रुकु कार्की
हाम्रा धर्मशास्त्रहरूले मातृदेवो भवः पितृदेवो भवः भनेको छ । यसको अर्थ आमाबाबुलाई देवीदेवताजस्तै सम्मान गर, देवीदेवतालाई जस्तै पूजा गर भनेर शिक्षा दिएको हो । धार्मिक, सांस्कृतिक र व्यावहारिक सबै दृष्टिकोणबाट आदरणीय आमाबाबुलाई महŒवपूर्ण मानिन्छ । आमाबाबुको अर्थ र महिमा हरेक समाजमा विशिष्ट छ । त्यसैले आमाबाबुको स्थान हिन्दु धर्मशास्त्रमा उच्च छ । यति ठूलो त्याग, धैर्य, ममता र संलग्नता हुन्छ, सन्तानप्रति आमाबाबुको । छोराछोरी सधैँ ऋणी हुन्छन् । आमाको दस धारा दूधको मूल्य चुकाउन कुन छोराछोरीले सकेको छ र ? दुःख र सुख, हाँसो र आँसु, आरोह र अवरोह भोग्ने आमाको मुखारबिन्दबाट पहिलोपटक निस्कने शब्द नै ‘आमा’ हो । आफ्ना सन्तानप्रति माया नहुने बाबुआमा संसारमा शून्य होलान् ।
सन्तानको व्यथामा, हृदय आमाबाबुकै चस्कन्छ, मुटु आमाबाबुकै दुख्छ । जो सन्तानको सुखका लागि, सन्तानको शिक्षाका लागि दुःखसँग लडिरहेका हुन्छन्, सङ्घर्ष गरिरहेका हुन्छन् । मानव सृष्टिमा संसार देखाउने आमाबाबु र जन्म लिने छोराछोरी जति प्यारा र वात्सल्यमयी अरू कोही छैनन् । सन्तान रुँदा दुवै रुन्छन्, सन्तान हाँस्दा दुवै हाँस्छन् । आमाबाबुका लागि सन्तान देवीदेवताभन्दा ठूला हुन्छन् । आमाबाबुभित्र छोराछोरीका लागि अनन्त, त्याग, बलिदान र तपस्या हुन्छ ।
छोराछोरीको भविष्यका लागि बाबुआमाले अनेक सपनाका बिरुवा रोपेका हुन्छन् । असल र सुयोग्य बनाउन सङ्कल्प बोकेर सुखद जीवनका लागि भगवान्सँग वरदान मागेका हुन्छन् । पूजा गरेका हुन्छन्, व्रत र उपवास बसेका हुन्छन् । कति भौतिक सुखसुविधा एवम् अभीष्ट र अभिलाषा साँचेका हुन्छन् । सन्तानमाथि आमाबाबुको भावनालाई कुनै शब्दमा वर्णन गर्न सकिँदैन । आफ्नो प्राणभन्दा बढी माया गर्ने आमाबाबु संसारमा एउटै हुन्छन्, छोराछोरी अनगिन्ती । साँझमा होस् बिहानमा होस्, दिनमा होस्, रातमा होस् जहिले पनि छोराछोरीले बाबुआमालाई पछ्याइरहेका हुन्छन् सानामा । केही महिनाका लागि बाबुआमा, हजुरबा–हजुरआमा तिनका खेल्ने साथी हुन्छन् ।
उनीहरू सोचिरहन्छन्– छोरा, नाति पढेर ठूलो मान्छे बनोस्, असल मानिस बनोस् । सन्तानको चिन्तन, मनन, आराधना, जपना, वन्दना, कामना, सन्तानमुखी र कर्मयोगी बनोस् भन्ने प्रेमको भावना जगाउनु आमाबाबुले कर्तव्य ठान्छन् । झन् आमाको हृदयसागरमा त आफ्ना सन्तानप्रति अभीष्ट मायाको सागर हुन्छ । त्यो सागरको गहिराइ कति हुन्छ ? त्यो त सागरले पनि नाप्न सक्दैन ।
आमाबाबु दुवैले छोराछोरीलाई अँगालो मारेर सुम्सुम्याउँदै भनेका हुन्छन्, ‘हाम्रो दुःख बिर्साउने छोरा, हाम्रो मन बहलाउने भविष्यको हीरा, हामी हाँसे यो पनि हाँस्छ, हामी नाचे यो पनि नाच्छ ।’ आमाबाबुका लागि बालबच्चाको स्नेह बन्धन यति शक्तिशाली र अटल हुन्छ । छोराछोरीलाई आमाबाबुले काखमा लिँदै खानेकुराहरू तिनका मुखमा पु¥याउँदै सेवा–सुश्रुषा गरिरहन्छन् ।
