पशुपति अधिकारी
कुनै समय गङ्गा, ब्रह्मपुत्र, इन्दुस र तिनका सहायक नदीवरिपरि फैलिएका गैँडा उन्नाइसौँ शताब्दीसम्म आइपुग्दा पूर्वोत्तर भारतको काजिरङ्गा र नेपालको चितवनमा मात्र सीमित हुन पुगेको छ । वासस्थान विनाश र चोरीसिकारका कारण लोप हुँदै करिब २०० को हाराहारीमा रहेका गैँडालाई सत्तरीको दशकपछि संरक्षण गर्न थालेसँगै अहिले यसको सङ्ख्या बढेर तीन हजार ५८० पुगेको छ । अहिले भारतका सात र नेपालका चारवटा राष्ट्रिय निकुञ्जमा गैँडा पाइन्छ ।
गैँडा जमिनमा बस्ने दोस्रो ठूलो जनावर हो । यसको तौल एक हजार आठ सयदेखि दुई हजार सात सय किलोसम्म हुन्छ । यो घाँस खाने अर्धजलीय वन्यजन्तु हो । शरीरलाई बाक्लो छालाले ढाकेको हुँदा शरीरको तापक्रम सन्तुलनमा राख्न यो जन्तु अधिकांश समय पानीमा बिताउने गर्छ । गैँडाका लागि सबैभन्दा उपयुक्त वासस्थान नारायणी, राप्ती, रिउ र तिनका सहायक नदीआसपासका घाँसेमैदान, नदी तटीय वन र सिमसार क्षेत्र हुन् । यसले विभिन्न १८३ प्रजातिका वनस्पति खाने गरेको अध्ययनबाट देखिएको छ । बाढीग्रस्त क्षेत्रमा हुर्केको कलिलो काँस, दुबो, बरुवा, नरकट, सिरु र सिमसार क्षेत्रमा पाइने लेउ, झार गैँडाका मुख्य आहारा हुन् । यसले सिन्दुरे, कुटमिरो, गुटेलका फल र सिमलका फूल पनि खाने गर्छ । गैँडा राति सक्रिय हुने वन्यजन्तु हो । यसलाई चरनको अभाव हुने मुख्य समय कात्तिकदेखि माघसम्म हो । त्यस समयमा आहाराको खोजीमा सात–आठ किलोमिटर टाढासम्मका खेतबारीमा पुग्ने गर्दछ ।
वासस्थान घट्दै
घाँसेमैदान पारिस्थितिक प्रणालीको स्वसञ्चालन र सन्तुलनका लागि आवश्यक पर्छ । खरखडाइ काट्ने र गाईबस्तु चराउने सदीयौँदेखिको प्रचलन हट्दै गएकाले गैँडाको चरन क्षेत्र वन र झाडीमा रूपान्तरण भएको छ । फलस्वरूप साबिकको १८० वर्ग किलोमिटर घाँसेमैदान अहिले ८५ वर्ग किलोमिटरमा सीमित भएको छ । त्यहाँ गाईबस्तुले कुल्चन, मडार्न छाडेसँगै माइकेनिया, पार्थेनियम, नीलो गन्धेझार, वनमारा र जलकुम्भीजस्ता मिचाहा प्रजातिका झार फैलिँदै गएका छन् भने रैथाने घाँसका प्रजाति लोप हुँदै गएका छन् । घाँसेमैदान बहुउपयोग हुन छाडेसँगै गैँडालाई चाहिने कलिलो छोटो घाँसको उत्पादन हुन छाडेको छ । गाईबस्तुको मलमूत्रको अभावमा घाँसमा पौष्टिक तŒवको कमी हुँदै गएको छ । गैँडाको चरनका लागि कलिलो घाँस उत्पादन गर्न कात्तिक, मङ्सिरभित्रै बूढो घाँस काटिसक्नुपर्छ । तर, सरकारी स्तरबाट गरिने घाँसेमैदान व्यवस्थापनको काममा लामो कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुँदा फागुन अगाडि काट्न सकिएको छैन । यो बेलासम्ममा घाँसमा नयाँ पालुवा पलाइसकेका हुन्छन् ।
गैँडाको मुख्य वासस्थान करिब ३५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । तर, यो वासस्थान निकुञ्ज, मध्यवर्ती क्षेत्र र सोभन्दा बाहिरको राष्ट्रिय वन गरी तीन भागमा विभाजन भएको छ । यसमध्ये करिब २३० वर्ग किलोमिटर निकुञ्ज क्षेत्रभित्र, ११० वर्गकिलोमिटर मध्यवर्ती क्षेत्रमा र १० वर्ग किलोमिटर सोभन्दा बाहिर पर्छ । निकुञ्ज बाहिर रहेको गैँडाको वासस्थानमा दैनिक १२० देखि १५० गैँडा चर्ने गर्छन् । स्थानीय समुदायको सहभागितामा व्यवस्थापन गरिएको यो वासस्थान अवैध बसोवास र खेतिपाती, मोटरबाटो, तारबार, फुटबल मैदान, सामुदायिक भवन, खानेपानी ट्याङ्की, वनभोज स्थल र पार्क निर्माण गरेर अतिक्रमण र खण्डीकरण भइरहेको छ ।
