logo
२०८१ मंसिर ९ आईतवार



कहाँ खोजौँ भानुलाई ?

शनिवार |


कहाँ खोजौँ भानुलाई ?


विधान आचार्य

 

मैले निवेदन हालेर चुँदीरम्घाका भानुभक्त आचार्यको कुलमा जन्म लिएको होइन । थाहा छैन, त्यस कुलमा मेरो जन्म नभएको भए म आज यी अक्षरहरूमा देखिन्थेँ कि देखिन्नथेँ । देखिए पनि अहिले म जे कुरा भन्न खोजिरहेको छु त्यो कुरा भन्नचाहिँ अवश्य पनि म देखिन्नथेँ, योचाहिँ पक्का छ । मलाई भानुभक्तसित आफ्नो नाम जोडेर क्यै गर्नु छैन । त्यस कुलमा जन्म लिने सौभाग्य प्राप्त भयो, म गर्व गर्छु तर मेरो साहित्यिक यात्रामा मैले कहिले पनि त्यस नामको सहारा लिइनँ । धेरैलाई म त्यस कुलको भन्ने थाहा पनि छैन ।
मलाई भानुभक्तका नाममा कुनै पुरस्कार बाँड्नु (?) पनि छैन, लिनु पनि छैन । कुनै संस्था चलाएर सालैपिच्छे निवेदन बोकेर ढोकाढोका चाहार्नु पनि छैन तर सर्जक भएका नाताले नेपालभित्र र बाहिरका स्थानमा साहित्यिक कार्यक्रममा जाँदा, घर कहाँ भन्नासाथ र थर देख्नासाथ स्वतः प्रश्न आउँछन् । आदिकविको नाम जोडिएर आउँछ । भानुभक्तका नाम आउनासाथ मलाई तपाईं कुन हाँगोको ? आदिकविसित कति पुस्ता भयो ? के नाता पर्छ ? तपाईं साख्खै हो कि हैन, एकजना आएर मै हुँ साख्खै भने, हातमा रामायण च्यापेर ल मेरै अनुहार हेरेर भानुभक्तको सालिक बनाए हुन्छ, फरकै पर्दैन भने, तपाईं कति टाढा हो, उहाँ कति नजिक हो आदि प्रश्नको सामना मैले अनगन्तीपटक गरेको छु । भारतका कतिपय नेपालीभाषी क्षेत्रमा सेतोपाटीमा वंशवृक्ष बनाएरै देखाएको पनि छु ।
धेरैपटक मतिर पनि सोझिएर बाणले घोच्नेजस्ता आँखा तेर्सिएकाले आज सार्वजनिक रूपमै उत्तर दिन आवश्यक ठानेको छु । भानुभक्तका हजुरबा अर्थात् बाजे श्रीकृष्ण आचार्यका छ भाइ छोरामध्ये जेठा धनञ्जयका छोरा आदिकवि भानुभक्त आचार्य थिए भने उनलाई पढाउने उनका काका अर्थात् श्रीकृष्ण आचार्यका ठाहिँला छोरा विद्वान् गङ्गादत्त आचार्यका सन्ततिमा म पर्दछु ।
नेपाल स्रष्टा समाजको आयोजनामा असमका केही साहित्यकारलाई दुईवर्ष पहिले काठमाडौँमा एक सम्मान गरियो । आउनेमध्ये एकजनाले भानुभक्तका नामको एक गैरसरकारी संस्थाको नाम लिएर त्यसको भवनमा लगिदिने आग्रह मलाई गरे । संलग्नता नभए पनि संस्थाको नाम त थाहा थियो तर त्यसको बेग्लै पाँचतले भवन र ठूलो कार्यालय पनि छ भन्ने म बबुरोलाई ज्ञान थिएन । मेरो अल्पज्ञान उनलाई बताएँ, पत्याएनन् । आफू र आफूजस्ताले त्यस संस्थाको भवन निर्माणार्थ रकम दान गरेको हुनाले त्यसको कतै भव्य कार्यालय हुनैपर्छ भन्ने उनको दाबी थियो तर वास्तवमा यस्तो थिएन, छैन पनि । कालान्तरमा उनले त्यो संस्था कुनै झोलामै पाएछन् र सडककिनाराको चियापसलमै वार्तालाप टुङ्गिएछ । उनले भानुभक्तलाई त्यहीँ भेटे ।
कसका हुन् भानुभक्त ?
भानुभक्त उनकै आफ्नै सन्ततिका मात्र हैनन्, अरू रम्घाली आचार्यका, अन्य चुँदेलीका, तनुङ्गेका, गण्डकी प्रदेशका वा नेपालभित्र बसोवास गरेका नेपालीका मात्र होइनन् । विश्वभरिका नेपाली भाषाभाषी र नेपाली संस्कृतिका अनुयायीका लागि आदिकवि भानुभक्त बराबरी हुन् । मेरा नजिकका वा तेरा टाढाका भन्ने भावना नै गलत हो । उनको रामायण नै ‘लोकको गरूँ हित’ बाट सुरु भएको छ । यस मर्मलाई त्यागेर ‘आफ्नो गरूँ हित’मा कोही पनि लाग्नु भानुभक्तमाथि घोर अपमान र अन्याय हुनेछ ।
