logo
२०८१ मंसिर ९ आईतवार



साट्न सकिएन जन्मदिनको खुसी

शनिवार |


साट्न सकिएन जन्मदिनको खुसी


गोकुल अधिकारी

सधैँ झैँ बन्दाबन्दीको ३२ औँ दिनमा पनि बिहानको पूजाकर्म सकेर चिया पिएपछि अध्ययनकक्षको कुर्सीमा बसी लेखपढ गर्न लाग्दै थिएँ । गोधूलि शिर निहु¥याउँदै आशीर्वाद थाप्न आइपुगी ‘बाबा आज वैशाख १२ गते नि ।’
‘अष्टचिरञ्जीवीले सुस्वास्थ्य राखून्, धेरै पढ्नू र असल मान्छे बन्नू, यही कामना गर्दछु ।’ यति शब्दबाटै जन्मदिनको खुसियाली बाँडेँ ।
संसारका अधिकांश मुलुकले झैँ नेपालले पनि कोरोना सङ्क्रमणबाट सुरक्षित रहन जनजीवनलाई स्थिर तुल्याउने आदेश जारी गरेको आज एक महिना नाघिसकेको छ । यतिका दिनदेखि हामी पनि गोठमा बाँधिएका गाईभैँसीजस्तै बनेका छौँ । आवतजावत खुकुलिनुको साटो अझ कसिलो बन्दैछ ।
कोरोनाको आतङ्कबाट बच्न सामाजिक दूरीलाई नै एक मात्र उपाय ठह¥याइएको अवस्थामा पारिवारिकस्तरमा मात्र पनि कुनै उत्सव र भेलाहरू हुनसक्ने अवस्था छैन । ‘वसुधैव कुटुम्बकम्’ को आदर्शलाई जानाजान भत्काइएको छ । सामाजिक अन्तर्निर्भरताको कसिलो डोरीलाई निर्ममतापूर्वक खुकुलो तुल्याइएकोे छ । आफन्त र नातेदारबीचको आवतजावतलाई समेत निषेध गरिएको छ । मरिमराउ परिहाले पनि तुरुन्तै गएर काँध हाल्न सक्ने अवस्था छैन । घाटमा समेत धेरै आफन्तजन उपस्थित भएर वेदना पोख्ने र एकअर्काको दुःखमा समभाव दर्शाउने कामलाई बन्देज तुल्याइएको छ । मलामीको पनि अधिकतम सीमा पच्चीसजना तोकिएको अवस्था छ । छिमेकीका घरमा पनि नजानू र सामाजिक दूरी कायम राखिरहनू भन्ने सन्देश सरकारी र निजी सञ्चारमाध्यमले बारम्बार फुकिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन यी सबै सन्देशहको आधारस्तम्भ बनेको छ ।
यसरी सामाजिक ऐक्यबद्धता र पारस्परिक अन्तर्निर्भरताको दाम्लो चुँडाएर सिङ्गो समाज ‘होम क्वारेन्टाइन’को पर्खालभित्र घेरिएर बसेको अप्रिय क्षणमा छोरीको जन्मदिनको खुशीलाई म कसरी सामूहिकीकरण गर्न सक्थेँ र । हामी चारजनाको परिवारमा छोरा घरभन्दा बाहिर छ । मात्र हामी बाउआमाको काखमा लुटुपुटु गर्दै एकान्तवासको यो अपूर्व क्षणमा आज उसको जन्मदिनको खुशी साटिरहेका छौँ ।
