विजयरत्न तुलाधर
कोरोना सङ्क्रमणबाट सुरक्षित रहन विश्वका धेरै राष्ट्रमा जस्तै नेपालमा पनि बन्दाबन्दीको सहारा लिइयोे । बन्दाबन्दीले आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा जस्तै चलचित्र क्षेत्रमा पनि त्रासको वातावरण सिर्जना ग¥यो । अहिले बन्दाबन्दी केही खुकुलो भएको छ । भौतिक दूरीमा रही उद्योग, व्यवसाय तथा कार्यालयहरू सञ्चालन हुन थालेका छन् । तर, चलचित्रसम्बन्धी कुनै गतिविधि भने हुन सकेको छैन । यस्ता गतिविधि हुने सम्भावना पनि देखिँदैन ।
यस्तो विषम परिस्थितिले गर्दा चलचित्र क्षेत्रमा आश्रित न्यून आय भएका कलाकार र प्राविधिक ठूलो समस्यामा परेका छन् । राम्रो आय गर्ने भनिएका प्रदर्शन व्यवसायीले पनि आफ्नो समस्यामा कुनै सम्बोधन नभएको गुनासो गरिरहेका छन् । प्रदर्शन व्यवसाय भन्नाले चलचित्र प्रदर्शन गरिने प्रेक्षालय अर्थात् सिनेमा घरलाई लिइन्छ । यस्ता घरमा आश्रित विभिन्न वर्गका कर्मी पनि समस्यामा नै छन् । यी समस्याको समाधानको उपाय भनेको हल खोल्नुमात्र हो ? के बन्दाबन्दीको अवस्थामा रहेको चलचित्रको गतिविधि सुचारु हुँदैमा वा सुटिङ हुँदैमा समस्या निराकरण हुन्छ ? यी वा यस्ता प्रश्न अहिले चलचित्र क्षेत्रमा यत्रतत्र सर्वत्र सुन्न पाइन्छ ।
प्रदर्शन रोकिएका चलचित्र
बन्दाबन्दी हुनु केही दिनअघि प्रदर्शन मिति तोकिएका चलचित्रसमेत हलमा दर्शक आउन छाडेका कारण रिलिज हुन पाएनन् । त्यस्ता चलचित्रमध्ये निर्देशक सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु २’ हो । निर्धारित मितिमा प्रदर्शन गर्ने उद्देश्य लिएर ठूलो तामझामसाथ प्रचारमा उत्रिएको यो चलचित्र रिलिज हुने दिनभन्दा अघि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘बागी ३’ ले दर्शक बटुल्न नसकेपछि यो चलचित्रको प्रदर्शन अन्तिम समयमा आएर स्थगित भयो । यसपछि चैत ७ गते निर्देशक फूलमान बलको
‘नीरफूल’, चैत २१ गते निर्देशक शिवहरि पौड्यालको
‘लक्का जवान’, चैत २८ गते ‘चपलीहाइट ३’, ‘प्रेमगीत ३’ र हास्यअभिनेता सन्तोष पन्तको सक्रियतामा निर्माण भएको ‘हिजोआजका कुरा’जस्ता चलचित्र पनि प्रदर्शनमा आउन पाएन । यी चलचित्र निर्धारित मितिमा प्रदर्शनमा नआएपछि प्रचारमा गरेको लगानी बालुवामा पानीसरह साबित भइदिएको छ । त्यसमाथि स्थिति सुध्रिसकेको अवस्था नभएकाले आफ्नो लगानी कहिले र कसरी उठाउने भन्ने चिन्ता निर्मातालाई छ ।
नेपालमा मात्र होइन, सधैँ चलायमान रहने बलिउड भनिने हिन्दी चलचित्र र हलिउड भनिने अङ्ग्रेजी चलचित्र उद्योग पनि यही समस्या भोगिरहेका छन् । सुटिङ रोकिएकै छ । बलिउडमा भर्खरमात्रै जारी सूचनाअनुसार सुरक्षाका उपाय अवलम्बन गरेर सुटिङ गर्न त पाइन्छ । तर, ६५ वर्षभन्दा माथिका कलाकार वा प्राविधिकलाई सुटिङमा सहभागी गराउन पाइँदैन भन्ने नियमले बलिउडका महानायक अमिताभ बच्चन सुटिङमा सहभागी हुन पाएका छैनन् । यस्ता धेरै कलाकार र प्राविधिक सुटिङमा जान नपाउने भएपछि यो नियमको त्यहाँ विरोध भइरहेको छ ।
