logo
२०८१ मंसिर ९ आईतवार



किसानको चाड असार

शनिवार |


किसानको चाड असार



विजय कट्टेल ‘छहरा’

असारे झरीले निथ्रुक्क भिजेको शरीर छ । तर पनि किसानलाई झरीको कुनै पर्वाह छैन । यो बेला खेतका गह्रामा हिलो नखेलेसम्म किसानको मन कहाँ मान्छ र ! मनको तिर्सना हिमाल भएर चुलिन्छ । हलीले खेत जोतेपछि लाठेहरू आली लाएर खेत सम्याउँछन् । ब्याडेहरू धानको बीउ काड्न ब्याडमा व्यस्त हुन्छन् । रोपाहारहरू छुपुछुपु धानका गाभालाई हिलोमा रोप्छन् । सबैजना आ–आफ्नै सुरमा हिलो खेलेर कर्मशील जिन्(दगीलाई अगाडि बढाउँछन् । मानु रोपेर मुरी फलाउने किसानको सपनालाई यो असारले पूरा गरेकै हुन्छ । असारे झरीमा रुझ्नुको आनन्द पनि भिन्नै छ । असारको रोपाइँसँगै किसानका मनमा खुसीका लहहरू पनि झाँगिन थाल्छन् । असार रमाइलो नभए खेतका गह्राहरूमा हरियाली छाउँदैन । गह्रामा हरियाली नछाएसम्म किसानको मनमा आनन्दको आभास आउँदैन । झमझम बर्सिएको आकाशेझरीसँगै खोलानालाहरूको वेग थामिनसक्नु भएर आउँछ । फोहोरमैला बाढीले बढारेर बगरहरू सफा र सिनित्त हुन्छन् । छाँगा छहराहरू उच्छालिएर छल्को मार्छन् । साँच्चै किसानका लागि असार एउटा चाड नै हो । नत्र मङ्सिरमा सुन फलेका सपना र धान झुलेका गह्राहरू कहाँ देख्न पाउँछन् र किसानले । कामको चटारोले भोक र तिर्खा सबै बिर्साउँछ । असारेगीतका भाकाहरू खेतभरि पोखिन्छन् । कर्मशील हातहरू हिलो खेलेर कहिल्यै थाक्दैनन् । रोपाहारहरू गीत घन्काउँछन् । सबैको एउटै स्वर र एउटै लय हुन्छ । असार आउनुअगावै किसानले वर्षामासका लागि पुग्नेगरी सामलतुमल तयार पार्छन् । खेतालाको बन्दोबस्त र उनीहरूलाई चाहिने र मनपर्ने खानपानको जोहो गर्छन् । हाम्रो समाजमा कसारलाई मीठो र सगुनको प्रतीक मानिन्छ । धेरै समयसम्म नबिग्रने र गुलियो स्वाद हुने हुँदा खेतका गह्राहरू पानीले भरिएसँगै असारमा कसारको आशा गर्छन् खेतालाहरू र बस्तीबस्तीमा कामसँग रमाउँदै असारे गीतका भाखाहरू यसरी गुञ्जाउँछन्–
न बाहिर बोक्रो न भित्र खोक्रो पाकेछ कसार
खेतका गह्रा डप्किन थाले लागेछ असार
भ्यागुता ज्यानले मङ्गलु गायो आलीमा बसेर
सकियो मेलो बनाइदेऊ बाउसे हिलैमा पसेर ।
झमझम बर्सिएको असारेझरीमा काम गर्दा जिउ थाकेको पत्तै हुँदैन । पानीको मेसो मिलाउनेदेखि खेतालाहरूलाई भोक लाग्दा खाजापानीको व्यवस्था मिलाइदिने सबैजना आ–आफ्नै काममा व्यस्त रहन्छन् । बारीमा कोदो र खेतका गह्रामा धान रोपेर अपार आनन्दको अनुभूति राख्ने किसानका हातगोडा र मुख असारमा बराबरी चल्छन् । झुत्रेझाम्रे लुगा पनि किसानको आङमा यो बेला चिटिक्क सुहाउँछ । न त मीठो–मसिनोको खोजी हुन्छ न त कामको रोजीछाडी, जे–जस्तो आइपर्छ, सबैले गरेकै हुन्छन् । पेट भर्न पाए पुग्छ । त्यसमाथि दही र चिउरा खाएर असारको पन्ध्रमा राजादेखि रैतीसम्म सबैले हिलोमा पस्नुपर्ने हाम्रो संस्कार छ । यो बेला हिलोमा पस्न डराउने र ठाँटिएर हिँड्नेलाई मङ्सिरको धान चोर भन्ने चलन छ ।
