पवित्रा खड्का
नाटकको काममा विभिन्न ठाउँ जाने अवसर मिल्छ । यात्राजस्तो बलियो सिकाइ अर्को केही होलाजस्तो लाग्दैन मलाई । फरक ठाउँ, फरक परिवेश, फरक संस्कृति । २०७५ सालको असारमा दुईहप्ते नाट्य प्रशिक्षणका लागि बैतडीमा थिएँ । सुदूरपश्चिमको यात्रा मेरा लागि निकै ठूलो सिकाइ भयो । नेपालको पूर्व किन सुदूरपूर्व भएन ? पश्चिम किन सुदूरपश्चिम भयो ? कसले बनायो पश्चिमलाई सुदूर ? मैले अलि–अलि भए पनि अनुभूत गर्न पाएँ ।
म र मेरा अग्रज सहकर्मी चन्द्र पाण्डेले २० जना युवालाई दुई हप्ताको प्रशिक्षण दिनु र एउटा नाटक तयार पारिदिनु थियो । साथमा हुनुहुन्थ्यो– अक्स्फामकी साथी आस्था रिजाल । नयाँ साथी, नयाँ ठाउँ, नयाँ जोश–जाँगर थियो । तर, उहाँहरूको अनुहारमा एकप्रकारको निराशपना, दुःख, पीडालाई महसुस गर्न मलाई समय लागेन किनकि म जन्मिएको, हुर्किएको ठाउँ त्यस्तै पहाड हो । पहाडको जीवनशैली मैले भोगेको छु । गाउँको दैनिकी उकालो–ओरालो, घाँसदाउरा, मेलापात र त्यसमाथि असारको महिना । हाम्रो गाउँघरमा भन्ने चलन छ, यो बेला भनेको ‘मानो रोपेर मुरी फलाउने’ बेला हो । उहाँहरूको अनुहारमा त्यो थकाइ देखिन्थ्यो ।
म मेरो पहाडबाट काठमाडौँ आउँदा द्वन्द्वकाल थियो । हाम्रो स्कुलमा ताल्चा लाग्यो । हामीले पढ्न नपाउने भयौँ । यतिमात्र हैन, हामीलाई स्कुलबाट माओवादीले लिएर गए । तर, हामीमध्ये केही बाटोबाटै भागेर घर आयौँ । अब फेरि लान्छन् भन्ने डर थियो किनकि हाम्रो गाउँमा धेरै मान्छे द्वन्द्वको चपेटामा मरिसकेका थिए । मेरी आमाले त्यही बेला
‘तँ काठमाडौँ गएर सानिमासँग बस्’ भनेर पठाउनुभयो । गाडी चढ्नलाई दुई घण्टा तल आउनुपथ्र्यो मन्थली । आमाले बिहानै दौडाउँदै ल्याएर गाडी चढाउनुभयो । त्यहीबेला मैले पहिलोचोटि सदरमुकाम टेकेको थिएँ र काठमाडौँ आएकी थिएँ । बिल्कुलै नयाँ संसारमा आएकी थिएँ, जे देखे पनि ट्वाल्ल पर्थें ।
मन्थलीबाट हामी आउँदा धेरै त आफ्नो गाउँबाट पहिलोपटक सदरमुकाम आएका थियौँ । तर, बैतडीमा जम्मा हुनुभएका साथीहरू निश्चित कारण थियो, उद्देश्य थियो । महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्नका लागि कचहरी नाटकको दुईहप्ते कार्यशालामा सहभागी भई नाटक तयार पार्ने र आफ्नो गाउँघरमा गएर नाटक प्रदर्शन गर्ने । उहाँहरूलाई नै थाहा थिएन होला, उहाँहरू आफ्नो समाजका लागि कति ठूलो काम गर्दै हुनुहुन्छ भनेर । तर, हाम्रो समाजमा पहिलादेखि नै चल्दै आएको परम्परालाई तोड्न त्यति सजिलो छैन । यसका लागि पहिला त आफूलाई नै परिर्वतन गर्नुपर्ने हुन्छ । अनि मात्र समाजलार्ई परिर्वतन गर्न सकिन्छ ।
यो एउटा सघन नाट्य कार्यशाला भएको हुनाले सबै सहभागी मानसिक र शारीरिक रूपमा सहज अवस्थामा उपस्थित हुन आवश्यक हुन्छ । तालिमको सुरु दिनमै हामी सहभागीलाई सोध्ने गर्छौं, कसैलाई केही समस्या छ वा आफ्नो असहजताबारे केही भन्नु छ ? एक युवकले भने,
‘मलाई समस्या छ । महिनावारी भएकी महिलाले छुँदा मलाई काम्न आउँछ ।’ मैले सोधेँ, ‘अनि कसरी ठीक हुन्छ ?’ उनले भने, ‘धुप बालेर पन्छाइमन्छाइ गर्नुपर्छ चारै दिशामा । अनि भेटी सिरानीमा राख्नुपर्छ ।
त्यसपछि थानमा लगेर चढाउनुपर्छ अनि ठीक हुन्छ ।’ मैले भनेँ, ‘त्यसो भए कोही महिनावारी हुँदा गोप्य राखौँ है ।’ युवकले फेरि भने, ‘नभने पनि थाहा हुन्छ ।’ यो मेरा लागि अचम्मलाग्दो कुरा थियो । केटीलाई महिनावारी भएको कुरा, उसले नभनी केटाहरूलाई कसरी थाहा हुन्छ ? पहिलो दिन भएकाले सामान्य शारीरिक व्यायामबाट कार्यशाला सुरु भयो । नाटकका खेल र विभिन्न अभ्यास सुरु भयो । सहभागीहरूभित्र रहेको डर, लाज र असहजतालाई हटाएर सजिलो वातावरण बनाएर काम गर्नुपर्ने हुन्छ । सबै सहभागी मिसिएर बस्नेभन्दा सुरुका दिनमा केटाकेटा एकतिर केटीकेटी अर्कोतिर बस्ने गर्थे ?
