मन्दिरा मधुश्री
धेरै पछि म यात्रामा निस्किएँ । मान्छे र मान्छेको बस्तीभन्दा पर । मसँगै मेरो निडर ‘मन’ पनि थियो ।
यात्रा गर्नुजस्तो आनन्द अहँ के होला र ? पाइला पाइलामा जीवनको महसुस हुन्छ यात्रामा । नहिँड्नेलाई के थाहा र यात्रामा हुने आनन्द !
आहा ! बाहिरी संसार कति रमाइलो । अकस्मात् हिँड्दै गरेको बाटोको हाँगो फाट्यो । दुवै बाटोको अगाडि सूचना बोर्ड टाँसिएको थियो ।
(खतरनाक जङ्गलको छोटो अर्गानिक बाटो ।) (मानवनिर्मित विकासे सजिलो बाटो ।) म थोरै डराएँ । दोस्रो बाटो नै रोजेँ एक्लै भएकोले ।
‘पहिलो बाटो नै जानुपर्छ, केको डर र ...?’ मनले ढाडस दियो ।
जङ्गलभित्रको बाटो साँच्चिकै अर्गानिक । प्राकृतिक सुन्दरताले भरिपूर्ण र चारैतिर उन्मुक्त आनन्द ।
खोलामा निर्मल पानी कलकल बगिरहेको थियो । मन्द मन्द स्वच्छ हावा चलिरहेको थियो । न कुनै उच्चाटलाग्दो कोलाहल न त निसास्सिने प्रदूषण ।
कति सुरम्य मनोहरता । कति
सौम्य शान्ति ! प्रकृतिको यो अलौकिकता देखेर मभन्दा बढी मेरो मन पुलकित भयो । म स्वर्गीय आनन्दमा हराउँदै हिँडिरहेको थिएँ । फूलहरू विविध रङ, आकार र सुगन्धमा फुलिरहेका थिए । ‘विषालु पनि हुन्छन् रे फूलहरू र फूलको सुगन्ध’ कुनैदिन सुनेको कुरा याद आयो । म डराएँ तर मन डराएन ।
यात्रामा अनौठा कीराहरू भेटिए । म डरले उफ्रेँ । मन चुपचाप रहिरह्यो । जङ्गल घना थियो । दाँत, सिङ, नङ्ग्रा भएका डरलाग्दा जन्तुहरू भेटिए । मेरो सातोपुत्लो उड्यो । अहँ ! मन टसको मस भएन ।
अजिङ्गर सर्प, बिच्छीजस्ता विषालु जीव थिए पाइला पाइलामा । म थुरुरु कापेँ । फर्कनु जस्तै लाग्यो । मन अझै किञ्चित् विचलित भएन । म डरको उत्सर्गमा पुगेको थिएँ । त्यस्तो निर्जन, भयावह जङ्गलमा अकस्मात् एउटा आकृति देखेँ । आहा ! आफ्नोपनको कति ठूलो भरोसा । खुसीले झन्डै चिच्याइनँ । उफ् ! बल्ल डर भाग्यो । ढुक्कसँग सास फेरेँ । अचम्म ! मेरो मन भने बेपत्तासँग डराइरहेको थियो । अगाडि ठिङ्ग उभिएको मान्छेलाई देखेर ।