चन्द्रकुमार राई ‘हतुवाली’
किरात राई जातिको मुन्दुमी मिथकमा ‘लिम्चिमबुङ’ फूलको चर्चा पाइन्छ । मिथकमा लिम्चिमबुङलाई भेटघाटको चिनो, सम्झनाको चिनो र मिलनको चिनोका रूपमा लिइन्छ । यो फूललाई ‘लेम्चोङ्सी’ र ‘लुम्चुङबुङ’ पनि भनिन्छ । शाब्दिक अर्थमा ‘लिम्चिम’ भनेको गुलियो र ‘बुङ’ भनेको फूल हो । अर्थात् गुलियो फूल भन्ने यसको अर्थ हुन्छ । यसको फल पाक्दा गुलियो हुने भएकाले लिम्चिमबुङ भनिएको हो । लिम्चिमबुङको नेपाली नाम भने ‘पट्पटे’ हो । पात छिप्पिएपछि वा सुकेपछि चर्चरी फुटेका धर्सा देखिने भएकाले नै यो वनस्पतिलाई पट्पटे भनिएको हो । वास्तवमा यही विशेषताका आधारमा पट्पटे नाम रहनु स्वाभाविक छ । लिम्चिमबुङ नेपालको मध्य पहाडी भागको चिस्यान परेको ठाउँ वा लेकाली जङ्गलमा बढी पाइन्छ ।
लिम्चिमबुङसँग किरात राई जातिको साँस्कृतिक सम्बन्ध रहँदै आएको छ । त्यसैले किरात राई साँस्कृतिक कलाकार सङ्घ, केन्द्रीय कार्य समितिले २०६९ सालमा भएको एक बैठकमा यो फूललाई आफ्नो जातीय पहिचानको प्रतीक फूल मान्नुपर्ने र हरेक शुभकार्यमा स्वागत फूलका रूपमा प्रयोग गर्नुपर्ने निर्णय गरिएको थियो । त्यसपछि भने किरात राई जातिमा गरिने कार्यक्रममा यो फूलको प्रचलन बर्सेनि बढ्दै छ । किरात राई यायोक्खाका महासचिव तथा तत्कालीन किरात राई साँस्कृतिक कलाकार सङ्घका महासचिव जनक राईका अनुसार लिम्चिमबुङलाई किरात राईको साँस्कृतिक फूल बनाउन निर्णय गर्नुमा दुईवटा कारण छन् । पहिलो किरात राई मिथकमा रहेको लिम्चिमबुङको महŒवबारे किरात राईका वर्तमान तथा भावी पुस्तालाई जानकारी गराउनु हो भने दोस्रो कारण प्राकृतिक वस्तुको उपयोग गर्नु हो ।
यस्तै किरात राई संस्कृतिमा ‘हेत्छाकुप्पा’ नामको एक मुन्दुमी मिथक निकै लोकप्रिय रहेको छ । हेत्छाकुप्पा मिथकको मुख्य पात्रको नाम हो । यही हेत्छाकुप्पा पात्रकै सेरोफेरोमा मिथक केन्द्रित छ । यो जातिमा प्रचलित विभिन्न भाषाका आधारमा हेत्छाकुप्पाको नाममा पनि विविधता छ । हेत्छाकुप्पा, राई बान्तावा भाषाको नाम हो । यही हेत्छाकुप्पालाई अन्य राई भाषी जस्तै चाम्लिङले रैछाकुले, कोयुले खुक्चुलुक्पा, खालिङले खाक्चलव, थुलुङले खक्चिलिप, दुमीले खक्चिलिपु, मेवाहाङले खक्कुलुक्पा र साम्पाङले खचुलुप्पा नामबाट बोलाउने गरेको पाइन्छ । विभिन्न नामबाट बोलाए पनि पात्र उही र मिथक पनि एउटै हो ।
मिथकका अनुसार हेत्छाकुप्पाको ज्यान सप्रेको काँक्राजस्तै सर्लक्क परेको खाइलाग्दो थियो । केश घुङरिङ परेर चट्ट सुहाउनेखालको थियो भने बुद्धि तीक्ष्ण थियो र स्वभाव निडर थियो । त्यतिमात्र होइन, किरात राई सभ्यतामा घर निर्माणको थालनी, कृषिको थालनी, सुप्तुलुङ
