logo
२०८१ मंसिर ९ आईतवार



अहा ! अन्धाअन्धी दह

यात्रा संस्मरण

शनिवार |


अहा ! अन्धाअन्धी दह



विनोद नेपाल

श्रीमद्भागवत सप्ताहको साङ्गे तथा ससुराको चौरासी पूजामा उपस्थितिका लागि निम्तो प्राप्त भयो । २०७६ साल माघ महिनाको अन्त्यतिर आएको निम्तो हो यो । त्यत्तिकै त जान्न । कुनै नयाँ ठाउँ घुम्न पाउने भए जान्छु भन्ने मनमा लाग्यो ।
फेरि हाम्रो देश नै यस्तो छ, जहाँ पुगे पनि कुनै न कुनै प्राकृतिक सम्पदाले लोभ्याइहाल्छ । त्यस भेगमा पनि पक्कै यस्ता सम्पदा केही छ भन्ने लाग्यो । कुरै कुरामा ‘अन्धाअन्धी दह’को सम्झना आयो । आँधीखोला गाउँपालिका–२ मा पर्ने यो दह स्याङ्जाको सदरमुकामबाट उत्तरपश्चिम २८ किलोमिटर टाढा पर्ने रहेछ । सवारी साधनमा जाँदा यहाँ पुग्न सिद्धार्थ राजमार्गको नागडाँडाबाट सेती दोभान, रङ्गेठाँटी, काफलटारी, जुगले, चिलाउनेवास हुँदै टापु पुग्न सकिन्छ । पैदल यात्रा गर्न चाहनेका लागि टापुसम्म पुग्न थुप्रै विकल्प भए पनि सवारीसाधनमा यात्रा गर्नेका लागि यही नै सजिलो बाटो रहेछ । टापु नागडाँडाबाट करिब १५ किलोमिटरको दूरीमा अवस्थित रहेछ । त्यहाँबाट भने उखुबारीस्थित अन्धाअन्धी मन्दिर हुँदै पश्चिमतर्फ झण्डै एक घण्टा पैदल यात्रा गर्नुपर्नेछ ।
निम्तोमा पुग्नुपर्ने क्षेत्र आसपासमै सो दह अवस्थित छ भन्ने कुरा यकिन भएपछि म यात्राका लागि तयार भएँ । अझ ‘जान आउन गाडीको व्यवस्था छ’ भनेपछि त अवसरको लाभ नलिने कुरै भएन । यात्रा भनेपछि हुरुक्क हुने मैले आफूलाई चाहिने सामग्री पोको पार्न थालिहालेँ । माघ २५ गते बिहान ६ बजे निवास छाड्यौँ । साँझ जैसिडाँडा पुग्यौँ ।
जैसिडाँडामा रात्रिबासका क्रममा भोलिको मडुवा यात्रा र त्यसपछि अन्धाअन्धी दह पुग्न सकिने सम्भावनाबारे छलफल भयो । समय कसरी मिल्छ भन्नेबाहेक त्यहाँ पुग्न अरू कुनै चिन्ता नभएको जानकारी विष्णुदाइबाट पाएपछि यता भेटघाट पनि हुने र उता पनि पुग्न सकिने कुरामा म ढुक्क भएँ ।
भोलिपल्ट २६ गते बिहान हामी सबै समयमै तयार भयौँ । कुन बाटो जाने ? यता आँधी तरेर लामागे, टिकाजा, फापरथुम हुँदै सेतीदोभान निस्कने कि स्याङ्जा बजार, पुतलीखेत हुँदै निस्कने वा नागडाँडा पुगेर ओरालो झर्ने भन्ने छलफल हुँदा बीचको विकल्प अर्थात् पुतलीखेत हुँदै जाने सहमति भयो ।
नयाँ बाटो, वरपरका दृश्य हेर्दै जान पाउने भएकाले म उत्साहित थिएँ । हामी त्यतै लाग्यौँ । केही पक्की र केही कच्ची सडक रहेछ । जैसिडाँडा छाडेको झण्डै एक घण्टामा बिहानको ९ बज्नै लाग्दा सेती खोला हुँदै सेतीदोभान पुगियो ।