हामीले थाहा पाउँदादेखि नै समाजमा यही कुरा सिक्यौँ । अझ धेरै त त्यहाँ नजा, त्यो नखा, फलानोसँग नबोल, केटी भएपछि समालिएर हिँड्नुपर्छ, धेरै बोल्नुहुन्न जस्ता धेरै कडा नियमलाई पालना गर्नुपर्ने भयो केटीहरूले । हामीले सहभागीबीच लैङ्गिक, जातीय, धार्मिक वा अन्यखाले विभेदमाथि कुरा नगरी, सहभागीबीच एक–अर्कालाई सम्मान गर्ने वातावरण नबनाई सामाजिक अन्धविश्वासविरुद्ध नाटक बनाउन सक्दैनौँ ।
बैतडी भारतको उत्तराखण्डसँगै जोडिएको रहेछ । त्यहाँको बोर्डरको नाम झुलाघाट रहेछ । हामी झुलाघाट गयौँ । सुदूरपश्चिमको यो जिल्ला र आसपासका क्षेत्र मैले सोचेभन्दा राम्रो लाग्यो । बाटोघाटो, पुल, होटेल–बजार, स्वीमिङ पुल पनि त्यहाँ पाएँ । धनगढीदेखि नै मैले यो महसुस गरेँ । नेपालको पहिलो एयर क्राफ्ट जसलाई वेद उप्रेतीले धनगढीमा बनाएका रहेछन् । त्यसभित्र कफी पिउँदै २० मिनेटको भिडियो हेर्न पाइने, एयर होस्टेज र पाइलटको ड्रेस लगाएर फोटो खिच्न पाइने रहेछ । धनगढीबाट गाडीमा बैतडी पुग्दासम्म लाग्यो सुन्दर सुदूरपश्चिम भन्ने नारा सार्थक छ । केवल नेपालका शासकले पश्चिमलाई सुदूर बनाएका हुन् । डडेल्धुराको सुन्दर उग्रतारा मन्दिर अवस्थित डाँडाबाट पूरै डडेल्धुरा देखिने रहेछ । जताततै सुन्दर मन्दिर छन् । तर, तिनै मन्दिरको आस्थाको आडमा हामीकहाँ कैयौँ डरलाग्दा अन्धविश्वास मौलाएका छन् ।
म झुलाघाटको कुरा गर्दै थिएँ । ठ्याक्कै ६ बजे भारततिरको गेट बन्द हुने रहेछ, उनीहरूले तीनपटक सिठी बजाउने रहेछन्, जनाउ घण्टीका लागि । तेस्रोपटकसम्म मानिस वारिपारि गरिसकेनन् भने वारिका मानिस वारि नै र पारिका पारि नै बस्ने रहेछन् । यो कुरा हामीलाई थाहा थिएन झण्डै हामी अभरमा परेको ।
तारानाथ शर्माले लेख्नुभएको घनघस्याको उकालो पनि त्यहीँ रहेछ । हाम्रो देश जति प्राकृतिक सम्पदामा धनी छ, त्यति नै संस्कार, संस्कृति, रीतिरिवाज, जातजाति, भाषाभाषीमा पनि धनी छ । हाम्रा सहभागी साथी पनि यहीँबाट हुनुहुन्छ । उहाँहरूको आफ्नै संस्कार, संस्कृति, भाषा, भेषभूषा छन् । यस कुरामा म आफूलाई अभागी ठान्छु किनकि म यसमध्ये पर्दिनँ । मेरो छुट्टै भाषा छैन, छुट्टै भेषभूषा पनि छैन । हामी एउटै देशमा जन्मिए पनि जसरी हाम्रो पहाड फरक छ– पूर्व र पश्चिम । त्यसैगरी मूल्यमान्यता पनि फरक छन् ।
हामीले कचहरी नाटकको कार्यशालामा समूह–समूह बनाएर काम गर्दा प्रश्न गरेका थियौँ । ‘केटीले नाकमा फुली, बुलाकी किन लगाउँछन् र केटाले चाहिँ किन लगाउँदैनन् ? जवाफ थियो, ‘केटाभन्दा केटी चण्डाल्नी हुन्छन् । मुखमुखै लाग्छन् । नाकको टुप्पोमा नै रिस हुन्छ । त्यही भएर उनीहरूलाई वशमा राख्न नाक छेडेर फुली÷बुलाकी लगाइदिनुपर्छ ।’ यो मैले पहिलोचोटि सुनेको कुरा होे । वर्षौंदेखि कसरी महिलाका विपक्षमा लोकभनाइहरू बनेका छन् र महिला कसरी हिंसामा पर्छन् यस्ता उदाहरणले प्रस्ट पार्छन् ।
