सुरेन्द्र अस्तफल
तिमीजस्तै अर्धमुदित
बुद्ध बन्न नसके पनि इतिहासको
गाइरहेछु निरन्तर
तिम्रो नाममा मीठो आलापको सङ्गीत
म तिमीले जस्तै
कुमारी रङ्गले भरिएकी
यशोधराको सुहाग छोडेर
पीतवस्त्रमा सक्दिनँ वनविहार गर्न
न त उपहास गर्न नै सक्छु
राहुलको पितृ्त्वलाई
जसरी तिमी
प्रजापति गौतमीको
मिल्काएर मायाको आँचल
एकाएक निष्ठुरी हुनसक्यौ
जसरी तिमी
शुद्धोदनका आँखामा बलिरहेको
पुत्रत्वको सलेदोलाई नदेखेझैँ
एकाएक बेखबर हुनसक्यौ
त्यसरी बेखबर हुन सक्दिनँ म बुद्ध
प्रिय बुद्ध
म त संसारी भइसकेछु
सक्दिनँ म ती तमाम सम्बन्ध तोड्न
तोडिएको सम्बन्धले आर्जेको
ज्ञानको बुद्धत्व चाहिएन मलाई
बरू बुद्धु नै बनीबनी
कुनै दिन सकेछु भने
जोगाएर सम्बन्धहरूलाई
निकालूँला संसारको थप रहस्य
आजकल मलाई त बुद्ध
यशोधराले भनेझैँ
निरञ्जना नदीको तटमा
बोधिवृक्षको छायाँमा
लुप्त बुद्धत्व
यतैकतै छरिएजस्तो पो लागिरहेछ ।