logo
२०८१ मंसिर ९ आईतवार



भर्चुअल कक्षा : प्रविधिमा आधारित वैकल्पिक शिक्षा समयको माग

शनिवार |


भर्चुअल कक्षा : प्रविधिमा आधारित वैकल्पिक शिक्षा समयको माग


राजु सिलवाल

नेपालमा छुट्टै शैक्षिक टेलिभिजन च्यानलको अवधारणा आर्थिक वर्ष २०७३।७४ को बजेटमा उल्लेख गरिएकोे थियो । नेपाल टेलिभिजनसँगको समन्वयमा छुट्टै शैक्षिक च्यानल सञ्चालनमा ल्याइने घोषणा त्यतिबेला गरियो । विद्यालय तथा क्याम्पसमा इन्टरनेट सेवा विस्तार गरिनुका साथै शिक्षण सिकाइ प्रक्रियामा सूचना र सञ्चारको उपयोग गरिने विषय पनि यो बजेटमा उल्लेख गरिएको थियो तर कार्यान्वयन हुन सकिरहेको थिएन । कोरोनाका कारण यतिखेर टेलिभिजनबाट मात्र होइन, इन्टरनेटको माध्यमबाट पनि औपचारिक रूपमै अध्यापन सुरु भएको छ ।
रेडियोका साथै टेलिभिजन र इन्टरनेटको माध्यमबाट अध्यापन गराइने भर्चुअल शिक्षा एकसाथ सुरु हुनु सकारात्मक पक्ष हो । कोरोना भाइरसको सङ्क्रमणले यस्तो संयोग जुट्न पुग्यो । एसईई जस्तो महŒवपूर्ण परीक्षासमेत रोक्नुपरेको अवस्थामा विद्यार्थीको शैक्षिक वर्ष खेर नजाओस् भनी यस्तो व्यवस्था गरिएको हो । बन्दाबन्दीका कारण विद्यालयहरू २०७६ साल चैत ११ गतेदेखि बन्द रहेको तथा बन्दाबन्दी खुलेपछि पनि तत्कालै अध्ययन अध्यापन सुचारु गर्न सहज नहुने कुरालाई दृष्टिगत गरी भर्चुअल शिक्षालाई जोड दिइएको हो । विद्यालयहरूमा ‘क्वारेन्टाइन’ सञ्चालन गरिएकाले पनि तत्काल शैक्षिक वातावरण पुनःस्थापना गर्न सहज भएन । यस्तो जोखिमपूर्ण परिस्थितिमा विद्यार्थीले प्रविधिका माध्यमबाट सिकाइको प्रक्रियामा सामेल भई नियमित अध्ययन गर्ने अवसर पाएका छन् । आर्थिक वर्ष २०७७।७८ को बजेटमा पनि भर्चुअल माध्यमबाट अध्यापन गराएर भए पनि नयाँ शैक्षिक वर्षको पठनपाठन अघि बढाउने भनिएको छ । यसैगरी कोरोना सङ्क्रमण जोखिमका कारण विद्यार्थीमा परेको मनोसामाजिक असर निवारण गर्न सकारात्मक सोचसहित सिर्जनशीलता विकासका कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।
२०७२ सालको भूकम्पले विद्यालयहरूमा पनि क्षति पुगेको थियो । यस्ता विद्यालयमा तत्काल पठनपाठन सम्भव नभएपछि भर्चुअल कक्षा प्रारम्भ गरिएको थियो । विशेषगरी दुर्गम क्षेत्रका विद्यार्थी यस कार्यक्रमबाट लाभान्वित भएका थिए । विषयगत शिक्षक दरबन्दी न्यून भएका विद्यालयका विद्यार्थीले भर्चुअल कक्षाको माध्यमबाट अनुभवी शिक्षकबाट पढ्ने अवसर पाएका थिए ।
सूचना प्रविधिसम्बन्धी गुरुयोजनामा सन् २०२० सम्ममा ७५ प्रतिशत जनसङ्ख्यामा प्रविधि साक्षरता सीप विस्तार गरिने तथा ९० प्रतिशत जनसङ्ख्यामा ब्रोडब्यान्डको सेवा पु¥याउने लक्ष्य राखिएको छ । यसैगरी देशभर स्कुलहरूमा सूचना प्रविधिमार्फत अध्ययन अध्यापन कार्य विस्तार गरिने योजना छ । यसअघि आर्थिक वर्ष २०७२।७३ को बजेट वक्तव्यमा ग्रामीण र दुर्गम क्षेत्रका सयवटा सामुदायिक विद्यालयमा परीक्षणका रूपमा ब्रोडब्यान्ड इन्टरनेटका माध्यमबाट
अङ्गे्रजी, विज्ञान र गणित विषयको अध्यापन सुरु गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न जोड दिइएको थियो ।
१५औँ योजनाको प्राथमिकतामा सूचना तथा प्रविधिको विकास पनि परेको छ । सूचना प्रणालीको सुदृढीकरण गर्ने र प्राथमिक तहदेखि उच्च शिक्षासम्मको शिक्षण सिकाइ प्रक्रिया तथा शिक्षक तालिममा कम्प्युटर सीपको उपयोग गर्ने कुरा सो योजनामा उल्लेख गरिएको छ । यस कार्यका लागि पूर्वाधार र मानवीय क्षमताको विकास गर्ने नीति लिइएको छ । यस्ता प्रसङ्गले पनि मुलुकमा भर्चुअल शिक्षाको विस्तारका लागि उपयुक्त वातावरण बन्दै गएको महसुस गर्न सकिन्छ ।
नेपालमा यसप्रकारको भर्चुअल कक्षाको अभ्यास धेरै वर्ष अघिदेखि हुँदै आएको छ । मुलुकमा टेलिभिजनको स्थापना हुनुभन्दा धेरै वर्षअघिदेखि रेडियोको माध्यमबाट पठनपाठन गरिन्थ्यो । विद्यालयका विभिन्न कक्षाको पढाइका अतिरिक्त विभिन्न जिल्लामा बस्ने शिक्षकलाई प्रशिक्षण दिन रेडियो प्रभावकारी साधन बनेको थियो ।

