भाउपन्थी
एउटा अल्छी त छँदै थियो, भोलि शनिबार हो भनेर । अल्छी मान्दामान्दै कतिवटा शनिबार आए गए । अल्छी खप्ट्याउँदै । आधा जीवन अल्छीमै बित्यो होला, मदनले सोच्यो । त्यतिले पुगेन, अब यो लकडाउन आइलागेको छ । सर्वोच्चले यसलाई शून्यकाल भनेको छ । समयहीन । तर अर्कातिर कोरोनाको डर पनि छ । उसले कतिपटक सोच्यो चिडियाखानातिर डुल्न जाऊँ । श्रीमती गीता तुर्लुङ्ङै झुन्डिएर भन्छे, ‘नजाऊ प्यारा हामीलाई छाडेर । कोरोनाले कसैलाई छाड्दैन ।’ श्रीमतीको निषेधमा एउटा गीति अनुरोध हुन्छ— ‘नजाऊ प्यारा ।’ भन्नु पनि जायज, यति उमेरसम्म माया गर्दै आइयो । यसो हेर्दा वास्तवमै ऊ गीताको अति प्यारो छ । अरूको होइन, हुन सकेन । उमेरले पनि अब दिँदैन । प्रेम गरिहिँड्ने जाँगर पनि छैन मदनमा । उसरी ऊ प्रेममा खासै सफल पनि होइन । मनलाई हप्काउने कुरो यो थियो, कोरोनाकालमा केको प्रेम ? श्रीमती प्रेम नगरूँ भन्छे । लज्जास्पद कुरो होइन । उसको सङ्केत अरूतिर होइन, अन्यथा नलाग्ने गरी भनेकी— सोस्यल डिस्टेन्सिङ कायम राखौँ । कति दिन हो, हेरौँ ? कति दिन भनेर प्रश्नात्मक बनाउनु छैन । आशय पनि छैन डिस्टेन्सिङलाई भत्काउने । मदनले आँट गर्न सकेको छैन । ऊ बाहिरफेर डुल्न निस्किरहन्छ । मन पनि पलाउनुप¥यो । शरीर त कोरोना सङ्क्रमण सम्झ्यो कि सिरिङ्ग हुन्छ । कोरोना लागिहाल्यो भने ?
लागिहाल्यो ? पहिलो त बिरामी खुट्ट्याउनै गाह्रो । ककसले केके भन्छन् । टीभीमा पनि आइराख्छ कोरोनाका लक्षण यीयी हुन् भनेर । कोरोना भयो ! केके गर्ने भन्ने पनि देखाइन्छ तर गीतालाई विश्वास छैन । जँचाउन जाने कहाँ ? आरडीटीको त्यति विश्वास छैन भन्छन्, पीसीआर गर्नलाई साधन कम परिरहेको छ रे । कुन्नि कति ठाउँमा त जाँच्नै छाड्यो रे । कोरोना सलहभैmँ बढिरहेछ । किन रे भन्दा सीमापारिबाट घर फर्किने मानिस धेरै भए । हज्जारौँ होइन, लाखौँ । भोकैप्यासै । सयौँ किलोमिटर नाङ्गा खुट्टा, काँधमा सरसामान र लालाबाला बोकेर, पैदल हिँडेर, तर तीमध्ये अधिकांश सङ्क्रमित छन् । पराई मुलुकमा मर्नुभन्दा आफ्नै मुलुक आफ्नै घरमा मरूँ, यो भनाइ छ । कोरोनावालालाई एम्बुलेन्स सेवाले पनि ओसार्न मान्दैन, ड्राइभर भन्छ— ‘पीपीई छैन । सङ्क्रमण हुन्छ । हाम्रो पनि ज्यान हो ।’ टीभीमा त विज्ञापन दिएको हुन्छ— ‘फ्रन्टलाइनमा कोरोनासँग लड्नेहरूलाई सलाम ।’ लड्न त प्रेरित गरिन्छ तर... तर सुरक्षा छैन ।
मदन त भन्छ, ‘कोरोनाको सङ्क्रमण कहाँबाट हुनु, म घरमै बस्छु ?’ भइहाल्यो भने ट्रेसिङको झमेला छ तर लुकीचोरी एटीएममा पैसा झिक्न जाने ऊ हो । मास्क लगाउँदैन । बूढाहरूलाई लाग्यो भने लगिहाल्छ । के मास्क, के पन्जा । हातमा सर्जिकल पन्जा त झन् टाढा । एटीएमबाहिर लेखेको छ— ‘सेनिटाइजर प्रयोग गर्नोस् । तपाईं एकजनाका कारण अन्य नागरिक सङ्क्रमित भएर नमरुन् ।’ स्तरको चेतावनी लेखिएको छ । नोटमा पनि बस्छ रे कोरोना । नोट नसमात्नुको कारण छैन । साबुनपानीले हात धुनोस् । घरमै बस्नोस् सुरक्षित रहनोस् । त्यो त ठीक छ, तर खान दिने
कसले ? राहत बाँड्नेहरूले खल्ती टकटक्याएर देखाइसके । भित्र सुर्तीको झारझुर र गुट्खाको धुलो छ । बैङ्क डिजिटल लेनदेन गरौँ भन्छ । बैङ्कमा पैसा मौज्दात हुनुप¥यो । डिजिटल जानेर मात्र पनि पैसा ओइरिने गर्दैन ।
