logo
२०८१ मंसिर ९ आईतवार



थेरवादका अनुयायी

शनिवार |


थेरवादका अनुयायी


मुनीन्द्ररत्न बज्राचार्य

नेपालमा रहेका बौद्ध भिक्षुमा बहुआयामिक व्यक्तित्वका रूपमा श्रद्धेय भिक्षु ज्ञान पूर्णिक महास्थविर पनि एक हुनुहुन्छ । नेपालमा थेरवाद बुद्ध शासनको पुनर्जागरणपछि दोस्रो पुस्ताका रूपमा नेपालको बुद्ध धर्म, बौद्ध संस्कृति, बौद्ध साहित्य, बौद्ध शिक्षाको विकासका लागि उहाँको योगदान ठूलो छ ।
प्रतिभाशाली र आदर्शवान् भिक्षु ज्ञान पूर्णिक नेपालका सातौँ पूजनीय सङ्घनायक हुनुहुन्थ्यो । आजभन्दा ८१ वर्षअघि विक्रम संवत् १९९६ मङ्सिर ६ गते पाल्पाको सदरमुकाम तानसेनमा बुवा सूर्यलाल शाक्य र माता चन्द्रमाया शाक्यको कोखबाट उहाँको जन्म भएको थियो । उहाँको गृहस्थी नाम हीरालाल शाक्य थियो । भिक्षु बुद्धघोष महास्थविरको पे्ररणाबाट बुद्ध धर्मप्रति बाल्यकालमै उहाँमा जिज्ञासा बढेको थियो । भिक्षु बुद्धघोषको सहयोगबाट ११ वर्षको उमेरमा बर्माको विभिन्न विद्यालयमा त्रिपिटक र अन्य शिक्षा उहाँले ग्रहण गर्नुभयो । १६ वर्षको उमेरमा ईसं १९५६ अगस्ट १५ (२०१३ साल) का दिनमा छट्ठ सङ्गायनको समाप्त गरी बर्माका सुप्रसिद्ध अग्गमहापण्डित श्रद्धेय भिक्षु विशुद्धाभिवंश महास्थिविरबाट श्रामणेरको दीक्षा लिनु भई प्रवजित हुनुभयो । यस्तै, सन् १९५९ अप्रिल १२ का दिन २० वर्षको उमेरमा अभिधज सयादो सुरियाचिवंश महास्थविरको उपाध्यायत्वमा उहाँले भगवान् बुद्धको विनय नियमअनुसार उपसम्पदा (पूर्ण भिक्षुत्व) को दीक्षा ग्रहण गरी भिक्षु हुनुभयो । सन् १९६३ मा शासनधज धम्माचरिय उपाधि प्राप्त गर्नुभयो । सन् १९६६ मा भारतको वाराणसी संस्कृत विश्वविद्यालयबाट संस्कृतिमा डिप्लोमा परीक्षा पनि उहाँले उत्तीर्ण गर्नुभयो ।
वर्मा (म्यानमार) मा ११ वर्ष रहँदा बुद्ध शासनका धेरै ज्ञान हासिल गर्नुका साथै विभिन्न क्रियाकलापमा उहाँ संलग्न हुनुभयो । सन् १९६४ देखि १९६६ सम्म काउन्सिलबाट सरकारीस्तरमा रही पाली बर्मेली विश्व शब्दकोशको सम्पादनमा संलग्न भई महŒवपूर्ण सहयोग गर्नुभयो । साथै बुद्ध धर्मको अध्ययन गर्दागर्दै विश्वप्रसिद्ध विपश्यनाचार्य श्रद्धेय भिक्षु शोभन महास्थविर महाशी सयादासँग विपश्यना ध्यानको ज्ञान सिक्नुभयो ।
वर्मामा एक दशकभन्दा बढी बुद्ध धर्मको अध्ययन गरी नेपाल फर्केपछि निरन्तर रूपमा धार्मिक, सामाजिक, शैक्षिक र भाषिक एवम् साहित्यिक आदि क्षेत्रमा भिक्षु ज्ञान पूर्णिक आफ्नो सम्पूर्ण जीवनलाई समर्पित गर्नुभयो । नेपाल आएलगत्तै सर्वप्रथम उहाँबाट नेपाल अखिल भिक्षु महासङ्घद्वारा सञ्चालित परियत्ति शिक्षाको परीक्षा नियन्त्रक हुनुभयो । उहाँले