सञ्चारकर्मी शिक्षक
२०३० सालतिर काठमाडौँ उपत्यकाका साथै विभिन्न जिल्लाका स्कुलमा दिउँसो १ बजे विद्यार्थीका लागि विशेष हुन्थ्यो । उक्त समयमा कक्षाकोठामा त्यतिखेर नेपालकै एक मात्र रेडियोे ‘रेडियो नेपाल’को प्रसारण सुनाइने गरिन्थ्यो । यसरी कक्षाकोठामा रेडियो मनोरञ्जनको प्रयोजनले नभई कक्षागत ज्ञान दिने लक्ष्यका साथ बजाइने गरिन्थ्यो । ती रेडियो युनिसेफले उपलब्ध गराएको थियो । हरेक दिन फरक विषयमा बेग्लाबेग्लै कक्षाका पाठहरू रेडियोबाट बजाइने गरिन्थ्यो । विशेषगरी सामाजिक शिक्षा, नेपाली, अङ्ग्रेजी, गणित जस्ता विषय पढाइएको रेकर्ड शिक्षक र विद्यार्थीले एकसाथ सुन्थे र विषयगत ज्ञान लिने गर्थे । यस्ता रेडियो कार्यक्रमको नाम स्कुल प्रसारण कार्यक्रम थियो । यो कार्यक्रमका लागि स्क्रिप्ट सम्बन्धित विज्ञले लेख्ने गर्थे । बीबीसी रेडियो, नेपाली सेवाका प्रमुख भई केही वर्षअघि अवकास हुनुभएका ख्यातिप्राप्त रेडियो प्रस्तोता खगेन्द्र नेपालीले पनि रेडियो शिक्षण कार्यक्रममा शिक्षक भई उद्घोषण गर्नुभएको थियो । त्यतिखेर रेडियो नेपालका वरिष्ठ समाचारवाचक कमल प्रधान, सरिता भट्ट आदिले पनि रेडियो कार्यक्रममा शिक्षकको भूमिका वहन गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीका रूपमा रमा सिंह (नेपाल टेलिभिजनकी पहिलो समाचारवाचिका ) र अन्य केहीका साथै यो पङ्क्तिकारले पनि सहभागिता जनाउने अवसर पाएको थियो । पहिले रेडियो नेपालको स्टुडियोमा यो कार्यक्रम रेकर्ड हुन्थ्यो । पछि भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा स्टुडियो बनेपछि त्यहीँ रेकर्ड गर्न सुरु गरिएको थियो । जुन अझै पनि जारी छ ।

