आजकल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रायः शान्त छ । केही अत्यावश्यक सरकारी र चार्टर्ड उडानको मधुरो आवाज र त्यही मन्द ध्वनिले कोटेश्वरको मौनतालाई थोरै छोएर जान्छ, बस् । कोभिड–१९ असर व्याप्त छ महानगरमा । विक्रमाब्द २०२८ पूर्व पनि एकदम शान्त तर स्थानीयपनसहितको आफ्नै जीवनशैलीमा रमाउँथ्यो कोटेश्वर इलाका । खसोखास आफ्नोपन भन्नु खेतीपानी, गाईबाख्रा, कलकल बग्ने सफा बागमती, चियापसलको चहलपहल र घरछिमेकसँगको आत्मीयता आदि थिए । आज आधा शताब्दीको सेरोफेरोमा आइपुग्दा स्मार्ट सिटीको दिवास्वप्न, कन्दै बग्ने बाग्मतीको गन्ध, लाखापाखा लखेटिएका स्थानीयवासी र एकाएक फैलिएको बिरानोपनले गाँजेको छ कोटेश्वरवासीलाई । त्यसै लहरमा उभिनुभएको छ साहित्यकार राजेन्द्र पराजुली नोस्टाल्जिक हिक्कासहित उहाँको पछिल्लो संस्मरण कृति ‘कोटेश्वरको केटो’मा ।
उल्टाइएको एकतन्त्रीय पञ्चायती शासनव्यवस्थाले थुरथुर पारेको महेन्द्रीय समय त्यसबेला (२०२८ सालतिर) । बोल्ने कसको आँट ? विमानस्थल विस्तारका लागि बारम्बार कोटेश्वरवासी राज्य दोहनमा परिरहे तर राज्यले जारी गरेको उर्दी र व्याप्त त्रासदीमाझ केको प्लेकार्डसहित नाराबाजी गर्नसक्नु र स्थानीयले त्यसबखत । तब न मागेजति जमिन थपक्कै देशलाई सुम्पिएर आफ्नो थातथलो छाडी हिँड्न बाध्य भए स्थानीय । त्यही राज्य दोहन दोष बनेको छ पराजुली परिवारका लागि पनि । मनग्गे जमिनका मालिक किसान परिवारहरू एकाएक कोटेश्वर दक्षिणी थुम्कोबाट फाँटतिर सर्न बाध्य पारिए त्यसताका । नमीठो कुरा त, राज्यले थमाइदिएको थोरै मुआब्जाले बागमती फाँटमा किनेको जमिन पनि विस्तारै विस्तारै खिइँदै गएर अघिका जमिन मालिकहरू अधिकांश केही आनाको कङ्क्रिट भवनमा थन्किएका छन् आजकल । अझ कतिपय त ठाउँ नै छाडी अन्यत्रै पलायन पनि भएको दृष्टान्त पेश गर्नुहुन्छ लेखक । उहाँ भन्नुहुन्छ, ‘पहिलो पटक २०२८ र त्यसपछि २०४० सालतिर त्यो ठाउँका स्थानीय बासिन्दामाथि राजयले लगाएको उठिबासको प्रभावस्वरूप अहिले केही परिवार भूमिहीन बन्न पुगेका छन्, घरवारविहीन बन्न पुगेका छन्’(६३) । राज्यको क्रूरताबाट पिल्छिएका धेरै स्थानीयका स्वर हुन् पराजुली र उहाँको संस्मरण एक विगत दस्तावेज । चार भिन्न उपशीर्षकमा लेखिएको संस्मरणमा ‘कोटेश्वर’ अन्तर्गतका आठ संस्मरणमा राज्यको व्यवहारका कारण निर्माण भएको गहिरो वर्गीय खाडल र स्थानान्तरणको मार्मिकता समेटिएका छन् । साथै उहाँले उठाउनुभएको छ, अन्य सङ्गीन विषय जो बस्ती बढोत्तरीसँग सरोकार राख्दछ । कोटेश्वर वरपरका क्षेत्र र स्थानीयले बेहोरेका छन् बस्ती विस्तार, अव्यवस्थित सहरीकरणको विद्रूप अनुहार, प्राकृतिक दोहन, बिलकुल बदलिएको बागम(तीको स्वरूप र गन्ध साथमा पहिचान मेटिएको उहाँहरूको थातथलो । खासमा यी सब मानवकेद्रित विकास मोडल र महŒवाकाङ्क्षाले निम्त्याएको आजको समय हो जो कोटेश्वरमा मात्र हैन सर्वत्र फैलिएको छ । भइरहेको छ निरन्तर स्थानीयता र प्रकृतिमाथिको घोर शोषण ।
संस्मरण या जीवनीले लेखकको इमानदारी माग गर्छ तर नितान्त व्यक्तिगत कुराको सत्यतथ्य केवल लेखकमा निहित हुन्छ । पाठकले त लेखिएको कुरा न ग्रहण गर्ने हो । पराजुलीका संस्मरणहरूमा ‘कन्फेसन’ प्रशस्तै आएका छन् । जसले उहाँको लेखनीको इमानदारीलाई बल दिएको छ । उहाँ स्वीकार्नुहुन्छ राजधानीवासीको पगरी गुथिएका उहाँका अभाव र गरिबी । एक कप चिया पिउने र एउटा चप्पल लगाउनेसम्मको हैसियत नभएको उहाँको बालसमय । उहाँ सहजै भन्नुहुन्छ, केही रोपनी जग्गाका मालिक आजकल पाँच आनाको घरमा थन्किएको छ । यसका लागि स्वीकार्नुहुन्छ आफ्ना व्यक्तिगत कमजोरी र विफलताका गाथा । उहाँले धेरैप्रकारको ‘अतिरिक्तता’ को प्रयोग गर्न खोज्नुभयो जीवनमा (५२) तर सफल हुनुभएन । सम्भवतः ती अतिरिक्ततामा पर्दा हुन् केही रुमानी प्रेमिल सम्बन्धहरू पनि जो उहाँ खुलस्त भने पार्न चाहनुहुन्न । त्यसैले उहाँ ‘माइल्ड कन्फेसन’मै सीमित भएका देखिन्छ । व्यक्तिगत कुरा खटाएर गर्ने उहाँ साथीभाइका विषयमा भने जमेरै खुल्नुभएको छ । अनन्य मित्रसँगका अन्तरङ्ग खुलासा भने उहाँ ‘एस्प्रेसो सट’ जस्तै ट्वाक्क प्रस्तुत गर्नुहुन्छ । लेखकहरू ध्रुवचन्द्र गौतम, श्यामल, विप्लव ढकाल र नयनराज पाण्डेसँगको दोस्ती भने गजबको छ उहाँको । छुटाउन नसक्ने विशेष व्यक्तिहरू लाग्छन् सबै । एक अजीव सन्तुलन कायम गर्ने चेष्टामा हुनुहुन्छ लेखक भित्री मित्रहरूसँगको सम्बन्धमा तर घरीघरी भने ढलपल भइजान्छ सन्तुलन । त्यसैको परिणाम हो कि कोही मित्रका लागि भने उहाँ भारी भइदिनुहुन्छ, तर विशेष खासियत छ उहाँको प्रहार शैलीको । शब्दचयन र व्यङ्ग्यात्मक भाषाको चोटिलो प्रहारले उहाँको लेखनी
सामथ्र्य दर्शाउँछ ।