बौद्ध परियत्ति शिक्षालाई नयाँ ढङ्गले कसरी अभिपे्ररित गर्न सकिन्छ भनी विभिन्न उपाय खोज्नुभयो । परियत्ति अध्ययन गर्ने विद्यार्थीका लागि पुरस्कार र अन्य सहयोगको व्यवस्था गर्नुभयो । त्रिभुुवन विश्वविद्यालयबाट सन् १९७७ मा बीएसम्म अध्ययन गर्नुभयो । सन् २००१ मा म्यानमार सरकारको तर्फबाट उहाँ ‘अग्गमहासद्धम्मजोतिकधज’ धार्मिक पदबाट विभूषित हुनुभयो । यस्तै २०१३ सालमा म्यानमार सरकारबाटै प्रदान गरिएको ‘अग्गमहापण्डित’को उच्च धार्मिक ओहदाको पद ग्रहण गर्नुभयो । सन् २०१३ सालमै अन्तर्राष्ट्रिय क्षेत्रमा थाइल्यान्डको महामुकुट बुद्धिष्ट विश्वविद्यालयको तर्फबाट बुद्धिष्ट स्टडिज विषयमा उहाँलाई डक्टर अफ फिलोसफी प्रदान गरियो । पछि सन् २०१६ मा महाचुलालोङ्कर्कन राजविद्यालयबाट पनि ‘डक्टरेट डिग्री अफ पीएचडी इन पाली’बाट विभूषित हुनुभयो ।
नेपालमा बुद्ध धर्मसम्बन्धी पुस्तकको निकै अभाव भएको बेला उहाँले यस्ता पुस्तक अनुवाद गर्नुभएको छ । बर्मेली भाषाविज्ञ पनि भएकाले उहाँले बर्मेली पुस्तकहरू धरै अनुवाद गर्नुभयो । उहाँले विशेषतः ध्यानसम्बन्धी पुस्तक धेरै अनुवाद गर्नुभयो । उहाँबाट अनुवाद भएका प्रमुख पुस्तकहरूमा अभिधर्मार्थ सङ्ग्रह भाग–१ (नेसं १०९१), विश्व धर्मप्रचार देशना भाग १ (नेसं ११०१), पच्चय उद्देश निद्देश पट्ठान, महान् सल्लेखसूत्रोपदेश भाग १ र २ (नेसं ११११), दुदङ्गु जीवनया मू (नेसं १११२), जातक पाली (नेसं ११२१), उभयपातिमामाक्ख (नेसं १११३) अभिधर्मार्थ सङ्ग्रह (सम्पूर्ण) (नेसं १११३), बुद्ध र बुद्धवाद प्रथम र द्वितीय नेसं २०४८, कर्म र मनुष्य (विसं २०५४), प्रतीतत्यसमुत्पाद महान् उपदेश (विसं २०५४), परित्राण सूत्र (विसं २०६०) । यतिमात्र होइन कि स्वदेश र विदेशमा रहनुहुँदा उहाँले ६० भन्दा बढी बौद्ध साहित्य ग्रन्थ अनुवाद, सम्पादन तथा लेखन गरी प्रकाशन गर्नुभएको छ । उहाँले गर्नुभएका विभिन्न भाषा अनुवाद पुस्तकहरूमा ‘यःम्ह म्ह्याय्’ नामको अनूदित नेपाल भाषाको पुस्तकलाई नेसं १०९० मा ‘श्रेष्ठ सिरपा’ पुरस्कार प्रदान गरियो । भिक्षु ज्ञान पूर्णिक महास्थविरको विद्वता तथा मृदुभाषिताले उहाँप्रति मानिस आकर्षित हुन्थे । बुद्ध धर्मको प्रचार–प्रसारका लागि उहाँ विदेश भ्रमण गरिरहनुहुन्थ्यो । विशेषगरी पुस्तक लेखन र प्रवचन दिन उहाँ विदेश भ्रमणमा जानुहुन्थ्यो । उहाँले मलेसिया, सिङ्गापुर, अस्टे«लिया, फ्रान्स, जापान, अमेरिकालगायत मुलकमा विपश्यना ध्यान सिकाउनुभयो ।