शिक्षाविद् सेलिब्रेटी
डा. मनप्रसाद वाग्ले शिक्षाविद्का रूपमा प्रख्यात हुनुहुन्छ । कुनै दिन उहाँलाई नेपाल टेलिभिजनको स्क्रिनमा प्रायः देखिन्थ्यो । नेपाल टेलिभिजनको स्टुडियोमा ह्वाइट बोर्ड राखेर कक्षाकोठा बनाइएको थियो । डा. वाग्ले, आन थापाका साथै विभिन्न विषयका विज्ञले स्टुडियोमा नियमित रूपमा पढाउनुहुन्थ्यो । जुन कक्षागत कार्यक्रम दैनिकजसो प्रसारण हुने गर्दथ्यो । नेपालमा एउटा मात्र टेलिभिजन भएको समयमा नियमित रूपमा टेलिभिजनको पर्दामा आउने प्रस्तोतालाई दर्शकहरूले चिन्थे । जसमा यसरी दैनिक अध्यापन गराउने प्रस्तोता प्नि पर्थे । नेपाल टेलिभिजनको यस्तो कार्यक्रमका लागि जापानी टेलिभिजन एनएचकेले सहकार्य गरी केही उपकरणका साथै कार्यक्रम निर्मातालाई जापानमा तालिम लिने अवसर पनि प्रदान गरेको थियो ।
विगत केही वर्षदेखि शिक्षा मन्त्रालय अन्तर्गतका निकायसँगको सहकार्यमा नेपाल टेलिभिजनले विभिन्न शिक्षामूलक कार्यक्रम प्रसारण गर्दै आइरहेको छ । यसक्रममा २०७५ सालदेखि एनटीभी प्लसमा सञ्चालन भइरहेको भर्चुअल कक्षा उल्लेखनीय मानिन्छ । पहिले कक्षा १० बाट सुरु भएको यो भर्चुअल कक्षामा कक्षा ९ हुँदै अहिले कक्षा १ देखि नै पढाउने गरिएको छ । दिनहँु बिहान १० देखि ३ बजेसम्म यो कार्यक्रम प्रसारण हुन्छ । टेलिभिजन दृश्य माध्यम भएकाले जुन शिक्षकले बढी तस्बिर तथा अन्य दृश्यात्मक सामग्रीको प्रयोग गर्ने गर्दछन्, उनीहरूको कक्षा बढी प्रभावकारी भएको विद्यार्थी दर्शकले महसुस गर्ने गरेका छन् । शिक्षकलाई विषयगत ज्ञानका साथै आकर्षक प्रस्तुति पनि आवश्यकता पर्दछ । आकर्षक प्रस्तुतीकरणका कारण कोही शिक्षकलाई बढीले रुचाउने गरेको पनि पाइएको छ ।

अनलाइन कक्षा
बन्दाबन्दीका बेला विभिन्न निजी विद्यालयले आफ्ना विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् । सरकारी विद्यालयमा अध्ययनरत एकदेखि १२ कक्षासम्मकै विद्यार्थी पनि अनलाइनबाट सामेल हुनसक्ने भएका छन् । शिक्षा मन्त्रालय अन्तर्गतको सम्बन्धित निकायको वेबसाइटको लिङ्कमा सबै कक्षाको विषयगत शैक्षिक सामाग्री राखिएका छन् । यसैगरी मोबाइल एप्सको माध्यमबाट पनि जानकारी लिन सकिने व्यवस्था गरिएको छ । कम्प्युटरमा पहुँच नभएका विद्यार्थी समूहलार्ई अफलाइन सामग्री उपलब्ध गराई पठनपाठन सञ्चालन गराइने, इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूहका लागि अनलाइन सिकाइ सामग्रीको प्रयोगबाट पठनपाठन सञ्चालन गराइनेछ । सिकाइ सहजीकरणका लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोतसाधनमा रहेको पहुँचलाई ध्यानमा राखिएको छ । त्यसैको आधारमा विद्यार्थीको पहिचान र वर्गीकरण गरिएको छ ।

