरे युवराजले गम्भीर ध्यानाकर्षण गराउन खोज्नुभएको छ आफ्नो पुस्तक ‘आँधीको मनोरम नृत्य’ मार्फत । नाट्य निर्देशकसमेत रहनुभएका घिमिरेले ‘आँधीको मनोरम नृत्य’ नाटक लेखी निर्देशन गरेर मञ्चनसमेत गरेपछि पुस्तकका रूपमा निकाल्नुभएको हो । शिल्पी थिएटरमा गतवर्ष बैशाख २१ देखि जेठ १३ गतेसम्म २५ दिनमा अतिरिक्त प्रदर्शनसहित ३५ पटक यो नाटक मञ्चन गरिएको थियो ।
सामान्यतया पुस्तकमा लेखिएका नाटकलाई पछि मञ्चन गरिए पनि घिमिरे युवराजले पहिले मञ्चन गरेर पुस्तकमा सुरक्षित गर्नुभएको छ । यसले नाटक हेर्न जान नपाएकालाई राम्रो खुराक बनेको छ भने एकपटक नाटक हेरेर धित नमरेको अवस्थामा थप पुनर्ताजगी बनाउन पुस्तकले मद्दत गर्ने देखिन्छ ।
नाटकमा किशोरावस्थामा पुग्दै गरेका विद्यालयका विद्यार्थीको भावनालाई समेट्ने प्रयास गरिएको छ । उनीहरूको मनोविज्ञान बुझ्न सजिलो छैन तर नियमित प्रक्रिया हो भनेर अभिभावकदेखि शिक्षकसम्मले बेवास्ता गर्दा कतिसम्म हानि गर्न सक्छ भनी नाटकमा निकै कौशलपूर्वक चित्रण गरिएको छ ।
सानो कक्षाका विद्यार्थी बोकेर विद्यालय जान लागेको बसबाट सुरु भएको नाटकको यात्रा निकै दुःखदायी र पीडादायी शैलीमा टुङ्गिन्छ किशोरी पात्रको हीनताबोधसहित । त्यसबीचमा भएका घटनाले दर्शकलाई रोमाञ्चक मात्र होइन, दुःखित पनि बनाइरहेकोे हुन्छ । पुस्तकमा दिइएका विभिन्न शीर्षकले एउटा न एउटा सन्देश दिइरहेको छ ।
‘जादुमयी बस’ नाटकबाट ‘आँधीको मनोरम नृत्य’ को शुभारम्भ गरिएको छ । यो बसले अहिलेका विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी र परिवेशलाई निकै रोचक तरिकाले समेटेको छ । आधुनिक समयमा अभिभावकको व्यस्तता देखाइएको छ । यात्रा छोटो छ । बस ६ वर्षभन्दा मुनिका विद्यार्थीहरूलाई पायक पर्ने स्टेशनबाट उठाएर विद्यालय जान्छ । त्यही समयमा जेजति पात्रहरू जोडिन्छन्, तिनीहरूमार्फत नाटककारले समाजको चित्रण गर्छन् । विषय सामान्य भए पनि नाट्य निर्देशक घिमिरे युवराजले रोचकपूर्वक नाटकलाई जीवन्त पारेका छन् ।
‘नो रुल एनी मोर प्लिज’ पुस्तकको दोस्रो शीर्षक हो । ६ वर्षमुनिका विद्यार्थीलाई एकैपटक १० कक्षामा पढ्ने देखाइन्छ । दश वर्षअघिका विद्यार्थीको बानी व्यहोरा र स्वभावमा निकै भिन्नता आएको छ । शारीरिक संरचना परिवर्तन हुन्छ । त्यो सँगसँगै उनीहरू विपरीत लिङ्गीप्रति आकर्षित भएको देखाइएको छ । विद्यार्थीहरू सडक आन्दोलन बुझ्ने भइसके । बालिका बलात्कारविरुद्धको आन्दोलनमा उनीहरूले पनि नारा घन्काए । ‘हृदयभरि प्रेम छ’ पुस्तकको तेस्रो शीर्षक हो । यसमा तिनै विद्यार्थीहरूको गतिविधि देखाइएको छ । यो त्यस्तो उमेर हो जसमा बिग्रन बेर लाग्दैन । मायाप्रेम, चुरोटको चुस्की लिनेदेखि अश्लील भिडियो हेरेकासम्मका गतिविधि यसमा नाटककारले समावेश गरेका छन् ।
