मञ्जु भट्ट
गत वर्ष चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा कोरोना भाइरसका कारण स्थगित हुन पुग्यो । महामारी फैलिएको बेला आफ्नो ज्यानभन्दा ठूलो त परीक्षा हुनै सक्दैन । एसईईका लागि निरीक्षक बस्नुपर्छ भन्दै आवश्यक सूचना दिन स्कुलले चैत ५ गते दिउँसो बोलाएको पनि थियो । बिहान ६ बजेदेखि नै विद्यार्थीलाई कोचिङ पढाउन हिँड्ने गरेकी थिएँ । कक्षा एकदेखि नौसम्मका परीक्षा सकिएर बिदा पनि भएको थियो । यो बेला घरमै बसेर श्रीमान्लाई खाना पकाउनबाट छुट्टी दिने विचार थियो । सामुदायिक स्कुलमा गणित पढाउने एकजना देवर नाता पर्नेले एसईईमा निरीक्षक बस्न नखोज्नुका कारण सोध्दा मैले श्रीमान्लाई बिहानको कामबाट फुर्सद दिने विचार गरेको सुनाएँ ।
उहाँले तुरुन्तै ‘तपाईं त कति ‘लक्की’ (भाग्यमानी) हुनुहुन्छ, यसरी काम गर्ने, खाना पकाइदिने दाइ पाउनुभएको छ’ भन्नुभयो । श्रीमान् बिहानदेखि काममा गएको बेला मैले त्यही काम गरेकी थिएँ । मलाई त तिम्रा श्रीमान् कति
‘लक्की’ कसैले भन्नुभएन । श्रीमान्ले बिहानको एक छाक खाना पकाउँदा म भाग्यमानी भएको देख्नेहरूले अरू बेला बिहान बेलुकाको खाना, कोठाहरूको सरसफाइ, लुगा धुने, स्नानघर–शौचालयको सरसफाइ, दिउँसोको खाजा, गेडागुडी केलाएर राख्नेजस्ता अनेकौँ काम गरेको कहिल्यै देखेनन् । पितृसत्तात्मक सोचले भरिएको यो कस्तो दिमाग ? यस्ता काम महिलाले जन्मजात बोकेर ल्याएका हुन्छन् वा बिहेसँगै दाइजो ल्याएका हुन्छन् भन्ने ठान्ने यो कस्तो सोच ?
दुई महिनाको सानो बालक छोडेर, दूधले भरिएको छाती चर्काउँदै, श्रीमान्लाई घर खर्च चलाउन सजिलो होस् भन्दै स्कुल पढाउन गएको कसैले देखेनन् । दायाँबायाँ कतै नहेरी एक छाक खाना पकाइदिँदा म ‘लक्की’ हुन्छु भने मैले दुई छाक नै खाना पकाएर, जागिर गरेर, घरका सम्पूर्ण काम एक्लै गर्दा पनि मेरा श्रीमान्लाई ‘लक्की’ भनेर कसैले भन्दैनन् । मेरा श्रीमान्भन्दा बढी ‘लक्की’ सँगै काम गर्ने एकजना सहकर्मीका श्रीमान् छन् जस्तो मलाई लाग्छ किनभने उनले म जस्तै बिहान ६ बजे पढाउने ठाउँमा पुग्नलाई ४ बजे उठेर घरको सरसफाइसँगै खाना पकाएर आफूलाई पनि टिफिनमा खाना बोकेर ल्याउन भ्याउनुहुन्छ । उहाँका पनि घरमा श्रीमान् र कलेज पढ्ने छोरा छन् । श्रीमान्ले घरको काम गर्न नहुने मान्यतामा हामी अहिलेसम्म पनि अडिग छौँ । छोराले पढाइ बाहेक अरू काम गर्नुहुँदैन हाम्रो नेपालमा । कोठा भाडा लिएर एक्लै बस्ने विद्यार्थीले बाध्य भएर आफ्नो काम आफैँ गरे पनि परिवारसँगै बस्ने विद्यार्थीले जति ठूलो भए पनि आफ्ना लुगासमेत धुँदैनन् । आफ्ना लागि आफँै कमाएर, आफ्नो काम आफैँ गरेर पढाइलाई निरन्तरता दिने अस्टे«लिया, अमेरिका, युरोपका देशले अपनाएको नीति हाम्रो देशमा कहिले आउला ?