(पितृचुला) केन्द्रित हरेक संस्कृति तथा महान् चाड साकेन्वा÷साकेलाको प्रारम्भकर्ता र संस्थापक पनि उनैलाई मानिन्छ । यस अर्थमा किरात राई जातिमा हेत्छाकुप्पाको स्थान महŒवपूर्ण छ । आफूलाई खान खोज्ने राक्षसनी चकोरोङधिप्माबाट युक्तिपूर्ण बच्न सकेको सन्दर्भ पनि छ ।
बुवा पातेसुङ र आमा दिलिदुङ्माका छोरा हेत्छाकुप्पाका दुई दिदी थिए । जेठी दिदीको नाम ताङ्वामा र कान्छी दिदीको नाम खिवामा थियो । हेत्छाकुप्पाको नामजस्तै भाषिक विविधताका आधारमा विभिन्न राई भाषामा हेत्छाकुप्पाको बुवा, आमा र दिदीहरूको नाम पनि फरक पाइन्छ । बुवाआमाको चाँडै नै मृत्यु भएकाले उनीहरू टुहुरा भए । हेत्छाकुप्पा सानै भएकाले दिदीहरूको काँधमा भाइलाई हुर्काउने जिम्मेवारी आइप¥यो । जेनतेन गर्दै भाइलाई एकछाक धानेकै थिए । दिदीहरू तान बुन्न खप्पीस थिए । एक दिन तान सकाउने धुनमा भाइलाई खान दिन भुले । भाइ भोकले मरेतुल्य भएर निदाउन पुगेछ । दिदीहरूले तान बुनिसकेपछि भाइलाई व्युँझाउन खोजे तर उनी व्युँझिएनन् । त्यसपछि भाइ मरेकै हो भन्ने निश्चित गरेर दिदीहरूले उनको शवलाई सुख्खा झारपातले छोपिराखे भने चिहानसँगै एउटा कर्द र केराको कोसा पनि राखेर छाडे ।
भाइको वियोगले उनीहरूलाई यो ठाउँमा बस्न मन लागेन, अन्तै जान मन लाग्यो । यसक्रममा दिदी बेँसी वा तराई झर्ने भइन् भने बहिनी लेकतिर जाने भइन् । तर, यसरी छुट्टिँदा दिदीबहिनीको सम्झना आएमा थाहा पाउनका लागि चिनोका रूपमा दुवैले आ–आफ्नो नाममा दुई बोट लिम्चिमबुङ रोप्ने निर्णय गरे । उनीहरूले एक–अर्कालाई भने कि जसले लिम्चिमबुङ रोपेको हो, त्यो आफ्नो चिनो हुने निश्चित गरे । दिदीबहिनीले एक–अर्काको सम्झना आएमा यहीँ फर्केर आई लिम्चिमबुङ हेरेर एक–अर्काको अवस्था थाहा पाउने वाचा गरे । यदि लिम्चिमबुङ ताजै भएमा सन्चो भएको र ओइलाएमा बिरामी भएको र मरे आपूm पनि मरेको भनेर चाल पाउने वाचा गरे । यसपछि दिदी टाङ्वामा धनेश चरा बनेर तराईतिर झरिन् भने बहिनी खिवामा मुनाल÷डाँफेचरी बनेर हिमालतिर उक्लिन् ।
दिदीबहिनी छुटेको धेरै समय भएपछि दिदी टाङ्वामालाई बहिनी खिवामाको याद आयो । त्यसैले लिम्चिमबुङ रोपेर छाडेको ठाउँमा आएर पुनः मानिसको स्वरूप उनले लिइन् । त्यहाँ त बहिनी खिवामाले रोपेको लिम्चिमबुङ फूल मरिसकेको रहेछ । यो देखेर दिदीलाई बहिनी मरिसकेको निश्चित भयो । उनलाई बहिनीको वियोगले छोयो । बहिनी कसरी कहाँ, मरिछ भनेर खोजी गर्न थालिन् । खोज्दै जाँदा साफोप्ते नामको बूढालाई उनले भेटिन् । कति सम्झाउँदा पनि खिवामाले जिस्काउन नछाडेकाले उनलाई आपूmले खाइदिएको साफोप्तेले दिदीलाई सुनाए । खिवामाको बाँकी रहेको हाडखोर भएको ठाउँसमेत देखाइदिए । त्यहाँ गएर हेर्दा साँच्चै हाडखोर थुप्रिएको रहेछ । त्यही हाडखोर भेला पारेर तेलको भाँडामा डुबाएर छेउमै राखी दिदी टाङ्वामाले मुत्दुम वाचन गर्दै तान बुन्न थालिन् ।
