दामोदर पुडासैनी किशोर
सुनसान निदाइरहेछ सहर
नीलो आकाशमुनि
ब्युँझेका छन् फूल, पात र लहराहरू
लुकिरहेछ मान्छे सहरमा
म लुकेको प्रिय मान्छे खोज्दै हिँडिरहेछु
मृत्यु, मान्छेको बुइ चढेर
ओहोरदोहोर गर्दैछ संसारको कुना कुना
मृत्युलाई पर्खाल तेस्र्याएर
मान्छे बन्द बसिरहेछ पर्खालको घेराभित्र
मान्छे आफ्नो जीवनका लागि
तर्सिंदै हिँडिरहेछ मान्छेसँग
प्रिय मान्छे !
म तिमीलाई माया गर्छु
आफ्नै ज्यानभन्दा बढी
माया गर्न आखिर ज्यान नै चाहिन्छ तिम्रो र मेरो
भागेर होस् या लुकेर
ज्यान जोगाऊ ज्यान
ज्यान बचुन्जेल मात्र माया बच्ने हो मुटु मुटुमा
प्रिय मान्छे !
प्रेमको आराधनामा ध्यानमग्न छन् मान्छेहरू बन्द कोठामा
प्रेमिल यात्रुहरूको स्वागतमा
सफा र चिल्लो बनेर लमतन्न सुतेका छन् सडकहरू
बयेली खेलेर नाचिरहेछन् नव मञ्जरीहरू
विषबाण बनाउँदैछु म यो शत्रु कोरोना विरुद्ध
नियमका रेखाभन्दा बाहिर चल्छ युद्ध
सानो छ भनेर शत्रुलाई लापरवाही छोड्नु हुँदैन
सबै मिलेर निर्मूल पारौँ शत्रुको
शत्रु नासेपछि मात्र
निस्फिक्री थप्न सकिनेछ
हाम्रो प्रेमको नवीन उचाइ
प्रिय मान्छे !
भेट नहुन्जेल पनि
कहाँ टाढा छौँ र हामी
तिमीले र मैले ताप्ने घाम एउटै हो
तिमीले र मैले तान्ने हावा एउटै हो
प्रिय मान्छे !
जिउ बचे घिउ खाउँला सँगै बसेर
शत्रुसँग युद्धमा डटेको बेला
तिमी तिम्रै घरबाट गाइरहनु
म मेरै घरभित्र नाचिरहन्छु
लकडाउन छ प्रिय !
यो आँखा सन्काउने बेला होइन ।