logo
२०८१ मंसिर ९ आईतवार



नियति र यथार्थको संयोजन

शनिवार |


नियति र यथार्थको संयोजन


विसर्ग संयुक्त रूपमा लेखिएको उपन्यास हो । नेपाली साहित्यको आख्यान विधामा प्रसिद्धि कमाइसक्नुभएका स्रष्टाद्वय परशु प्रधान र गोविन्द गिरी पे्ररणाद्वारा लिखित प्रस्तुत कृति उहाँहरूको पछिल्लो औपन्यासिक कृति हो । नेपाली आख्यानको लामो यात्रा पूरा गर्नुभएका परशु प्रधान र हाल अमेरिकामा बसेर लेख्दै आउनुभएका गोविन्द गिरी प्रेरणाले नेपाली साहित्यमा चलेको संयुक्त उपन्यास लेखनको परम्पराको निरन्तरतालाई फेरि एकपटक जोड्नुभएको छ । प्रस्तुत उपन्यासको प्रकाशन हालसालै भए पनि उपन्यासमा समेटिएका पात्र, परिवेश र कथानकले तीस÷चालीसकै दशकको नेपाली समाजको वास्तविकतालाई चित्रण गरेको छ । यसले गर्दा प्रस्तुत कृति पहिले नै लेखिएको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।
नेपाली समाज र त्यहाँका विविध यथार्थलाई देखाइएको प्रस्तुत उपन्यासमा पुरुष मनोविज्ञानका साथै अन्य विषय सन्दर्भलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । भर्खरै सरकारी सेवामा प्रवेश गरेको युवकलाई मुख्य पात्र बनाई उसकै केन्द्रीयतामा उपन्यासको कथावस्तु अगाडि बढेको छ । यसरी उपन्यासमा पुरुष पात्रलाई केन्द्र बनाइए पनि परिधीय पात्रका रूपमा आएका नारी पात्रहरूको उपस्थिति बढी देखिन्छ र तिनीहरूको भूमिका महत्वपूर्ण पनि छ । सन्तोष नाम गरेको युवकको जीवनका दुई÷तीन वर्षभित्र भएका घटना र आरोह–अवरोहको जीवन्त चित्रण यस उपन्यासमा गरिएको छ । उपन्यासमा मुख्य गरी कथानकका दुईवटा पक्ष समानान्तर रूपमा अगाडि बढेका छन् । पहिलो पक्ष उपन्यासको प्रमुख पात्र सन्तोषको वैयक्तिक जीवनमा जोडिन आएका सन्दर्भ हुन् भने दोस्रो पक्षचाहिँ देशका राजनीतिक तथा प्रशासनिक क्षेत्रका विकृति र विसङ्गतिहरूको सन्दर्भ छ ।
उपन्यासमा सीमित पात्र छन् र ती पात्रले आफ्नै ठाउँबाट विशिष्ट भूमिका निर्वाह गरेका छन् । एउटा विवाहित युवकको न्यून आम्दानीले सिर्जना गरेको अभावजन्य बाध्यता र विवशतालाई देखाइएको यस उपन्यासमा प्रेमसँग जोडिएर आएका आत्मीयता, आकर्षण, धोका, समर्पण, त्याग, मिलन, विछोडजस्ता सम्बन्धलाई पनि निकै मार्मिक रूपमा प्रस्तुत गरिएको छ । मास्टरी जागिरमा लागेको सन्तोषले सरकारी सुब्बामा नाम निकाल्नु, जागिर खान भोजपुर पुग्नु, त्यहाँ रमासँग प्रेम हुनु, आकस्मिक रूपमा काठमाडौँ मन्त्रालयमा सरुवा हुनु, काठमाडौँ आएपछि सीमासँग गाँसिनु, यसैबीच बा लिन आएर गाउँ जानु, लतासँग बिहे हुनु, लतालाई घरमै छोडेर काठमाडौँ फर्कनु, सीमासँग लुक्नका लागि डेरा सर्नु, डेरा नजिकै रमालाई भेट्नु, रमाप्रतिको प्रेम फेरि जागृत हुनु र सम्बन्ध पुनःस्थापित हुनु, रमाको गर्भ रहनु, लता काठमाडौँ आउनु, रमाको बच्चा जन्मनु र प्रेमी अथवा सन्तोषको दाम्पत्य जीवनमा कुनै अप्ठेरो नहोस् भनेर ऊ बच्चा लिएर हस्पिटलबाट नै कुनै अन्जान ठाउँमा जानुजस्ता घटनाक्रम सन्तोषको जीवनमा आएका छन् । उपन्यासको धेरै भाग यिनै सन्दर्भले ओगटेको छ । यसरी उपन्यासकारद्वयले उपन्यासमा सन्तोषलाई उभ्याएर युवाकालीन एउटा यस्तो समय र परिस्थितिलाई चित्रण गरेका छन् कि, तत्कालीन मध्यमवर्गीय जो कोही युवालाई यस्ता नियति र समयले कहीँ न कहीँ छोएर जान्छ ।
