शर्वराज आचार्य
मोतीराम भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र (१९४८) लेखेपछि भानुसम्बन्धी जीवनीपरक र अन्य रचना प्रकाशित भएका हुन् । यिनीहरूमध्ये मोतीरामले मात्र भानुभक्त देहान्त भएको निकट समय २२ वर्षमा जीवनी लेखेको देखिन्छ । अन्य जीवनीपरक रचना भने भानुभक्त देहान्त भएको धेरै वर्षपछि मात्र लेखिएका छन् । तिनले भानुसम्बन्धी जीवन घटनालाई थपथाप गर्दै भानुको जीवनीलाई पूर्णता दिने कार्यमा सहयोग पु¥याएका छन् । मोतीरामद्वारा लिखित जीवनीदेखि सबै भानु जीवनी अनुश्रुतिमा आधारित छन् । यिनै जीवनी पढेर लेखिएका पछिल्ला विश्लेषणात्मक जीवनीमा अनुश्रुतिमूलक जीवनीका सामग्री मात्र विश्लेषण गरिएका छन् । यी विश्लेषणमा अनुश्रुतिभित्र पसी प्रामाणिक साक्ष्यको खोज गरेको भेटिन्न । नेपाली बृहत् शब्दकोश (२०५७) मा अनुश्रुति शब्दलाई मौखिक परम्पराद्वारा सुनिँदै आएका र कथ्यश्रव्य रूपमा चलिआएको वा कुनै निश्चित स्रोत वा प्रमाण नभेटिएको कुरा वा जनश्रुति, किंवदन्ती भनी अथ्र्याइएकोे छ । यस लेखमा भानुभक्तको जीवनीमा लेखकहरूले प्राप्त गरेका यस्तै अनुश्रुति स्रोतकोे प्रामाणिक साक्ष्य के कस्तो छ भनी विश्लेषण गर्न खोजिएको छ ।
सर्वप्रथम वि.संं.१९४८ मा मोतीराम भट्टले कवि भानुभक्त आचार्यको जीवनी लेख्दा सामग्री के कसरी जुटाए ? ती सामग्रीलाई साक्ष्यका दृष्टिले के कति भरपर्दाे मान्न सकिन्छ ? त्यसतर्फ विश्लेषण गरौँ । मोतीरामले भानु जीवनीको ‘विज्ञप्तिपत्रम्’मा भानुभक्तका कान्छा बाबुका नाति र भानुका भतिजा रामदत्त आचार्यलाई भानुको जीवनी लेखनको ठूलो श्रेय दिएका छन् । मोतीरामका जीवनी लेखक पण्डित नरदेव शर्माले ‘कविवर मोतीराम भट्टको जीवनचरित्र’मा एक दिन भानुभक्तको पक्का हाल बुझ्न मोतीराम सुब्बा धर्मदत्त ज्ञवालीकहाँ पुगेको बताएका छन् । जीवनीमा मोतीरामले पनि धर्मदत्तका मुखबाट आफूले सुनेका विशेष कुराको उल्लेख गरेका छन् । धर्मदत्त ज्ञवाली भानुभक्तका परम मित्र र गायत्री शिष्य बोधराजका बाबु बताइन्छन् । नरदेवले त्यहीँ रामदत्त आचार्यसँग मोतीरामको भेट भएको जनाएका छन् । धर्मदत्त र रामदत्त यी दुईजना मोतीरामको भानु जीवनी लेखनको सामग्री स्रोतका प्रामाणिक साक्ष्य देखिन्छन् ।
‘भानुभक्त मणिमाला’ (१९९८) मा परिचय र कवि परिचय भन्ने भानु जीवनीपरक रचना क्रमशः गायत्री शिष्य बोधराज ज्ञवालीका छोरा रङ्गनाथ शर्मा र रमानाथकी छोरी विष्णुमायाले प्रकाशित गरेका छन् । नाताले यी दुवैजना भानुभक्त आचार्यका नाति र नातिनी पर्छन् । दुवैजनाले मोतीराम उल्लिखित भानुभक्तको जन्ममिति वि.संं.१८६९ लाई विनाटिप्पणी परिवर्तन गरिदिएका छन् । रङ्गनाथ शर्माले आपूmसँग भएको भनीे भानुभक्तको जन्मकुण्डली र तत्सम्बन्धी कविता आधारमा वर्तमानमा प्रचलित भानुको जन्ममिति (वि.सं.