राजकुमार केसी
हुरीबतासका निर्मम प्रहारहरू सहँदै
उ ठिङ्ग उभिरहेछ वर्षौँदेखि
उराठ लाग्छ हिउँदका दिनहरू वा
कहालीलाग्दा वर्षाका राजहरूमा
निरन्तर हुरीहरू जब ऊमाथि ठोकिन्छन् र फर्किन्छन्
विपरीत दिशातिर
ऊ अनौठो मुद्रामा, केही थाहा नपाएजस्तो हेरिरहन्छ चुपचाप
केवल आफ्नो अस्तित्वबोध भएर मात्र होइन
आफ्नै अगाडि पग्लिरहेको सगरमाथालाई देखेर
उ छट्पटाइरहन्छ
कालापत्थरको भूभागभन्दा अलिपर
कर्णालीको पुलभन्दा पारिपट्टि खै के देख्यो कुन्नि उसले ?
अलि आक्रोशित मुद्रामा सल्लाका रूखसँगै
ऊ सुसायो
तल बगिरहेको कालीनदीसँग
खै के कुरा ग¥यो कुन्नि थाहा भएन
आफ्नै विगतबाट केही भयभीत
आफ्नै पर्खाइबाट केही आतुर
अनि किंकर्तव्यविमूढ
त्यो चट्टान पहाडको टाकुरामाथि
आज पनि ठिङ्ग उभिरहेछ ।