logo
२०८१ मंसिर ९ आईतवार



यो युग (कविता)

शनिवार |


यो युग (कविता)


पुरुषोत्तम ढकाल

मेरो पैतालाले कुल्चेको
उपियाँको एक हुल
नजानेरै
मेरो शरीरले थिचेको
उडुस
मेरो कानले नसुनेको
लामखुट्टेको आवाज
हिजोआज मेरो सपनामा आउँछ
म बर्बराउँछु, तर्सिन्छु, टोक्छ, डस्छ
र ब्युुँझन्छु निद्राबाट ।

लामखुट्टेको आवाज
उपियाँको सल्बलाहट
र उडुसले डस्दा
सुई रोपिए जस्तो
लुतोले ग्रस्त भएझैँ चिल्चिलाहट
टुन्न... भएको श्रवणशक्ति
सखारै जगाउँछ मलाई निद्राबाट ।

यस्तो सपना देख्ने मेरो नियति
दिनबाट हप्ता अनि महिनाहरूमा
रूपान्तरित हुँदैछ हिजोआज
थाह छैन किन हो कुन्नि ?
हुनसक्छ
मेरो पैतालाले कुल्चेको
उपियाँ
मेरो शरीरले थिचेको
उडुस
मैले नसुनेको
लामखुट्टेको आवाजले
यस्ता प्रजाति सकियो भन्ने मेरो भ्रम टुट्नुसँगै
जिन्दगीको यो उमेरमा मेरै सामुन्ने
मेरो छिमेकमा मात्र होइन
मेरो घरको बैठक कोठामा झुल्किन्छ बेलाबखत
र मेरो शयनकक्षमा समेत सल्बलाउँछ रातबिरात
लाग्छ मलाई, उडुस, उपियाँ र लामखुट्टे
जातिको युग र प्रलय सुरु भइसकेको छ ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?