आमाको काखभन्दा ठूलो मठमन्दिर अर्को कहीँ भेटिँदैन । संसार आमाकै सिर्जना हो । जीवात्माको मात्र के कुरा यहाँ स्वयम् भगवान् पनि आमाकै सृष्टि हुन् । कृष्ण, बुद्ध, राम, क्राइस्ट, महम्मद सबै आमाकै कोखबाट जन्मिएका हुन् । त्यसैले त आमा शब्द कति विशाल छ, आमाले गरेका यी अतुलनीय कर्म झन् आकाशजस्तै विशाल छ । सायद त्यसैले होला आमा शब्दमाथि धेरै पुस्तक, गीत, कविता, कथा र उपन्यास अनगिन्ती लेखिएका छन् ।
पत्रपत्रिकाको समाचारले नरमाइलो अनुभूति गराउँछ मलाई । बेचैनी र पीडाले मन र मुटुलाई तड्पाउँछ, छियाछिया पार्छ । कहाँ हो कहाँ अन्तर्मनभित्र चस्का हुन्छ, आँखा भुलभुल हुन्छ । ‘सात छोरा दुई छोरी, आश्रममा बूढाबूढी’ समाचारले साँच्चै मेरो छाती भक्कानिए । समाचार पढ्नेलाई त यस्तो पीडाजन्य अवस्था हुँदोरहेछ भने झन् यथार्थ जीवन भोग्ने वृद्धवृद्धालाई कस्तो बेचैनको अनुभूति भयो होला ? कस्ता हुन् ती सन्तति, जसले आपूmलाई यस धरतीमा जन्म दिए, दसधारा दूध चुसाए, हुर्काए, बढाए ।
त्यस्ता आमाबाबु अनेक बाध्यता र विवशता भोगिरहेका छन् ।
मान्छेले पारिवारिक सुखभन्दा धन–सम्पत्तिलाई महŒव दिने संस्कारको विकास भएको छ । जोकोही महानुभावहरूले पनि अशक्त अवस्थाका बाबुआमालाई आश्रममा राखेर सम्पत्तिमाथि मोज गर्ने सपना देख्ने सन्तानहरूलाई धिक्कार्छन् । बाबुआमालाई दुव्र्यवहार गर्नेहरूले आफू पनि त्यो अवस्थामा पुग्छौँ भन्ने बुझ्ने कि नबुझ्ने ? समाजमा निर्दयी र कपुत सन्तान भएकै कारण आमाबाबु अवहेलना र तिरस्कारका सिकार भएका छन् । प्रताडना र शोषणमा परेका छन् । मिल्न नसकेकै कारण नजिकै हुँदा पनि बूढाबूढी एकातिरको घरमा र छोराबुहारी अर्कोतिर छाप्रा बनाएर बसेका हुन्छन् ।
बाबुआमामा भएका अत्याचार, दुराचार, अनैतिकता छोराबाट मात्र भएको छैन, बुहारीहरूका उदाहरण प्रशस्त भेटिन्छन् । हाम्रो समाजमा छोराछोरी नभएर अर्काको आश्रममा बस्नेहरूको पीडा त सुनिनसक्नु छ । छोराछोरी र सम्पत्ति भएर पनि दिनभरि मूल ढोकाको ताला ठोकेर आमाबाबुलाई बाहिर निकाली जागिर खान जाने र चोरेको आरोपमा खान नदिई पीडा दिनेहरू नभएका होइनन् ।
श्रवणकुमारले अन्धा भए पनि बाबुआमाको अनन्त सेवा गरेका थिए भन्ने पाइन्छ । श्रवणकुमारले आफ्ना आमाबाबुप्रति आदरणीय भाव राखे, सम्मान गरे । आजकाल त न त्यस्ता आमाबाबु छन् न त छोराछोरी नै । हाम्रो समाजमा जति धर्मका नारा र उपदेशहरू फुके पनि घरपरिवारमा दाजुभाइ, लोग्नेस्वास्नी, बाबुछोरासमेत टुक्रिएर छिन्नभिन्न हुँदै छन् । आधुनिक मानिसको कुनै समाज छैन, नातागोता, शुभचिन्तक कोही छैन, सद्भाव, सहयोग र आदर्श केही छैन । आमाबाबुको छोराछोरीप्रति, दाजुभाइको दाजुभाइप्रति, चेलाको गुरुजनप्रति, जनताको शासकप्रति आस्था र विश्वास छैन ।