‘अपेक्षा कोसँग ?’ पुस्तकको चौथो शीर्षक हो । यसमा हुलाक कार्यालयका कर्मचारीको गतिविधि समेटिएको छ । उनीहरूका घर व्यवहारदेखि कार्यालयमा घुस प्रकरणसम्मका प्रसङ्ग नाटककारले समेटेका छन् । जो तिनै विद्यार्थीका अभिभावक पनि हुन् । ‘अक्षरहरूले थिचिरहेछ’ पुस्तकको पाँचौँ शीर्षक हो । यसमा विद्यार्थीको गलत क्रियाकलापबारे छलफल गर्न उनीहरूका अभिभावक बोलाइन्छ । यत्रो गम्भीर विषयमा कुरा हुँदैगर्दा विद्यालयको ब्यापारको प्रसङ्ग पनि जोडिएर आउँछ । नाटक देखाउने कलाकार, चलचित्र देखाउने निर्देशक र स्टेशनरी विक्रेतासमेत प्रधानाध्यापकलाई भेट्न आएका हुन्छन् । अनि त्यस्तो बेलामा विद्यार्थीलाई सम्झाउन भन्दा ‘दोषी’ देखाउन खोजिएको हुन्छ ।
‘मौनताको स्वर’ पुस्तकको छैटौँ शीर्षक हो । यसमा छोरालाई आमाबाट फकाइफुल्याई जग्गा आफ्नो नाममा गर्न चिल्लो घसेको देखाइएको छ । ‘असल साथी’ पुस्तकको सातौँ शीर्षक हो । यसमा छात्राहरूको मनोदशा केलाइएको छ । आवेगमा गरिएको संसर्गले कतिसम्म पीडा हुँदोरहेछ र त्यसबाट कसरी छात्रहरू उम्किँदारहेछन् भन्ने नाटककारले देखाएका छन् ।
‘कसैले सुनिदेओस्’ पुस्तकको सातौँ शीर्षक हो । यसमा कर्मचारीले घुसको व्यवस्थापन गर्ने क्रममा घरमा पार्टी गरेको र घरका अन्य सदस्यलाई परेको असर देखाइएको छ । ‘...र, यो अन्त्य हैन’ पुस्तकको आठौँ तथा अन्तिम शीर्षक हो । जसमा कुरकुरे बैँसमा गरेको भुलको नतिजा देखाइएको छ । एक छात्राले बोकेको गर्भ र त्यसपछिको मनोदशा देखाइएको छ । महिलाले सधँै समाजको इज्जत जोगाइदिनुपर्ने सामाजिक सोचलाई देखाइएको छ । यसरी नाटककार घिमिरे युवराजले आफूले थिएटरमा देखाएको नाटकलाई पुस्तकमा निकालेका छन् । नाटकले चोटिलो सन्देश दिएको छ । विद्यार्थी ‘गिलो माटो’ जस्तै हुन् । तिनीहरूलाई आकार दिने काम अभिभावक र शिक्षकको हो । विभिन्न परिस्थितिले अभिभावक र शिक्षक विद्यार्थीभन्दा टाढा हुँदा एक्लो महसुस गर्ने विद्यार्थीले जीवनको बाटो बिराउन सक्छ भन्ने देखाइएको छ । यो शैक्षिक नीतिनिर्माताका लागि पनि पाठ हो ।
आँधीको मनोरम नृत्य समग्रमा राम्रो छ । दिन खोजिएको सन्देश नाटकले दिएको छ । एउटा नाटकमा धेरै विषय समेट्न सम्भव नहुन सक्छ तर धेरै दिन खोजिएको छ । यति हुँदा पनि ६ वर्षका बच्चाहरूलाई एकैपटक १६ वर्षको देखाउँदा बीचको समयका कैयौँ पल, क्षण र त्यो उमेरको पाठ हराएजस्तो भएको छ । शिल्पी थिएटरले दुई सय ५० रुपियाँ मूल्य तोकेर बजारमा ल्याएको पुस्तकमा नाटक मञ्चन भइसकेपछि छुटेका र सन्दर्भ जोड्नेतर्फ ध्यान दिएर थप भाषा सम्पादन गर्न सकेको भए सुनमा सुगन्ध हुने थियो ।
सोमराज पोखरेल