सेतीदोभान यस क्षेत्रको पुरानो बजार हो । पोखरा–बाग्लुङ राजमार्ग निर्माण नहुँदासम्म मुक्तिनाथ जाने यात्रु यही स्थान हुँदै जाने गर्थे । यसैले त्यतिञ्जेल यो मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वततर्फको प्रमुख निकास पनि थियो । जहाँ यात्रुहरू किनमेल गर्ने र बास बस्ने गर्थे । सेतीखोला र आँधीखोलाको सङ्गमस्थल भएकाले यस स्थानलाई ‘सेतीदोभान’ भनिएको हो । पहिले छाप्राछाप्री मात्र देखिने यस स्थानमा अहिले पक्की घर बनिरहेका छन् र बजार विस्तार भइरहेको छ ।
नागडाँडादेखि सेतीदोभान हुँदै जुगले बजारसम्मको सडक पहिले पक्की भए पनि हाल विस्तारका क्रममा कच्चीमा परिणत भएको रहेछ । जुगलेबाट चिलाउनेवास, टापु आदि स्थान हँुदै कार्कीनेटा पुग्ने र पर्वत सदरमुकाम जोडिने यो सडक स्तरोन्नतिको काम हुँदैरहेछ । हामी सोही सडक हुँदै अगाडि बढ्यौँ ।
जुगले बजार पुगेपछि पारी मडुवा देखियो पूजामा सहभागी हुन पुग्नुपर्ने स्थान । यता पछाडि आउँदै गरेका आफन्तलाई लिन गाडी नागडाँडातर्फ पठाउनुपर्ने भएकाले हामी अब यहाँबाट हिँडेरै जाने निर्णयमा पुग्यौँ ।
ऑधीखोलाको झोलुङ्गे पुल तरी उकालो लाग्यौँ । पहिले गाउँबेसी गर्ने र सदरमुकाम वा अन्यत्र जानुपर्दा मडुवावासीले प्रयोग गर्ने यो गोरेटो चल्तीफिर्ती हुन छाडेपछि झण्डैझण्डै अस्तित्व मेटिन लागेको अवस्थामा रहेछ । सायद नौला यात्रुको पाइला पर्दा खुसी भयो त्यतिखेर त्यो । थोरै खेत र समथर भाग हिँडेपछि उकालो सुरु भयो । झण्डै ४५ मिनेटको हिँडाइपछि पुगियो गन्तव्यमा । यसरी जैसिडाँडाबाट पुतलीबजार, प्रगतिनगर, पुतलीखेत, सेतीखोला, सेतीदोभान, रङ्गेठाटी, काफलटारी, जुगले हुँदै पूर्वतर्फ फर्केर हाँसिरहेको मडुवा पुगियो । पुग्नासाथ फुर्सदिला केहीसँग परिचय भयो । के र कसो, नौलो र अपरिचित मान्छे, सबैका जिज्ञासु आँखा आफूतिरै छन् जस्तो महसुस भयो । मानिसहरूसँग भन्दा प्रकृतिसँग रमाउने स्वभावको म नौलो ठाउँ र वरपरका दृश्यमा रम्न थालेँ ।
यत्तिकैमा खाना खाने समय भयो । खाना खाइसक्दा भाइ दिनेशले गाडी आइपुगेको जानकारी गराए । खाना खाइरहेका चालक भाइ नवराज दाहाललाई थकानका बारेमा सोधेँ । उहाँ तयार हुनुभएपछि उहाँलाई लिएर म आफ्नो प्राथमिकताको गन्तव्यतर्फ हानिएँ । यस विषयमा मैले यसअघि नै चालक भाइलाई जानकारी गराएको र उहाँ पनि अवसरको लाभ लिन तयार भएका कारण यो यात्रा सम्भव भएको थियो ।
