राजन रावत
कोरोनो भाइरस सङ्क्रमणको त्रास विश्वव्यापी छ । यसको असर नेपाल–चीन सिमानाका हिल्सामा पनि परेको छ । हिल्सा यतिखेर सुनसान छ । यो बेला मानसरोवर कैलाश जाने धार्मिक यात्रुको भीड देखिनुपर्ने हिल्सामा मानिसको चहलपहलसमेत छैन । पछिल्लो समय धेरै भारतीय पर्यटकले यहाँबाट मानसरोवर कैलाशको यात्रा गर्ने गरेका थिए । २०७२ सालयता २५ हजारभन्दा बढी भारतीय पर्यटकले हिल्सा नाकाबाट मानसरोवरको यात्रा गरेको तथ्याङ्क छ । वैशाख तेस्रो हप्तादेखि असोजसम्म हिल्साका व्यवसायी कसैलाई पनि फुर्सद हुँदैनथ्यो । यो बेफुर्सदीले कमाइ पनि राम्रै हुन्थ्यो । आधा दर्जन पर्यटकीय होटेल हिल्सामा स्थापना भएका छन् । होटेलमा मात्र करोडौँ लगानी भएको छ । हेलिकोप्टरबाट हिल्सा उत्रिएका र मानसरोवर कैलाशको दर्शन गरेर फर्किएका पर्यटकलाई होटेल ल्याउनमै यहाँका व्यवसायीको समय बित्ने गथ्र्यो । यस्तै डेढ सयभन्दा बढी भरियाले प्रत्यक्ष रूपमा रोजगार पाउँदै आएका थिए । विगतका वर्ष सम्झेर हिल्सामा रहेको मानसरोवर होटेलका सञ्चालक कर्मा लामा नसोचेको दिन आएको बताउनुहुन्छ । गत वर्ष यतिखेर एकैछिन सुस्ताउन पनि फुर्सद थिएन भन्दै लामाले यसपालि होटेल कुरुवाका रूपमा बस्नुपरेको बताउनुभयो । हेलिप्याडदेखि हिल्सा बजारसम्म मानिसको भीडभाड निकै हुने दिन सम्झँदै लामाले अब त्यो दिन आउला नआउला भन्नेमा चिन्ता रहेको बताउनुभयो । मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय पर्यटकमात्र होइन, यो मौसम आन्तरिक पर्यटक पनि आउने समय हो । धन्न गत असार ६ गते सीमा सुरक्षा चौकी स्थापना भएपछि थोरै भए पनि मानिसको चहलपहल हुन थालेको छ । होटेल सङ्घ हुम्लाका अध्यक्ष मिमबहादुर लामाले अनकन्टार तर रमणीयस्थल हिल्सामा यसरी सन्नाटा छाउला भन्ने कहिल्यै नसोचेको बताउनुभयो । सुनसान हुँदा आर्थिक मन्दीले पनि पिरोलेको बताउँदै उहाँले भन्नुभयो, ‘विगतका वर्षमा हिल्साका एउटा होटेलले मात्र कम्तीमा डेढदेखि दुई करोड कमाउने गरेको थियो । तर, कमाइको नाममा अहिले व्यवसायीको हातमा सुको छैन ।’ हालसम्म पनि सीमानाका खुल्न सकेको छैन । हिल्सा क्षेत्र र नाम्खा गाउँपालिकाको वडा नम्बर ५ र ६ को बासिन्दा दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा र विकास निर्माणका सामानमा चीनको ताक्लाकोटमा निर्भर रहनुपर्छ । तर, कुनै पनि सामान उताबाट आउन सकेको छैन । हिल्सामा आधा दर्जन पर्यटकीय होटेल र ८० घरधुरी छन् । धेरै पर्यटक आएको तर हेलिकोप्टरको उडान पनि नभएको बेला होमस्टेका रूपमा घरघरमा पर्यटक बस्दै आएका थिए । यसबाट स्थानीयले पनि आम्दानी गर्दै आएका थिए ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी र नेपाल प्रहरीको चौकीमात्र राज्यको तर्फबाट हिल्सामा उपस्थित छ । अहिले पनि अध्यागमन र भन्सार कार्यालयको उपस्थिति छैन । कुरुवाले होटेलको सुरक्षा गर्दै आएका छन् । अन्य घरहरूको त गत मङ्सिरमा लगाएको ताला अभैm खुलेको छैन । गत वर्ष ताक्लाकोटमा व्यापार तथा काम गर्न गएकाहरू पनि कोरोना सङ्क्रमणका कारण उतै रोकिएका छन् । यो समय धार्मिक पर्यटकको मात्र होइन, हिल्सा हँुदै छिमेकी देश चीनको ताक्लाकोटमा व्यापार तथा कामका लागि जाने हुम्लीको पनि घुइँचो लाग्ने समय हो । कोरोनाका कारण नाका बन्द भएपछि ताक्लाकोट जान नसकिएको बर्सेनि ताक्लाकोट जाने गर्नुभएका सिमकोट गाउँपालिका वडा नम्बर ३ का बज्जिरे बोहराले बत(ाउनुभयो । हरेक वर्ष कम्तीमा दुई हजार हुम्ली ताक्लाकोटमा काम गर्न जान्थे । एक दिन हिल्सा बस्थे । यसले पनि हिल्सामा चहलपहल बढ्थ्यो । उनीहरूमध्ये डेढदेखि दुई सय जनाले हिल्सामा पनि काम पाउँथे । हिल्सामा बर्सेनि नयाँ होटेल बन्थे । तर, यस वर्ष भने एउटा पनि नयाँ घर बन्ने अवस्था छैन ।
कोरोनाका कारण हिल्सामा चहलपहल ठप्प हुँदा आर्थिक मन्दी त छाएकै छ । अर्कोतर्फ राज्यको करोडौँ राजस्व पनि गुमेको छ । हिल्सा सुनसान भन्नुको अर्थ सबै क्षेत्र प्रभावित भएको बुझ्न सकिने उद्योग वाणिज्य सङ्घका सचिव रवीनकुमार बस्नेतले बत(ाउनुभयो । उहाँले नाका बन्द भएपछि हिल्सामा बस्दै आएका मानिसलाई दैनिक उपभोग्य सामग्रीको पनि समस्या हुन थालेको जानकारी दिनुभयो ।