छायाङ्कन बाँकी चलचित्र
बन्दाबन्दीका कारण सुटिङ हुँदाहुँदै रोकिएका चलचित्रमा अनमोल केसी र सुहाना थापा अभिनीत तथा झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ भुटानकी अभिनेत्री उगेन छोडेन र दयाहाङ राई अभिनीत तथा दीपेन्द्र लामा निर्देशित चलचित्र ‘दुई नम्बरी’का साथै ‘परदेशी ३’, ‘लप्पन छप्पन २’ लगायत कतिपय चलचित्रको सुटिङ रोकिएको छ । कोरोनाको सम्भावित सङ्क्रमण र बन्दाबन्दी कायमै रहेका कारण सुटिङ सुचारु हुन सक्ने देखिँदैन । यसले गर्दा एकातिर निर्माताहरूको लगानी डुबिरहेको छ भने अर्कातिर यी चलचित्रसँग सम्बन्धित कलाकार र प्राविधिकको आर्जन रोकिएको छ ।
सुटिङमा सावधानी
चलचित्र निर्माणक्रमलाई सक्रियता दिने सबैभन्दा प्रमुख काम भनेको सुटिङ हो । कुनै पनि चलचित्रको सुटिङ गर्दा ठूलो जनशक्तिको प्रयोग हुन्छ । मानिसको सङ्ख्या बढ्नु भनेको सङ्क्रमणको सम्भावना पनि बढ्नु हो । त्यसैले सुटिङ गर्नैपरेको खण्डमा यसका लागि प्रयोग हुने जनशक्तिलाई सीमित सङ्ख्यामा मात्र प्रयोग गर्नु बुद्धिमानी हुन्छ । सुटिङ गरिने थलो जसलाई चलचित्रको भाषामा लोकेसन वा सेट भन्ने गरिन्छ, त्यो पनि खुला र ठूलो हुनु जरुरी छ । यस्तो वातावरण बनाउन सकेमात्र सबैजनाले भौतिक दूरीमा बसेर सुटिङको काम गर्न सक्छन् ।
प्रदर्शनको व्यवस्था
हलवालाहरू आफ्नो ठूलो लगानी र बैङ्कबाट लिएको ऋण भुक्तानी गर्न त के ब्याजसमेत तिर्न धौ–धौ परिरहेकाले हल खोल्न पाउनुपर्ने आवाज उठाइरहेका छन् । उनीहरू दर्शकको सम्पूर्ण सुरक्षाका उपाय अवलम्बन गरी हल खोल्न पाउनुपर्ने माग गरिरहेका छन् । तर, चलचित्र प्रदर्शन गर्ने थलो सिनेमाघर र नाटक देखाउने ठाउँ पे्रक्षालय सञ्चालन गर्नु भनेको कोरोना सङ्क्रमणका लागि मलजल गर्नु हो ।
सङ्क्रमितको सङ्ख्या बढिरहेको अवस्थामा हल खोल्नु उचित देखिँदैन । तर, हलवालाको समस्यालाई बुझेर हल खोल्दैमा दर्शकहरू पनि निर्धक्क भएर आउँछन् त ? यतातर्फ पनि ध्यान दिन आवश्यक छ । हिन्दी चलचित्र ‘बागी ३’ प्रदर्शन गरिँदा जस्तो दर्शकको सङ्ख्या न्यून भयो भने हल खोेल्नुको कुनै अर्थ रहँदैन । त्यसैले यतातर्पm पनि ध्यान जानुपर्छ । बरु बन्दाबन्दीका कारण प्रदर्शन व्यवसायीले भोग्नुपरेका समस्यालाई राज्यले यथोचित सम्बोधन गर्नु नै उत्तम हुनेछ । जस्तो कि हललाई बन्दाबन्दी अवधिभरको विद्युत् महसुल, तिर्नुपर्ने कर तथा बैङ्कको ब्याज मिनाहा गर्ने, बन्दाबन्दीको समाप्तिपछि तथा अवस्था सामान्य नभएसम्मका लागि चलचित्र प्रदर्शकहरूलाई अन्य उद्योगीसरह कर छुट दिने व्यवस्था मिलाउन नेपाल चलचित्र सङ्घका महासचिव तथा वरिष्ठ चलचित्रकर्मी अशोक शर्माको सुझाव छ ।
वैकल्पिक व्यवस्था
