कमल रिजाल
‘महादेवी ! एउटा कुरा भन्छु मान्छ्यौ ? धेरै दिनदेखि भन्छु भन्दा पनि बोल्न सकेको थिइनँ, आज मुख खोल्न बाध्य भएको छु, अन्यथा नमान है ।’ एक दिन वक्षु किनारमा बसेर घाम तापिरहेका दिगम्बर महादेवले भने ।
‘भन्नुस् न महादेव ! के कुरा हो त्यस्तो, हाम्रो शरीर मात्र दुईवटा हुन्, मन मुटु एउटै छन् । जतिबेलादेखि दुई नदी किनारबाट बढ्दै आएर एक भएका थियौँ त्यतिबेलादेखि हाम्रा हाड, मासु, छाला, नसा, छाला र प्राण एउटै भएका छन् भने आपसमा कुरा गर्न पनि साइत हेर्नुपर्छ र ? पतिपत्नीबीच गोप्यता भन्ने नै हुँदैन । यस्तो ठान्न थालियो भने प्रेम हुँदैन, अभिनय हुन्छ । एकले अर्कोलाई मनमा लागेको कुरा भन्नु पनि पर्छ, सुन्नु पनि पर्छ । भन्नुस् के कुरा हो, जे भए पनि यो हिमाली कन्या सुन्न आतुर छे ।’ महादेवको काखमा बसेकी पार्वतीले लाडप्यार देखाउँदै भनिन् ।
‘तैपनि ।’
के तैपनि महादेव !’
‘कुरै त्यस्तो छ क्या ।’
‘त्यही त भनेको नि, के कुरा हो त्यस्तो ।’
‘पछि हुँदैन, सक्दिन भन्यौ भने ?’
‘कहिल्यै भनेकी छु र ?’
‘के थाहा, बेला न कुबेला ठुस्किने बानी छ, मुड विचार नगरी कहाँ बोल्न पाइन्छ र हामी जस्ता पुरुषजातिले ।’ ‘भो, भो बढी कुरा नगराँै । आफू जस्तो छ अरूलाई पनि त्यस्तै देख्छन् भनेको यही हो । आफूहरू चाहिँ दूधले नुहाएका हुन्छौँ भन्ने ठान्नुभएको छ कि क्या हो ?’
‘जोक पो गरेको त, यतिमै रिसाइहाल्यौ ?’
‘होइन, किन रिसाउने ।’
‘अनुहार कुच्यायौ त ।’
‘कुरै त्यस्तै गर्नुभएपछि अनुहार नकुच्याएर के कुच्याउनु त ।’ ‘त्यसो भए भैगो भन्दिनँ ।’
‘होइन होइन भन्नुस् । पतिपत्नीबीच यति त चलिहाल्छ नि । अलिकति ठस्याकठुसुक पनि नभए केको पतिपत्नी । मनको कुरा बताउँदा नै मन हल्का हुन्छ । अन्यथा गुम्सिएर एक दिन विस्फोट हुनसक्छ ।’ महादेवको पाखुरा सुमसुम्याउँदै पार्वतीले भनिन् ।
‘असुर सम्राट् तारकासुरलाई चिन्छ्यौ ?’
‘किन र ?’