यस प्रसङ्गमा नेपालभित्रै वा नेपालभन्दा बाहिर रहेका नेपाली भाषा र साहित्यलाई माया गर्नेहरूका लागि पनि मेरो आग्रह के छ भने नेपालबाट, तनहुँबाट वा चुँदीरम्घाबाटै कोही आयो भन्दैमा उसप्रति ज्यादा आसक्त हुने काम पनि नगर्नुहोस् । त्यस्तो भावनाले उसमा महŒवाकाङ्क्षा बढाउँछ । वास्तवमा भानुभक्तबारे कोही राम्रो अध्येता कहीँ पनि छ भने ऊ महŒवपूर्ण हुनसक्छ । त्यस कुलमा जन्मँदैमा कसैलाई मान्ने परम्पराको अन्त्य गर्न आवश्यक छ ।
अहिले श्रीकृष्ण आचार्यलाई पहिलो र भानुभक्तलाई तेस्रो पुस्ता मानेर गणना गर्दा यस पङ्क्तिका लेखक र उसका दाजुभाइ सातौँमा भानुभक्त आचार्यका खनातिका समकालीन पुस्तामा पर्छन् । भानुभक्तकै आफ्नै सन्ततितर्फका साख्खै पनातिहरूका हाल जीवित छोरा (खनाति) हरूचाहिँ बद्रीनाथका छोरा केदारभक्त; सूर्यनाथका छोरा श्रीभक्त; मुक्तिनाथका छोरा श्यामभक्त; विश्वनाथका छोराहरू प्रमोदभक्त, विनोदभक्त, सरोजभक्त र मनोजभक्त; हरिनाथका छोराहरू प्रदीपभक्त, सुदीपभक्त र सन्दीपभक्त; सुदर्शनका छोरा विष्णुभक्त, रविभक्त, कविभक्त र सुरेशभक्त तथा गोपीनाथका छोरा रमेशभक्त पर्दछन् । यीबाहेक सबै रम्घाली आचार्यको भानुभक्तसितको नाता बराबरी हो ।
भानुभक्तको नाम : आफ्नो माम
भानुभक्तका नाममा अध्ययन, अनुसन्धान गर्न वा संस्था खोल्न हुन्छ, पाइन्छ अथवा अन्य नामधारी संस्थाले पनि भानुभक्तसम्बन्धी काम गर्न हुन्छ, गर्नुहोस् । उनका रचनाको अनुवाद, उनको चिन्तन तथा आध्यात्मिक र दार्शनिक पक्षको अन्तर्राष्ट्रियकरण गर्न जरुरी छ, त्यो गर्नुहोस् तर त्यस नामलाई आफ्ना स्वार्थका लागि प्रयोग गर्न जोसुकैले भए पनि बन्द गर्नुहोस् ।
भानुभक्तका नाममा काम गर्ने बहानामा आत्मप्रशंसा मात्र प्रदर्शन गर्ने, अरूभन्दा आफू श्रेष्ठ भएको प्रचारबाजी गर्ने तथा आर्थिक स्रोतको सङ्कलन गर्ने र आफैँले आग्रह गर्दै अरूमाथि बोझ थोपरेर भ्रमण गर्ने काममा हामी लाग्यौँ भने उनका लागि हामीले केही गरेको भन्दा पनि उनका नामले हाम्रो दालभातको जोहो गरेको ठहर्नेछ । नेपाल प्रज्ञाप्रतिष्ठान जस्ता संस्थाले नै एक मापदण्ड बनाएर भानुभक्त, मोतीराम भट्ट, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण सम, सोमनाथ सिग्द्याल, भूपि शेरचन, गोपालप्रसाद रिमाल वा गोकुल जोशीजस्ता स्रष्टाका नाममा केके काम गर्ने भन्ने निर्देशिका बनाएर अघि बढ्दा राष्ट्रिय गौरवको कार्य हुनेछ ।
आदिकवि भानुभक्तकै प्रसङ्गमा जाँदा उनका नाममा भएको भानुजन्मस्थल विकास समिति नाममात्रको छ । सङ्घीयताको मारमा यो नराम्ररी फँसेको छ किनभने पहिले केन्द्रीय संरचनाअन्तर्गत थियो । हाल स्थानीय र उनै भानुका नाम पाएको भानु नगरपालिका मातहतमा छ । यस समितिले गरोस् भनेर परिकल्पना गरिएका काममा राष्ट्रिय वा अन्तर्राष्ट्रियरूपमा भानुभक्तका सिर्जनालाई प्रसारित गराउने, एक बृहत् पुस्तकालय, स्रोतकेन्द्र वा अनुसन्धान केन्द्रको खाका पृष्ठभागमा हुने तर जुन राजनीतिक दल सत्तामा आयो तिनकै क्षमताहीन अनुचरहरू समितिका अध्यक्ष हुने परिपाटीले यसले गति लिन सकेको छैन । स्थानीय निकायले मनोनीत गर्ने स्थानीय तहकै व्यक्तिबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको कामको कसरी अपेक्षा गर्न सकिन्छ ? त्यसमाथि समितिमा २०५० सालदेखि काम गरेका कर्मचारीको तलबभत्ता नै ६० लाखभन्दा बढी बाँकीे छ । यस्तो अवस्थामा भानुभक्तप्रति स्थानीय सरकारको निरीहता, प्रदेश सरकारको उदासीनता र सङ्घीय सरकारको उपेक्षा छ भन्ने प्रस्ट छ ।