छिमेकी मुलुकको अवस्था
भारतको सरकारी टेलिभिजनले सन् २००० देखि बेग्लै शैक्षिक च्यानल सञ्चालन गरी शिक्षाक्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउँदै आइरहेको छ । लकडाउनका बेला भारतका विभिन्न स्थानमा पठनपाठनका लागि सञ्चार माध्यमलाई पनि उपयोग गरिएको छ । भारतको मध्यप्रदेशस्थित भोपालमा बन्दाबन्दीको अवस्थामा बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भनी गत अप्रिल १ तारिखदेखि नै रेडियोमार्फत विद्यालयतहको पढाइ सञ्चालन हुँदै आएको छ । अल इन्डिया रेडियोबाट बिहान ११ देखि १२ बजेसम्म हरेक विषयका लागि पन्ध्र–पन्ध्र मिनेट गरी एकदिनमा चारवटा विषय पढाइने गरिएको छ । प्राथमिक तहदेखि माध्यामिक तहसम्मका विद्यार्थीका लागि सोमबारदेखि शनिबारसम्म यी रेडियो कार्यक्रम सञ्चालन भइरहेका छन् । यो कार्यक्रम सुरु गर्ने बेलामा शिक्षकहरूको सङ्गठनद्वारा विरोध पनि भएको थियो । बन्दाबन्दीका बेला गरिबलाई जीवन धान्ने समस्या परिरहेको अवस्थामा रेडियोबाट अध्यापन गराइने काम उचित नभएको भनी शिक्षकहरूद्वारा नै विरोध गरिएको थियो । यसैगरी हाल गाउँमा समेत रेडियोको प्रयोग न्यून अवस्था भएको देखिएको तथा सहरमा टेलिभिजनको प्रयोग बढी मात्रामा हुने गरेकोले रेडियोबाट दिइने शिक्षा खासै लाभदायक हुन नसक्ने भनी आलोचना पनि गरिएको थियो तर रेडियोबाट अध्यापन गराइने क्रम सुरु गरिएपछि रेडियोको उपयोगिताप्रति मानिसहरू सहमत भएको पाइएको थियो । भारतकै विहारका सरकारी स्कुलका ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई रेडियो तथा टेलिभिजनको माध्यमबाट अध्यापन गर्ने गरिएको छ । उनीहरूका लागि आवश्यक शैक्षिक सामग्री युनिसेफको सहयोगमा तयार गरिएको छ ।
श्रीलङ्काको शिक्षा मन्त्रालयले सरकारी टेलिभिजन रूपवाहिनी कर्पोरेसनको सहयोगमा दुईवटा शैक्षिक च्यानल सुरु गरेको छ । च्यानल आई तथा च्यानल नेथ्रा नामक ती शैक्षिक टेलिभिजनले स्थानीय सिङ्घला तथा तमिल भाषामा प्रसारण गरिरहेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा विद्यार्थीको पढाइमा सघाउने लक्ष्य राखी नयाँ शैक्षिक च्यानल सुरु गरिएको श्रीलङ्काका शिक्षामन्त्री डल्लास ह्यापर एलाहेप्परुमाले जानकारी दिनुभएको छ । नयाँ शैक्षिक च्यानल नेथ्राको प्रसारण २४ घण्टा नै भइरहेको छ । उक्त च्यानलको वेबसाइटमा प्रकाशित दैनिक कार्यक्रम तालिका अनुसार बिहान ६ बजेदेखि निरन्तर विभिन्न विषयका कक्षासम्बन्धी कार्यक्रम प्रसारण भइरहेको तथा रातिको समयमा ती कार्यक्रमको पुनः प्रसारण गर्ने गरिएको छ ।
उच्चतहका व्यवस्थापन, विज्ञान, इन्जिनियरिङ, व्यावसायिक शिक्षालगायत विषयमा पढाइने गरिएको छ भने विद्यालयस्तरका विभिन्न कक्षासम्बन्धी कार्यक्रम पनि प्रसारण गर्ने गरिएको छ । यस्ता कक्षा प्रत्येक घण्टामा बेग्लाबेग्लै विषयमा लिने गरिएको छ । यो च्यानलले बेलाबेलामा समाचार र मौसमी विवरणका साथै स्वस्थ मनोरञ्जनका केही कार्यक्रम पनि प्रसारण गर्ने गरेको छ । नयाँ खुलेको शैक्षिक च्यानल च्यानल आईले भने बिहान ४ देखि राति १२ बजेसम्म प्रसारण गर्ने गरेको छ । यो टेलिभिजनबाट सूचनाप्रविधि, विज्ञान, कृषि, व्यवस्थापन, अर्थशास्त्र, राजनीतिशास्त्र, इतिहासका साथै विभिन्न भाषा अध्यापन गर्ने गरिएको छ । यस्ता प्रत्येक कक्षाको समय ५५ मिनेटको हुने गरेको तथा प्रत्येक कक्षा सम्पन्न भएको ५ मिनेटपछि मात्र अर्को कक्षा सुरु गर्ने गरिएको छ । यो टेलिभिजनले राति ७ बजे तमिल भाषामा तथा राति ९ बजे अङ्ग्रेजी भाषामा समाचार प्रसारण गर्ने गरेको छ ।