मलाई अचम्म त तब लाग्छ– जब मैले धोएका लुगा उठाउन बिर्सें भने ती लुगा अर्को दिनसम्म पनि डोरीमै झुन्डिरहन्छन् । फिल्टरमा पानी हालिएन भने पानी झर्दैन । यी काम घरका अन्य सदस्यले ‘गर्दिनँ’ भनेर नगरेका पनि होइनन् । मैले गरिहाल्छु भन्ने मानसिकता सबैमा देखिन्छ । दिउँसोको जागिरसँगै घरको एक–एक काम गरेर बस्ने महिलाले गर्दा श्रीमान् ‘लक्की’ भएको हो । अझै मेरै गाउँमा, मेरै घरमा पनि अलि पर रहेको धारामा हातमुख धुन जाने पुरुष तौलिया हातमा बोक्दै दाँत मल्दै हल्लिँदै जान्छन् । फर्किंदा एक भाँडो पानी ल्याउनुपर्छ भन्ने कहिल्यै सोच्दैनन् । त्यही ठाउँमा घरका महिला गाग्रीसहित हातमा जार पनि झुन्ड्याउँदै सकी नसकी पानी बोकिरहेका हुन्छन् । बिहान ४ बजेदेखि उठेर मेरी आमाले ओखलमा धान कुट्ने, जाँतो पिस्ने, कुवाबाट पानी भरेर ल्याउने, गाईभैँसीको स्याहार गर्ने अनि बिहानको खाना पकाउनुहुन्थ्यो । अनि मात्र चिया पिउन बुवा उठ्नुहुन्थ्यो । अब को भाग्यमानी, महिला वा पुरुष । सहरमा बस्ने महिला पनि बिहान उठेदेखि घरका काममा व्यस्त हुन्छन् । धेरै महिलालाई ‘मर्निङवाक’ त कुन चराको नाम हो भनेजस्तो हुन्छ । पुरुषहरू भने ‘मर्निङवाक’मा जान्छन् ।
‘मर्निङवाक’ सकिएसँगै उनीहरूका लागि एक गिलास तातो चिया र नास्ता टेबुलमा हुनुपर्छ । के यसलाई उल्ट्याउन सकिएला ? श्रीमान्–श्रीमती दुवैजना जागिरे भएको खण्डमा महिला ‘मर्निङवाक’मा जाने र पुरुष भान्छामा जाने दिन कहिले आउला ?
फुर्सदको समयमा घरको काममा हात लगाउँदा पुरुषहरूले किन आफूलाई अपमानित वा अप्ठेरो भएको अनुभव गर्छन् ? किन घरको काम महिलाले मात्र गर्नुपर्छ भन्ने सोच परिवारका धेरैजसो पुरुषमा हुन्छ ? नवजात शिशुले केही पनि जानेको हुँदैन चाहे ऊ छोरा होस् वा छोरी । अभिभावकले नै छोरीलाई स्कुलसँगै घरका काम गर्न सिकाउने तर छोरालाई पढ्न, लेख्नबाहेक खेल्नमात्र लगाउँछन् । यही सिकाइको कारण छोरीलाई घरको काम गर्न अप्ठेरो नहुने तर छोराले त्यस्ता काम गर्दा ग्लानि अनुभव गर्छन् । यदि कहीँ कतै कुनै घरमा पुरुषले बढार्ने, लुगाधुने, पकाउने गरेको देख्दा आफू पनि त्यसबाट केही सिक्नुको सट्टा समाजले नै अचम्मले हेर्ने गर्दछ । अझै छरछिमेक, नातेदारले त जोइटिङ्गे्र भन्न पनि पछि पर्दैनन् । गल्ती हामी आफैँ गरिरहेका हुन्छौँ । त्यसलाई सुधार्नतिर ध्यान दिँदैनौँ । कलेज पढ्ने उमेरका केटा आफ्ना साथीहरूसँग खेल्न हिँडेका वा पसलमा चियापान गर्दै घण्टौँसम्म गफ्फिरहेको भेट्छौँ भने त्यही उमेरका केटी भने पढाइबाहेक घरको काममा आमालाई सघाउने, बजारबाट सामान किनेर ल्याउने, मीठा खानाका परिकार बनाउन सिक्नेजस्ता काममा व्यस्त हुन्छन् ।