मडुवाबाट हामी झण्डै दुई किलोमिटर पर चिलाउनेवास ओर्लियौँ । त्यहाँबाट उकालो सुरु भयो । गाडी रोकी सडक छेउमै पसल गरेर बस्ने एक व्यक्तिसँग दहसम्म पुग्न सकिने नसकिने बारे जानकारी लियौँ । ढकाल थरका उहाँले सहजै पुग्न सकिने जानकारी गराउँदै हामीलाई उत्साहित गराउनुभयो । आफूलाई टापुसम्म जानु परेको र त्यहाँसम्म उहाँ पनि गइदिने बताउनुभएपछि त हामी झनै ढुक्क भयौँ । अनि उहाँलाई गाडीमा बसाली अगाडि बढ्यौँ । कच्ची सडक, उकालो बाटो अनि अघिल्लो रातको वर्षा । यहाँभन्दा माथिको सडक केही बिग्रेको र हिलो रहेछ तर हाम्रो गाडीलाई कुनै कठिनाइ भएन । झण्डै १५ मिनेटमा हामी टापु पुग्यौँ ।
टापु पुगेपछि उहँले ‘गाडी यतै राख्नुपर्छ, यहाँबाट झण्डै ४५ मिनेट हिँड्नुपर्छ, उकालो पनि छ, सक्नुहुन्छ कि सक्नुहुन्न यहाँहरूलाई गाह्रो पो हुन्छ कि’ भन्नुभयो । कसैलाई फोन गर्दै गाडीबाट पनि ओर्लनुभयो । हामी पनि गाडी छेउ लगाएर निस्कियौँ । उहाँले सम्पर्क गर्नुभएको व्यक्ति त्यतै नजिकै हुनुहुँदोरहेछ, तत्कालै त्यहाँ उपस्थित हुनुभयो ।
अभिवादन साटासाट र परिचयपछि हामीले हाम्रो योजना सुनायौँ । उहाँ हुनुहुँदोरहेछ प्रेम पौडेल, अन्धाअन्धी दह व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष । अब हामी ढुक्क भयौँ । उहाँले पनि कसैलाई फोन गर्न थाल्नुभो ।
दिउँसोको साढे दुई बज्दैछ । पुग्न र फर्कन कति समय लाग्ने हो यकिन छैन । मन यसैयसै हौसिएको छ, फुरुङ्ग छ । मौसमले पनि साथ दिएको छ । ‘साइत पारेरै आइएछ, पुगिने भो’ मैले नवराज भाइलाई भनेँ ।
पौडलजीले फोन गर्नुभएको रहेछ कुलप्रसाद पौडेललाई । उहाँ टाकुरोमा देखिने अन्धाअन्धी मन्दिरका पुजारी हुनुहँुदोरहेछ । उहाँले ‘काठमाडौँबाट साथीहरू आउनुभा’छ उहाँहरूलाई दहसम्म पु¥याएर ल्याउन सहयोग गर्नुस् है’ भन्नुभयो । उताबाट सकारात्मक जवाफ आएपछि हामीलाई उकालो लाग्ने बाटो र मन्दिर देखाउनुभयो भने सडकछेउको आफ्नो घर देखाउँदै ‘स्वस्थानीको प्रसाद लिएर जानुपर्छ’ भन्दै आफ्नो घरमा पसेर मात्र फर्कन आग्रह गर्नुभयो ।
हामी उकालो लाग्यौँ । टापुदेखि प्रारम्भ हुने ढुङ्गा छापेको बाटो साँच्चीकै ठाडो रहेछ तर वरपरका दृश्यले मनलाई रोमाञ्चित बनाउने तथा स्वच्छ हावाले भिन्नै ऊर्जा दिँदोरहेछ । यसैले थकान वा असहजताको कुनै महसुस नै नगरी हामी मन्दिरमा पुग्यौँ ।
हामी मन्दिर पुग्दा होचो कदका एकजना वृद्ध मन्दिरको ढोका खोल्दै हुनुहुन्थ्यो । हामीले अभिवादन गर्दै दुःख दिएकोमा क्षमा माग्यौँ । उहाँले आफ्नो उमेर ७२ वर्ष भएको र केही शारीरिक समस्या रहे पनि यस्तो सेवा गर्नु आफ्नो धर्म नै भएको भन्दै उदार भावना व्यक्त गर्नुभयो । हामीले आफ्नो परिचय र यात्राको उद्देश्यबारे जानकारी गरायौँ । हामीले दर्शन गरेपछि मन्दिरको ढोका लगाई उहाँले हाम्रो अगुवाइ गर्नुभयो । घर उखुबारीमै रहेछ उहाँको, ‘ऊ त्यही हो घर’, औँलाको इसाराले देखाउनुभयो ।
