दुईवटा कथासङ्ग्रह, एउटा उपन्यास, दुईवटा गीतसङ्ग्रह, दुईवटा नियात्रा, दुईवटा नाटकसङ्ग्रह, चारवटा कवितासङ्ग्रह, दुईवटा मुक्तकसङ्ग्रह, छवटा आलेखसङ्ग्रह, जेल डायरी, दुईवटा प्रबन्ध र निबन्धसङ्ग्रह, एउटा अङ्ग्रेजी कवितासङ्ग्रह र एउटा हिन्दी कवितासङ्ग्रह गरी २९ वटा साहित्यिक कृतिका सर्जक चिरपरिचित स्रष्टा कृष्ण पहाडीको पच्चीसवटा आलेख सङ्कलन गरिएको पुस्तक ‘जगत्मुखी, जीवनमुखी, सेवामुखी जिजीविषा’ (२०७६) सार्वजनिक भएको छ । यसमा ‘जगत्मुखी, जीवनमुखी, सेवामुखी जिजीविषा’, ‘धरतीको स्वर्गमा नरकको गन्ध’, ‘कठघरामा मानवअधिकार आयोग’, ‘छानबिन दायरामा विवादास्पद संस्था’, ‘पूर्वराजाको नाच’, ‘राष्ट्रसङ्घको आवरणमै चलखेल’, ‘महामहिम मोदीलाई खुलापत्र’, ‘जातिवाद र क्षेत्रवादविरुद्ध सन्देश’, ‘नेपालमा गणतन्त्र ः भारतीय जासुसको अरण्यरोदन’, ‘माफ गर्नुस् प्रधानमन्त्रीज्यू’,
‘चीनविरुद्ध आगोे ओकल्ने नेता’, ‘न्यायको सारथि बन्ने कि अन्यायको’, ‘भारत–पाकिस्तानलाई आह्वान’, ‘उत्तेजना र अफवाहको रणनीति’, ‘लेडी विथ द मोबाइल’,‘ जनस्वास्थ्य र छिमेकीको स्वार्थ’,
‘शक्तिराष्ट्रको चक्रव्यूह’, ‘सत्ता ? झुटको एउटै भाषा’, ‘साइबर जासुसी ः वर्तमानको त्रासदी’, ‘कार्यालयमा कसको तस्बिर राख्ने ?’, ‘नत्र उपलब्धि सङ्कटमा’, ‘प्रसङ्ग ः कुहिएको फर्सी र मेरो सरकार’, ‘न्यायालय ः सेटिङ र फिक्सिङ’, ‘कुशासन लोकतन्त्रका निम्ति खतरा’ र ‘अतिरिक्त खेलाडीको अनुभव’ शीर्षकका समसामयिक आलेख सङ्गृहीत छन् ।
पहाडीको साहित्यिक व्यक्तित्वको तुलनामा मानवाधिकारवादी व्यक्तित्वको प्रकाशपुञ्ज नेपालबाहिरको धरतीमा पनि छरिएको छ । यस पुस्तकमा सङ्गृहीत आलेखहरूको शीर्षकले नै आफ्नो विषयवस्तुबारे छर्लङ्ग पारेको छ । यी आलेखले भोलिका दिनमा नेपालको आलोचनात्मक राजनीतिक इतिहास लेखनका लागि प्राणवायुको काम गर्ने छन् भन्ने विश्वास लिन सकिन्छ किनभने यी आलेखमा परिघटनाहरूको यथार्थ रेखाङ्कन मात्र छैन, अपितु ती परिघटनामाथि एउटा सजग लेखक तथा मानव अधिकारवादी व्यक्तित्वको आलोचनात्मक दृष्टि पनि अभिरेखाङ्कित छ । पुस्तकमा कतै स्वर्ग जस्तो धरतीमा नरकको गन्ध फैलिँदै गरेको चिन्ता व्यक्त भएको छ भने कतै मानव अधिकार आयोगलाई कठघरामा उभ्याइएको छ । यस्तै कतै पूर्व राजा ज्ञानेन्द्रको क्रियाकलापमाथि आलोचनात्मक टिप्पणी प गरिएको छ भने कतै नेपालमा गणतन्त्रको स्थापना हुँदा भारतीय जासुसको अरण्यरोदनबारे चर्चा गरिएको छ भने कतै कुशासन लोकतन्त्रका निम्ति खतरा हो भन्ने यथार्थबोध गराइएको छ ।
पुस्तकमा सङ्गृहीत आलेखहरूको अध्ययनोपरान्त एउटा कुरा छाती ठोकेर के भन्न सकिन्छ भने कृष्ण पहाडी एक निडर तथा इमानदार लेखक हुनुहुन्छ । आफ्नो विचार प्रस्तुत गर्दा उहाँले आफ्नो कलमलाई निर्बन्ध राखेर दौडाउनुभएको छ । यस क्रममा न उहाँलाई वनको बाघले खाएको देखिन्छ, न मनको बाघले नै । राजनीतिक घटना–परिघटनालाई व्यक्त गर्ने क्रममा उहाँ निरपेक्ष इतिहासकारको भूमिकामा मात्र उभि(नुभएको छैन, एउटा सजग आलोचकको भूमिकामा पनि प्रस्तुत हुनुभएको छ । भनाइको अर्थ पुस्तकमा सङ्गृहीत आलेखहरूले केवल राजनीतिक घटनालाई रेखाङ्कित मात्र गरेको छैन, राजनीतिक परिघटना घट्ने र घटाउने कारक तत्वहरूको शवपरिच्छेदन पनि गरेका छन् ।
यहीँनेर आएर लेखकले समालोचकको भूमिका अख्तियार गर्नुभएको प्रस्ट देखिन्छ । पहाडीका यी आलेखमा साहित्यिक रङ–रूप तथा शैलीको पनि सुन्दर बान्की देख्न सकिन्छ । भारत र चीन नेपालका छिमेकी राष्ट्र हुन् र वैश्विक जगत्मा यी दुवै राष्ट्रको आ–आफ्नै स्थान छ । यी दुवै राष्ट्रले बेला–बखत नेपाललाई दुःख दिने गरेका छन् । नेपालको सन्दर्भमा छिमेकी राष्ट्र भारत र चीनले बेला–बेलामा खेल्ने गरेको भूमिकाप्रति उहाँ आलोचनात्मक दृष्टि राख्न पनि पछि पर्नुहुन्न । पुस्तकमा सङ्गृहीत सबै आलेख विभिन्न कालखण्डमा भएका नेपालका राजनीतिक घटनामाथिको आलोचनात्मक दृष्टि हुन् भन्दा फरक पर्दैन ।
गोपाल अश्क