प्रथा
म पानी हुँ
तिमी त अम्खोरा हौ
तिमी छ्यौ र त मेरो आकार छ !
म शब्द हुँ
तिमी त गीत हौ
तिमी छ्यौ र त मेरो धुन छ
म पथिक हुँ
तिमी त जीवनपथ हौ
तिमी छ्यौ र त मेरो यात्रा छ !
हो, हिमचुरी !
तिमीले नै उमारेकी हौ
यो मनको मरुभूमिमा प्रेमको पहाड !
तिमीले नै भरेकी हौ
यो उजाड वनमा झ्याउँकिरीको सङ्गीत
तिमीले नै खनेकी हौ
यो जिन्दगीमा सपनाको राजमार्ग
र तिमीले नै फुकेकी हौ
निभ्न लागेको अगेनोमा भरोसाको आगो !
यो जीवनमा
कहिल्यै नटुङ्गिने गति दियौ
यी आँखाहरूमा
दृष्टिको अनन्त गहिराइ दियौ
मुस्कुराउने जून दियौ
मनको विशाल आयतन दियौ !
नओइलाउने फूल दियौ
जे जे दिनु थियो
आफू मेटाएर सबै–सबै नै दियौ !
भन न हिमचुरी !
म किन यति धेरै स्वार्थी बनेँ ?
र हरेक गाँसहरू
नुन नपुगेजस्ता लाग्छन् मलाई यतिखेर !
मैले डुब्छु भनेँ
र तिमीले डुबाउँछु भन्यौ
यतिका वर्ष भैसक्यो
म त निरन्तर डुबिरहेछु !
तर भेटेको छैन
त्यो गहिराइको सिरानी
जहाँ म ढुक्कले निदाउन सकूँ !
तिमी त शालीन नदी थियौ
आफू बगर बनेर
मलाई प्रेमको सिमसार दियौ !
आफ्नै आयु चुँडाएर
मलाई समर्पणको अथाहा गहिराइ दियौ !
तर म अझै पनि
किन निदाउन सक्दिनँ, हिमचुरी ?
सायद,
म खोजिरहेछु– ममताको अर्को कुनै गहिराइ !
म त तिम्रो प्रेमी हुँ
र तिमी मेरी प्रेमिका हौ !
भन न हिमचुरी !
के म अब तिम्रो छोरा बन्न सक्छु ?