निशा बटाला
लाखौँ वर्षको इतिहासमा मानिस मृत्युसँग जति अरू कसैसँग डराएको छैन । मृत्यु अनिवार्य सत्य भए पनि यसैसँग मान्छे डराइरहेको छ । मृत्युसँग नडराए यसको पीडा कम हुने र डराएर भाग्न खोजे झन् पीडादायी हुन्छ । साथै मृत्युको डरले मानिस हरेक पल मानसिक पीडामा मृत्युको नजिक पुग्छ ।
आज केही मानिसले मृत्युको डर देखाएर शोषण गरिरहेका छन् । जस्तै स्वर्ग नरकजस्ता कुराको हावादारी डर सिर्जना गरेर आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । बाघ, भालुजस्ता जनावर क्रूर हुन्छन् । त्यसैले मान्छे यी जनावरसँग डराउनु स्वाभाविक हो तर वास्तविक डर क्रूरतामा होइन, मृत्युमा लुकेको हुन्छ । मानिसले मृत्युलाई जति डरलाग्दो ठान्छ, के त्यो वास्तवमा त्यस्तै हो ? कुनै पनि चीजलाई राम्ररी चिन्न त्यसको नजिक पुग्नुपर्छ । त्यसलाई छामेर, जाँचेर, एक्स–रे गरेर जे गरेर पनि निचोड निकाल्नुपर्दछ । तर, मृत्युबारे प्रायः मानिसले त्यसो गर्दैन । ऊ त्यसबाट डराउँछ, त्यसको मुख पनि हेर्न चाहँदैन र जति सक्यो त्यसको आँखाबाट ओझेल हुन र टाढा पुग्न चाहन्छ । अनि कसरी मृत्युको सही सही रूपलाई उसले चिन्न सकोस् ।
सन् १९८२ तिर अमेरिकामा झन्डै–झन्डै मृत्युको अनुभव बोकेका मान्छेमा आधारित एउटा सर्वेक्षण गरिएको थियो, जसलाई ‘ग्यालोप सर्वे’ भनिन्छ । यो सर्वेक्षणअनुसार दुर्घटनामा परेर वा अन्य कारणले मृत्युको निकट अनुभव गर्ने अमेरिकीहरूको सङ्ख्या ८० लाख छ । तीमध्ये धेरैसँग सर्वेक्षकले अन्तर्वार्ता लिएका छन् । उनीहरू एकप्रकारले मरिसकेका भए पनि पुनः जीवित भएका छन् । पुनर्जीवन प्राप्त गरेका ती मान्छे मृत्युसँग कहिल्यै पनि नडराई प्रसन्न जीवन बाँचिरहेका छन् । नेपालमा पनि कतिपय त्यस्ता घटना हुन सक्छन् तर यहाँ अनुसन्धान गर्ने परिपाटी नभएका कारण त्यसबारे हामी बेखबर छौँ । अमेरिकीहरूचाहिँ हरेक विषयमा अनुसन्धान गर्न रुचाउँछन्, त्यसैको परिणाम हो– ग्यालोप सर्वे ।
मृत्युसँग हामी जति भाग्छौँ, मृत्यु झन् नजिक पुग्छ, जति लुक्यौँ उसले झन् सजिलै देख्छ, जति डरायौँ उसले झन् भयानक रूप लिन्छ । यसको ठीक उल्टो निर्भीक भएर उसको नजिक पुग्यौँ भने ऊ आफैँ भाग्न थाल्छ, लुक्न थाल्छ, काँप्न थाल्छ । मृत्युलाई हामी मृगका आँखाले हे¥यौँ भने बाघजस्तै देखिन्छ र फेरि मृगकै आँखाले हेर्न रुचाउँछौँ । मान्छे चाहे जुनसुकै दिशाबाट जतासुकै भागोस्, ऊ मृत्यको विपरीत दिशातिर भाग्न सक्छ र ? हाम्रो टाउको र ढाडजस्तै गर्भबाटै सँगै गाँसिएर आएका छन्– जन्म र मृत्यु । जन्म लिइसकेपछि आखिर एक न एक दिन मर्न त पर्छ नै । रोग, भोक, अनिकाल, आँसु, यातना, विछोड, जेल, बदनामी, रिस, युद्ध आदिका निमित्त मान्छे बाँच्न चाहन्न किनभने यस्ता कुरालाई ऊ जीवनको हैन मृत्युको प्रतीक ठान्छ । मानवीय आकाङ्क्षाको दुई विपरीत ध्रुव छन्, जीवनप्रतिको प्रेम र मृत्युप्रतिको घृणा । मृत्यु भनेको आखिर के ? काल, समय, प्रकृति, स्वभाव या अनिवार्यता ? के यी कुराको परिधिबाहिरको अपवाद, विश्वब्रह्माण्डमा केही छ र ? पृथ्वी एक दिन जन्मेको थियो, आज युवा छ एक दिन मर्नेछ । हामीलाई मरौँला कि भन्ने खुबै डर लाग्छ, जब कि मर्ने कुनै ठेगान छैन र अनुुभव पनि छैन । तैपनि फेरि किन डर लाग्छ त मर्न ? यसको एउटै कारण हो, मानसिक रूपमा पूर्णतया स्वस्थ हुन नसक्नु, मृत्युको डरलाई मनमा पालेर बस्नु । बाघ आएको डराउनु त स्वाभाविकै हो तर बाघको कल्पना मात्रले मुटु काँप्नुचाहिँ एकप्रकारको मानसिक समस्या नै हो । नेपाली उखानै छ, ‘वनको बाघले भन्दा मनको बाघले खान्छ ।’ डर र मृत्युको सन्दर्भमा यही उखान मिल्न आउँछ ।
ग्यालोभ सर्वेअनुसार उनीहरूलाई मृत्युदेखि डर नलाग्नुका कारण शरीर मृत्यु हुनु भनेको जीवनको मृत्यु हुनु होइन भनेर बुझ्नु नै हो । त्यसैले उनीहरूको अवस्था अत्यन्तै महŒवपूर्ण र खास छ । शरीर मर्नु भनेको जीवन मर्नु होइन । तर, हामीमा विद्यमान अज्ञानताका कारण शरीर भनेको म, म भनेको शरीर भन्ने सोचको विकास भएको छ । त्यसैले हामीलाई लाग्छ यो शरीर गयो भने सबै खत्तम हुन्छ । यसर्थ, मान्छे डराएर बाँचेको हुन्छ । भय अर्थात् डर जहिले पनि लोभसँग गाँसिएको हुन्छ । हामी मर्न डराउँछौँ किनभने हामीलाई बाँच्ने लोभ छ । हुन त मृत्यु आफैँमा भयानक नै हुन्छ । तर, मर्नजत्तिको आनन्दको कुरा अरू केही छैन । मृत्युलाई सम्झेर टाढैबाट साक्षात्कार गर्नु नै जाति । जीवन र मरण एक सिक्काका दुई पाटा हुन् । त्यसैले बलिदानीपूर्वक मृत्युवरण गरे त्यो मृत्यु जीवन हुन्छ । तर, सार्थक जीवन बाँच्न नसके त्यो जीवन पनि मृत्युसरह हुन्छ ।