केही समयपछि शारीरिक स्वरूप लिई हाई काढ्दै खिवामा व्युँझिदै भनिन्, ‘हैट, कत्ति साह्रो पो निदाएछु ।’ खिवामा पुनर्जीवित भएपछि दिदीबहिनीको मिलन भयो र पुनः तान बुन्न थाले । यस अर्थमा किरात राई जातिमा पुनः मिलन, सम्झनाको चिनोका रूपमा लिम्चिमबुङको महŒव स्थापित हुन पुगेको हो । यसरी दिदीबहिनीले लिम्चिमबुङ रोपेको र तान बुनेको ठाउँलाई अहिले तुवाचुङ नामले चिनिन्छ । यो ठाउँ अहिले खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ मा पर्दछ । यो ठाउँलाई तायजुम जायजुम नामले पनि चिनिन्छ । अहिले पनि तुवाचुङमा दिदीबहिनीले तान बुन्न प्रयोग गरेको ढुङ्गाहरू देख्न पाउँछौँ । किरात राईहरूले आफ्नो सीप, सभ्यताको प्रारम्भस्थल मान्दै यी ढुङ्गाको संरक्षण र पूजा गर्दै आएका छन् । यो ठाउँमा भर्खरैमात्र ताङ्वामा, खिवामा र हेत्छाकुप्पाको मूर्ति स्थापना गरी धार्मिक स्थलका रूपमा विकास गर्न लागिएको छ । यहाँ किरात राईहरूले वैशाख पूर्णिमाको दिनमा उँभौली साकेला पूजा गरेर साकेला नाच्ने गरेका पनि छन् ।
दिदीहरूले छोडेर गएको धेरै समयपछि भाइ हेत्छाकुप्पा पनि व्यँुझियो । त्यसपछि उसले दिदीहरूलाई कत्ति बोलायो, कत्ति खोज्यो तर भेट्टाउन सकेन । कत्ति गर्दा पनि दिदीहरूलाई नभेट्टाएपछि भाइ आफ्नै तरिकाले जसोतसो सङ्घर्ष गर्दै जीविकोपार्जनतिर लागे । यो ठाउँलाई चिचिङ्गा नामले चिनिन्छ । चिचिङ्गामा बस्दै गर्दा पहिरो गएपछि हेत्छाकुप्पा हलेसी गुफामा गएर बस्न थाले । यहाँ बसेर जीविकोपार्जन गर्नका लागि उनी दिनहुँ माछा मार्न दूधकोसीमा जाने गर्थे । माछा मार्नेक्रममा नागराजाकी छोरीसँग भेट भई घरजम जोडे । विवाहपछि उनी जङ्गलतिर सिकार गर्न पनि जान थाले । एक दिन सिकार गर्न जाँदा ढुकुर मार्न सफल भए । ढुकुरको मासु बनाउनेक्रममा गाँडबाट कोदो, मकै, कागुनी, जुनेलो बीउ निस्क्यो । त्यही बीउ छरेपछि उम्रेर फल्न थाल्यो । खाँदा मीठो र आडिलो भएकाले फेरि चिचिङ्गामै गएर भस्मे फँडानी गरी खेती गर्न थाले । केही समयपछि घर पनि बनाएर बस्न थाले । यसरी हेत्छाकुप्पाबाट क्रमशः खेतिपाती, घर निर्माण र निश्चित बसोवासको सुरु भएको मानिन्छ । त्यसैले किरात राईहरूले कृषि सभ्यता तथा घर निर्माणकर्ताका रूपमा हेत्छाकुप्पालाई मान्ने गरेका छन् भने हलेसी गुफा र चिचिङ्गा गाउँ उनीहरूका लागि महŒवपूर्ण रहँदै आएको छ ।
किरात राई जातिमा प्रचलित मिथकहरू प्रायः प्रकृतिका अवयवहरू ढुङ्गामाटो, रूखविरुवा, पानी, आकाश, धर्ती, हावापानी आदिसँग जोडिएर आएका पाइन्छन् । गाउँठाउँका नाम पनि प्राकृतिक उपजसँग जोडिएर आएको पाइन्छ । यस अर्थमा किरात राई जातिको प्रारम्भ, ज्ञान चेतनाको विकास पनि प्रकृतिसँगको सामीप्यताबाटै हुँदै आएको हो भन्ने देखिन्छ । यसको उदाहरणमा लिम्चिमबुङ फूल र किरात राई जातिको सम्बन्धलाई पनि लिन सकिन्छ । अझ लिम्चिमबुङ किरात सभ्यताको इतिहास चियाउने एउटा द्वार नै हो भन्दा पनि हुन्छ ।