आर. मानन्धर
आफैँले आफैँलाई नभेट्ने गरी
कुदिरहेका मानिसहरू
आफैँमा थुनिए
प्रदूषणमा श्वास तान्न
पल्किएकाहरू
आफ्नै घरमा निस्सासिए
आज अचानक
आफैँसित जम्काभेट हुँदा
साह्रै आत्तिएका छन् मानिसहरू !
अल्मलिएका छन्
खै, हात मिलाउन् कि नमस्ते गरुन्?
धरतीभरि गाडी गुडाउनेहरूको
विमानले आकाश ढाक्नेहरूको
हठात् खोसिएका छन्
धरती र आकाश दुवै
सीमित हुन बाध्य भएछन् — आफैँमा
बल्ल देख्दैछन् तिनीहरू — आफ्नो घर
बल्ल देख्दैछन् — आफैँलाई
तर चिन्नै गाह्रो !
संसार मात्र नियाल्ने ती आँखाले
अब राम्ररी नियालुन् आफूलाई
नभए त फेरि
भोलि घरै पनि हराउन सक्छ
अनि चिन्नलाई अनुहारै पनि !