दिन बित्दै जाँदा हाम्रा साथीहरू एक–अर्कासँग मज्जाले बोल्ने र घुलमिल पनि भइसक्नुभएको थियो । अब त आफैँ केटाकेटी मिसिएर बस्नुहुन्थ्यो । हामीले भन्नै नपर्ने । हाम्रो कार्यशाला भइरहँदा एक महिला आउनुभयो । उहाँँ कृष्णा विष्ट । बैतडीकै पहिलो महिला समाजसेवी हुनुहँुदोरहेछ । उहाँले समाजमा रहेका अन्धविश्वास र महिला हिंसाविरुद्ध धेरै काम गर्नुभएको रहेछ । यहाँको अनुभव र सङ्घर्षले हामी सबैलाई धेरै प्रेरणा मिल्यो । महिला भनेको घरका शोभा हुन् भन्ने अनि घरभित्रै कैद गरेर राख्ने । बैतडीको गोठालापानीमा दुई हप्ता बस्दा मैले कुनै पनि पसलमा महिलालाई देखिनँ । हामी बसेको होटेलमा काम गर्ने युवककी श्रीमती त्यहीँ बस्ने रहिछन् । तर, मैले सात÷आठ दिनपछि मात्रै देखेँ । यस्तो समाजमा सामाजिक अभियानमा लागेकी कृष्णा विष्टलाई पक्कै सजिलो थिएन । म आफैँ मेरो परिवारसँग सङ्घर्ष गरिरहेकी छु । रङ्गमञ्चमा लाग्नका लागि ।
हाम्रो कचहरी नाटक कार्यशालाले नाटक बन्नका लागि दिनदिनै नयाँ मोड लिँदै थियो । नाटक तयार हुनका लागि हामीलाई स्थानीय समस्या, स्थानीय घटना नै चाहिन्छ, जसमा हामी नाटकमार्फत समाजमा गएर त्यसमाथि छलफल गरेर समाजबाटै समस्याका समाधान खोज्छौँ । सहभागीहरूका अनुसार त्यहाँको एउटा समस्या छाउपडी हो । गोठमा बस्नुपर्छ, घरको धुरी नदेख्नेगरी एकान्त ठाउँमा र यो बेला खानामा पनि सुख्खा रोटी खाएर बस्नुपर्छ । तर, कामचाहिँ गर्न मिल्छ । गाईबस्तुलाई घाँस काट्न मिल्छ, दूध, दही खान मिल्दैन । हाम्रो नाटक एउटा यही हुने भयो । सहभागीहरूबाटै हामी नाटकको विषय र कथा बुन्ने प्रयास गर्छौं । यसमा हामी जबरजस्ती विचार लाद्ने प्रयास गर्दैनौँ ।
उहाँहरूले अर्को समस्या बालविवाहलाई लिनुभयो । सहभागी साथीहरूले भन्नुभएअनुसार अरू स्कुलका शिक्षकहरू अन्य ठाउँबाट पढाउन आउने हुँदा ती शिक्षकले आठ÷नौ कक्षामा पढ्ने आफ्नै विद्यार्थी केटीहरूलाई भगाएर लैजाने गरेको पनि पाइयो । धेरैजसो शिक्षकको घरमा अर्की श्रीमती हुने, कतिले यौन सम्पर्कपछि छोडेर हिँडिदिने घटना पनि भएका छन् । त्यहीँ हुँदाहुँदै आफूसँग सम्बन्ध भएका विद्यार्थी गर्भवती भएको थाहा भयो भने शिक्षक जागिर छोडेर भाग्ने गरेको घटना पनि रहेछन् । यो समस्या पनि नाटकमा रहने भयो । तर, एकजना स्थानीय सामाजिक अभियन्ताले नाटक अभ्यासको क्रममा त्यो दृश्य हेरेपछि हटाउन जोड गर्नुभयो । शिक्षकहरूसँगै मिलेर स्थानीयस्तरमा काम गर्नुपर्ने हुनाले उक्त दृश्य राख्न नसकिने उहाँको भनाइ थियो । लामो छलफलपछि हामीले त्यो दृश्य हटाउनैपर्ने भयो । यस्ता अनेकौँ चुनौती अभियानक्रममा आउँछन् ।