भिक्षु ज्ञान पूर्णिकको सबैभन्दा ठूलो देन विभिन्न विहारको स्थापनामा रहेको छ । ललितपुरको थेचोमा बेलवनाराम विहार, मङ्गलबजारमा मणिमण्डप विहार र शङ्खमुलमा अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र स्थापनाका लागि उहाँको महŒवपूर्ण योगदान छ । यस्तै, २०४२ सालमा नयाँबानेश्वरमा विश्व शान्ति विहारको स्थापना गर्नुभयो । यहाँ २०५३ सालदेखि नयाँ नयाँ भिक्षु बन्दै आएका छन् । थेरवाद बुद्ध शासनलाई निरन्तरताका लागि यी भिक्षुहरूको ठूलो योगदान रहँदै आएको छ । २०७१ सालमा उहाँकै सक्रियतामा थेरवाद बौद्ध एकेडेमी स्थापना भई थेरवादमा एमएसम्मको अध्ययन पनि सञ्चालन भएको छ ।
यसैगरी कैयौँ अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा उहाँ सहभागी हुनुभएको छ । मङ्गोलियाको उलानवटौरमा सन् १९७९ र १९८२ मा भएको एसियाली बौद्ध सम्मेलनको पाँचौँ र छैटौँ शान्ति सम्मेलनमा उहाँले नेपालको तर्फबाट भाग लिनुभएको थियो । यस्तै सुप्रिम बुद्धिष्ट सम्मेलनको आयोजनामा जापानस्थित ‘वल्र्ड बुद्धिष्ट सम्मिट’मा पनि उहाँले नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । भारत सरकारले गठन गरेको अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फेडेरेसनमा पनि नेपालको प्रमुख प्रतिनिधि भई भाग लिनुभयो । यस्तै चीनमा स्थापना गरिएको वल्र्ड बुद्धिष्ट फोरममा पनि सदस्यको रूपमा उहाँले काम गर्नुभयो । विसं २०६५ मा आचार्य ज्ञान पूर्णिक महास्थविर उपसम्पदा भएको ५० वर्षका अवसरमा वृहत् सार्वजनिक अभिनन्दन कार्यक्रम भयो । कार्यक्रम नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको समुस्थितिमा सम्पन्न भएको थियो । यही कार्यक्रममा अङ्ग्रेजी, नेपाली र नेपाल भाषामा लेखिएको उहाँका लेख सङ्ग्रह र उहाँका देनबारे लेखिएको पुस्तक सार्वजनिक भएको थियो ।
बुद्ध शासनमा आजीवन समर्पण हुनुभएका ज्ञान पूर्णिकलाई म्यानमारका महाशी शासनार्येतटा ध्यान केन्द्रबाट ‘ओवादाचार्य’ एवम् ‘कम्मट्ठानाचार्य’को उपाधि पनि प्रदान गरिएको थियो । यस्तै उहाँले ज्ञानमाला भजन खलः काठमाडौँबाट रत्नवत पुरस्कार र धर्मबहादुर धाख्वा कल्याण कोष पुरस्कार प्रदान गरिएको थियो ।
जीवनको अन्तिम समयसम्म पनि आफ्नो आदर्श बुद्ध शासनको अभिवृद्धिका निमित्त निरन्तर लागिरहँदा रहँदै २०७७ साल असार १९ गते उहाँ दिवङ्गत हुनुभयो । उहाँको निधनले सम्पूर्ण बौद्ध क्षेत्रलाई ठूलो आघात पुगेको छ । अझ नेपालको थेरवाद बुद्ध शासनका लागि अपूरणीय क्षति भएको छ । यो शोकको घडीमा धैर्य धारणा गरी उहाँको सुखावती भुवनवास कामना गर्नुसिवाय अरू के छ र ? तर, समस्त बौद्ध धर्मावलम्बीले बहुमुखी प्रतिभा सम्पन्न भिक्षु ज्ञान पूर्णिक महास्थविरको योगदानप्रति सदा कदर गरिरहनेछन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?