मानिससित घसरपसर भइयो भने मात्र पनि कोरोना सल्किन्छ । मानिससित घसरपसर नहुने पनि कसरी ? झम्टिनै आउँछन् । नजिक नआउनुस् भन्न पनि नहुने । ‘के हामी दलित हौँ ?’ सोधे भने ? भर्खर रुकुममा घटना भएको छ । दलितले माथिल्लो जातकी केटीसित बिहे गर्न खाजेकोमा विवाद भएर कति जना युवा मारिए । मदनले सम्झ्यो । मानिस लकडाउन छलेर किनमेलमा निस्केका हुन्छन् । सबैभन्दा अघि किनमेल सकेर घर फर्किन ती पनि ऊजस्तै हतारमा हुन्छन् । अरूसित घसरपसर गरेकाले ऊ पनि कोरोना सङ्क्रमित भइसकेको हुनसक्छ, । दूरी कायम राख्नु नागरिकको कर्तव्य मानिएको छ । पहिलेपहिले हातेमालो गरेर हिँडौँ भनिन्थ्यो । अब टाढैबाट नमस्कारले काम चलाउनु छ । त्यसो गरे मात्र नागरिक मात्र सभ्य नागरिक होइने समय
छ । सभ्य आचरणको मान्यता फेरियो ।
समय डेन्जर आयो । खतरनाक । कोरोनाभन्दा पनि अर्कै भाइरस आउला ? मानिसको थुक र सिँगाानका छिटाले नभई हावाले पराग ओसारेजस्तो हावैले भाइरस ओसार्ने ? त्यस्तो भए अहिलेभन्दा कडा वर्जनामा बस्न बाध्य हुनेछ मानिस । कोरोनाले गर्दा कोही नआइदेओस् घरमा र कसैको घर जान नपरोस्, मदनले यस्तो सोच बनाएको छ । समाचार भयावह छ । कोरोना सङ्क्रमितको सङ्ख्या धेरै बढेको छ । बढेको बढ्यै छ । मृत्यु पनि बढ्छ । मृत्यु सम्झेर मदन त्रस्त छ । कारण छ । जतिको मृत्यु भएको छ तिनको दुर्दशा देखेसुनेर ऊ त्रस्त छ । उसलाई यस्तो मृत्यु काम्य छैन । ‘कुत्ते की मौत’ भन्थे (यद्यपि कालापानी हडपेको बेला त्यताको मुहाबिरा प्रयोग नगरेको भए हुने । मातृभूमिप्रति बफादार नरहेको ठहरिन सक्छ) । कोरोनाले मृत्यु भएपछि लास उठाउने पनि कोही हुँदैन । घरमा उसले यस विषयलाई उठाएको छैन । पछि हुनसक्छ सडकगल्लीमा कोरोनाले मरेकाहरूको लासैलास ! लासको व्यवस्थापन हुन सकिरहेको छैन । लास छुन कोही मानिरहेको छैन । सङ्क्रमण तीव्र छ । क्वारेन्टाइनले भ्याउन नसक्ने भो । राति–बिहान–दिउँसो मानिस मृत्युग्रस्त भइरहेछन् । घरमा ऊ यसो भन्न सक्दैन । मनभित्रको डर लुकाएर एउटा रमाइलो मान्न सकिने गीत गुगुनाउन खोज्छ तर ऊ गीत गाउन रोक्छ । स्वर प्रकम्पित छ । गीत रुन्चे स्वरमा गाइने खालको थिएन ।
‘गाउनुस् न गाउनुस् । धेरै दिन भो हजुरको स्वरमा गीत नसुनेको ।’ पत्नी उत्प्रेरित गर्छे तर उसको आग्रहमा पनि उत्साह छैन । लकडाउनप्रति पनि वितृष्णा छ । त्यसको भारले परिवारै थिचिएको छ । धेरै लामो सवालजवाफमा कोही जान चाहँदैन । लामो समयसम्म कोरोनासँगै बाँच्न सिक्नुपर्छ भनेर भनिरहेछन् । प्रेस विज्ञप्ति आइरहन्छ— आज यति जना सङ्क्रमित भए । एकजना मर्नुभयो । मृत्युपछि स्वाब जाँचिँदैछ । कोरोना हो होइन जाँचपछि मात्र थाहा लाग्ने छ । अन्तिम संस्कार रोकिएको छ । मरेर पनि सुख नपाइने । मर्नु ठीक छैन, बाँच्नैपर्ने भो । गीता सुस्केरा हाल्छे । यसबाट कसले उबार्छ ? मिडियामा यो आइरहेछ— ‘निर्णय छैन, के गर्ने भन्ने अलमल छ ।’ गीता मदनसित सोध्छे— ‘कसको अलमल ?’ ऊ चुप बस्छ । अनुत्तरित प्रश्नले झन् त्रास पैदा गर्छ । समय समाप्त नहुने ब्ल्याक होल बन्दै छ । सकारात्मक सोचतिर लाग्नु छ । उसले सोध्यो, ‘भात पाक्यो ?’ गीताले सङ्केत बुझ्छे र भन्छे— ‘तयार हुँदैछ ।’ रुचिका साथ भात खाएर अघाउनु पनि सकारात्मकता हो ।
भोकाप्यासाहरू बगरमा हुलका हुल छन् । तिनले भोकको बयान गर्छन्, तिर्खाको बयान गर्छन् र हिँडाइका कष्टको बयान गर्छन् । बयानहरूको अन्त्य छैन । आँसुहरूको अन्त्य छैन । टीभीमा यो आइरहन्छ । मदन असह्य भएर टीभी बन्द गर्छ र खानाको प्रतीक्षा गरिरहन्छ ।