हामी सबैको जीवनमा सुख–दुःख मिसिएको हुन्छ । तर, दुःख र समस्याबाट मुक्ति पाउनका लागि अन्धविश्वास र हिंसालाई विस्थापित गर्नुप¥यो । शिक्षा र चेतना बढाउँदै लैजानुप¥यो । हामी पहिलो दिन भेट हुँदादेखि तालिमको अन्तिम दिनसम्म पुग्दा धेरै फरक भयौँजस्तो मलाई लाग्यो । उहाँहरूको पनि त्यस्तै अनुभूति थियो । उहाँहरूलाई सुरुमा लागेको थियो रे, नाटक गर्न आएको नाटक नगराएर कहिले शारीरिक अभ्यास गराएको छ, कहिले अनेकौँ विषयमा छलफल गराएको छ । पहिलो दिन काम्ने आउँछ भन्ने युवकले त झन् काम्न आउँछ भन्ने कुरा नै बिर्सिएछन् । अन्तिम दिन उनको अनुभव थियो, ‘जे कुरा विश्वास गरेर मनमा लियो, त्यस्तै हुने रहेछ ।’
हाम्रो नाटकको तयारी अन्तिम अवस्थामा पुगिसकेको थियो । अब हामीलाई भेषभूषा, सेट, ब्यानरको तयारी गर्नुपर्ने थियो । काशी विष्ट हाम्रा स्थानीय संयोजक हुुनुहुन्थ्यो । नाटकमा चाहिने फलामको सेट त्यहाँ नबनेपछि उहाँले धनगढीमा बनाउन लगाएर मगाउनुभयो । ब्यानर र भेषभूषा पनि तयार भयो ।
हामीले यत्रो दिनसम्म मेहनत गरेको कामको आज परीक्षा आइपुगेको थियो । गोठालापानीमा बिहान ११ बजे हाम्रा सहभागीले नाटक प्रदर्शन गरे । नाटकले देखाएका समस्यामाथि दर्शकले गज्जबले बहस गरे । बहसपछि दर्शकको प्रतिक्रियाले हाम्रो उत्साह बढ्यो । अब चन्द्र सर र म त्यहाँबाट फर्किंदै थियौँ तर नाटक टोलीले गाउँगाउँमा गएर ४० वटा प्रदर्शन गर्न बाँकी थियो । धेरै दर्शकले यस किमिसको नाटक पहिलोपटक हेरेको बताए । स्थानीय समस्यालाई नै उठाएर स्थानीयसँगै समस्या समाधान खोज्ने जुन शैली छ, त्यो एकदम मन परेको उनीहरूको कथन थियो । नाटक टोलीका सबै सदस्य निकै खुसी भए । हामी आफ्नै रूपान्तरणका लागि यो अभियानमा थियौँ । यो अभियानमा सहभागी सबैलाई केही न केही सिकाउनेछ यस नाट्य यात्राले । कामको सफलतासँगै सायद समाजमा पनि केही उज्यालाहरू छाड्दै जानेछन् नाट्य यात्राका साथीहरूले । यस्ता यात्रा, तालिम, सहभागीसँगको अन्तत्र्रिmया, नाटक निर्माण र नाटक मञ्चनपछि दर्शकसँगको छलफल जिन्दगीमा सिकाइको सबैभन्दा ठूलो पाठशालाजस्तो भएको छ, मेरा लागि । सिक्न बाँकी कति धेरै छ र कति धेरै सामाजिक अन्धविश्वास र कुरीतिविरुद्ध लड्न बाँकी नै छ । नाटक समूहका साथीहरू यही अभियानमा लागेका छन् । म अझै नाटकमा प्रयोग भएको एउटा गीत सम्झिरहेको छु ।
पाको फल चरीले खायो, काँचो फल रूखै छ ।
जहाँसम्म छोरीको चोला, वहाँसम्म दुःखै छ ।