कमल सुवेदी
भारतको रमणीय गाउँ दार्जिलिङमा बस्ने एक खालिङ परिवारमा २००९ साल जेठ १५ गते एक बालकको जन्म भयो । बालकका पिता श्यामसन खालिङ र माता मार्था खालिङ थिए । बालकको जन्मपछि खालिङ परिवारमा ठूलो खुसी छायो । तर, खालिङ परिवारको यो खुसी धेरै दिन टिक्न सकेन । जन्मेको वर्ष दिन नपुग्दै बालक रोगले थला प¥यो । उपचारका क्रममा चिकित्सकले बालकलाई पोलियो लागेको र यसले जीवनभर अशक्त बनाउने सुनाए । यो सुनेर खालिङ परिवारमा ठूलो वज्रपात प¥यो ।
आठ÷नौ महिनामा बामे सर्न थालेपछि बालकको खुट्टामा पोलियोको असर देखिन थाल्यो । तर, बालक चलाख र पढाइमा जेहेनदार भएर निस्कियो । अशक्त खुट्टा भएका कारण बालक कतै गएर लड्ला कि भन्ने चिन्ता बाबुआमामा थियो । त्यसैले एकैठाउँमा बसिरहोस् भनेर पाँच वर्षको उमेरमा बालकलाई बाबुले हार्मोनियम किनेर ल्याइदिए । बालकका कलिला हातका औँलाहरू हार्माेनियमका रिडहरूमा खेल्न थाले– सारेगमको धुन उमार्दै । तिनै बालक आज नेपाली सुगम सङ्गीत जगत्ले श्रद्धाका साथ नाम लिने दिव्य खालिङ हुन् ।
दिव्य १२ वर्षकै उमेरमा दार्जिलिङको कोलम्बस चर्चमा आयोजित एक कार्यक्रममा तबलावादक बनेर उदाए, साङ्गीतिक संसारमा । गीतको सुरमा कुनै पनि ताल नबिराई तबला बजाएको देखेर त्यहाँका नामी सङ्गीतकारहरूलाई उनले अचम्मित बनाए । सङ्गीतमा मात्र होइन, पढाइमा समेत उनी जेहेनदार थिए । १४ वर्षकै उमेरमा प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण गरी विज्ञान विषय अध्ययन गर्न उनी कलेज भर्ना भए । तर, सङ्गीतकर्म नसा–नसामा बगिरहेका कारण साङ्गीतिक गुरु गोपाल योञ्जनले भोग्नुपरेको नियतिझैँ एक वर्षको विज्ञान पढाइपश्चात् उनी पनि मानविकीमा भर्ना भए ।
कलेजको अध्ययनसँगै उनको साङ्गीतिक यात्रा पनि फराकिलो बन्दै गयो । त्यतिखेर दार्जिलिङ नेपाली सुगम सङ्गीतको स्वर्णिमकालको एउटा पाटो थियो । अम्बर गुरुङ, गोपाल योञ्जन, रञ्जित गजमेर, पिटर जे कार्थक, वैरागी काइँलाहरूले दार्जिलिङ छाडे पनि शरण प्रधान, मणिकमल क्षेत्री, अरूणा लामा, डेजी बराइली, चन्दन लमजेल, शान्ति ठटाल, हीरादेवी वाइबाहरूको रजगज थियो त्यहाँँ । यसै मेसोमा दिव्यले सर्वप्रथम इसाई धर्म र संस्कृति विषयक लघु क्यान्टाटा प्रस्तुत गरे । यसले उनलाई पृथक रूपमा चिनायो । गोर्खा दुःख निवारक सम्मेलनको हलमा प्रस्तुत गरिने थुप्रै नाटकहरूमा उनले सङ्गीत तथा पृष्ठ–सङ्गीत प्रदान गर्न थाले । आकाशवाणी खर्साङमा उनका गीतहरू क्रमशः रेकर्ड हुन थाले । उनी ‘क’ श्रेणीको गायक पनि बने । अझ फराकिलो साङ्गीतिक भूमि खोज्नेक्रममा उनको पुख्र्यौली थलो नेपाल आउने धोको पनि सन् १९७३ मा पूरा भयो । यसअघि नै उनका गुरु तथा गुरू पुस्ताका हस्तीहरू अम्बर गुरुङ तथा गोपाल योञ्जनहरू नेपाल आइसकेका थिए । काठमाडौँको सङ्घर्षमा सामेल भइरहँदा कालिम्पोङमा जन्मिएर काठमाडौँलाई कर्मक्षेत्र बनाइरहेकी सङ्गीत अनुरागी ग्रेस सोदेम्बासित उनको चिनारी भयो । मायाप्रीति बस्यो र लगनगाँठो पनि बाँधियो । यसपश्चात् उनको व्यक्तिगत र साङ्गीतिक जीवनमा पनि नयाँ अध्यायको सूत्रपात हुन पुग्यो ।
