प्रा.डा. रमेश श्रेष्ठ
विश्वमा सबैभन्दा पहिले मुद्राको सुरुवात ईसापूर्व सात सयतिर भएको हो । नेपालमा भने लिच्छवि राज्यकालमा श्री मानाङ्क मुद्राको प्रादुर्भाव भएको थियो । यसको करिब १५७ (कतै ३१) वर्षपछि वैश्रवण मुद्रा चलनचल्तीमा आयो । शक्तिशाली महासामन्त अशुंवर्मन (अंशुवर्मा) को मृत्युपछि लिच्छवि राजा शिवदेव प्रथमको वंशाणुगत वैध छोरा उदयदेव ईसं ६२१ मा राजा बन्न सफल भए । अशुंवर्मनले राज्यलाई जति स्थिर बनाउन सके राजा उदयदेवले यो काम गर्न सकेनन् । तर, उनकै पालामा वैश्रवण (कुवेर) मुद्राको प्रसारण भएको भन्ने थुप्रै इतिहासकारको भनाइ छ ।
ईसापूर्व सात सयतिर मुद्राको सुरुवात हुँदा अहिलेको टर्की आसपास प्राचीन आयोनिया राज्यको लिदियाबाट भएको मानिन्छ । मुद्राको चलन सुरु भएदेखि अहिलेसम्म पनि मानिसको मुद्रासँग एकदम गहिरो सम्बन्ध छ । मुद्राप्रति मानिसको आकर्षण विगतदेखि नै रहिआएको छ । यसो हुनुमा मुद्राको क्रय–विक्रय शक्ति र धातुको मूल्य आदि नै प्रमुख कारण हो । आजको दिनमा पनि मुद्रा वित्तीय तथा समृद्धिको मूर्त प्रतीक रही आएको छ ।
नेपालको लिच्छवि इतिहास अध्ययन तथा अनुसन्धान गर्न वैश्रवण मुद्रा पनि एक प्रमुख स्रोत हो । यसबाट त्यस बेलाको ऐतिहासिक तथ्य, कालक्रम, संस्कृति, धर्म, रहन–सहन, अर्थव्यवस्था, वाणिज्य आदिबारे थाहा पाउन सकिन्छ । वैश्रवण मुद्राको अध्ययन अनुसन्धान गर्नेक्रममा हालसम्म स्थापित मान्यतामा केही नयाँ तथ्यहरूका बारेमा यहाँ विवेचना गर्ने प्रयास गरिएको छ ।
वैश्रवण मुद्रा ः वैश्रवण मुद्रा लिच्छविकालीन मुद्राको त्यो समूह हो, जसमा एकातिर वैश्रवण अर्थात् कुवेरको मूर्ति र अर्कातिर कामधेनु गाई (त्यो बेला कामधेनु गाईलाई कामदोही भनिन्थ्यो) को ढाँचा देख्न सकिन्छ । लिच्छवि राज्यकालमा वैश्रवण नामका कुनै राजा वा सामन्त नभएको हुनाले वैश्रवण मुद्रामात्र अवलोकन गरेर कुन राजाले निष्कासन गरेको भन्न सकिने अवस्था रहेन । तर, मुद्रामा वैश्रवण अभिलेखनका कारण र वैश्रवणको आकृति भएको हुनाले उक्त मुद्रा कुनै राजाको नाममा नभई पछिका पशुपति मुद्राहरू जस्तै धन तथा समृद्धिका देवता कुवेरको नाममा प्रकाशन गरिएको हो भन्ने तथ्यलाई सुनिश्चित गर्न सकिन्छ ।
वैश्रवण मुद्राको समकालीन इतिहास ः लिच्छवि इतिहासमा मानदेव प्रथम (इसं ४६४ देखि ५०५) पछि थुप्रै नगन्य वा प्रभावहीन राजाहरूको लगभग सय वर्षको शासनकालपछि शिवदेव प्रथमको (इसं ५९० देखि ६०५) नाम अलि प्रभावकारी राजाका रूपमा आएको देखिन्छ । मानदेव प्रथमपछिका राजा वसन्तदेवको समयदेखि अभिरी गुप्ता वंशका सामन्तीहरूको लिच्छवि राज्यकालमा उदय भएको थियो । शिवदेव प्रथमलाई अशुंवर्मनको निकै सहयोग थियो ।
