logo
२०८१ मंसिर ९ आईतवार



ढोकाबाहिर टोलाइरहेका कवि

शनिवार |


ढोकाबाहिर टोलाइरहेका कवि


निर्मलकुमार थापा

जीवन सागरको वास्तविक घर सायद आफ्नै चिनारी हो । भोगका निम्ति आफ्नै भागमा परेको खाना हो । द्वारिका श्रेष्ठ साहित्यको रसरङ्गी सङ्गतमा लागेर कविताको लामो बाटोमा गोडा त टेकाए तर गन्तव्य कहाँ हो ? शाब्दिक जङ्गल विहारमा यथार्थ व्यवहारको कर्तव्य साङ्लो कसरी झुल्कियो ! भनौँ त्यो दिव्य दर्शन थियो ।
प्रकृति दंशमूलमै परेकाले होला माता उमेरका महिलाहरू सबै आमा लाग्थ्यो । पिता उमेरका सबैजना अभिभावक लाग्थ्यो । उमेर जेसुकै भए पनि सँगै हाँस्ने खेल्ने सबै दौँतरी लाग्थ्यो । पर्वाहविना रातको कविता रचे, दिनको घाममा पसिना सुके, पक्षी–पुतलीका पखेटामा शब्दका कोसेली चढाए । विपनामा सपनाका कविता लेखे, सपनामा सपाट संसारको बिलौना देखे । अन्योलको सिलौटोमा भावना, अनुभव पिस्दै जाँदा विश्वविद्यालयमा नपाइने शिक्षा हात पारे । त्यो पनि बेला थियो शब्दमा जीवन सजिन्थ्यो । जब उनको जीवन स्वयम् काव्य बन्यो, शब्दका गाथले साथ छोडेपछि निर्जन नगरका परदेशी नूतन कविका रूपमा स्मृति ऐनालाई पुछिरहे । परिवारमाझ ऐकान्तिक साँचेर बस्नु परम् दिव्यता हात पार्ने अचुक ओखती हो । आफ्नाहरूसँगै भएर पनि एक्लो शरीर सुस्वास्थ्यको बैसाखी टेकेर विवेकसहित ठमठमी हिँडिरहेको छ ।
रहस्यदर्शीले पानीमा हस्ताक्षर गरेर अन्तध्र्यान भए । कवि द्वारिकाले अनुभवका हाँगा–पातमा थपक्क बसेका शीतका थोपालाई बिस्तारै हल्लाए । ती कविता बनेर यसरी मुस्कुराए–
सधैँ–सधैँ म ताराको देश डुल्छु
रातको
सहस्र प्रहरमा
बैँस म पोखाउँदै हिँड्छु ।
अन्धकारको माझमा, मेरो कोठामा बत्ती बाल्दा
झ्यालसम्म आई, रात चियाइरहन्छ
कसरी कसरी, बत्ती निभाउन पुग्दा
रात जिल्ल परिरेको हुन्छ
लुकेर निमेषमा बाहिर देखिएझैँ,
मलाई कति माया लाग्छ ।
स्वप्नलीलाको एकल–यात्रामा गुनगुनाएका गीतको भाकासँगै हिँडिरहँदा बर्सादी भावना भिज्लान् कि भनेर कविताको छानो उनको जो छाता बनेको छ र आफँैलाई जोगाइरहेको छ । अविछिन्न वर्षाका सुरम्य थुनहरूदेखि चुहिरहेको छ–
लामा दिन बालेर
रातमा
म मेरो कथा खोज्छु;
दिनको तीक्ष्ण प्रकाशले
मेरो आँखाको ज्योति खाएको छ ।
अनि रातले आपूmलाई सधैँ छोपूँ लाग्छ;
तर, टाढाको यो डाँडाको, पिलपिल बलेको ज्योतिले
मैले ओढेको रातलाई, च्यात्न खोज्छ
यतिमै, विष्णुमती वारिपारि
स्याल बथान, रातको स्तूति गाउँछ ।
