डा. मित्र पाठक
राष्ट्रिय वनस्पति उद्यानको विशिष्ट व्यक्तित्व वाटिका (भीभीआईपी बगैँचा)मा रहेको एक रुद्राक्षको बोट देख्नासाथ त्यहाँ कार्यरत एकजना भाइले निकै प्रसन्न भएर भन्नुुभयो, ‘सर, उद्यानको भीभीआईपी बगैँचामा पूर्वराष्ट्रपति डा. रामवरण यादवले रोपेको रुद्राक्षमा फल लागेको छ नि !’
ए हो र ! राम्रो भएछ नि त, हामीले भन्यौँ । सामान्यतया यो अचम्मको विषय होइन, थिएन पनि । फल्ने बेला भयो होला, फल्यो भन्ने भयो । तर, वास्तविकता अर्कै थियो, बगैँचामा योभन्दा अगाडि अरू रुद्राक्ष हुर्केर ठूलै भए पनि फल लागेका थिएनन् । यो हाम्रा लागि पनि गौरवको विषय बन्यो । वैज्ञानिकहरूले वनस्पतिका रूपमा बुझेको र कृषकहरूले बहुमूल्य वा धेरै पैसा पर्ने धार्मिक फलका रूपमा चिनेको एउटा फलमात्रै नभएर बगैँचाका कामदारहरूको अथक प्रयास र मायाले हुर्काएको राष्ट्रको अभिभावकका रूपमा परिचित व्यक्तित्वले रोपेको ‘रुद्राक्ष’ थियो त्यो ।
विक्रम संवत् २०१९ (सन् १९६२) मा स्थापना भएको राष्ट्रिय वनस्पति उद्यान (तत्कालीन शाही वनस्पति उद्यान) वन तथा वातावरण मन्त्रालयअन्तर्गत वनस्पति विभागको केन्द्रीय कार्यालय हो । राजस्व सङ्कलन, दुर्लभ, सङ्कटापन्न र आकर्षक शोभनीय जीवित बोटबिरुवा र फूल सङ्ग्रहका हिसाबले विभागको मुटु पनि । ८२ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानले विभिन्न अनुसन्धानका अलावा वार्षिक दुई करोडभन्दा बढी राजस्व सङ्कलन गर्छ । हजारौँ स्वदेशी तथा विदेशी आगन्तुकले हरेक वर्ष उद्यानको भ्रमण गर्छन् । उद्यानको एउटा कूटनीतिक महŒव बोकेको अति विशिष्ठ व्यक्तित्व वृक्षरोपण क्षेत्र (भीभीआईपी प्लान्टेसन एरिया) छ । यहाँ सन् १९७४ मा युगोस्लाभियाका राष्ट्रपति मार्सल जोसेफ ब्रज टिटोले नेपालको राष्ट्रिय फूल लालीगुराँस रोपेर सुरु भएको हो ।
हरित कूटनीतिका हिसाबले वनस्पति उद्यान, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र चिडियाखानालाई महŒवसाथ हेरिन्छ । हरित कूटनीति एउटा नयाँ अन्तर्राष्ट्रिय अवधारणा हो । यसको उद्देश्य यो जगत्का सबै जीवित प्राणी, जीवजन्तु, वनस्पति र निर्जीव वस्तुसमेत स्वस्थ अवस्थामा, स्वस्थ वातावरणमा बाँच्न र रहन पाउनुपर्छ भन्ने नै हो । दिगो विकासका लागि पर्यावरण सन्तुलनसहित वातावण र वनस्पति संरक्षणमा जनचेतना फैलाउँदै गरिब र विकासोन्मुख देशसँग विकसित देशले सहकार्य गर्नु नै यसको उद्देश्य हो । हरित कूटनीतिभित्र खाद्यान्न सङ्कटदेखि जलवायु परिवर्तनसम्म व्यापक विषय समेटिएको हुन्छ । यसका साथै आपसी सद्भाव अरू मिठास हुने नै भयो । जीवजन्तुले, बिरुवा वा वनस्पतिले पनि देश–विदेशमा कूटनीतिक सम्बन्ध प्रगाढ राख्न महŒवपूर्ण भूमिका खेल्छन् । अघिल्लो साल नेपालबाट चीनलाई उपहारस्वरूप एक जोडी एकसिङे गैँडा प्रदान गरियो । यो खबरको त्यहाँका समाचार संस्था (रेडियो, टेलिभिजन) र सामाजिक सञ्जाल