१८७१ असार २९) प्रकाशमा ल्याएका हुन्् । यसबाहेक यिनले भानुभक्तका अन्नप्राशन, अक्षरारम्भ, व्रतबन्धबारे थप जानकारी दिएका छन् । नातिनीले चाहिँ १२ वर्षका भानुभक्तले एक दिन ज्योतिष पढेर घर फर्कंदा बाटोको चौतारामा बटुवाले ‘हरे कृष्ण वासुदेव, मेरा ग्रह करना दुःख पाएँ मैले’ भनेको सुनेर आफ्नो जन्म जन्मकुण्डलीसम्बन्धी कविता लेखेको अनुश्रुतिमूलक रोचक मिथक लेखेकी छन् तर यो कविता चुँदीरम्घामा नभई रङ्गनाथसँग रहेको देखिन्छ । नाताका दृष्टिले यी दुवैजना प्रामाणिक साक्ष्य हुन् । यिनले अन्य भानुको जीवनी लेखकले झैँ अनुश्रुतिको स्रोत खुलाउन सकेका छ्रैनन् । यिनीहरू स्वयं साक्ष्य देखिन्छन् । दुवैले मोतीरामले झैँ कुनै प्रष्ट विधि र सामग्री स्रोत उल्लेख गरेको देखिन्न । बरु यिनले भानुभक्तको जन्म, नक्षत्र वा न्वारानको नाम देवीभक्त लेखेर पाठकलाई अन्योलमा पारेका छन् किनभने भानुभक्तका नाति पनातिले श्राद्ध गर्दा जन्म, नक्षत्रको नाम चिन्तामणि नामले तर्पण र पिण्ड दिने गरेको यस पङ्क्तिकारलाई बताएका छन् ।
नरनाथ आचार्य (२०१८) ले ‘आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र’ मा चारपुस्ते दाजु यज्ञनिधिको अनुश्रुतिलाई भानुको जीवनी लेखनका समाग्री स्रोत बनाएका छन् । प्रामाणिक साक्ष्यका दृष्टिले नरनाथका यज्ञनिधि आचार्यभन्दा मोतीरामका धर्मदत्त ज्ञवाली र रामदत्त आचार्य बढी प्रामाणिक देखिन्छन् । किनभने धर्मदत्त ज्ञवाली भानुभक्तका परम मित्र र भानुभक्तलाई देख्ने, भोग्ने र सरसहयोग गर्ने व्यक्ति हुन् भने समयान्तराल, छिमेक र नाताका दृष्टिले रामदत्त भानुभक्तका बढी निकट ठानिन्छन् । त्यसकारण मोतीरामसँग नरनाथले भानुभक्तको घाँसीभेट, गजाधर सोतीकहाँ बास, बगर मुद्दा, धर्मदत्तसँग भेट, कृष्णबहादुरसँग भेट र कुमारीचोकको कैद जस्ता घटनामा मतान्तर राखेका छ्रैनन् तर नरनाथले आफ्ना अनुश्रुतिलाई अधिक प्रामाणिक ठानेर यी घटनासँग सम्बद्ध मोतीरामद्वारा उल्लिखित मितिमा मतान्तर राखी परिवर्तन गरेका छन् । मोतीरामले भानुका परम मित्र धर्मदत्तले भनेका आधारमा भानुभक्तलाई दुई वर्ष जति खुवाएको जागिर नरनाथले आफ्ना अनुश्रुतिका आधारमा खोसिदिएका छन् । नरनाथले आफ्नो दाजु नाता पर्ने यज्ञनिधि आचार्यबाट प्राप्त अनुश्रुतिलाई बलियो प्रमाण ठाने भने मोतीरामले भानुभक्तका परम मित्र धर्मदत्त र भतिजा रामदत्तबाट प्राप्त अनुश्रुतिलाई बलियो प्रमाण माने । नरनाथले मोतीरामको भानु जीवनी लेखनका सामग्री स्रोतलाई ग्रामीण जनबाट सुनेका किंवदन्ती र युवक बुद्धिले गरेको कल्पना ठानेर मोतीरामका एउटा साक्ष्य रामदत्त आचार्य र अर्का साक्ष्य सहरिया धर्मदत्त ज्ञवालीलाई प्रामाणिक साक्ष्य ठान्न सकेनन् ।