किन देखिँदैन मानवभित्र मानवता ? किन होला संसार यति स्वार्थी बनेको ? थाहा छैन यो संसार किन यति बढी स्वार्थी बनेको छ । मान्छे क्रूर बन्दै गइरहेको छ । आफ्ना परिवारसँग सुख, दुःख, हाँसो, खुसी बाँडेर बस्न नसकेकै कारण आफ्ना वृद्ध आमाबाबुलाई अलग राख्छन् । आफ्नो नैतिकता, धर्म र कर्म बिर्सन्छन् । सोच्दैनन् कि हाम्रो पनि वृद्ध अवस्था आउँछ, अशक्त हुनेछौँ र हामीले सिकाएको बाटोमा ती पनि लाग्नेछन् ।
जस्तै मै हुँ भन्नेको पनि उमेरले डाँडा काटेपछि शरीर जीर्ण हुन पुग्छ । लठ्ठी टेक्नुपर्ने अवस्था आउँदैन र ? त्यतिबेला आफूलाई हेरविचार गर्ने को रहन्छ साथमा ? अझ आमाबाबुले छोराछोरीमाथि जति स्नेह र माया देखाउँछन्, छोराछोरी भने बेवास्ताको पात्र बन्छन् भन्ने कुरा आम(ाबाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि भन्ने उखानले दर्शाउँछ । ‘चुलोको बूढो, कुनाको मुढो’ भनेजस्तै चुलोमा लगेको दाउराजस्तै उमेर गएको मानिस केही गर्न सक्दैन । त्यस्ता बूढाबूढीलाई कसैले हेलाँ नगरून् । छोराछोरी भनेको आमाबाबुको सबैभन्दा ठूलो सम्पत्ति हो । आमाबाबुको खुसी नै छोराछोरीको खुसी हो । बुढ्यौली र अशक्त भएको बेला हेरविचार गरून्, सेवासुश्रुषा गरून् भनेर त छोराछोरी चाहिएको हो ।
सम्पत्तिका लागि छोराले आमाबाबुको, बाबुले छोराको, दाइले भाइको र भाइले दाइको हत्या गरेका सुनेका छौँ । स्वार्थी मनोवृत्तिद्वारा प्रेरित भएर मानिस आफ्ना दाजुभाइ र आमाबाबुलाई पापकर्म पनि गर्न तत्पर हुन्छन् । इतिहासमा यस्ता कैयौँ उदाहरणहरू छन् । सासूबुहारीबीचको अनमेलले पनि छुट्टिने परम्पराले भूमिका खेलेको देखिन्छ । सासूले बुहारीलाई अर्काकी छोरी मेरो सम्पत्तिमा रजाइँ गरी भनेर देख्न नसक्ने, अनि बुहारीले पनि अर्काकी आमाले मलाई देख्न सकिनँ भनेर सँगै बस्न नसक्ने बाध्यता भएपछि छोरालाई आमाको कुरा सुन्नु कि श्रीमतीको कुरा सुन्नु मनलाई तनाव बनाउँछ । अन्त्यमा छोरा छुट्टिन बाध्य हुन्छ ।
हिन्दु धार्मिक संस्कारले भन्छ– पितृदेवो भवः मातृदेवो भवः तर घर व्यवहारमा त्यस्तो हुन सकेको छैन । सानो छँदा वात्सल्यता र अमूर्त सेवाले आमाबाबुले आफ्ना सन्तानलाई हुर्काउँछन् । आज कतिपय मानवमा आमाबाबुले पु¥याएको सन्तान सेवाको कुनै मूल्य छैन । मानिसमा ठूल्याइँको घमण्ड छ, हठको तगारो छ, स्वार्थको लालच छ । त्यसैले ऊ शासन गर्न खोज्छ अशक्तहरूमाथि ।
घरकी सासू र वनका जुका एकै हुन् भनिन्छ । हरेक घरका सासूहरूले आफू बुहारी भएका दिनहरू बिर्सन्छन् र सासूबुहारी बीच झगडा गर्छन् । ‘आइमाईको शत्रु आइमाई, समाजको सबैभन्दा नकारात्मक पक्ष हो यो । सासूले पनि टाढा भएकी छोरीलाई अहोरात्र सम्झिने अनि आफूसँग भएकी बुहारीलाई चाहिँ तिरस्कृत गर्ने प्रवृत्तिले नराम्रो परिणाम निम्त्याएको छ । हाम्रो शत्रु व्यक्ति होइन, उनीहरूको मानसिकता हो । सासू न बुहारीको शत्रु हो, न त बुहारी नै सासूको शत्रु तर किन यस्तो उत्पीडन ? परम्पराअनुसार सासू–ससुरा र आमाबाबुको सेवा गर्नु ठूलो धर्म मानिन्छ । यो सबैको परम धर्म हो, सेवा र आदर हो । सानाले ठूलालाई आदर प्रकट गर्ने हाम्रो आफ्नै संस्कार हो नि ।