भागवत खनाल
पूर्वीय दर्शनमा सृष्टिको आरम्भ शब्दबाट भएको विश्वास गरिन्छ । शब्दलाई ब्रह्म पनि भन्ने गरिएको पाइन्छ । प्रारम्भको शब्द ॐ कारनाद या प्रणव हो भन्ने विश्वास छ । नादब्रह्मका दुई रूप हुन्छन्, आहत र अनाहत । कुनै आहत या ठक्करविना उत्पन्न हुने अनाहतनाद हो । दुवै कान बन्द गर्दा जस्तो ध्वनि सुनिन्छ, अनाहतनादको ध्वनि पनि त्यस्तै हुन्छ भन्ने भनाइ रहेको छ । अनाहतनाद वर्णनातीत र अप्रतिम छ । कुनै वस्तुमा ठक्कर खाएर उत्पन्न हुने ध्वनि आहतनाद हो । शब्दका दुई प्रकार हुन्छन्– सूक्ष्म र स्थूल । प्रथमतः विचार र भावहरू सूक्ष्म र अव्यक्त शब्दका रूपमा विकसित हुन्छन् । तिनै विचार र भावहरू नाद या ध्वनि बनेर स्थूल रूपमा बाहिर प्रकट हुन्छन् । व्यक्तिको विचार र भाव जस्तो हुन्छ, शब्दहरू पनि त्यसै रूपमा बाहिर प्रकट हुन्छन् भन्ने भनाइ प्रसिद्ध छ ।
पूर्वीय दर्शनमा वेदलाई अपौरुषेय र सनातन मानिन्छ । श्रीमद्भागवत महापुराणमा नारदले व्याससँग भन्छन्, ‘म भगवान्प्रदत्त स्वरब्रह्मबाट विभूषित विणामा तान भरेर उनै परब्रह्म परमात्माको लीलागान गर्दै सारा संसारभरि विचरण गर्छु ।’ सभ्यताको अस्फुट समयमा मानव जातिले ध्वनिकै आधारमा भाषाको विकास गरेको मानिन्छ । सायद मानवले जुन–जुन वस्तु वा प्राकृतिक घटनाबाट जस्तो–जस्तो आवाज सुन्यो, त्यसैको अनुकरण गर्दै शब्दको सिर्जना ग¥यो होला । मानव सभ्यताको विकास संसारभरि एकै समयमा एकै तरिकाले भएको छैन । निःसन्देह वैदिक सभ्यता सर्वप्राचीन हो । अवश्य पनि सुसंस्कृत र सुललित शब्दहरूको प्रथम प्रयोग वेदमा भयो । वेदलाई श्रुति पनि भनिन्छ । श्रुति परम्पराबाट पुस्तान्तर हुँदै उत्तराधिकारको रूपमा सर्दै गएको हुँदा वेदलाई श्रुति भनिएको हो ।
जुन भाषामा जति धेरै शब्द हुन्छन्, त्यो भाषा त्यति नै समुन्नत मानिन्छ । शब्दको प्राचुर्यले अभिव्यक्तिलाई समेत उच्चता प्राप्त हुँदै जान्छ । संस्कृत विश्वकै प्राचीन र उन्नत भाषा भएको हुँदा संस्कृत व्याकरण र साहित्यसमेत उत्कृष्ट रहेको छ । नेपाली भाषाको मातृभाषा संस्कृत हो । तथापि यसलाई अङ्ग्रेजी, अरबी, फारसी, चिनियाँ, तुर्की, पोर्तागाली आदि विदेशी आगन्तुक र मैथिली, नेवारी, मगर, तामाङ, लिम्बू, थारू, भोजपुरी आदि स्वदेशी आगन्तुक शब्दले अझै समृद्ध पारेको छ । नयाँ–नयाँ शब्दको विकासले भाषालाई जीवन्त बनाउँछ । भाषा जीवन्त हुँदै गएपछि शब्दका अर्थहरू पनि उन्नत हुँदै जान्छन् ।
एउटै अर्थ बोक्ने भिन्न शब्दमा भिन्न भावनाको गहिराइ अनुभूत हुन्छ । शब्दका तीन शक्ति हुन्छन्, अभिधा, लक्षणा र व्यञ्जना । शब्दको शाब्दिक अर्थ र भावार्थ एउटै हुनु अभिधा, वाक्यमा प्रयोग भएका शब्दको सामान्य अर्थ र भावार्थ फरक भयो भने लक्षणा र सामान्य अर्थ एउटै भए तापनि भिन्न व्यक्तिले आ–आफ्नो अवस्था र परिवेशअनुसार फरक अर्थ लगाउने स्थितिमा व्यञ्जना हुन्छ । विम्ब, अलङ्कार, उपमा, रूपक र व्यङ्ग्य आदिको प्रयोगले शब्दमा निखार आउँछ ।