सन् १९७० को दशकमा झन्डै ८० को सङ्ख्यामा रहेका गैँडा निकुञ्ज स्थापनापछि बढेर सन् १९८८ मा ३५८ वटा पुगेका थिए । गैँडा बढ्दै गएर सन् २००० मा ५४४ पुगेकोमा त्यसपछि चोरीसिकारका कारण घटेर सन् २००५ मा ३७२ मा झरे । चोरीसिकार नियन्त्रण गरेपछि पुनः गैँडाको सङ्ख्या बढ्दै गएको छ । सन् २०११ को गणनामा ५०३ वटा गैँडा रेकर्ड गरिएकोमा सन् २०१५ को गणनामा बढेर ६०५ वटा पुगेका थिए । यो चार वर्षको अवधिमा वृद्धि भएका गैँडालाई आधार मान्दा चितवनमा गैँडाको वार्षिक वृद्धिदर ४.२१ प्रतिशत रहेको छ । यो वृद्धिदरले चितवनमा बर्सेनि २५ वटा जति गैँडा हुर्किन्छन् ।
गैँडाको मृत्यु र चरनको सम्बन्ध
अध्ययन प्रतिवेदन र उपलब्ध तथ्याङ्कका आधारमा हेर्दा गैँडाको जन्मदर घट्ने र मृत्युदर बढेको देखिन्छ । चितवनमा बर्सेनि सरदरमा २१.८३ वटा गैँडा मर्ने गरेको तथ्याङ्क छ । तर, आव २०७४÷७५ मा २५ वटा र आव २०७५÷७६ मा ४३ वटा गैँडा मरे भने यस आव २०७६÷७७ को चैत ४ गतेसम्ममा २३ वटा गैँडा मरिसकेका छन् । यस वर्ष मरेका गैँडामध्ये दुईवटा विद्युतीय धरापमा परेर तथा तीनवटा धेरै तोरी खाएकाले त्यसको असरबाट मरेको पुष्टि भएको छ । चरनको अभावमा यी घटना घटेका हुन् । गैँडा, घाँसेमैदान र सिमसार क्षेत्र अन्तर्सम्बन्धित छन । पूर्वी चितवनका सिमसार क्षेत्र सुक्दै जानाले गैँडा पश्चिमतर्फ सर्दै आएको गैँडा गणनाको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार विगत तीन दशकमा त्यहाँ पाइने गैँडाको सङ्ख्यामा आधाले कमी आएको छ । अहिले धेरैजसो गैँडा निकुञ्जको पश्चिमी भेगमा नारायणी, रापती र रिउ नदी आसपासमा एकत्रित भएका छन् । सानो क्षेत्रफलमा धेरै गैँडा बस्नुपर्दा आहारा र प्रजननका लागि प्रतिस्पर्धा बढ्छ । भालेहरू जुधेर तथा भालेले बच्चालाई हिर्काएर पनि गैँडा मर्ने सम्भावना हुन्छ । पर्यटकीय गतिविधिले भीडभाड बढेसँगै गैँडाको दिनचर्या खल्बलिँदै गएको छ । गैँडा दिउँसो रूखमुनि शीतलमा लुकेर बस्ने तथा आहालमा बस्ने गर्छन् । तर, पर्यटकले पु¥याउने अवरोधका कारण गैँडाले आराम गर्ने समय घटेको छ । मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा मानिस जथाभावी पसेर गैँडालाई जिस्क्याउने, लखेट्नेक्रम बढ्दो छ । गैँडाले आफ्ना बच्चालाई औधी माया गर्ने हुँदा निकुञ्जमा झाडी बढेसँगै बच्चालाई बाघको आक्रमणबाट जोगाउन माउ गैँडा जतिखेर पनि चनाखो भएर बस्नुपरेको छ । गैँडाले आफ्नो आहाराको १० देखि २० प्रतिशत हिस्सा अन्नबालीबाट पूर्ति गर्ने गर्दछन् । तर, बालीनाली जोगाउन वनको वरिपरि निर्माण गरिएको तारबार, बढ्दै गएको सहरीकरण र पर्यटकीय पूर्वाधारको निर्माणले गर्दा मध्यवर्ती क्षेत्रको भू–उपयोगमा आएको परिवर्तनसँगै गैँडाको साबिकको विचरण गर्ने क्षेत्र खुम्चिएको छ । मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री भौतिक पूर्वाधार नहुँदा बाहिर निस्केका गैँडाको उद्धार गर्न कठिन हुँदै गएको छ । गैँडाको वासस्थानमा प्लास्टिक र सिसाजन्य फोहोर बढेको छ । यी सबै दुष्प्रभावको असरले गैँडाको पहिलो बच्चा जन्माउने औसत उमेर बढ्दै गएको अध्ययनले देखाएको छ । सन् १९८२ मा लौरीले चितवनका गँैडामा गरेको अध्ययनमा पहिलो बच्चा जन्माउने उमेर ७.