प्रजित शाक्य
उम्दा खेलाडी बन्न नसके पनि हार नमानी खेल क्षेत्रमै लाग्नेको कमी छैन । यीमध्ये धेरैको सपना हुन्छ, प्रशिक्षक, व्यवस्थापक, निर्णायक, प्रशासकमा भए पनि नाम कमाउने । सबैको सपना पूरा हुन्छ भन्ने छैन । कविराज नेगी लामा यस्तै खेलाडी हुनुहुन्छ । उहाँ तेक्वान्दोकर्मी हुनुहुन्छ । भर्खर ३१ वर्ष पुग्नुभएका कविराजको ‘प्रोफाइल’ हेर्दा लाग्छ तेक्वान्दोमा उहाँले निकै लामो यात्रा गरिसक्नुभएको छ । उहाँको यो यात्रा निरन्तर छ । अहिले उहाँ पारा तेक्वान्दो खेलाडीका गुरु हुनुहुन्छ ।
शारीरिक रूपमा सक्षम नभएकाहरूले खेल्ने खेललाई पारा खेलकुद भनिन्छ । खेलकुद साङ्गका लागि मात्र होइन, अपाङ्गता भएकाका लागि पनि हो । यही सोचमा पारा खेलकुदको विकास भएको हो । विश्वको सर्वाधिक ठूलो खेलकुद मेला ओलम्पिकमा पनि पारा ओलम्पिक्स आयोजना गर्नुपर्ने नियम बनाइएको छ । अहिले हामीले यसै पारा खेलकुदअन्तर्गत रहेको तेक्वान्दो र पारा तेक्वान्दोका प्रशिक्षक कविराजको चर्चा गर्नेछौँ ।
सन् २००९ मा दक्षिण कोरियामा भएको नवौँ जेजु अन्तर्राष्ट्रिय स्पोर्ट्स फर अल तेक्वान्दो च्याम्पियनसिपमा पुम्से विधामा स्वर्ण पदक जित्नु कविराजको एकमात्र ठूलो उपलब्धि हो । योबाहेक उहाँको खेलाडी जीवनमा गौरव गर्नलायक क्षण छैन । त्यसपछि खेलाडी जीवन त्यागेर उहाँ प्रशिक्षकमा होमिनुभयो । स्कुल–स्कुलमा तेक्वान्दोको प्रशिक्षण दिनुभयो । पिङ्लास्थानमा श्रीपिङ्गलास्थान तेक्वान्दो डोजाङ खोल्नुभयो । पारा तेक्वान्दोको प्रशिक्षक बनेपछि भने उहाँ सबैमाझ चिनिनुभयो ।
कविराज अहिले तेक्वान्दोमार्फत अपाङ्गता भएका व्यक्तिलाई जीवनप्रतिको उत्साह सञ्चार गराउन दत्तचित्त भएर लागिपरेका प्रशिक्षक हुनुहुन्छ । उहाँले राखेपको स्वयम्सेवक प्रशिक्षकका रूपमा अपाङ्गता भएकाहरूलाई तेक्वान्दो सिकाउँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ– पशुपतिवरपर हुर्केको भएकाले होला, सानैदेखि समाजसेवा गर्ने भावना थियो । किशोर उमेरदेखि नै वृद्धाश्रममा सहयोग गर्ने अनि निरन्तर रूपमा रक्तदान पनि गर्दै आएको छु । यही भावनाले पनि पारातर्फ डो¥याएकोजस्तो लाग्छ । यसबाहेक पारा तेक्वान्दो संस्थापक यादव कँुवरले पारा अवार्ड पाएपछि मलाई प्रेरणा मिल्यो । मैले पारा तेक्वान्दो प्रशिक्षक नै बन्ने लक्ष्य लिएँ । मेरो इच्छा तेक्वान्दोकर्मी दीपक विष्ट (पारा तेक्वान्दोका सचिव) र कल्याण कुँवरले पूरा गरिदिनुभयो ।