‘बा’ शब्दमा जुन गरिमाको अनुभव हुन्छ, पितामा हुँदैन ।
‘नक्कली’ सामान मात्र हुँदैन युवती पनि हुन्छे, नक्कले युवक पनि हुन्छ । यहाँ दउरामात्र चिरिँदैन, हृदय पनि चिरिन्छ । घाउमात्र दुख्दैन मन पनि दुख्छ । देशलाई पनि दुख्छ, पीडा हुन्छ । शब्दको खेलमा देशले ‘काँचुली’ फेर्छ । माया मर्छ । मानिस भुक्छ । गोरु ब्याउँछ । घटना नमीठो हुन्छ । हिमाल धुरुधुरु रुन्छ । फूल मुसुमुसु हाँस्छ । तीतो मीठो अनुभव हुन्छ । कहिले यो ज्यानै शीतल हुन्छ त कहिले दिमाग तात्छ । कुरा पनि चुहुन्छ । शब्द मनुष्यजस्तै कहिले चतुरे र कहिले लोसे हुन्छ । शब्द आर्यघाटमा विरक्त, पिकनिकमा झक्कास, जात्रामा टुइँके र रत्यौली एवम् फागुमा छाडा हुन्छ ।
हामीलाई करेलामात्र होइन, सत्य पनि तीतो प्रतीत हुन्छ, शब्द तीतो लाग्छ, सम्बन्धहरू तिक्ततापूर्ण हुन सक्छन् । मनुष्य कहिले गाई हुन्छ, कहिले स्याल र कहिले काग । तातो दूधले मुख पोलेको बिरालोमात्र होइन, मानिस पनि शब्दलाई फुकेर पहिचान गर्छ । सधँै कामोत्तेजित भइरहने व्यक्तिलाई ‘बोको’ भनिदिए सबै छर्लङ्ग हुन्छ । हामी खराब कुरालाई ‘आँखा चिम्लेर’ प्रोत्साहन दिन्छौँ । मानिसलाई मानिसले मात्र होइन हावा, हिमाल, वन र फूलले समेत ‘चुम्बन’ गरिरहेको हुन्छ । मानिसले खानामात्र होइन, गम खान्छ, खामोस खान्छ, कुरा, टाउको र घुस पनि खान्छ । पानीमात्र ‘पानीदार’ हुँदैन, घोडा, मान्छे र कुरा पनि पानीदार हुन्छ । कराहीमा मात्र सेल पाक्दैन, मनमा, ‘मिटिङ’ मा र गोप्यतामा पनि सेल पाक्छ । हामी काँचो पिँडालु त खादैनौँ तर परिस्थितिहरू नै निल्नु न ओकल्नु बनिदिन्छन् । हामी दिनभरिको सिकारलाई कान्छो बाउको अनुहारजस्तो देख्न बेर लाउँदैनौँ । मानिस कहिलेकाहीँ सग्लो नाक हुँदाहुँदै नाक गुमाउँछ । हुक्काचिलिम देख्दै नदेखेको मानिस ‘हुक्के’ बन्छ । मानिसले छेपाराले जस्तो रङ फेर्छ । मानिस कहिले बतासिन्छ, कहिले बोलेरै पीठो बेच्छ, कहिले तित्रोजस्तै बास्छ र कहिले सग्लै मानिस ‘खाल्टामा’ पर्छ ।
शब्दको खेल विचित्र छ । बेलामौकामा शब्दले पनि शालीनता खोज्दोरहेछ । कहिलेकाहीँ त यो ‘सामन्ती’ पनि बन्दोरहेछ । जनमानसमा सबैभन्दा ज्यादा प्रयोग हुने निक्खुर जनबोलीका शब्दलाई ‘फोहोर र असभ्य कुरा’ भनेर निषेध गरिएको छ । ठूलो र सभ्य हुनका लागि शौचालय जानुपर्छ, सु गर्नुपर्छ । झन् सभ्य देखिन सुकला, ज्युनार, सवारी, मर्जी, लिङ्ग, योनी या अप्ठेरो ठाउँ, स्वर्गे, अधोवायु आदि भन्नुपर्छ । गाई, भैँसी ब्याउने हुन्छ तर मानिस गरुङ्गो जिउको हुन्छ । तरुनो भन्न हुन्छ । तर, भरसक तरुनी नभनी युवती भन्नुपर्छ । समाजमा बहुतै प्रचलित भाते, गासे, मुला, पीपलपाते, तिहुनचखुवा, बेसारे, काउले, नारद, दुर्वासा, कुरौटे, खन्चुवा, पिढीसाँढेजस्ता शब्द सम्बन्धितको अगाडि भन्नुहुँदैन । भन्नैपर्यो भने सबैले बुझ्ने तर ‘मलाई किन यसो भनिस् ?’ भनेर निहँु झिक्न नमिल्नेगरी वक्र पारेर भन्नुपर्छ ।