द्वारिकाका कविता पढ्दा लाग्छ प्रकृति र आमा केन्द्रीय तŒव बनेर हरेक कवितामा घुलेका छन् । उनी प्रिय गौँथलीका गीत गाउँदै, आकाशको मित बन्दै, मन हर्ने गुराँसको बैँस हेर्दै, जङ्गल किनारामा बस्ने दाउरेसँग उधारो बन्चरो लिएर औँसीको रातमा जूनकीरीको सङ्गीत छप्काउँदै हिँडेका छन् । नदी उनको बग्दो प्रेम हरेक कवितामा बहाव लिएर बहेको देखिन्छ । राप्ती–नारायणीकिनारमा छोडाएको जोबन विष्णुमती–बाग्मतीको तटमा अन्तिम तर्पणका लागि तयार भएजस्तो नियति दशाले डो¥याएको छ । बैँसालु राप्तीका उत्ताउला बहावमा लुकेका साल, काँस र ढड्डी झाडीमा उनी भेटाउँछन्, ओभानो युवकको रक्तिम जोबन । आमाको दूध र बाबुको वीर्य हुलिएदेखि आफँै एक बन्दी बनेर लुकेर चियाइरहेको आपूm हुनुको कारण खोज्न शब्दको हल्कारा बनिरहेका छन् । सम्झनाको डुङ्गामा शब्दहरू वारिपारि गरिरहेका भेटिन्छन् । अमर सालका काठमा कुँदिएका कविताका राप नदीमा खिइन छाडेपछि पनि बूढो मुढाको राप बनेर अँगेनामा साक्षीभावमा बोलिरहन्छन्, निजी उच्छ्वासका मधुरा श्वास रेखाहरू अखण्डवत बलिरहन्छन् ।
त्यो पनि बेला थियो, आकाशका सारा तारा सोहोरेर लक्ष्मीपूजा गर्दै तिहारमा उज्याला शुभकामना कार्ड छपाउँथे उनी र बाँड्थे आत्म(ीयजनलाई । यो पनि बेला हो, आकाशको बूढो बादल हेरेर छायाँ बनिदेओस् र मात लागेका बोला हिँड्नलाई साथी बनिदेओस् भन्दै आफँैसित गुनगुनाइरहेका छन् ।
घाटेवैद्यहरूको चिन्ता । कोइलीले नचिनेको को हो ? को हो ? अथ्र्याउन कवितारूपी भिजिटिङ कार्ड बोकेर हिँड्दथे । सुस्केरा भन्छ, अन्तिम शवयात्रामा सरिक भएको मायाजाललाई देखाउने बाटो छैन ! काँध फेर्ने मलामी छैनन् ! तातो तावामा अन्तिम कविता जो लेख्नु छ ! तिमी खरानी हातमा लिएर आकाशतर्फ उडाइदिनू । म सम्झनेछु– अनन्तयात्रामा काम आउनेछ सो कविता । वाचन गर्दैैगर्दा बाँच्नलाई बादल ढाडस दिन आउँछ । घण्टाघर रानीपोखरीको दशा देखेर फिस्स हाँस्छ, हाय तेरो समय, हाय मेरो समय !
कविता लेखनलाई एक अनन्तक्रम मान्ने द्वारिका जिन्दगीका सफल असफल दुवै प्रयोगको किनारैकिनार हिँडेर यहाँसम्म आइपुगे । घामपानी खाएका ती दिनहरू लखेट्दै आपूmलाई आफैँबाट बाँच्नुको स्वीकृति खोजेर पनि फेरि–फेरि फर्की अतीतका दन्त्यकथाहरूमा लुकाइरहेँ जब व्युँझन्थे ती यसरी पोखिन्थे–
ती व्युँझिबस्ने दिन
ती हिँड्ने बाटा
यो व्युँझाइ र हिँडाइको अतीत
मेरो अतीत–हाम्रो अतीत ।
कवि द्वारिकालाई नाट्यसम्राट् बालकृष्ण समले गुलाफको बोटमा लागेका पोटिला कोपिलामा टल्केको शीतको थोपा देखेर भविष्यको आशा जताएका थिए । त्यो आशालाई अझ चौडा आयातनमा कविले सिर्जनासहित उघारे । सम अहिले हामीमाझ सशरीर छैनन्, न त कोपिला द्वारिका नै छन् । कोपिला पूर्ण विकसित पूmल भएको छ । यसको सौन्दर्यबाट समकालीन कविताका पारखीहरू लाभान्वित भइरहेका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?