‘चिन्छ्यौ कि चिन्दिनौ भनेको नि ।’
‘त्यही सिन्धुपारिका असुर सम्राट् होइनन्, जो आर्यहरूका सरदार इन्द्रले सिन्धुसभ्यता ध्वस्त पारेपछि पुस्कलावतीभन्दा निकै परको गाउँमा बस्दै आएका
छन् ?’ पार्वतीले गम्भीरतापूर्वक भनिन् ।
‘ठीक भन्यौ, उही असुर सम्राट् हो । उसले झण्डै १३ लाख वर्गकिलोमिटरको भूभागमा आधिपत्य जमाई आठ सयभन्दा बढी नगर निर्माण गरेको थियो, जसलाई प्रकृतिप्रेमी आर्यहरूका अगुवा इन्द्रले ध्वस्त पारेका थिए । त्यसैबेलादेखि नै ऊ बचेखुचेको असुर अङ्गना र बालबालिकालाई लिएर सिन्धुपारिको गाउँमा लुक्न गएको थियो ।’ महादेवले विगत स्मरण गराउँदै भने ।
‘उसले त पुनः आर्यभूमि एलममा आक्रमण ग¥यो रे नि होइन ? आर्यहरूमाथि गर्नु नगर्नु ग¥यो रे भन्ने सुन्छु ।’ महादेवको काखबाट उठेर वक्षुकोट मिलाउँदै पार्वतीले भनिन् ।
‘हो, उसको अत्याचारले सीमा नाघेको छ । आर्यहरू आफ्नो भूमि त्रिविष्टप (स्वर्ग) छाडेर हिँडेका छन् । यतिबेला स्वर्ग, मत्र्य, पाताल उसकै अधीनमा छ । ऐन नियम निलम्बन भएका छन्, सर्वत्र हाहाकार मच्चिएको छ ।’ खुइय गर्दै महादेवले भने ।
‘फेरि उही द्वन्द्व, उही ध्वंस, अब त अति भो ।’
‘त्यही त भन्या पार्वती ! अति नै भयो ।’
‘तपाईं आफँै तात्नुपर्छ जस्तो लाग्छ महादेव !’
‘तर मेरो वशमा छैन ।’ ‘किन र ? आफैँ देवाधिदेव महादेव हुनुहुन्छ, तपाईंको पनि वशमा नभए कसको हुन्छ त ?’
‘ज्यादै उद्दण्ड भइसकेको छ तारकासुर अब । इन्द्रको रिस त्यहाँका निमुखामाथि पोख्दैछ । उसलाई सदाकै लागि पन्छाउनुपर्ने देख्छु ।’
‘त्यस्तै हो भने त्यो पनि त गर्न सक्नुहुन्छ नि ।’
‘तर मबाट सम्भव छैन ।’
‘किन र ? कि भक्त भएर हो ?’
‘होइन, अत्याचारले सीमा नाघेपछि भक्त भनेर छाड्नुहुन्न, छाडेको पनि छैन । आफ्नै ससुरालाई त छाडेको छैन भने नाथे असुरका के कुरा भयो र तर यहाँ कुरा अर्कै छ । वरदानी शक्तिका कारण उसलाई मार्न पाँच वर्षभन्दा मुनिका बालक चाहिन्छ ।’ महादेवले असमर्थता प्रकट गर्दै भने ।
‘त्यसो भए के गर्ने त ?’
‘त्यही कुरा गर्न खोजेको, यसमा तिम्रो सहयोग चाहिएको छ ।’ ‘सहयोग ?’
‘हो सहयोग ।’
कस्तो सहयोग ?’
‘ठूलो सहयोग ।’
‘त्यही त भन्या महादेव कस्तो सहयोग ?’
‘बुझिहाल्यौ उसलाई मार्न पाँच वर्षमुनिका बालक चाहिन्छ । सामान्य बालकबाट त्यस्तो आशा गर्नु मूर्खताबाहेक केही होइन । तिम्रै कोखबाट जन्मे भने अलगै कुरा हो ।’ महादेवले पार्वतीतर्फ फर्किंदै भने ।
‘राम, राम के कुरा गर्नुभएको त्यस्तो ? हामी देवाङ्गनाहरू आफ्नो कोखबाट सन्तान जन्माउन सक्दैनौँ । कदाचित् कसैले त्यस्तो हिम्मत गर्छ भने उसले कोख शुद्धिका लागि लोग्नेलाई वध गरी उसको रगतले योनि सिञ्चित पर्छ । यो महामातृकाको अकाट्य नियम हो । तपाईं नै भन्नुस् त त्यस्तो काम मैले कसरी गर्न सक्छु ?’ स्याउ जस्ता गाला थप रातो पार्दै पार्वतीले भनिन् । ‘त्यसो भए के गर्ने त ? निर्दोष मानिसको गला रेटिएको चुपचाप हेरेर बसुँ ।’ महादेवले हात्तीको छाला कम्मरमा बेर्दै भने ।