उसको जन्मदिन र प्राकृतिक प्रकोपबीच गज्जबको संयोग पर्नेगरेको छ । पाँच वर्षअघि आजैका दिन बिहानै उसले भनेकी थिई जन्मदिनको उपलक्ष्यमा मलाई हजूरले आज धरहरा चढाइदिनुपर्छ । त्यस दिन निकै भारी मनले उसको आग्रहलाई स्वीकारेर त्यसतर्फको यात्रा आरम्भ गरेको थिएँ । लोकन्थलीको निवासबाट धरहरातर्फ सोझिएको यात्रा कोटेश्वर हुँदै बानेश्वर चोकमा पुग्नासाथ भूकम्पको कहरमा लपेटियो र केही क्षणमै धरहरा धुलाम्मे बनेको खबर त्यहीँ सुनियो । अग्लो धरहराको टुप्पोमा पुगेर खानुपर्छ भनी रहर गरेर उसले बोकेका फलफूल र बिस्कुटले भरिएको सानो झोला धरहरा भुइँमा धसिएको खबर सुन्ने बेलासम्म पनि उसले आफ्नो हातमै च्यापिरहेकी थिई । त्यसपछि गएका चार वर्षसम्म यो वैशाख १२ गते थोरै अंश छोरीको जन्मदिनको खुशीमा र धेरैचाहिँ धरहरा चढ्ने उसको अपूरो धोकोको घाउले च्वास्स घोचिँदै बित्ने गरेको थियो । हरेक साँझसँग मिर्मिरे बिहान साटिँदै जाँदा भूकम्पसम्बन्धी कहरको घाउमा पनि विस्तारै खाटा बस्दै थियो ।
सम्भवतः सार्वजनिक जीवन पूर्णरूपमा निलम्बनमा परेको र आफ्नै घरभित्र नजरबन्दजस्तो अवस्थामा बस्नुपरेकाले होला पाँच वर्ष पुरानो त्यो क्षण आज फेरि ताजा अनुभूति बनेर भित्रियो र मनलाई धेरै बेरसम्म दुखाइरह्यो । एकान्तवासको यो पट्यारलाग्दो अवस्थाले निको हुँदैगएको त्यो चोटमाथि नूनचूक छर्ने काम गरिरह्यो । त्यस दिनको अत्यासको अनुभूति सघन रूपमा नजिकियो र विस्मृतिको बिर्काे लागिसकेकोे घाउबाट फेरि भल बग्यो, सम्हालिन पनि केही गाह्रो भयो । बानेश्वर चोकमा आफूले टेकेको भुइँ थरर्र काँप्दै गरेको र केही पर रहेको धरहरा टुक्राटुक्रा भई भुइँमा धसिएकोे बीभत्स क्षणको सम्झनाले मनलाई क¥याप्प पा¥यो ।
जन्मदिनको खुशी साटिरहेकी छोरीले उपहारमा आज केही मागिरहेकी छैन । पाँच वर्षअघि धुलाम्मे धरहराभित्र पुरिएको त्यस दिनकोे उसको रहर जस्तै आज पनि केही उपहार माग्ने उसका चाहनालाई सायद, कोरोना नामको आतङ्कको पहिरोले भत्काइदिएको छ । संयोगको कुरा, म घर छाडेर हिँडडुल गरिरहने मान्छे । यी दुवै कहरको समयमा भने पत्नी र छोरीका साथमै रहन पाएको छु ।
यी दुई महाकहरबीचको भिन्नताले पनि दिनभरि नै मनलाई निकै हलचल गराइरह्यो । प्राकृतिक आतङ्कबाट सुरक्षित हुन अपनाउनुपर्ने विधि पनि क्या गजबका, कस्तो विरोधाभाषपूर्ण अवस्था, त्यसबेला आफूलाई सकेसम्म घरभन्दा जति टाढा राख्न सकिन्छ त्यति नै सुरक्षित हुनसक्ने अवस्था थियो । अहिले त्यसको ठीक विपरीत स्थिति छ । घर बाहिर निस्कियो कि लक्ष्मणरेखा नाघेर बाहिरिएकी सीताको जस्तो अवस्था हुने र कोरोना नामकोे राक्षसले हरेर लैजाने त्रास सर्वत्र छाएको छ ।
