पवन आलोक
उसले जिल्ला सदरमुकाममा जागिर खान थालेको धेरै भएको थिएन । पैदल हिँड्दा घरबाट आधा घण्टाको बाटो भए पनि धेरैजसो जङ्गल र सुनसान क्षेत्र पर्ने भएकाले बसबाटै अफिस आउने जाने गथ्र्यो ।
अफिसमा सालतमामीका कारण कामको चापाचाप थियो । त्यसैले पनि ऊलगायत अन्य केही कर्मचारीले ओभरटाइम काम गर्नुपर्ने अवस्था थियो ।
असार मसान्तको दिन थियो । ओभरटाइम बसेर काम सकिएपछि कर्मचारीहरू खुशी हुँदै अफिसबाट निस्किए ।
“आज यसो रमाइलो गर्ने होइन साथी हो ?” कसैले प्रस्ताव ग¥यो ।
सबै सहमत भए ।
सेकुवा र ह्विस्कीसँग रमाउँदै गर्दा रातको नौ बजेको पत्तै भएन । बिल तिरेर सबैजना आ–आफ्नो घर जान लागे ।
“तेरो घर अलि टाढा छ । यतिबेला बस पनि पाइन्न । हिँड् मेरै घरमा बसौँ आज ।” एउटा साथीले भन्यो ।
“बाटोमा जङ्गल पर्छ । मरेका मान्छे गाडेर तिनको नाम ठेगानासहित लेखिएका सिमेन्टेड चिहानहरू छन् बाटैको छेउमा । भूतप्रेतको पनि डर हुन्छ । आफैँ विचार गर है ।” अर्को साथीले भन्यो ।
“मलाई भूतप्रेतमा विश्वास छैन । त्यति ढिलो भएको पनि त छैन । म पुगिहाल्छु नि घरमा ।”
सबै आ–आफ्नो बाटो लागे । ऊ पनि हिँड्यो । सडक सुनसान थियो । ऊ फटाफट हिँड्यो । जङ्गलनेर पुगेपछि के के आवाज आए जस्तो सुन्यो । जूनको मधुरो उज्यालोमा चारैतिर नजर लगायो, केही देखेन । अलि पर्तिर जङ्गलको बीचमा पुगेपछि बाटो नजिकैको एउटा चिहानमा एउटा मान्छे टुक्रुक्क बसेर के के गर्दै थियो । टाङ्टाङ् टुङ्टुङ् आवाज पनि आइरहेको थियो । त्यो मान्छेको हातमा सानो हम्मर र छिनो थियो ।
सडककै छेउमा भएकाले यति राति यो मान्छे के गर्दै होला भनेर जिज्ञासावश त्यो मान्छेको छेउमै गएर उसले सोध्यो, “यति राति के गर्न लाग्नुभएको दाइ ?”
“केही होइन, मेरो नाम अलि अशुद्ध लेखिदिएका रहेछन्, सच्याउँदैछु ।”
त्यसपछि ऊ कुलेलम ठोक्यो ।