भानुभक्तका पनाति मुक्तिनाथ आचार्यले अनुश्रुति र जीवनीहरू पठनका आधारमा सामग्री सङ्कलन गरी ‘कवि भानुभक्त आचार्य खोजपूर्ण जीवनी’ (२०४२) लेखेको देखिन्छ । यिनबाट पनि चुँदीरम्घातर्फका सम्बद्ध घटना सामग्री सङ्कलनमा हजुरआमा (भानुभक्तकी बुहारी र रमानाथकी पत्नी) बाट सुन्ने सौभाग्य पाएको भनी अनुश्रुति स्रोतलाई प्रामाणिक साक्ष्य बनाएका छन् । यसैका आधारमा भानुभक्तको रम्घाको शिखर कटेरीको घर, हजुरआमाले लगाएको चौतारालाई साक्ष्य बनाएर नरनाथ आचार्यका साक्ष्यको प्रतिवादसमेत गरिएको छ । रमानाथको ‘वैराग्यबोध’ भन्ने कृतिमा पर्ने दुई÷तीन श्लोक कविता भानुभक्तका हुन् र कर्लुङ खोला सेपको घाँसीकुवा पनि भानुभक्तले भेटेको घाँसीले बनाएको कुवा हो भन्ने नरनाथका अनुश्रुतिलाई खण्डन गरेका छन् । मुक्तिनाथद्वारा प्रस्तुत भानु जीवनी पूर्वलिखित भानुभक्तका जीवनीमा आधारित छ । त्यसैले यिनबाट भानुभक्तको प्रचलित जन्ममिति र धनञ्जयको देहत्याग (मिति १९०९) बाहेक भानु जीवन घटनाका अन्य तिथिमिति उल्लेख गरेको देखिँदैन ।
उल्लिखित सबै भानु जीवनीका स्रोत सामग्री अनुश्रुतिमूलक छन् । मोतीरामका सामग्री भानुभक्तलाई केटाकेटीमा देख्ने भानुका छिमेकी भतिजा र भानुभक्तलाई देख्ने, सरसहयोग गर्ने भानुकै परम मित्र धर्मदत्त ज्ञवालीबाट सङ्कलन गरिएको देखिन्छ । सङ्कलनमा प्रश्नोत्तर विधिको प्रयोग भएको छ । अन्य भानु जीवनी लेखनका सामग्रीमा भानुभक्तकै छिमेकी र उनलाई देख्ने, भोग्ने र सहयोगसमेत गर्ने परम मित्र धर्मदत्त जस्ता व्यक्ति देखिन्नन् भने मोतीरामले झैँ प्रश्नोत्तर विधिको उपयोग गरेको भेटिन्न । त्यसैले मोतीरामको भानु जीवनीभन्दा अन्य भानु जीवनीमा भानुभक्तका जीवन घटना र तिनका तिथिमितिमा साक्ष्यको मात्रा बढी हुनुपर्छ । त्यसैले मोतीरामद्वारा लिखित भानु जीवनीको काव्यात्मक र संवादात्मक अंशमा स्वयं मोतीराम बोलेका छन् भने भानु जन्ममिति, घाँसीभेट, रामायण लेखन प्रारम्भ, गजाधरकहाँ बास, बगर मुद्दा, कृष्णबहादुरको चाकरी, मधेसतिरको जागिर, जागिरको स्याहास्रेस्ताको विषय, कुमारीचोकको कैद, रमानाथको व्रतबन्ध, वधूशिक्षाको रचना, रामगीता लेखन र भानुभक्तको देहावसान जस्ता घटना र तिथिमितिमा भानुभक्तका छिमेकी भतिजा रामदत्त र परम मित्र धर्मदत्त साक्ष्य बनेर उभिएका छन् ।
तिथिमिति र तत्कालीन हस्तलिखित मुलुकी ऐनको अध्ययन गर्दा मोतीरामेतर भानु जीवनीका साक्ष्य कमजोर देखिएका छन् । ती कमजोरीका कारण उनीहरूबाट लेखिएका जीवनीमा महŒवपूर्ण अंश हेरफेर हुनसक्ने देखिएको छ । यहाँ ती कमजोरीमध्ये स्थूल रूपमा देखिने तीनवटा कमजोरी उल्लेख गरिएको छ । पहिलो कमोजोरी हो, वि.सं. १९७० फागुन १० गतेको गोरखापत्रको ‘कुमारीचोक र धनञ्जयको मृत्यु’ भन्ने लेख अनुसार काशी मणिकर्णिका घाटमा वि.संं. १९०४ पुस १३ गते धनञ्जयको देहावसान भएको देखिन्छ तर मोतीराम बाहेकका अन्य भानु जीवनीले वि.सं.१९०९ वा वि.सं. १९१० शूलको व्यथाका कारण पाल्पामा नै मृत्यु भएको बताउनु । दोस्रो कमजोरी हो, वि.सं.१९१० मा बनेको हस्तलिखित मुलुकी ऐनमा उल्लेख नभएको रैरकम्को महल १३ अनुसार भानुभक्त आचार्यलाई कुमारीचोकको कैदमा थुनाउनु । तेस्रो कमजोरी हो, केही फुटकर कविता अभानुभक्तीय कविता भनी आलोचित हुनु । तसर्थ अन्य भानु जीवनी लेखकका साक्ष्य स्रोत मोतीरामद्वारा लिखित भानु जीवनीका साक्ष्य स्रोतभन्दा कमजोर देखिन्छन् ।