एकजना चिनेका सरका श्रीमती भारत घुम्न गएको बेला उनलाई चिया पकाउन पनि हम्मे परेछ । एक हप्ताका लागि श्रीमतीले मासुलगायत खानेकुरा पकाएर फ्रिजमा राखेर गइछिन् । अर्को एक हप्ताका लागि एकजना नातेदार आएर पकाएर गएछन् । उनलाई खाना पकाउनु त परै जाओस् चिया बनाउन पनि आउँदोरहेनछ । दूध तताएर कफी हालेर खाएको सुनाए । यस्तो उनीमात्र एक्ला होइनन् । घटना अनेक छन्, जहाँ श्रीमतीले माइत जाँदा पनि श्रीमान्का लागि पकाएर फ्रिजभरि राखेर जानुपर्छ । कैयौँ श्रीमान् यस्ता छन्, जसले आफूले खाएको चियाको गिलाससम्म माझेका छैनन् । सम्पूर्ण जिम्मा श्रीमतीको हुन्छ ।
सँगै काम गर्ने एकजना म्याडमलाई दसैँ, तिहारजस्ता चाडबाड आएको कत्ति पनि मन पर्र्दैन । माइतमा हुँदा पनि जेठी छोरी भएकाले चाडबाडमा सधैँ भान्छामा । घरमा त झन् बुहारीको काम पकाउँदै भाँडा माभ्mदै ठिक्क । कसैले मद्दत नगर्ने । रमाइलो त कहिले गर्न पाउनु र भन्दै उनले नमज्जासँग सुनाइन् । यसैले त कहिलेकाहीँ साँच्चै म आफूलाई यो कुरामा भाग्यमानी नै ठान्छु । भान्छामा पस्यो भने के गर्नुपर्छ भन्दै श्रीमान् पनि मद्दत गर्न आउँदा मलाई खुसी लाग्छ । सहकर्मी साथीहरूका श्रीमान्लाई तरकारी काट्न, चिया बनाउन पनि आउँदैन । संयुक्त परिवारमा बस्ने पुरुषहरूको बिहान बेलु्की घुम्न निस्कने, खाना खाने, घरका जरुरी निर्णय गर्नेबाहेक कुनै काम नै हुँदैन जस्तो देखिन्छ ।
पुरुषले घरको काम गर्न लजाउने, अप्ठेरो मान्ने कारणले नै एक्ली महिलामाथि धेरै बोझ थपिएको हुन्छ । आफ्नो घरको सानातिना काम पनि नगर्ने युवा विदेश हानिएर त्यस्तै काम गर्नुपर्दा पीडा अनुभव गर्छन् । काम सानो, ठूलो हँुदैन भन्ने मनमा लिएर जुनसुकै काम पनि गर्न जानेको र गरेको खण्डमा आफूलाई नै सजिलो हुन्छ । घरको काममा छोराछोरी नभनी दुवैलाई काम गर्न सिकाउनुपर्छ । जसले गर्दा भोलि बुहारी बिरामी भएको खण्डमा छोराले आँसु झार्दै काम गर्न नपरोस् वा घरको काम गर्ने मान्छे खोज्दै हिँड्न नपरोस् ।
यद्यपि, पहिलाभन्दा अहिले यस्ता घटनामा कमी हुँदै छ । शिक्षित अभिभावकले छोराछोरीमा फरक नछुट्याउँदा या त दुवैले घरको काम गर्न जानेका हुन्छन् या दुवैलाई घरको काम गर्न आउँदैन । आफूले जस्तै पीडा भोग्नु नपरोस् भन्नका लागि प्रत्येक अभिभावकले आफ्ना छोराछोरीलाई सानैदेखि भेदभाव नगरी नाम, दाम र काममा बराबरको हिस्सेदार बनाउनुपर्छ । फुर्सदिला पुरुषले कार्यालयमा समावेशीका गफ चुटेरमात्र हुँदैन । आफ्नै घरबाट परिवर्तन भएको देखाउन सक्नुपर्र्छ ।