पारा तेक्वान्दोको गुरु बन्नु भनेको प्रशिक्षक पेसामा नै जोखिम निम्त्याउनु हो किनभने यो सजिलो काम होइन । साङ्गलाई सिकाउनु र अपाङ्गता भएकालाई सिकाउनुमा आकाश–जमिनको फरक हुन्छ । कविराजका अनुसार अपाङ्गता भएकाहरू कतिपयमा म समाजको बोझ हुँ । मैले केही गर्न सक्दिनँ भन्ने मनोविज्ञान हुन्छ । यो मनोविज्ञान बुझेर उनीहरूको उत्साह बढाउन सक्नुपर्छ । पारा प्रशिक्षकलाई यो उत्साह जगाउनु पहिलो चुनौती हो । त्यस्तै तेक्वान्दोप्रति अकार्षित गराउनु दोस्रो चुनौती हो । धेरैको त परिवारलाई नै विश्वासमा लिनुपर्ने हुन्छ । तेक्वान्दो सिकाउने त पछि हो । खेलाडीलाई तालिम दिँदा विशेष ध्यान दिनुपर्छ । उनीहरूको ‘ब्यालेन्स’, ‘स्ट्रेन्थ’, ‘फ्लेक्सिबल’ र ‘स्पीड’ कम हुन्छ । त्यसैले किक हान्दा लड्ने र चोटपटक लाग्ने सम्भावना धेरै नै हुन्छ ।
अभिभावक र सहयोगीको जिम्मेवारी पनि पारा प्रशिक्षकले वहन पनि गर्नुपर्ने हुन्छ । जस्तो थानकोटमा बस्नुहुने कविराज दुवै हात नभएका आफ्ना शिष्य दीपेश महर्जनलाई लिन स्वयम्भू, भगवानपाउ जानुहुन्छ । यहाँबाट दीपेशलाई लिएर उहाँ सातदोबाटोस्थित तेक्वान्दो हलमा पुग्नुहुन्छ र अभ्यास गराउनुहुन्छ । अभ्यास सकिएपछि दीपेशलाई पुनः स्वयम्भू भगवानपाउ ल्याएर छाडिदिनुहुन्छ । दुवै हात नभएका दीपेशलाई मोटरसाइकलमा यसरी ल्याउने, लैजानेक्रममा उहाँले भोग्नुपर्ने समस्या बेग्लै छन् । पारा खेलाडी कसैको हात चल्दैन, कसैको खुट्टा चल्दैन । प्रशिक्षकले पनि खुवाइदिनुपर्ने, पसिना, सिँगान पुछिदिनुपर्ने, ट्वाइलेट लगिदिनुपर्ने, लुगा तथा जुत्तामोजा लगाइदिनुपर्ने हुन्छ । अझ महिला खेलाडीलाई स्याहार्न थप समस्या हुन्छ । तर, उहाँ यही काममा रमाउनुभएको छ । कविराज यसलाई पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारीमै पर्ने ठान्नुहुन्छ ।
हुन त कविराज पारा तेक्वान्दोका दक्ष प्रशिक्षक हुनुहुन्छ । सन् २०१६ मा दक्षिण कोरियाबाट पाँचौँ डान डिग्री लिनुभएका कविराजले यही साल कोरियामा नै पारा तेक्वान्दोको कोर्स र पारा तेक्वान्दो प्रशिक्षण कोर्स पनि पूरा गर्नुभएको हो । आफूमा जिम्मेवारी आएपछि कल्याण कुँवरसँग मिलेर कविराजले धेरै ठाउँमा पारा खेलाडीको खोजी गर्नुभयो । स्कुल–स्कुल, घर–घरमा पुग्नुभयो । तर, खासै भेट्टाउनुभएन । अपाङ्गता भएकाहरूको आमाबाबुकै इच्छा नहुँदोरहेछ, आफ्ना छोराछोरी घरबाहिर जाओस् भन्ने । परिवारले त यस्ता बालबालिकालाई घरभित्रै लुकाउने गर्छन् । अहिले केन्द्रमा नियमित रूपमा नौजना पारा तेक्वान्दोका प्रशिक्षार्थी छन् । जिल्ला–जिल्लामा पनि पारा तेक्वान्दो खेलाडी छन् । प्रतियोगिता हुँदा आह्वान गरियो भने उनीहरू काठमाडौँ आउँछन् । पारा तेक्वान्दोले उपत्यकाबाहिर बस्नेलाई नजिकको डोजाङमा प्रशिक्षण लिने सुविधा मिलाइदिएको छ ।
उहाँहरूले यसरी भेला पारेर प्रशिक्षण दिएका पारा तेक्वान्दो खेलाडीमध्ये केहीले अन्तर्राष्ट्रिय पदकसमेत ल्याएका छन् । उहाँकै एक शिष्य पलिस्था गोवद्र्धन त अहिले विश्व पारा तेक्वान्दो वरीयताको शीर्ष दसमा हुनुहुन्छ । दक्षिण कोरियामा भएको तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पलिस्थालाई लैजान उहाँको परिवारलाई धेरै सम्झाउनुपरेको थियो । अहिले पलिस्था पारा ओलम्पिक्समा खेल्न योग्य खेलाडी बनिसक्नुभएको छ । कविराजका अनुसार टोकियो पारा ओलम्पिक्समा पलिस्थाले खेल्ने लगभग पक्का छ ।