जीवनभर उहाँले अँगाल्नुभएकोको पेशा भन्नु पत्रकारिता र विभिन्न सञ्चार माध्यमसँगको सहकार्य हो । २०४७ सालदेखि केही ‘अन अफ’ शैलीमा पत्रकारितामा लाग्नुभएको उहाँले २०५७ सालदेखि भने यसै क्षेत्रमा निरन्तर यात्रारत हुनुहुन्छ (१७८) । उहाँले त्रैमासिक साहित्यिक पत्रिकादेखि, राष्ट्रिय दैनिक, टेलिभिजन, एफएम हुँदै अनलाइन पत्रिकासम्ममा आफ्नो पत्रकारीय क्षमता पस्किसक्नुभएको छ । तर कम्ता अनौठो लाग्दैन उहाँको कतै पनि लामो समय टिक्न नसक्ने बानी । सायद यस स्वभावले उहाँका कमजोरी या सबलता दुवैतिर इङ्गित गर्दा हुन् । काम गरे जति ठाउँमा भने आफूले इमानदारीपूर्वक नै काम गरेको जिकिर भने गर्न भ्याउनुहुन्छ पराजुली । उहाँ कृतज्ञ पनि हुनुहुन्छ, नाम, दाम र सामाजिक प्रतिष्ठा दिएको यस पेशाप्रति । उहाँले गर्नुभएको नवीन प्रयास या सामाजिक उत्तरदायित्वसहितको पत्रकारिताले भने उहाँलाई बारम्बार उठिबास लाएका घटना भने विशेषरूपमा सम्झनुहुन्छ । पत्रकारिताका केही ‘प्रिभिलेज’ र केही समस्या छन् । साथै मौलाउँदै गरेका केही विकृत पक्षका साक्षी उहाँ आजको यस माहोलप्रति भने जमेरै कटाक्ष गर्न पछि पर्नुहुन्न । उहाँ भन्नुहुन्छ, ‘समाचार अचेल चाउचाउभन्दा पनि चाँडो पाक्न थालेका छन् । ... हुँदै नभएका घटना सञ्चारमाध्यमले कपोलकल्पित ढङ्गमा उत्पन्न गराइदिन थालेका छन्’ (१६५) । लामो समय यसै क्षेत्रमा काम गर्नुभएका एक अनुभवी व्यक्तिका यी भनाइमा छताछुल्ल भएको सत्यले निश्चय नै यस पेशाप्रति भने गम्भीर प्रश्न तेस्र्याइदिएको छ । देशको चौथो अङ्गको गैरजिम्मेवारीपनले उत्पन्न गर्ने सामाजिक प्रभाव निश्चय नै डरलाग्दो छ ।
जानीमानी कथाकार राजेन्द्र पराजुलीको काव्यिक पाटो बग्रेल्ती भेटिन्छन् संस्मरणमा । विशेषतः आफू निकटका प्रियजनको सम्झनामा उहाँ भावुक अझ कतिपय ठाउँमा त अतिभावुक पनि बन्नुभएको छ । गहिरो भावुकताले मनलाई त निथ्रुक्कै पारिदिन्छ तर मस्तिष्क भने ओभानै छाडिदिने सम्भावना प्रबल हुन्छ । पराजुली आफ्ना केही आत्मीयजनको सम्झनामा मात्र हैन, बेग्लिएको बागमतीप्रति पनि अति भावुक ब(िनदिनुहुन्छ घरीघरी । आफूलाई ‘मन्दबुद्धि’ भनिरहने उहाँ जहिल्यै कक्षामा प्रथम हुनु त छँदैछ, पत्रकारिता र साहित्यमा पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । त्योचाहिँ कसरी होला ? भन्ने पनि पाठकलाई नलाग्ला भन्न सकिन्न । असन्तुष्टिहरू त उहाँले जमाएरै पोख्नुभएको छ किताबभरि । आधा शताब्दी वारपारका कुरा छन् । त्यसैले पनि आएका होलान् अनेक पीडा, असन्तुष्टि, असफलता, ग्लानि र अतिरिक्तताका कुरा । खुसीहरू अलिक कम भेटिन्छन्, या लेखकले खोल्न चाहेनन् । गाँठी कुरा धेरै आएका छन् संस्मरणमा ः वर्गीय खाडल, कचौरे काठमाडौँको विस्तारै फेरिएको स्वरूप, बागमतीमा मात्र नभई समाजमा व्याप्त हुँदै गएको दुर्गन्धलगायत समसामयिक चिन्तन त एक खारिएकै चेतनाका उपज हुन् नि ।
कुमारी लामा