रमेश खनाल
भारतीय प्रसिद्ध कार्टुनिस्ट आरके लक्ष्मणको जीवनमा दुईटा घटनाले ठूलो महŒव राख्छ । पहिलो घटना थियो स्कुलको । स्कुलमा उनले पीपलको पातमा एउटा चित्र बनाएका थिए । यो चित्रको शिक्षकले हृदय खोलेर प्रशंसा गरे । त्यसपछि उनले आफू चित्रकलामा लाग्ने अठोट गरे ।
दोस्रो घटना– हाइस्कुल उत्तीर्ण भइसकेपछि चित्रकला पढ्न उनले मुम्बईस्थित सर जेजे इन्स्टिच्युट अफ एप्लाइड आर्टमा निवेदन दिए । प्रवेश परीक्षामा उनको प्रस्तुति हेरेपछि उनलाई चित्रकार बन्ने प्रतिभा नभएको भनी अनुत्तीर्ण गरिएको थियो ।
प्रसिद्ध कार्टुनिस्ट भइसकेपछि सर जेजे इन्स्टिच्युटबाट उनलाई प्रमुख अथितिका रूपमा निमन्त्रणा गरियो । उनले आफ्नो भाषणमा पुरानो कुरा स्मरण गर्दै भने, ‘त्यसबेला मलाई चित्रकार बन्ने प्रतिभा नै छैन भनी अस्वीकार गरिएको थियो । तर, म आज यसै इन्स्टिच्युटमा पुरस्कार बाँड्न आएको छु ।’ आरकेको यो भाषणपछि त्यहाँको वातावरण नै स्तब्ध बनेको थियो । अन्ततः उनको चित्रकला पढ्ने चाहना मैसुरीको विश्वविद्यालयबाट पूरा भएको थियो ।
आरकेलाई कार्टुनिस्ट बन्ने प्रेरणा ब्रिटिस कार्टुनिस्ट सर डेभिड लोबाट प्राप्त भएको थियो । उनले आंशिक रूपमा स्थानीय पत्रिकामा कार्टुन बनाएर आफ्नो प्रतिभा देखाइरहेका थिए । कलेजका दिनहरूमा उनले आफ्नो दाजु आरके नारायणको ‘द हिन्दु’ नामक कथा सङ्ग्रहमा चित्रहरू बनाएका थिए ।
उनले सर्वप्रथम राजनीतिक कार्टुनिस्टका रूपमा पूर्णकालीन नोकरी मुम्बईको ‘द फ्री प्रेस जनरल’मा गरेका थिए । सन् १९५१ मा ‘द टाइम्स अफ इन्डिया’मा काम सुरु गरे । ‘यु सेड इट’का ‘द कमन म्यान’का रूपमा जिन्दगीभरि उनी चर्चित पनि भए ।
आरके कार्टुनिस्ट, इलुस्टेटर र ह्युमरिस्ट थिए । उनले ‘द कमन म्यान’ नामक विम्ब सिर्जना गरेका थिए । धोतीमाथि जवाहरकोट, गान्धीको जस्तै चस्मा, छरपस्ट भएको जुँगा र खुइलिएको तालुको दुवै कानछेउमा उठेको केही कपाल देखिन्थ्यो ।
उनी नेताहरूलाई व्यङ्ग्य गर्ने, आँखा देखाउने, सचेत गराउनेजस्ता कार्टुनहरू बनाउँथे । आरके एउटा कार्टुन बनाउन धेरै गम्भीर हुन्थे । एउटा कार्टुन बनाइसकेपछि अर्को कार्टुनले चिन्तित बनाउँछ भन्थे उनी । कार्टुनिस्टले कार्टुन बनाउन धेरै पत्रपत्रिका पढ्नुपर्छ ।
समसामयिक राजनीतिक गतिविधि पूरै ख्याल राख्नुपर्छ । जसको कार्टुन बनाउने हो, त्यसको ‘क्यारेक्टर’ थाहा पाउनुपर्छ । त्यसका लागि उनी धेरैजसो लोकसभा र राज्यसभामा गई बस्थे । राजनीतिक गतिविधि हेर्थे । उनले आफ्नो समयमा धेरै राजनेतालाई भेटेका थिए । उनी पण्डित जवाहरलाल नेहरूलाई भद्र राजनेता ठान्थे । दस मिनेटको समय दिँदा ६० मिनेट नेहरूसँग बैठक भएको सम्झन्छन् उनी ।