अब हामी पश्चिमतर्फ लाग्यौँ । मैले देखिएका स्थानको नाम सोध्न थालेँ, उहाँले बताउँदै जानुभयो । जति अगाडि बढ्थ्यौँ उति, बाटो राम्रो नै भए पनि, मान्छेका पाइला निकै कम परेजस्तो महसुस हुन्थ्यो । घाँसदाउरा गर्ने स्थानीयबाहेक कोही पनि आउँदैनन् जस्तो लाग्थ्यो ।
झण्डै आधा घण्टाको हिँडाइपछि हामी दिउँसै अन्धकार जस्तो खोँचमा पुग्यौँ, जहाँ सुन्दर झरना थियो भने बीचमा गुफा, मूर्ति र तल ढुङ्गाको बीचमा सानो दहमा सङ्लो पानी । खोँचमा चिसो भए पनि इच्छा गरिएको स्थानमा पुग्न सफल भएकोमा मन भने पुलकित भयो । म गुफातर्फ अघि बढेँ । गुफामा पुग्न लेउ लागेका काठ टेकेर जानुपथ्र्यो । चिप्लिने सम्भावना भएकाले मलाई सजग गराउँदै मेरो पछिपछि पुजारी पौडेल पनि गुफामा पुग्नुभयो र भित्तामा ढुङ्गाका आकृति देखाउन थाल्नुभयो । ‘लौ हेर्नुहोस्, यी यहाँ, अन्धाअन्धीको आँखाबाट आँसु झरिरहेको’ उहाँले एउटा आकृति देखाउँदै भन्नुभयो । अन्धाअन्धी दह क्षेत्र केहीबेर अवलोकन गरेर हामी फर्कियौँ । यहाँ भक्तजन आउने खास समय बालाचतुर्दशी हो । त्यतिखेर शतबीज छर्नेहरू आउँछन् । अन्य समय फाट्टफुट्ट मात्र आउँछन् ।
त्रेतायुगमा श्रवणकुमारले आफ्ना दृष्टिविहीन बाबुआमालाई तीर्थ घुमाउने क्रममा यस ठाउँमा आइपुगेपछि यसै क्षेत्रमा राखी पानीको खोजीमा गएका र शिकार खेल्न सोही क्षेत्रमा आएका राजा दशरथले मृग ठानी हानेको बाण लागी श्रवणकुमारको मृत्यु भएको किंवदन्ती छ । पानीको खोजीमा गएको छोराको हत्या गरेकोमा आक्रोशित दृष्टिविहीन बाबुआमाले राजा दशरथलाई पनि आफूले जस्तै पुत्र वियोगको पीडा भोग्नुपरोस् भनी श्राप दिएका तथा रुँदारुँदै दुवैजनाले त्यहीँ मृत्युवरण गरेका र उनीहरूको आँसुबाट दहको उत्पत्ति भएकाले त्यस दहको नाम ‘अन्धाअन्धी दह’ रहन गएको भन्ने भनाइ छ
झण्डै डेढ घण्टाको पैदल यात्रा, जुन वास्तवमै उपलब्धिमूलक रह्यो । त्यसपछि हामी पुजारीसँग बिदा भई टापु फर्कियौँ । जाँदा नै पौडेलजीले स्वस्थानीको प्रसाद लिन आग्रह गर्नुभएकाले हामी उहाँको घरमा पस्यौँ । केहीबेर पिँढीमा बसी प्रसाद खाई बिदा भयौँ ।
एउटा सार्थक एवं उपलब्धिमूलक यात्रा सम्पन्न गरी अन्धाअन्धी पुल, जुगले खोला, जुगले बजार, सेती दोभान, नागडाँडा हुँदै रात्रि विश्रामका लागि पुनः जैसिडाँडा पुग्दा मन यसैयसै रमाइरहेको थियो । मेरो यो यात्रा सुनाउँदै गर्दा मेरा ससुराली खलक जो अझैसम्म ‘नजिकको तीर्थ हेलाँ भनेझैँ अन्धाअन्धी दहको कथामात्रै पढ्नुभएको थियो, थकथकी मानिरहनुभएको थियो । 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?