‘अँ एउटा उपाय छ ।’ पार्वतीले कम्मरमा बेरेको हात्तीको छाला हेर्दै भनिन् ।
‘कस्तो उपाय ?’ महादेवले जिज्ञासा राखे ।
‘कस्तो भन्ने, कसैको कोख सापटी लिने नि ।’ पार्वतीले महादेवको अनुहार हेर्दै भनिन् ।
‘कोख सापटी ? कोसित माग्ने ? दाता पनि सोचेकी छ्यौ कि त्यत्तिकै भनेकी हौ ? जो पायो त्यसले मेरो वीर्यधारण गर्न सक्छन् भन्ने ठानेकी छ्यौ कि के हो ?’ महादेवले पार्वतीको कुरालाई हल्कारूपमा लिँदै भने ।
‘थाहा छ, थाहा छ, सबै थाहा छ । चाहने हो भने त्यस्तो पात्र पनि पाइन्छ । त्यति टाढा जानैपर्दैन । तपाईंले कम्मरमा बेर्न जुन हात्तीलाई मार्नुभएको थियो नि, होऽऽ उसैको पोथीको कोख प्रयोग गर्ने हुँदैन ? बिचरी अस्ति अनाथ भएँ भनेर रुँदैथी । उसले पनि राहत पाउँछे, तपाईंको काम पनि बन्नेछ ।’ पार्वतीले मन्द मुस्कान छर्दै भनिन् ।
‘कुरा त सही हो तर...।’ महादेवले आशङ्का गरे ।
‘तर ? के तर ?’ पार्वतीले थप जिज्ञासा राखिन् ।
‘यही कि तारकासुरको वध गर्न दुईवटा बालक चाहिन्छ । बिचरीले त्यस्तो गर्न सक्छिन् जस्तो लाग्दैन, भन्नु पनि हुँदैन । जसलाई एउटै भारी बोक्न त कति गाह्रो पर्ने हो । उसैलाई अर्को पनि भारी बोकिदेऊ कसरी भन्ने, यो अनुचित मात्र होइन महापाप हो भन्छु म ।’ महादेवले कठिनाइ व्यक्त गरे । ‘मैले कहाँ दुईवटा भारी बोकाउने भनेकी छु र ?’
‘भनन त के गर्ने ?’
‘त्यसको पनि उपाय छ ।’
‘कस्तो उपाय ?’
‘यसका लागि ऋषिकुलमा जान सकिन्छ । ऋषिपत्नीले तपाईंको वीर्यधारण गर्न पनि सक्छन्, देवलोक बाहिर गएपछि महामातृकाको नियमले पनि छुँदैन । सबैभन्दा बढी हाम्रो काम बन्छ ।’ पार्वतीले नयाँ जुक्ति निकाल्दै भनिन् ।
‘ठीकै भन्यौ, कुरा हो तर...।’
‘फेरि उही तर, यहाँ तर किन्तु, परन्तु केही चल्दैन महादेव ।’ ‘ऋषिपत्नीको कुरा छ कसरी भन्ने, फेरि भन्दामै मान्लान् र ? भन्ने पनि छैन । माने त ठीकै भयो, मानेनन् भने झन् बर्बाद भइन्छ । इज्जतकै सवाल आउँछ त ।’ महादेवले अप्ठ्यारो मान्दै भने ।
‘त्यसको पनि जिम्मा मलाई दिनुस् । सप्तर्षि पत्नीलाई भन्नुपर्छ सके सबै नभए पनि एउटी न एउटी पक्कै राजी हुनेछन् । पर्वतीले उपाय सुझाउँदै भनिन् ।
अन्ततः पार्वतीले भनेजस्तै भयो । अरुन्धतीबाहेक छवटै ऋषिपत्नी कोख सापटी दिन सहमत भएकाले महादेवले वीर्यदान गरे । समय पूरा भएपछि हस्तिनीले टाउको हात्तीको र शरीर मानिस जस्तो र ऋषिपत्नीहरूले छवटा टाउको भएको एक एक सुन्दर पुत्र जन्माएर जिम्मा लगाए । महादेव र पार्वतीले उनीहरूको नाम गणेश र कुमार राखे, जसले तारकासुर युगको अन्त्य गरे ।