शिवदेव प्रथमको मृत्युपछि अशुंवर्मन एक्लैले शासन गरेर तत्कालीन समयको आवश्यकतानुसार मुद्राको प्रसारणसहित विभिन्न क्षेत्रमा सुधार गरेका थिए । अशुंवर्मनले आफ्नो शासनकालमै शिवदेव प्रथमको छोरा उदयदेवलाई उत्तराधिकारी नियुक्त गरेका थिए । यसै कारणले ईसं ६२१ मा अशुंवर्मनको मृत्युपछि उदयदेवलाई सजिलै राजगद्दी प्राप्त भयो । अशुंवर्मनको प्रभावको कारण पहिलाका अभिरी गुप्ता वंशका सामन्तीहरू कमजोर भएका थिए । तर, उदयदेव राजा हुनेबित्तिकै सोही अभिरी गुप्ताका वंशज जिष्णुगुप्ताले शक्ति आफैँले नियन्त्रणमा लिए । उनले उदयदेवलाई हटाई भोटमा निर्वासित गरिदिए । अनि सम्भवतः उदयदेवकै भाइ वा उनकै कुनै नातेदार ध्रुवदेवलाई सिंहासनमा राखे । तर, उदयदेवको छोटो समयमा वैश्रवण मुद्राहरूको प्रसारण भएको थियो । वैश्रवण मुद्राले लिच्छविकालीन मुद्राहरूमध्ये एक विशिष्ट स्थान राख्न सफल भएको छ ।
वैश्रवण वा कुवेर को हो ? सनातन हिन्दु धर्ममा धन तथा समृद्धिका देवता कुवेरका समकक्षी वैश्रवण पनि धन तथा समृद्धिका देवता नै हुन् । प्राचीन संस्कृत भाषाबाट नै वैश्रवण शब्द आएको हो । यही भाषामा कुवेरको अर्को नाम वैश्रवण भनी चिनाइएको छ । यस भनाइलाई थप पुष्टि गर्न पाली भाषामा वैश्रवणलाई कुवेर भनिन्थ्यो । पाली भाषामै वैश्रवणलाई वेसाभाना पनि भनिन्थ्यो । ब्रह्माजीका नाति ऋषि पुलत्स्य, पुलत्स्यका छोरा ऋषि विश्रवा र विश्रवाका छोरा भएका कारण कुवेरको अर्को नाम वैश्रवण पनि रहन गएको हो ।
वैश्रवणलाई उत्तरी दिशास्थित सुमेरु पर्वतको संरक्षक देवताका रूपमा पुजिन्छ । हिन्दु धर्ममा कुवेर यस्तो देवता हुन्, जसलाई अन्य धर्म तथा संस्कृति र एसियाका थुप्रै मुलुकमा विभिन्न नामले आदरका साथ मानिँदै÷पुजिँदै आएको छ । यसको प्रमुख कारण यो देवता धन तथा समृद्धिका प्रतीक भएर होला । थेरावाद बौद्ध धर्ममा वैश्रवणलाई पाली भाषामा जस्तै वेसाभाना नै भनिन्छ र उनी चतुरमहाराजिका देवमध्येका एकजना प्रभावशाली राजाका रूपमा मानिएको छ । जापानमा वैश्रवणलाई ‘विधामोन’ अर्थात् युद्धका देव तथा पापीहरूको नाश गर्ने देवताका रूपमा पुजिन्छ । भोटमा वैश्रवणलाई लोकपाल धर्मपालका रूपमा उत्तरी सुमेरु पर्वतको राजा भनिएको छ । भोटे संस्कृतिमा समायोजन गरी कुवेर अर्थात् वैश्रवणलाई जम्बाला पनि भनिन्छ । वैश्रवणको बायाँ हातले न्याउरी मुसा समातेको हुन्छ र उसले मुखबाट जवाहरतहरू ओकलिरहेको हुन्छ । न्याउरी मुसालाई पनि समृद्धिको प्रतीक मानिन्छ ।
वैश्रवण मुद्राको अग्रभाग ः वैश्रवण मुद्राको अग्रभागमा शिरमा मुकुट लगाएको र ठूलो पेट भएको पुरुष कुवेर हो । कुवेर ललितासनमा रहीे दायाँ खुट्टा तलतिर झारेको र बायाँ खुट्टा पलेँटी मारेर बसिरहेको छ । साथै, यो आकृतिमा बायाँ हात कम्मरमा राखेर दायाँ हात माथि उठाई कुनै पोकोजस्तो वस्तु बोकेको देखिन्छ । कुवेरको बायाँतिर स–साना थोप्लाले बनेको पूmल छ । आकृतिको माथि र कुनामा गुप्ता लिपिमा वैश्रवण अभिलेखन गरिएको छ । सोही वैश्रवण अभिलेखनका कारण यस समूहको मुद्रालाई वैश्रवण मुद्रा भनिएको हो । यसको चारैतिर गोलाकारमा स–साना थोप्लाहरूले सजाइएको छ ।
