गणेशप्रसाद लाठको ‘अनुराधा भवन’ (२०६२) पछि ‘अघटित’ (२०७६) उपन्यास सार्वजनिक भएको छ । उपन्यास मञ्जरी पब्लिकेसनले प्रकाशन गरेको हो । यो व्यङ्ग्य उपन्यास हो । मूलभूत रूपमा यो उपन्यास पारिवारिक विषयवस्तुमा आधारित र परोक्षरूपमा राजनीतिक, धार्मिक, विषयवस्तुलाई पनि समावेश गरिएको नयाँ र पुरानो पुस्तालाई जोड्ने सङ्गमजस्तो देखिन्छ ।
उपन्यासले व्यङ्ग्यात्मकताको परिचय पात्रबाट पनि दिएको छ । दयानन्दमा दया नहुनु, अम्बानी गरिब हुनु, महात्माले रक्सी र मासु खानु, गुरुदेव स्वयं दुराचारी अत्याचारी व्यभिचारी हुनुबाट पनि यो कुराको पुष्टि हुन्छ । जन्म दिने मातापिताबाट कुनै झाडी वा फोहोरको डङ्गुरमा परित्यक्त अम्बानी धेरै स्वार्थी व्यक्तिको सिँढी चढ्ने भ¥याङ हुन्छ । अन्त्यमा उसैबाट भण्डाफोर हुने डरले कुकर्मीको शिकार हुन पुग्छ । ठूला व्यक्तिले पद र प्रतिष्ठाको दुरुपयोग गरेर जे गरे पनि हुन्छ तर साना मानिसले आफ्नो अधिकार खोज्दा पनि गैरकानुनी हुन्छ भन्ने कुरा अम्बानीको जीवनीबाट चाल पाइन्छ । मात्मा भक्त राले बहुरुपिया गुरुदेवको नाति र अमनदेवको छोरा हो । ऊ यस उपन्यासको मूलपात्र हो । बाउको अस्तु लिएर ऊ नेपाल भित्रिएको छ । मानकी पाठकको सहानुभूति बटुल्ने यस उपन्यासको दुखिया पात्र हो । यो कुरा पक्का हो कि उसैको निर्णयले अम्बानीको मृत्यु भएको छ । गुरुजीको तिकडमले नेपालको राजनीतिक तिकडमलाई सम्झाउँछ । कसलाई कसरी विभिन्न षड्यन्त्रमा फसाउने उसले राम्रै सिकाएको छ ।
जस्तो परिस्थिति वा जुनसुकै विषय होस् लाठका कलम बेरोकटोक चलेका छन् । मात्मा, अम्बानी, मानकी, दिनानाथलगायत पात्रको जमघटमा राष्ट्रियताको विषय वा अल्लारे ठिटाठिटीको मोजमस्तीको विषयमा वा गुरुदेवले गरेको धर्मकर्मको मोलमोलाइ वा हिसाबकिताबकै विषयमा किन नहोस् लाठका कलम खिरिलो पाराले चलेको छ । पात्रहरू गीत सङ्गीतप्रति आकृष्ट हुनुका साथै भ्रमणप्रीय पनि रहेका छन् । यस हिसाबमा लाठ स्वच्छन्दतावादी उपन्यासकारका रूपमा देखिन्छन् । धर्मकर्मको आडमा आफ्नो बजार चलाउने र अशिक्षित मानिसलाई धोका दिएर रातारात मालामाल हुने त्यस्ता व्यक्तित्वमाथि जोडदार व्यङ्ग्य गरिएको छ । अशिक्षित र बेरोजगारी हावी भएको मुलुकमा धर्मको बजार व्यापक चल्न सक्छ भन्ने घुमाउरो पाराको व्यङ्ग्य पनि यसमा छ । समयभन्दा तेज गतिमा लेखकको कल्पना यस उपन्यासमा दौडिएको देखिन्छ । सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनिरहेको छ तर उपन्यासमा त्यस स्थानमा विमानस्थलको निर्माण भइसकेको देखिन्छ । द्रुतमार्गबाट काठमाडौँ पुग्न यस उपन्यासका पात्रलाई दश हजार रुपियाँ लागेको देखाइएको छ । त्यो समय आएकै छैन, वा आउँदैन कि, तर उपन्यासकारले कल्पना गरिसकेका छन् । कतैकतै लामा वर्णन जुन विषयमा गरेको देखिन्छ, वास्तवमा त्यो त्यसको वर्णन नै हुँदैन । जस्तै– ‘राजस्व मार्ने प्रवृत्ति उनीहरूको रगतमा सुरुदेखि नै रहेको थियो । फोहरबाट मोहर बनाउँदा पनि सरकारलाई कुनै कर बुझउन मान्दैनथे । कुनै न कुनै बहाना, बखेडा झिकी आफ्नो कुल कारोबारको विवरण लुकाइराख्थे ।’ माथिको भनाइ लेखकले दृश्य रूपमा मङ्गु र मल्लीलाई भनेको देखिए तापनि यथार्थमा त्यो कर छली गर्ने नेपालका व्यापारीलाई भनेको प्रष्ट छ । नजर एकातिर भए पनि निशाना लेखकको अर्कैतिर देखिन्छ ।
लाठका कथा वा उपन्यास पढ्दा पाठकलाई निबन्ध पढिरहेको जस्तो हुन्छ । सानो घटना सल्टाउन पनि उहाँ लामो समय लगाउनुहुन्छ । प्रकृतिको वर्णनमा पनि लाठले कुनै कन्जुस्याइँ देखाउनुभएको छैन । पात्रको दशाअनुसार प्रकृतिको रूप देखाउन लाठ खप्पिस देखिनुभएको छ । मात्मा र अमनको मनोदशासँग प्रकृतिलाई जुधाउने काम लेखकले धेरै ठाउँमा गर्नुभएको छ । यसमा पात्र, घटना, परिवेश एवं परिस्थितिलाई आधार बनाई विभिन्न शीर्षक दिएर छुट्याइएका छन् । मङ्गु र मल्ली शीर्षकदेखि इलिया काठमाडाँैमा शीर्षकसम्म जम्मा २५ खण्डमा फैलिएको यस उपन्यासको संरचना अत्यन्त कसिलो छ । शीर्षक सार्थकता ठम्याउन भने पाठकलाई फलामको चिउरा नै सावित हुने देखिन्छ । जे होस् उपन्यास पठनीय एवं सङ्ग्रहणीय छ ।
इन्द्रप्रसाद भट्टराई