काठमाडौँमा त्यतिबेला रेडियो नेपाल र रत्न रेकर्डिङ संस्थानमा मात्र गीत रेकर्डिङ गर्ने स्टुडियो थियो । त्यहाँबाट गीत रेकर्ड गर्न ठूलो सङ्घर्ष गर्नुपथ्र्यो । भारतको दिल्लीमा रेडियो कार्यक्रमसम्बन्धी तालिम लिएर फर्केपछि उनमा रेडियो कलाको ज्ञान र सीपमा पनि निकै बढोत्तरी भयो । दैनिक जीवन गुजाराका लागि भने उनी काठमाडाँैको सेन्ट जेभियर्स स्कुलमा सङ्गीत र अङ्ग्रेजी विषयको शिक्षक हुन पुगे तर उनको जीवनमा फेरि एउटा दुःखान्त क्षण आइलाग्यो । उनीहरूको वैवाहिक सम्बन्धलाई दुवै घरपरिवारले अस्वीकार गरेपछि उनीहरू छुट्टिएर बस्नुप¥यो । यसपछि उनी पुनः दार्जिलिङ फर्के भने ग्रेस आफ्नो जागिरका कारण काठमाडाँैमा नै बसिन् ।
दार्जिलिङमा उनी सङ्गीतकर्ममा पुनः हराउन थाले । उनको अभावमा ओइलाएको दार्जिलिङको नेपाली सङ्गीत पुनः मुर्झायो । उनले परालको आगोजस्तो लोकप्रिय चलचित्रका निर्देशक प्रताप सुब्बाले निर्देशन गरेको नाटक रातको प्रथम प्रहरमा सङ्गीत तथा पृष्ठ–सङ्गीत तयार गरे । नाटक लोकप्रिय बन्यो । यसको ठूलो जस दिव्यको सङ्गीतलाई गयो । समयक्रममा यो नाटक नेपाल देखाउन ल्याइयो । नाटक टोलीसँगै दिव्य पनि नेपाल आए । काठमाडौँमा यसको सफल प्रदर्शनपछि नाटकको टोली फर्कियो तर दिव्य यतै रहे । त्यसपछि सुखान्त समय आयो दिव्यको जीवनमा । उनको दुई वर्षसम्म टुटेको ग्रेससितको दाम्पत्य जीवन पुनः जोडियो भने स्वरसम्राट नारायण गोपालसित उनको साङ्गीतिक दोस्ती जम्यो । यो दोस्तीको परिणाम नेपाली सुगम सङ्गीत क्षेत्रले निकै ठूलो फड्को मा¥यो ।
आफूले औधी श्रद्धा गर्ने नेपाली जनमनका गायक नारायण गोपालसित दोस्ती गाँसी सहकार्य गर्न पाएपछि दिव्य निकै उत्साहित बने । यही सहकार्यको परिणामस्वरूप ‘मायाको आधारमा सम्झौता नै हुन्छ’, ‘प्रेयसीका यादहरू कोरिएका मुटु’, ‘सधैँ नै यहाँ म तिमीलाई रुवाई’, ‘विपना भई बाँचिदिने मभित्रका मेरा सपना’, ‘म त लालीगुराँस भएछु’, ‘तिमीलाई भुल्दा म एक्लो परेछु’, ‘तिमी जुन रहरले ममा फुल्न आयौ’ जस्ता कालजयी र अजर अमर गीतहरू जन्मिए । हरिभक्त कटुवालको अमर सिर्जना ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ गीतको कम्पोजिसनमा दिव्यको महŒवपूर्ण भूमिका रहेको कुरा नारायण गोपालले पनि स्वीकारेका थिए । गायन, गीत लेखन र सङ्गीत संयोजन गरी तीनै पक्षमा दख्खल राख्ने दिव्यलाई नारायण गोपालको साथले सफलताको उच्च शिखरमा पु¥यायो । क्षेत्रप्रताप अधिकारी, दिनेश अधिकारी, श्रीपुरुष ढकाल, मञ्जुल, राममणि रिसाल, किरण खरेल, माधवप्रसाद घिमिरे तथा आफ्नै रचनाका थुपै्र गीतमा उनले सार्थक स्वर तथा सङ्गीत प्रदान गरे ।
त्यतिबेलाको महेन्द्र पुलिस क्लब, दरबारको बर्धबहादुर गण आदि संस्थाहरूमा आयोजना हुने साङ्गीतिक कार्यक्रमहरूमा उनी प्रस्तुतिको संयोजन गर्थे तर एउटै संस्थामा लामो समयसम्म टिकिरहने स्वभाव उनको थिएन, हरिभक्त कटुवालको जस्तै । उनले रवीन शर्मा, वसन्त श्रेष्ठ, सुक्मित अधिकारी, राजेशपायल राई, मीरा राणा, कुन्ति मोक्तान, देवदत्त ठटालजस्ता अग्रज, समकालीन तथा पछिल्लो पुस्ताका कलाकारहरूसित सहकार्य गरे । नेपाल स्काउट, एसओएस बालग्राम, ज्ञानोदय बालवाटिका स्कुल तथा महेन्द्र भवन मावि आदि संस्थामा पनि कार्य गरे ।