संस्कृत काव्यका महान् शिल्पकार महाकवि कालीदास शब्दशक्तिको उत्कृष्ट प्रयोगद्वारा पाठकमा उत्तेजन, जोश, प्रेरणा र चान्चल्यमात्र उत्पन्न गर्दैनन्, अपितु उद्दीप्त र व्यथित समेत बनाउँछन् । कुमार सम्भवमा कालीदास बोल्छन् ‘स्तनं धयन्तं तनयं विहाय विलोकनाथ त्वरया व्रजन्ती । सम्प्रस्नुताभ्यां पदवीँ स्तनाभ्या सिषेच काचित्ययसा गवाक्षं ।’ अर्थात् स्तनै चुसेको शिशुलाई छोडी त्यो हेर्नका निम्ति छिटो दगुर्दी । धारा झरेका स्तनबाट बाटो झ्यालै पनि कोही त सिन्चिदिन्थिन् ।
(अनु. ः कोमलनाथ)
पार्वतीको पाणीग्रहण गर्न महादेव दुलहा बनेर आउँदा उनको व्यक्तित्व, यौवन र रूपबाट मोहित भएका रमणीहरूको विह्वलता, रहर र किन्चित पार्वतीप्रतिको ईष्र्याको सम्बन्धमा प्रयोग भएका शब्द अनुपम छन् । हाम्रा महाकवि देवकोटा पनि शब्दका महान् शिल्पी हुन् । उनी ‘सुलोचना’मा यसरी बोल्छन्, ‘यही हो जिन्दगी मेरो यही हो भाग्यकर्म यो । गुलाफमा थिएँ सिस्नो बनेकी आज बस्दछु । आफ्नै काँढाहरू आफ्ना आँगमा लिन पोलिन ।’ नाट्यसम्राट बालकृष्ण समले ‘अमरसिंह’मा सुगौलीको सन्धिले पीडित अमरसिंह थापाबाट वेदना पोखाउँदै भन्छन्, ‘हारेको छैन, हामीले खै छातीमा कतै पनि यहाँ गोली म पाउन्न खै म खै कसरी
मरेँ ?’ आफ्नी धर्मपत्नी गौरीको निधन भएपछिको अनुभूति सम्बन्धमा राष्ट्रकवि माधव घिमिरेले पोखेका मन छुने शब्द यस्ता छन्– ‘हामी जीवन मात्र भोग्छौँ, मृत्युबोध गर्न सक्दैनौँ । मनमा बसेको मान्छे, उसको जीवन टुट्दा हृदयमा उत्पन्न कम्पन, सायद यही नै मृत्युबोध हो । ओछ्यानमा सँगै सुतेकी गौरी, मध्यरातमा उनले संसार छोडिन् । मैले मृत्युस्पर्श गरेँ । कलकलाउँदा दुई छोरी तोतेबोलीमा आमा खोज्थे । म अट्ठाइसवर्षे जवान, बाईस वर्षकी जहानले जीवन छोडिन् । भ्रमझैँ लाग्यो ।’ शोकलाई यति सुन्दर ढङ्गले सरल शब्दमा व्यक्त गर्ने क्षमता राख्ने यस्तै मनीषीले हो भाषालाई समृद्ध पार्ने ।
शब्दको शक्तिले उत्तेजना, जोश, प्रेरणा, चान्चल्य र उद्दीपनमात्र उत्पन्न गर्दैन । शब्दले प्रेम, घृणा, पश्चाताप, झगडा, मिलाप र सद्भाव पैदा गर्नमा पनि भूमिका खेल्छ । शब्दको करामतले नै प्रीति गर्ने सहृदयी जन्माउँछ भने वैरीसमेत उत्पादन गर्छ । कामवासनाले विक्षिप्त बनेका वृद्ध बाबुको मनोकाङ्क्षा पूरा गर्न युवराज देवव्रतले गरेको अनुचित ‘भीष्मप्रतिज्ञा’ले उनलाई आजीवन पीडा दियो । द्रौपदीले सम्पत्ति, सौन्दर्य, यौवन र महाबली पाँच पतिको अभिमानले प्रेरित भई दुर्योधनलाई