पाँच वर्षअघिको भूकम्पको कहरले घरभित्र रहेकालाई थुतेर बाहिर निकाल्यो । कडा चट्टान भएर मान्छेको मनभित्र हुर्केको सामाजिक अहंको दूरीलाई क्षणभरमै भत्काइदियो । सबैलाई एउटै खुला आकाशमुनि भेला गराइदियो । अग्लाघरे, होचाघरे, झिँगटीघरे वा जस्तापाताघरेदेखि आरसीसी छाना भएकासम्मलाई एउटै चौरमा एकसाथ उभ्याइदियो । सम्पन्न विपन्न सबै सँगै मिलेर पाल टाँगे, डोरी कसे, अनि त्यही ओतमुनि बसेर मुस्किलले जुटाएको सुक्खा चिउरा र चाउचाउको सहभोज गरे । नेपालमा समाजवादको लोभलाग्दो चित्र कसरी र कुन मुहूर्तमा कोरिन्छ भनेर गहन विश्लेषण गर्ने बौद्धिक अड्कलबाजहरू आफैँ अलमल्लमा परे ।
घण्टाघण्टामा आइरहने प्रत्येक नयाँ पराकम्पनसँगै त्रासको मात्रा जतिजति बढ्दै जान्थ्यो मन्छेको मनको आयतन उतिउति फराकिलो बन्दै जान्थ्यो र त्यसले रहलपहल सामाजिक दूरीको मात्रालाई पनि टक्टक्याउँदै लान्थ्यो । घरबाट बाहिरिएका मान्छे पराकम्पन रोकिएको बेला फुत्त घर पसेर हतारहतार खाना बनाएर खान्थे र झटपट बाहिरिहाल्थे । कतिपय अवस्थामा त पाक्दापाक्दैको वा पस्किँदा पस्किँदैको खाना छाडेर ह्वारार्र बाहिर निस्कनुपर्ने अवस्था पनि आइपथ्र्याे ।
त्यसबेलाको त्रासले यसरी सबैलाई क्षणभरमै दुःखसुखको साथी बनाइदिएको थियो । त्यतिबेलाको कहर आफ्नै भूभागबाट उत्पत्ति भएको मौलिक प्रकृतिको थियो । अहिलेको कहरमा इपिसेन्टर मात्र होइन यो आयात भएको मुलुक पनि फरक छ । उत्तरी हिमालको सीमापारिबाट उत्पत्ति भई महादेशीय रङसमेत घोलिएर हाम्रो सीमाभित्र प्रवेश पाएको कोरोना आतङ्कले सिर्जना गरिदिएको सामाजिक अवस्था भने भूकम्प कहरको भन्दा ठीक विपरीत छ । यसले त सडकमा विना काम बरालिनेदेखि लिएर संसद्को पक्ष प्रतिपक्षका कुुर्सीमा रहेर राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुपर्नेसम्मका मानवलाई खोरमा थुनिएका भेडाबाख्राजस्तै तुल्याइदियो र घरभित्रै थन्क्याइदियो । यसरी मात्र पाँच वर्षको अन्तरमा फरक फरक प्रकृतिका यी भयानक विपत्तिको साक्षी बन्न पुगियो ।
भूकम्पको कहरमा त राहत वितरण गर्न पनि अहिलेजस्तो अप्ठ्यारो थिएन । अहिलेको जस्तो कुनै पनि वस्तुलाई हातले च्याप्प समाउन वा छुन सशङ्कित भइरहनुपर्ने अवस्था थिएन । जोकोही एक अर्काको नजिक खुलेर पुग्न सक्थे र मनलागेको राहत धक फुकाएर दिन सक्थे । मनकारी मान्छेहरू अरूको गाह्रोसारो सजिलै टारिदिन सक्थे । अहिले राहत सामग्रीलाई पनि हातमा पञ्जा लगाएर बडो साबधानीपूर्वक प्रदान गर्नुपर्ने स्थिति छ । एक डल्लो साबुन वितरण गर्न पनि लामो भाटोको सहारा लिएर पाँच सात फिट परबाटै लिनेदिने गर्नुपर्ने अवस्था छ ।