तीन छोरा र एक छोरीका पिता दिव्यले काठमाडाँैको धोबीधारामा सङ्गम स्टुडियो चलाएर थुप्रै नवप्रतिभाहरूलाई मञ्च प्रदान गरे । डेनी निरौला, ओम गुरुङ, उदय सोताङ, अरूण थापा, किरण प्रधान, सुनिता सुब्बा, बिमला राईहरूको साङ्गीतिक उन्नयनमा दिव्यको निकै ठूलो हात रहेको छ । राष्ट्रियताका हिसाबले नेपाली नागरिकताको प्रमाणपत्र उनीसित थिएन तर उनको मनमस्तिष्कमा नेपालीत्व प्रगाढ थियो । उनी ढाँटेर र छलेर चोर बाटोबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहँदैनथे ।
एकता प्रकाशनले तयार पारेको राष्ट्रकवि माधवप्रसाद घिमिरे रचित बाल गीतिसँगालो सुनपङ्खी चरीका दुई भाग तथा कृष्णप्रसाद पराजुलीको जूनताराको साङ्गीतिक प्रस्तुतिकोे संयोजन पनि दिव्यले गरे । दिदी, युवराज, खुकुरी, शिखर आरोहणजस्ता कथानक सिनेमाहरूमा उनले सङ्गीत तथा पृष्ठ–सङ्गीत दिए । अधिकार, अविरल बग्दछ इन्द्रावतीजस्ता टेलिशृङ्खलाहरूमा पनि उनको साङ्गीतिक सहभागिता रह्यो । दार्जिलिङमा छँदै उनले थुप्रै नाटकहरूमा सङ्गीतको जिम्मा लिइसकेका थिए भने काठमाडौँ आएपछि पनि उनले यो क्रमलाई जारी राख्दै आघात, अतृप्त आत्मा, क्रसमा टाँगिएको जिन्दगी, व्यापार, आमाजस्ता नाटकहरूमा सङ्गीत दिए ।
दार्जिलिङ तथा सिक्किममा नारायण गोपालको एकल गायनको संयोजन पनि दिव्यले नै गरेका थिए । तत्कालीन भारतको सिक्किम राज्यका मुख्यमन्त्री नरबहादुर भण्डारीको न्यानो आतिथ्यमा यो कार्यक्रम सम्पन्न भएको थियो । यसको सम्झना दिव्य तथा नारायण गोपालले पछिसम्म गरिरहन्थे । दीप श्रेष्ठ, प्रेमध्वज प्रधान, दीपक खरेल, जस योञ्जन प्यासी आदि सबै गायक तथा गीतकारहरूसित मिल्ने स्वभावले उनी नामले मात्र होइन, कर्मले पनि दिव्य थिए ।
उनलाई २०६० सालमा मस्तिष्कघात भयो । बी एन्ड बी तथा नर्भिक अस्पतालको लामो उपचारपछि स्वास्थ्यमा सुधार त आयो तर शारीरिक कमजोरीले उनको साङ्गीतिक जीवनमा भने पूर्णविराम लाग्यो । यसपछि छाती र टाउको दुख्ने समस्याले पनि पिरोल्यो । मानसिक स्थिति पनि कमजोर हुँदै गयो । अढाइ वर्ष ओछ्यानमा परे । एक्कासि आफ्नो जन्मभूमि दार्जिलिङ जाने इच्छा उनमा पलायो । यो आग्रहलाई स्वीकार्दै परिवारले उनलाई भारतको सिलगुडी पु¥यायो । जहाँ उनका बाबुआमासहित आफन्तहरू थिए । २०६३ साल असार ११ मा सिलगुडीमा उनको चोला उठ्यो ।
साहित्यमा इन्द्रबहादुर राई, नाटक र रङ्गमञ्चमा मनबहादुर मुखिया, प्रताप सुब्बाले नेपाली भावकहरूको ध्यान तानिरहेका बेला दिव्य उदाएका हुन् । पाँच वर्षको छँदै खेलौनाका रूपमा बाबुले ल्याइदिएको हार्माेनियमको रिडसित रमाउँदै साङ्गीतिक धुन उमार्ने प्रतिभाको आँकलन त्यतिबेलाको दार्जिलिङका गायक तथा वाद्यवादक उनका कान्छा काका सीएन खालिङले गरिसकेका थिए । अन्त्यमा नेपाली सुगम सङ्गीतका धरोहर दिव्यको सङ्गीत, क्षेत्रप्रताप अधिकारीको रचना र नारायण गोपालको स्वर रहेको अति लोकप्रिय गीतको एक अंश यहाँ प्रस्तुत गर्दछु ।
म त लालीगुराँस भएछु
वनैभरि फुलिदिन्छु
मनैभरि फुलिदिन्छु ।
फाँटहरूले कसलाई पुग्छ
भीरमा पनि फुलिदिन्छु
खुसीमात्र कहाँ हुन्छ
पीरमा पनि फुलिदिन्छु ।