उपन्यासमा नायकको जीवनसँग जोडिएर आएको अर्को महत्वपूर्ण सन्दर्भ देशको राजनीतिक र प्रशासनिक क्षेत्रका विसङ्गति हुन् । हाकिम(लाई कोसेली, उपहार नलगिदिने, चाकडी, चाप्लुसी नगर्ने र हाकिमको मनोमानीप्रति प्रश्न गर्ने भएकै कारण भोजपुरबाट काठमाडौँ सरुवा भएको सन्तोषले मन्त्रालयमा हुने चरम भ्रष्टाचार र मन्त्री, नेता र माथिल्ला पदका व्यक्तिहरूबाट गरिने दोहनलाई नजिकैबाट देख्छ । पूरै मन्त्रालय नै घुसखोरी र कमिसनको धन्दामा लागेको देखेपछि उसको चेतना र विवेक पनि क्रमशः मर्दै जान्छ । काठमाडौँको बसाइ, बिहेपछिको व्यावहारिक जीवन, सीमित आम्दानी, धेरै सपना र अफिसको वातावरणले सन्तोषलाई अर्कै बनाउँछ । झन् रमेश सर (हाकिम) को सङ्गतमा लागेपछि ऊ पनि अरूजस्तै बनिसकेको हुन्छ ।
यस उपन्यासमा एकातिर देश विकासका नीति तथा योजना बनाउने र त्यसलाई कार्यान्वयनमा लैजाने जिम्मेवारी प्राप्त गरेका मन्त्री तथा हाकिमहरूको मनोमानी, रवाफ र निकृष्ट सोचलाई देखाइएको छ भने अर्कोतिर तिनै मन्त्री र हाकिमको चाकडी, चाप्लुसी गर्ने र उनीहरूको एसम्यान बनेर जहिलेसुकै निहुरिरहने कर्मचारीको हीनमनोवृत्तिलाई पनि देखाइएको छ । प्रशासनिक जिम्मेवारी लिएर बस्ने कर्मचारीले वैयक्तिक स्वार्थका लागि गरेको बेइमानीकै कारण सरकारका नीति तथा योजनाहरू कहिल्यै सफल हुन नसकेको यथार्थलाई उपन्यासमा गम्भीर रूपमा प्रस्तुत गरिएको छ । साथै सत्ता गिराउने र बनाउने धन्दामा लागेका राजनीतिक दलका नेताहरूको अदूरदर्शिता र अकर्मण्यताका कारण आम नेपालीले भोग्नुपरेको सास्तीलाई पनि उपन्यासमा सङ्केत गरिएको छ । केही मुठ्ठीभरका ठेकेदार, व्यापारी र बिचौलियाहरूले तिनै हाकिम र मन्त्रीको मिलेमतोमा कसरी देशको अर्थतन्त्रलाई खोक्रो बनाएका छन् भन्ने प्रसङ्ग पनि उपन्यासको विषय बनेर आएको छ ।
सन्तोष यस उपन्यासको प्रमुख पात्र भए पनि ऊ सशक्त पात्रका रूपमा देखिँदैन । आफ्नो जीवनमा एकपछि अर्को गर्दै आएका घटना र सन्दर्भलाई उसले आफ्नो नियतिकै रूपमा स्वीकारेको छ । सुरुसुरुमा निकै जुझारु र नैतिकवान् देखिने ऊ समयक्रमसँगै निरीह र कमजोर बन्दै गएको छ । बरु भोजपुरमा भेटिएकी र उसले मन पराएकी पात्र रमा यस उपन्यासमा आदर्श र स्वाभिमानी पात्रका रूपमा देखिएकी छे । बाबुआमा नभएकी, पढ्न नपाएकी र दाजुभाउजूको उपेक्षा सहेर बसेकी रमाले सन्तोषसँगको प्रेमलाई अमर र सार्थक बनाएर छाडेकी छे । सन्तोषले छोडेर आएपछि उसका दाइभाउजूले उसलाई शारीरिक तथा मानसिक यातना दिनुका साथै बूढो हवल्दारसँग बिहे गरिदिन्छन् । यी सबै नाता, बन्धन र आफू जन्मेको ठाउँलाई त्यागेर ऊ एक्लै काठमाडौँ आइपुगेकी छ र डोकोमा साग बेचेर स्वाभिमानपूर्वक बाँचेकी छे । यति मात्र होइन, आफ्नो प्रेमी सन्तोषलाई भेटेपछि पनि उसले कुनै गुनासो गरेकी छैन र उसको सहारा पनि मागेकी छैन । उसले उल्टै सन्तोषलाई आफ्नो डेरामा लगेर प्रेम, सम्मान र ममता खन्याएकी छे । प्रेमको निशानीका रूपमा सन्तोषको बच्चा लिएर ऊ खुसीसाथ सन्तोषबाट टाढा भएकी छे । यसरी नारीभित्रको विराटता र जस्तोसुकै परिस्थितिमा पनि डटेर बाँच्न सक्ने जुन कला वा सामथ्र्य छ त्यसलाई यस उपन्यासले अभिव्यक्त गरेको छ ।
उपन्यासको मुख्य पात्र सन्तोषको जीवनको छोटो अवधिमा आएका विविध उतारचढावलाई कथावस्तु बनाइएको यस उपन्यासले रोचक शैलीमा गम्भीर विषयलाई प्रस्तुत गरेको छ । प्रस्तुत उपन्यास आफ्नो चाहना र सपनालाई कुल्चिएर परिस्थितिअनुसार जीवन बाँच्नुपर्ने बाध्यता बोकेका आमयुवाको कथा, विषम परिस्थितिमा पनि सङ्घर्ष गरेर पवित्र प्रेमको छहारी दिने नारीपात्रको त्याग र राजनीतिक तथा प्रशासनिक क्षेत्रका दलालको मनोवृत्तिजस्ता सन्दर्भलाई आधारभूमि बनाएर लेखिएको छ । सरल भाषा, प्रवाहमय शैली र छोटा मीठा प्रसङ्गले उपन्यासलाई रोचक बनाएका छन् भने मानवीय संवेदना र समसामयिक चेतनाले गम्भीर बनाएको छ । विसङ्गतिभित्र पनि सङ्गति देखाइएको प्रस्तुत उपन्यास पठनीय कृति हो ।

ज्ञानु अधिकारी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?