‘अन्धाको छोरो अन्धा’ भन्दै शब्दवाण प्रहार गरेर कुलको सर्वनाशको निमित्त बनिन् । दशरथले भावुकतावश ‘कान्छी’लाई जे माग्यो त्यही दिने प्रण गर्दा धोका खानुप¥यो । दक्ष प्रजापतिले कटु शब्दले जेठो ज्वाईंको अपमान गर्दा बोका बन्नुप¥यो । शिशुपालले उनानसयपटक गाली गर्दा पनि माफी पाए, किन्तु लागेको बानी छाड्न नसक्दा आफ्नै मामाको छोराको हातबाट मर्नुप¥यो । कृष्णका छोरा साम्बले ऋषिहरूलाई खिसी गर्दै जिस्क्याउँदा यदुवंशको सर्वनाशको निमित्त बन्नुप¥यो । राजा द्रुपदले बालसखा द्रोणलाई अपमानका ‘शब्दतीर’ चलाउँदा सजाय पाउनुप¥यो । प्रधानमन्त्री माथवरसिंह थापाले भान्जा जङ्गबहादुरलाई परिहासमा ‘राजाले आदेश दिए तिमीले मलाई र मैले तिमीलाई मार्न तयार हुनुपर्छ’ भनेर तिनै भान्जाबाट आफ्नो जीवनलीला समाप्त पार्ने मार्ग प्रशस्त गरिदिए ।
स्वामी आनन्द अरूण लेख्छन्, ‘धन, मान, सौन्दर्यको अहङ्कारले मानिसलाई रूपान्तरणको बाटोमा हिँड्न दिँदैन किनभने आफ्नो वि(िशष्टताको भ्रमले उसलाई सत्यको सच्चा धरातलमा उत्रन दिँदैन ।’ शक्ति र सत्ताले व्यक्तिलाई टुप्पी समातेर बलात् अमानुषिक ‘शब्दाहङ्कार’तर्फ तान्ने सम्भावना हुन्छ । अहङ्कार कहिले शब्दमा त कहिले हाउभाउ, कटाक्ष, आडम्बर र ठस्सामा अभिव्यक्त हुन्छ । नपाउनेले केरा पायो भने बोक्रा पनि बाँकी राख्दैन भन्ने उक्ति त्यसै प्रसिद्ध भएको होइन । हाउभाउ, आडम्बर र विलाशितारूपी अभिमानबाट व्यक्त हुने शब्दहरू झनै गहिरा हुन्छन् । शक्तिले सत्य कुरा सुन्न चाहँदैन किनकि सत्य अभिव्यक्त भएका शब्दलाई सुन्यो भने आफ्नो महानताको भ्रम टुट्ने डर हुन्छ । दम्भको विषयमा प्रसिद्ध दार्शनिक नित्सेले भनेका छन्, ‘जब–जब म माथि–माथि चढ्दै जान्छु, अभिमान नामको कुकुर मेरो पछि लाग्छ ।’
शब्दरूपी कुठारको प्रहारबाट घायल भएका ‘दोस्त’हरू पुनः शब्दरूपी फूलबुट्टाबाट मिल्छन् पनि । तथापि कुठाराघात सच्चा आशयबाट गरिएको भए तापनि गलत नै हुन्छन् । बनावटी या बुट्टेदार शब्दको माध्यमबाट हुने मेलमिलापमा
‘इमान’ नहुने हुँदा यस्तो मिलाप ‘भरतमिलाप’ नभई कपटी जुवा अघिको कुरूवंशीको मिलापजस्तो हुन पुग्दछ । प्रायः राजनीतिमा ‘मसालेदार’ शब्दको खुब प्रयोग हुने गरेको पाइन्छ । मानिस
‘मिलावटी मिलाप’मा पनि मख्ख पर्छन् । त्यस्ता मिलापको प्रशंसा गर्नसमेत पछि पर्दैनन् । कलह र मेलमिलाप दुवै जीवनका वास्तविकता हुन् । अपितु त्यसक्रममा कस्ता शब्दको प्रयोग गरिन्छ भन्ने कुरा निर्णायक हुन्छ । कलहको कारण प्रायः कलहभित्रै हुन्छ, बाहिरी कारणको खोजी बहानामात्र हो । सहजता, सरलता, नम्रता र शालीनताविनाका शब्दको प्रयोगले जीवनको प्रवाह कठिन हुन्छ, चाहे त्यो घरायसी, सामाजिक या राजनीतिक नै किन नहोस् ।