उहाँकै शिष्यहरू सीता भण्डारी, रञ्जना धार्मी र विक्रम श्रेष्ठले पनि पारा तेक्वान्दोका ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपालको नाम उँचो पार्नुभएको छ । छ वर्षकै उमेरमै दुवै हात गुमाएकी सीताले आइडब्लुएएस विश्व पारा तेक्वान्दोमा नेपाललाई कांस्य पदक दिलाउनुभयो । त्यसपछि एसियन पारा तेक्वान्दो ओपन च्याम्पियनसिपमा उहाँले अर्को कांस्य पदक जित्नुभयो । यसैगरी, रञ्जना धामीले दक्षिण कोरियामा भएको तेस्रो एसियान पारा तेक्वान्दो च्याम्पिनसीपमा कास्य पदक तथा विक्रमले टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा कास्य पदक जित्नुभएको थियो । विक्रमले जितेको पदक पुम्सेमा नेपालको पारा तेक्वान्दोका लागि नै पहिलो पदक हो ।
प्रशिक्षक कविराज भन्नुहुन्छ– यस्ता अन्तर्राष्ट्रिय मञ्चमा साङ्ग तेक्वान्दो खेलाडीले पदक ल्याउन सकेका छैनन् तर पारा तेक्वान्दोले ल्याएको छ । विश्व तेक्वान्दोले आयोजना गरेको १५ प्रतिस्पर्धामा नेपालले खेलेको छ । जसमध्ये नेपालको पारा तेक्वान्दोले १३ पदक ल्याएको छ । विश्व तेक्वान्दो महासङ्घले आयोजना गरेको विश्व च्याम्पियनसिपमा मात्र नेपालले चार पदक ल्याइसकेको छ । तेक्वान्दोमा नेपाली खेलाडी विश्व वरीयतामा शीर्ष सयमा पनि अटाएका छैनन् । तर, कविराजका अनुसार पारा तेक्वान्दोको विश्व वरीयतामा अहिले पलिस्था नवौँ र रञ्जना एघारौँ स्थानमा हुनुहुन्छ । पारा तेक्वान्दोमा विश्व तेक्वान्दोले मापन गरेको विभिन्न क्याटगोरी के ४१, के ४२, के ४३, के ४४ मा खेलाइन्छ । उदाहरणका लागि के ४१ मा दुवै हात नभएकाहरूले प्रतिस्पर्धा गर्दछन् ।
पारा तेक्वान्दोको विकासका लागि नेपाल तेक्वान्दो सङ्घले सन् २०१३ देखि नेपाल पारा तेक्वान्दो कमिटी गठन गरेको छ । जसको संयोजकमा कासिम मिया धोबी, सचिवमा दीपक विष्ट र प्रशिक्षकमा कविराज हुनुहुन्छ । राष्ट्रिय पारा तेक्वान्दो खेलाडीलाई नेपाल तेक्वान्दो सङ्घले दैनिक एक सय रुपियाँ भत्ता दिन्छ । पारा कमिटीलाई खेलाडीको जुत्ता, तेक्वान्दो ड्रेस, ट्रयाकसुट प्रायोजकबाट उपलब्ध हुँदै आएको छ । विगतमा यस्तो व्यवस्था नहुँदा खेलाडीहरूको आर्थिक भार पनि आफूहरूले नै बोकेको अनुभव पनि छ कविराजसँग ।
पारा तेक्वान्दोका लागि यतिमात्र पर्याप्त नभएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– अपाङ्गता भएका बालबालिकालाई खेलकुदमा आकर्षित गर्नका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्ले नै पारा खेलकुदसम्बन्धी जनचेतना तथा उत्प्रेरणा कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । यो समाजसेवा पनि हो । पारा तेक्वान्दोमा लागेपछि खेलाडीले आफ्नो जीवनलाई माया गर्न थालेका छन् ।