२ वर्ष उल्लेख गरेका छन् भने सन् २००३ मा डिनरस्टरले गरेको अध्ययनमा ७.५ वर्ष उल्लेख छ । त्यसैगरी, सन् २०१७ मा नरेश सुवेदीसमेतले गरेको अध्ययनमा ७.९ वर्ष पुगेको उल्लेख छ । समग्रमा, गैँडालाई चरनको अभाव भएसँगै जन्मदर घट्दै जाने र मृत्युदर बढेको पाइएको छ ।
गँैडाको सम्पूर्ण वासस्थानलाई समान प्राथमिकता दिई व्यवस्थापन गर्नुपर्नेमा हुन नसक्दा निकुञ्ज बाहिर रहेका गैँडाको वासस्थानको क्षेत्रफल पनि बर्सेनि घटिरहेको छ । सन् २०१९ बाट लागू गरिएको निकुञ्जको पञ्चवर्षीय योजनाले यान्त्रिक उपकरणको प्रयोग गरी घाँसेमैदान व्यवस्थापन गर्ने र गैँडाले मन पराउने घाँस रोप्न निर्देश गरेको छ । घाँसमा नयाँ पालुवा पलाउनुभन्दा अगावै पुरानो घाँस काटिसक्नुपर्छ । तर सार्वजनिक खरिद ऐन, नियमावलीका प्रक्रिया पूरा गरी फागुन अगाडि घाँसेमैदान व्यवस्थापनको काम गर्न नसकिने हुँदा प्रक्रिया छोट्ट्याउने विशेष कानुनी व्यवस्था गर्न आवश्यक छ । मध्यवर्ती क्षेत्रका वन उपभोक्ता समूहको संंस्थागत क्षमता र सुशासनको पक्ष कमजोर रहेको छ । यसमा सुधार गरी घाँसेमैदान व्यवस्थापनको काम प्रभावकारी बनाउन सकिन्छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रमअन्तर्गत निकुञ्जको आम्दानीको ३० देखि ५० प्रतिशत रकम खर्च हुने गरेको छ । यस्तो रकम खर्च गर्ने उपभोक्ता समितिहरू सन् १९९० को दशकमा संयुक्त राष्ट्रसङ्घको सहयोगमा सञ्चालित पार्क पिपुल प्रोजेक्टले गठन गरेका बचत तथा ऋण लगानी समूहहरूको प्रतिनिधित्वबाट मात्र गठन हुने गरेका छन । यस्तो समितिमा स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह र पर्यटन व्यवसायीको प्रतिनिधित्व नहुँदा मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रम संरक्षणमुखी हुन सकेको छैन । साथै समन्वय र सहकार्यमा बाधा पुगेको छ । सबै सरोकारवालाको सार्थक सहभागिता हुन सकेमात्रै मध्यवर्ती क्षेत्रमा घाँसेमैदान र सिमसार क्षेत्र व्यवस्थापन, अतिक्रमण नियन्त्रण, वन्यजन्तुमैत्री भौतिक संरचनाको निर्माण र फोहोर व्यवस्थापन गर्न सकिनेछ । नेपालमा विगत पाँच दशकदेखि गैँडा संरक्षणको विषयले राष्ट्रिय महŒव पाउँदै आएको छ । नेपालले परराष्ट्र सम्बन्ध सुदृढ गर्न गैँडा कूटनीति अपनाइएको विदितै छ । गैँडा नेपालको प्रमुख पर्यटकीय वस्तु हो । नेपालको समृद्धिसँग गैँडाको प्रत्यक्ष सम्बन्ध जोडिएको छ । नेपालले गैँडाको चोरीसिकार नियन्त्रणमा ठूलो सफलता प्राप्त गरे पनि समयमै घाँसेमैदान व्यवस्थापनको काम गर्न नसक्दा र गैँडाको वासस्थानको क्षेत्रफल घट्दै गएसँगै गैँडालाई बर्सेनि चरनको अभाव बढ्दै गएको छ ।