सूर्यप्रसाद लाकोजू
पर कतै क्षितिजमा
डुब्न लागेको सपनाको घाम हेर्दै
उभिरहेको छु म
मेरो स्वतन्त्रताको फूलबारीमा ।
म उभिएको आकाशमा
अब अनन्त आशाका
उज्याला ताराहरू चम्केको देखिँंदैन
सायद भरोसासँगै टुटेर झरे होलान्
र त
अँध्यारो देख्छु
मेरो सपनाको संसार ।
मेरो विश्वास
कात्रोमा गोजी सिउँछ
तर
लोभको भारी बोकेर
जिन्दगीको सगरमाथा चढ्न
सम्भव नहुने
आदर्श फलाक्छ
सर्वे भवन्तुको गीत गाउँछ
मुखले रामको भजन गाएर
अँध्यारोमा रावणको बाटोमा
कुलेलम ठोक्छ ।
खाडीमा बगेको छोराको पसिनासँग
अन्न साटेर
बाँचेको म
अनन्त आशाको आकाशमा
कावा खाँदै गर्दा
अचानक आफ्नै अगाडि
आकाश खस्दा
निराशाको बाढी पसेर
तहसनहस भएको छ
मेरो सुन्दर सपना ।
हिजोसम्म म
मेरो आस्थाको
पुच्छर मात्र देख्थेंँ
माछोको पुच्छर
आज
टाउको पनि देखें
भ्यागुतोको टाउको
त्यसैले उसले हाम्रा लागि
पस्कने स्वर्णिम सुर
आजकल बेसुर लाग्छ मलाई ।
तिमीले वर्षौं अघि
हामीलाई देखाएको विश्वरूप
एकाएक फेरिएको देखेपछि
मेरो स्वतन्त्रताको बगैँचामा
डढेलो सल्केको छ ।