साँच्चै कर्म नै नगरी फल कहाँ प्राप्त हुन्छ र ! किसानको असारे विधान यस्तै छ । असार पन्ध्रलाई मध्येवर्षा मानिन्छ । खेतबारीमा पाकेका मकै, फर्सी, बोडी, आलु, सिमीलाई भिœयाउने मौसम पनि यही असार नै हो । यही मौसममा आँप, लिची, कटहर, आरू, स्याउ, नासपातीलगायत अनेकथरीका फलफूलहरू बोटमा लटरम्म फलेका र पाकेका देखिन्छन् । किसानले दुःख–सुखलाई आत्मसात् गर्दै खेताला खोजेर खेतिपाती लगाउने मौसम पनि त यही हो । आकाशमा कालो बादल नलागेसम्म किसानको मनमा उज्यालोको आभास हुँदैन । मल, बीउ, पानीको अभावमा किसानहरू आत्तिन्छन् । सपनाहरू तुहिन्छन् । त्यसैले किसानहरू यो असारमा मौसमकै सपना देख्छन् । मौसम बिग्रिएर पानी नपरे संसारीमाईको पूजा गर्ने, भ्यागुतासँग भ्यागुतीको विवाह गराइदिने र जलदेवतालाई खुसी पार्न इन्द्र देवताको पूजा गर्ने परम्परा रहँदै आएको छ ।
रीतिरिवाज, परम्परा र परिवेशलाई आत्मसात् गर्दै गाइने असारे गीतमा हाम्रो नेपाली पहिचान छ । यो संस्कार र संस्कृतिको धरोहरलाई हामीले यसैगरी जोगाउँदै अगाडि बढाउनुपर्छ । लाखौँको सङ्ख्यामा भित्रिने पर्यटकहरू हाम्रो कला, कौशल र जाँगर देखेर रमाउँदै नाच्छन् र विदेशी मुद्राको वर्षा गराउँछन् । जसले गर्दा देशको आर्थिक उन्नति र विकासमा निकै ठूलो टेवा पुग्न गई देश समृद्धशाली बन्छ ।
कला र संस्कृतिको धनी हाम्रो देशमा हिजोआज खेतिपाती लगाउने प्रक्रियामा आएको आधुनिकीकरण र सुविधाभोगी प्रवृत्तिले कृषकको सङ्ख्या दिनप्रतिदिन घट्दै छ । देशका लाखौँ ऊर्जाशील युवा विदेशमा रोजगारीका लागि गए । युवा स्वरोजगार र सीप विकासको अभावले भएका जमिन पनि बाँझै भए । आवासको नाउँमा कृषियोग्य जमिन कङ्क्रिटको जङ्गलमा रूपान्तरण हुँदै छ । मेला, पर्म र बेठीजस्ता शब्द अब शब्दकोशमा मात्र सीमित भइसके । हलो र गोरु सङ्कटमा छन् । यी गहन विषयवस्तुमाथि हामीले बेलैमा ध्यान पु¥याउन नसके हाम्रो संस्कार सँगसँगै हामी र हाम्रो पहिचान हराउन बेर लाग्दैन । त्यसमाथि यतिबेला विश्वमै फैलिएको कोरोना भाइरसका कारण कमजोर बनेको अर्थतन्त्रलाई बलियो बनाउन पनि कृषिमा नै विशेष ध्यान दिन जरुरी छ । यसका लागि वैदेशिक रोजगारीबाट फर्किएका युवालाई राष्ट्रले कृषिसम्बन्धी सीप र रोजगारमूलक तालिमको व्यवस्था गर्नुपर्छ । हाम्रो परम्परा, संस्कार र संस्कृतिको ज्ञान नयाँ पुस्तालाई सिकाउन सकेमात्रै यसको जगेर्ना जुगौँजुगसम्म रहनेछ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?