चलचित्रको प्रदर्शन ठूलो पर्दा भएको प्रेक्षालयमा नै गरिनुपर्छ । पूर्ण मनोरञ्जन पनि ठूलै पर्दा भएका हलमा मात्र लिन सकिन्छ । यो ध्रुवसत्यजस्तै हो । तर, सङ्क्रमणको जोखिम निराकरण नभइसकेको अवस्थामा प्रदर्शनको वैकल्पिक व्यवस्थातिर ध्यान दिनुपर्छ । हलिउड बलिउडतिर यसतर्पm पाइला अगाडि बढिसकेको छ । अर्थात् ठूला पर्दाका लागि भनेर बनाइएका चलचित्र साना पर्दा विशेषगरी इन्टरनेटको माध्यमबाट दर्शकमाझ ल्याउन थालिएको छ । यो बन्दाबन्दीको अवधिमा त्यस्ता केही हलिउड बलिउड चलचित्र नेटफ्लिक्स, अमाजोनलगायत इन्टरनेट एप्समार्फत रिलिज गर्न थालेका छन् । उदाहरणका रूपमा हलिउडको ‘एक्सट्रायक्सन’ र बलिउडको ‘गुलाबो सिताबो’लाई लिन सकिन्छ । तर, नेपाली चलचित्रको पहुँच त्यस्ता ठूला नेटवर्कसम्म पुग्न भने समय लाग्न सक्छ । नेपालमै पनि यसप्रकारको इन्टरनेट एप्स आइफ्लिक्स नभएको होइन तर आवश्यक रूपमा यसले व्यावसायिक सफलता भने हासिल गर्न सकेका छैन । हालै आएर अभिनेत्री ऋचा शर्माले नेपाली चलचित्रलाई दर्शकको घरघरसम्म पु¥याउने उद्देश्य लिएर चलचित्र एप्स नामक इन्टरनेट एप्स खोलेकी छन् । दीपकराज गिरी र दीपाश्री निरौलाका ‘छ माया छपक्कै’ र ‘छक्का पञ्जा ३’ लाई प्रतिचलचित्र दसलाख रुपियाँमा प्रदर्शन अधिकार यसले लिएको छ । ‘छक्का पञ्जा ३’ टेलिभिजनमा सर्वाधिक दर्शकले हेरिएको चलचित्र हो । चलचित्र प्रदर्शनका लागि वैकल्पिक माध्यमका रूपमा यसलाई उदाहरणका रूपमा पनि लिन सकिन्छ । त्यस्तै राम्रै रकम दिएर नेपाली चलचित्रको प्रसारण अधिकार हासिल गर्दै आएका टेलिभिजनमा टीभी फिल्मी, डिसहोम, विन्ध्यावासिनीलगायत छन् । युट्युबमा पनि नेपाली चलचित्र रुचाउने दर्शकको सङ्ख्या दिनानुदिन बढ्दै छ ।
यस्ता वैकल्पिक माध्यमप्रति नेपाली चलचित्रका दर्शक अभ्यस्त भइसकेका छैनन् । यसले चलचित्रको लगानीअनुरूप आय हुन कठिन छ । यो समस्यासित जुध्न निर्माणमा पनि वैकल्पिक उपाय अवलम्बन गर्नु आवश्यक छ । निर्माणमा वैकल्पिक उपाय भन्नाले चलचित्र निर्माणका लागि कम्तीमा एक करोड रुपियाँ लगानी हुने गरेको थियो । यो लगानीलाई नियन्त्रण गरेर बीस÷तीस लाख रुपियाँको लागतमा चलचित्र बनाउनुपर्छ ।
कलाकारहरूको बीस लाख, चालीस लाख पारिश्रमिकलाई डेढ÷दुई लाख रुपियाँमा समेट्नुपर्छ । यो लागतमा काम गर्ने कलाकार, प्राविधिक, निर्देशकलाई लिएर चलचित्र बनाउनुपर्छ । बलिउडमा एकातर्फ सय करोड पारिश्रमिक लिने सलमान खान, करिना कपुर वा आमिर खान लिएर चलचित्र बनाउनेहरू पनि छन् भने अर्कातिर बीस लाख, चालीस लाख रुपियाँको लागतमा राजकुमार राव, आयुष्मान खुराना, कीर्ति खरबन्दा वा कार्तिक आर्यनजस्ता सुपथ मूल्यका कलाकारलाई लिएर विचार प्रधान वा अन्यखालका रोचक चलचित्र निर्माण गर्ने पनि छन् । यसरी निर्माण गरिएको चलचित्र वैकल्पिक माध्यममार्फत प्रदर्शन गर्न सकिएमा लगानी सुरक्षित गर्न सजिलो हुन्छ र चलचित्र उद्योगले पनि फस्टाउने आवसर पाउँछ ।