वैश्रवण मुद्राको पृष्ठभाग ः यो मुद्राको पछाडितिर साना–साना थोप्लाहरूको घेराभित्र कामधेनु गाईको ढाँचा राखिएको छ । यस्तै कामधेनु गाईको चित्र अशुंवर्मनको एकप्रकारको मुद्रामा पनि राखिएको छ । सम्भवतः अशुंवर्मनको यो अन्तिम मुद्राको एकातिरको ढाँचा यो वैश्रवण मुद्रामा प्रयोग भएकोले यो मुद्रा समूहलाई राजा उदयदेवको छोटो शासनकालमा प्रसारण भएको भनेर प्रमाणित हुन सजिलो भएको छ । उक्त कामधेनु गाईले बायाँ फर्केर बाच्छोलाई दूध चुसाइरहेको छ । माथितिर गुप्ता लिपिमा ‘कामदोही’ अभिलेखन गरिएको छ ।
वैश्रवण मुद्राको प्राविधिक स्वरूप ः विभिन्न स्रोत तथा प्रमाणका आधारमा वैश्रवण मुद्राको मूल्य आजकालको एक पैसाबराबरको थियो । जसलाई त्यसबेला पण (वा ताम्रपण) भनिन्थ्यो । पछि–पछि पुराण तथा पणपुराण भन्ने शब्दहरू पनि प्रयोग गरेको पाइन्छ । गणितीय हिसाबकिताबका लागि कर्शपण (१६ पण वरावर १ कर्शपण) भन्ने शब्द पनि प्रयोग भएको देखिन्छ । वैश्रवण मुद्रा गोलो तथा संवत्रहित छ । यो मुद्राको केही नमुनाको तौल अध्ययन गरेपश्चात् प्रत्येक मुद्राको सालाखाला १२ ग्राम तथा व्यास लगभग २२ देखि २५ मिलिमिटर छ । यी मुद्रा प्रायः तामाको धातुले बने पनि केही फलाम मिसिएको तामामा पनि मुद्रण भएका नमुना प्राप्त भएको छ । वैश्रवण मुद्रा बनाउन मुद्राको ढाँचामा पगालिएको तामालाई चिस्याएर बनाएको गोलामा पछि मुद्राको साँचोले छापेर बनाएकोजस्तो देखिन्छ । थोरै समयसम्म मात्र चलनचल्तीमा रहेको हुनाले अन्य केही लिच्छवि मुद्राबाहेक वैश्रवण मुद्रा दुर्लभ नै छ ।
वैश्रवण मुद्राका प्रकार ः वैश्रवण मुद्रा थोरै समयसम्म मात्र चलनचल्तीमा आएको भए पनि यो समूहको मुद्रामा पनि केही विविधता पाइएको छ । अग्रभागमा कुवेरको तलतिर साना थोप्ला भएको तथा नभएको भिन्नता छ । त्यसैगरी कामदोहीको मुनितिर धर्सा भएको तथा नभएको फरक छ ।
गाईले बाच्छोलाई दूध चुसाइरहेको अन्य विदेशी मुद्रा ः वैश्रवण मुद्राको पृष्ठभागमा कामदोही अर्थात् गाईले बाच्छोलाई दूध चुसाइरहेको ढाँचा छ । यसप्रकारको ढाँचा नेपालमा मात्र नभई, इसापूर्व लगभग चार सयतिर प्राचीन यवन समयदेखि नै गाईले बाच्छोलाई दूध चुसाइरहेको ढाँचा प्रयोग गरी मुद्राहरू प्रसारण भएको थियो । तर, वैश्रवण मुद्रामा यी मुद्राको ढाँचाबाट प्रभावित नभई, हाम्रो धार्मिक कामदोहीकै प्रतीक नै प्रयोग भएको थियो । वैश्रवण मुद्रा पर्याप्त मात्रामा प्राप्त नभएको हुनाले नेपाल सरकार, विश्वविद्यालय तथा अन्य सरोकारवालाले यस विषयलाई प्राथमिकता दिई थप अध्ययन, अनुसन्धान, संरक्षण तथा प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता देखिन्छ ।