(विच्याट, क्युक्युलगायत)मा गरिएको प्रचार–प्रसार र प्रतिक्रियाले यसको महŒव कति रह्यो भन्ने कुराको उजागर भयो । त्यसैगरी नेपालका अमूल्य रैथाने वनस्पति, फूल तथा महŒवपूर्ण जडीबुटीका जीवित बिरुवा वा हर्बेरियम (संरक्षित मृत नमुना) बेलायत, जापान, भारत, अमेरिका, चीन, कोरियालगायत संसारका धेरै मुलुकमा पुगेका छन् । अरू देशका बिरुवा पनि हामीकहाँ जीवित वा हर्बेरियमका रूपमा छन् । अनुसन्धान र वैज्ञानिक जगत्मा यो एउटा स्वाभाविक प्रक्रिया पनि हो । राष्ट्रिय वनस्पति उद्यानको भीभीआईपी बगैँचामा बिरुवा रोपिनु भने वैज्ञानिक पाटोसँगै राजनीति र कूटनीतिलाई आत्मीयतामा बाँध्ने एउटा कसी पनि हो । यसले अन्तर्राष्ट्रिय जगत्मा अझ बढी महŒव राख्छ ।
बगैँचामा लालीगुराँस, रुद्राक्ष, पुवाँलेका अलावा चाँप (सन् १९७७ राष्ट्रपति, बर्मा), मेटासेकुवा (सन् १९७८ भाइस प्रिमिअर, चीन), गुन्सी (सन् १९७८ राष्ट्रपति, श्रीलङ्का), जिङ्को (सन् १९८१ प्रिमिअर, चीन), कोइरालो (सन् १९८२ मेम्बर अफ प्रेसिडेन्सी, युगोस्लाभिया), देबदार (सन् १९८२ मेम्बर अफ प्रेसिडेन्सी, बङ्गलादेश), चिनार (सन् १९८३ राष्ट्रपति, पाकिस्तान), शिरीष (सन् १९८४ राष्ट्रपति, चीन), किम्बु (सन् १९८५ राष्ट्रपति, माल्दिभ्स), लेखपाङे (सन् १९८६ राष्ट्रपति, भारत), सिरिँगे (सन् १९८७ राष्ट्रपति, रोमानिया), ढाले कटुस (सन् १९९६ राष्ट्रपति, जर्मनी), रुद्राक्ष र पौलोनिया (सन् २०११ राष्ट्रपति, नेपाल), लौठसल्ला (सन् २०१६ राष्ट्रपति, नेपाल)बाट बिरुवा रोपण गरिएका छन् । सन् २०१६ मा सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रोपिएको लौठसल्लामा पनि फूल लागिसकेको छ । लौठसल्ला क्यान्सर निको पार्ने औषधीय गुण भएको बहुमूल्य बिरुवा हो ।
नेपालभित्रका विशिष्ट पाहुनाको स्वागत–सत्कारबाहेक विगतलाई नियाल्दा के देखिन्छ भने सन् १९९६ मा जर्मनीका राष्ट्रपति रोमन हर्जोग दम्पतीको आगमनपछि राष्ट्रिय वनस्पति उद्यानको भीभीआईपी बगैँचाले अन्तर्राष्ट्रिय विशिष्ट पाहुनाको स्वागत गर्ने मौका पाएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र लामो समयपछि हाम्रो निम्तो स्वीकारेर नेपाल भ्रमणमा चीनबाट पाल्नुभएका राष्ट्रपति सी चिनफिङलाई पनि उद्यानको भीभीआईपी बगैँचामा स्वागत गर्न पाइएन । यी दुई विशिष्ट पाहुनालाई यहाँ स्वागत गर्न पाएको भए यसले वातावरणमा सकारात्मक प्रभाव पाथ्र्यो । राष्ट्रिय वनस्पति उद्यानको पनि नयाँ इतिहास रचिन्थ्यो । साथै वनस्पति उद्यानको महŒवबारे नयाँ पुस्ताले पनि जानकारी पाउँथे । नेपालका रैथाने बिरुवा र जैविक विविधताबारे प्रचार–प्रसार हुन्थ्यो । ‘फ्लोरा’ प्रकाशनको काम सरकारको प्राथमिकतामा पर्न सक्थ्यो । द्विपक्षीय, त्रिपक्षीय वा बहुपक्षीय आत्मीयता अरू झाँगिन्थ्यो । त्यसैले आउने दिनमा गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानको भीभीआईपी बगैँचा स्वदेशी तथा विदेशी विशिष्ट पाहुना र सम्पूर्ण आगन्तुकको आतिथ्यका लागि तम्तयार छ । कोरोनाको कारण उद्यान हाल बन्द छ ।