गुरुयोजनाको बेहाल
भानुभक्तको भनिएको पुरानो घरको स्थान माथिको गाम र बेँसीका बीच जङ्गलमा पर्छ । बेँसीमा भानुभक्तका पालाको र उनी स्वयंसमेत हुर्केबढेको अर्को घर पुराना डिही नाम गरेको बारीमा थियो र २०३७ सालसम्म त्यहाँ घरका जग आदिका संरचना थिए । अहिले केही जग्गा दानबाट र केही खरिद गरी भानु जन्मस्थल विकास समितिले लगभग १५ रोपनी जग्गा प्राप्त गरेको छ । यो स्थान बस्तीनजिक र सडकको पहुँचमा पनि थियो, वास्तवमा पुस्तकालय, रामायण भवन, अनुसन्धान तथा सामग्रीको स्रोत केन्द्र यहाँ निर्माण हुनुपथ्र्यो तर अनावश्यक भावनात्मक कुरा उठाई अनकण्टार र बस्तीदेखि टाढा जङ्गलका बीचमा भानुभक्त जन्मेको घर भन्ने नाममा अन्य संस्थाका सहायतामा करोडौँका संरचना तयार पारिँदैछ, तिनमा अहिले नै निर्माणसामग्री आदिको चोरीको डर छ र भोलि पनि संरक्षणमा कठिनाइ छ । एकातिर हालसम्म कर्मचारीको ६० लाख तलबभत्ता दिन सरकारले सकिरहेको छैन भने अर्कातिर ती जङ्गलका बीचमा बनेका संरचनामा आठआठ घण्टाको एक सिफ्टका दरले छजना सुरक्षाकर्मी राखेर तिनका लागि महिनाकै डेढलाख बेहोर्न विकास समिति अवश्य सक्षम छैन । कसका के धुनमा योजना बन्छन्, रम्घालीलाई पनि थाहा छैन । अहिलेसम्मका अभ्यासमा त्यस क्षेत्रको गुरुयोजनाको पहल हुन्छ, तर मतैक्य हुँदैन र त्यत्तिकै थाती रहने गरेको छ ।
बिर्केटोपी मात्र हैन
भानुभक्त सामाजिक जीवनमा देखिएका घटनाक्रमलाई सामान्य बोलिचालीका भाषामा कवितामा हुबहू उतार्ने आशुकवि थिए । त्यस क्रममा उनका रचनामा समेटिएका गिरिधारी रानाभाट, गजाधर सोतीकी पत्नी वा तारापतिका पत्नीहरू या वधूशिक्षाका प्रसङ्ग आलोचनाका विषय हुनसक्लान् । पहिलो, भानुभक्त पनि तत्कालीन समाजमा हुर्केका एक व्यक्ति थिए, समाज जसरी संरचित थियो, उनले त्यसैलाई प्रतिविम्बित गर्ने गरी कविता लेखे । यति बुझिदिए पुग्छ, उनको देवत्वकरण गरिरहन पर्दैन तर उनले जति लेखे, उनका रचना नभएका भए त्यसबखतको समाजको सोच आज हामीलाई थाहा हुन सक्दैनथ्यो । उनका रचनाको आलोचना मानवअधिकार र लैङ्गिक समानताका अवधारणा विकास भएका यस शताब्दीको मानसिकताबाट नभएर त्यस युगको सोचबाट गरियो भने मात्र उनीप्रति न्याय गर्न सकिन्छ । त्यसो त उनले तत्कालीन शासक र सामाजिक पीडालाई पनि कहाँ छोडेका थिए र ? राणाकालीन बर्बर समयमा सत्ताको प्रतिरोध एक क्रान्तिकारीले मात्र गर्नसक्थ्यो, भानुभक्त स्वयं क्रान्तिकारी चेतनाका थिए तर उनलाई न्याय गर्ने र उनका सिर्जनाको विस्तार गर्ने नाममा उनीप्रति अन्याय गरेर आफ्नो स्वार्थ मात्र हेर्नेहरूसित भने देशभित्र र बाहिरबाट भानुभक्तलाई सम्मान गर्ने वर्ग चनाखो हुन आवश्यक छ । अरूले देखून् र मलाई लाभ मिलोस् भनेर भानुका नामको बिर्केटोपी लगाउनेहरूको कमी छैन, त्यस हूलमा मैँ छु भने पनि पाता फर्काइदिए हुन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?