एकथरी विज्ञहरू कोरोना भाइरसले घेर्न छाडिसक्दा एक वर्ष त पूरै लाग्नसक्छ भन्दैछन् । त्यो समयभरि हाम्रा कानले सामाजिक दूरी कायम गर्ने सन्देशहरू मात्र सुनिरहनेछन् । हाम्रा आँखाले पनि यस्तै चेतनालाई सामाजिक सञ्जालहरूमा पढिरहनेछन् । बन्दाबन्दीको दैलो खुल्दा हामी कतै वर्षांैपछि पिँजडाबाट निस्केको सुगाजस्तो कुँजिएको अवस्थामा त हुनेछैनौँ ? हामीसँग मानवत्व थोरै र मूर्तिवत् प्रवृत्तिचाहिँ धेरै हुने त होइन ? आफैँबाट उब्जेका यस्ता धेरै प्रश्नले दिनभरि मलाई घेरेर बसिरहे । आफैँले जन्माएका तीखा बाणजस्ता यी जिज्ञासाले निरन्तर घोचिरहे ।
छोराछोरीको जन्मदिनलाई किन यति धेरै महत्व दिन थालिएको होला ? जन्मोत्सव नमनाए के बिग्रन्छ ? जिज्ञासाहरूको जुलुसभित्रबाटै फुत्त निस्केको यो अर्काे प्रश्नले फेरि निकैबेर चिमोटिन्छु । त्यसको उत्तर भने आफैँ भित्रबाट हुँडलिएर आउँछ । न्वारन, पास्नी वा जन्मदिनलाई उत्सवमय तुल्याउँदै आफन्तजनहरू एक ठाउँमा भेला हुनु भनेको एक अर्थमा सामाजिक सम्बन्धलाई कसिलो तुल्याउने वा एकअर्काबीच आत्मीय भेटघाट गर्ने बहाना पनि रहेछ । सहरभित्रको व्यस्त दिनचर्याका कारण हत्तपत्त नजिकिन नभ्याएका आफन्त र शुभेच्छुकसँगको भेटघाटका लागि त यो गतिलो अवसर बन्न पुग्दोरहेछ, तर यतिबेला कोरोना आतङ्कबाट सुरक्षित रहने अचुक अस्त्र भन्दै हामीले आपसी सम्बन्धको माखेसाङ्लो नै आफ्नै हातले निर्ममतापूर्वक टुटाइदिएका छौँ । सामाजिक दूरी कायम गरेर रहनुपर्ने यस्तो बाध्यात्मक परिस्थितिमा छोरीको जन्मदिनलाई कसरी उत्सवमय बनाउन सकिन्थ्यो र ? एकअर्काबीच टाढिएर रहनुपर्ने संहितालाई कठोरतापूर्वक पालन गरिरहेका हामी बाआमाले उसको जन्मदिनलाई कहाँ पर्वको रूप दिन सक्थ्यौँ र ।
एकान्तवासमा पुगेका लाखौँ सङ्क्रमितलाई व्यवस्थापन गर्न सिङ्गो मानव समुदायलाई हम्मेहम्मे परेको, भ्यान्टिलेटर हुँदै मृत्युको मुखमा पुग्नै लागेका हजारौँ बिरामीले संसारभरिका आईसीयू कक्ष भरिएको अनि सयौँ लाशको थुप्रो र तिनलाई गाड्ने जलाउने ठाउँको समेत अभाव भोगिरहेको समाचार र त्यस्ता हृदयविदारक तस्बिरले फेसबुकका भित्ता भरिएका बेला सामाजिक सञ्जालको दैलो उघारेर विगत वर्षहरूमा झैँ उसको हँसिलो तस्बिर सजाउँदै जन्मदिनको खुशीलाई सार्वजनिक गर्न मनले मानेन ।
मात्र पाँच वर्षको अन्तरमा यही बैशाख महिनामा हामीले भोगेका दुई भयानक कहरको फरक फरक चित्र नियाल्दै भय र अत्यासको मनस्थितिमा आफ्नै घरको बन्द शिविरबाट यसपटक हामी बाउआमाले छोरीको उन्नाइसौँ जन्मदिवस मनायौँ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?