पुरानो शैक्षिक टेलिभिजन
जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके विश्वको पहिलो एचडी टेलिभिजन हो । टेलिभिजन दर्शकले तिरेको टेलिभिजनको लाइसेन्स दस्तुरबाट सञ्चालन भइरहेको छ । एनएचके टेलिभिजनले भूसतही प्रणालीमार्फत एनएचके एजुकेसनल टेलिभिजन सञ्चालन गरिरहेको छ । एनएचकेले रेडियो जापान नामक रेडियो पनि सञ्चालन गरिरहेको छ ।
एनएचके एजुकेसनलको स्थापना सन् १९८९ मा भएको हो । यो टेलिभिजनले बालबालिकालाई विद्यालय शिक्षा, कला, संस्कृति, भाषा, विज्ञान तथा स्वास्थ्यका बारेमा अध्यापन गराउँदै आएको छ । विविध प्रकारका शैक्षिक विषयवस्तुमार्फत श्रव्यदृश्यद्वारा अध्ययन अध्यापन गर्ने गरिएको छ । एनएचके एजुकेसनल टेलिभिजनले वार्षिक ा १० हजारभन्दा बढी कार्यक्रम उत्पादन गर्ने गरेको छ । यी कार्यक्रम विशेषगरी एसियाका विभिन्न मुलुकलाई लक्षित गरी उत्पादन गर्ने गरिएको छ ।
प्रविधिमा आधारित वैकल्पिक शिक्षा समयको माग हो । सरकारी तवरबाटै यसप्रति सक्रियता देखाउनु सकारात्मक पक्ष हो । यस कार्यमा निजीक्षेत्रद्वारा सञ्चालित सञ्चार माध्यमलाई पनि सहभागी गराउनु यो कार्यक्रमको अर्को उपलब्धि हो तर यस्ता भर्चुअल कक्षाको पहुँच मुलुकभरिका बालबालिकामा पुग्न सक्छ कि सक्दैन त्यो पक्ष पनि महŒवपूर्ण मानिन्छ । गरिबीको रेखामुनि रहेका २५ प्रतिशत जनता यसबाट लाभान्वित हुनसक्छन् कि सक्दैनन् । हाम्रोजस्तो मुलुकमा रेडियो, टेलिभिजन तथा इन्टरनेटको पहुँचको अवस्थाले पनि यस अभियानको सफलतामा भूमिका खेल्छ ।
त्यसैले सरकारअन्तर्गत रहेका सञ्चारमाध्यमको अग्रसरता शैक्षिक क्षेत्रमा बढाउँदै लैजानुपर्ने देखिन्छ । केही वर्षदेखि भर्चुअल अध्यापनमा अग्रसर हुँदै आएको एनटीभी प्लसजस्तो च्यानललाई शैक्षिक च्यानलका रूपमा परिणत गर्न सकिएको खण्डमा शैक्षिक क्षेत्रमा एउटा उपलब्धि नै हुनेछ । विशेष परिस्थितिमा सुरु गरिएको भर्चुअल कक्षाजस्तो महŒवपूर्ण तथा दूरगामी प्रभाव पार्नसक्ने शैक्षिक अभियानलाई निरन्तरता दिई भविष्यका नेपाली नागरिकलाई सक्षम तथा क्षमतावान् बनाउन सम्बन्धित सबैको सक्रियता अपेक्षित छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?