कार्टुनिस्ट आरकेले सिर्जना गरेको ‘द कमन म्यान’ चरित्रलाई मौन निरीक्षक भनिएको छ । जसले देशको मात्र नभई, विश्वकै समसामयिक गतिविधिलाई निरीक्षण गरिरहेको हुन्छ भन्ने ठानिन्छ । कार्टुनिस्टहरूलाई स्वतन्त्र भएर कार्टुन बनाउने छुट कहीँ पनि हँुदैन । तर, सङ्कटकाल लगाएको बेला प्रधानमन्त्री इन्दिरा गान्धीलाई भेट्दा कार्टुनमा एक चेतनामूलक व्यङ्ग्य हुन्छ भनी उनले सुनाएका थिए । उनको कुरा सुनेर प्रधानमन्त्री इन्दिरा गान्धीले प्रजातन्त्रमा कार्टुन चाहिन्छ, निश्चिन्त भएर बनाउनुहोस् भनेकी थिइन् ।
परिवारको सबैभन्दा कान्छो सदस्य भएको नाताले उनलाई सबैले माया गर्थे । उनले गरेका कामको प्रशंसा गर्थे । स्कुलमा पढ्दा उनी त्यति जान्ने विद्यार्थी थिएनन् । परीक्षामा फेल हुँदा कसैले प्रश्न गर्दैनथे । जब कि उनका पिता प्रधानाध्यापक थिए । उनीसमेत छजना दाजुभाइ र दुईजना दिदीबहिनी थिए । उनको जेठो दाजु आरके नारायण एक प्रसिद्ध उपन्यासकार हुन् । इन्डियन इन्स्टिच्युट अफ कार्टुनिस्टले उनका कैयौँ कार्टुनको प्रदर्शनी इस्वी संवत् २००९, २०१२, २०१३, २०१४, २०१६ मा गरेको छ ।
आरकेद्वारा थुप्रै पुस्तक लेखिएका छन् । ‘द बेस्ट अफ लक्ष्मण’ (१९९०), ‘लाइफ विथ लक्ष्मण’ (१९९९), ‘द भेरी बेस्ट अफ द लक्ष्मण’ (२०१२), ‘द डिस्टोरेड मिरर’ (२००३), ‘डोज अफ लाफ्टर’ (२००२), ‘ए भोट फर लाफ्टर’ (२००३), ‘द होटल रिभेरा’ (उपन्यास १९८९), ‘कमनम्यान एट’ (२००३) लगायत छन् ।
आरकेले बनाएका केही कार्टुन ‘मिस्टर एन्ड मिसेज’ नामक हिन्दी र ‘कामराज’ नामक तमिल चलचित्रमा प्रयोग गरिएका छन् । यसैगरी, ‘गाट्टु’ (१९५४) नाम गरेको एसियन पेन्ट्स लिमिटेड ग्रुपको मस्कट पनि आरकेले नै बनाएका हुन् । ब्रिटिस कार्टुनिस्ट डेभिड लो, कवि टीएस. इलियट, विश्व प्रसिद्ध दार्शनिक वट्र्रान्ड रसेल, जेबी प्रिस्ले र प्रसिद्ध साहित्यकार ग्रामग्रिनका क्यारिकेचरहरू उनले बनाएका छन् । त्यसैगरी, उनले टीभी सिरियलका लागि स्केच बनाएका छन् ।
प्रसिद्ध कार्टुनिस्ट आरके लक्ष्मणले कार्टुनकलाको माध्यमबाट राजनीतिक, सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै भारतीय राष्ट्रपति अब्दुल कालमले उहाँलाई न्यु दिल्लीमा २८ मार्च २००५ मा आयोजित एक भव्य समारोहमा पद्म विभूषण पुरस्कार प्रदान गर्नुभएको थियो । सन् १९८३ मा भारतको राज्यसभा र २००४ मा कर्नाटक राज्यसभाले ‘अनररी डक्टरेट’ उपाधि उनलाई प्रदान गरेको छ । यस्तै पुनेको सेबायोसिस इन्स्टिच्युट अगाडि आरकेको ‘द कमन म्यान’ नामक मूर्ति स्थापना गरिएको छ ।
आरकेको पूरा नाम राशिपुरम कृष्णस्वामी अयर लक्ष्मण हो । उनको जन्म २४ अक्टोबर १९२१ मा भारतको मैसुरीमा भएको थियो । उनको मृत्यु ९४ वर्षको उमेरमा २६ जनवरी, २०१५ का दिन अर्थात् भारतको गणतन्त्र दिवसका दिन दिनानार्थ मङ्गेसकर अस्पताल पुनामा भएको थियो । उनको एक छोरा श्री निवास, बुहारी र नातिनी छन् । उनकी पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो । दोस्रो श्रीमती पनि नोभेम्बर २०, २०१५ दिवङ्गत भएकी थिइन् । उनको मृत्युमा महाराष्ट्र सरकारले राजकीय सम्मान प्रदान गरेको थियो । उनको पार्थिव शरीरलाई पुनेको ‘द कमन म्यान’ मूर्ति स्थापना गरिएको परिसरमा समाधिष्ठ गरियो ।