सन्दीप सापकोटा
पशुपतिनाथ त्रिबिन्दु निर्मित कामकलायुक्त जलहरिमाथि विराजमान परम आराध्य लिङ्गमय आशुतोष शिव हुनुहुन्छ । देशमा कुनै अनिष्ट भएमा, रोगव्याधि लागेमा, युद्ध भएमा, कुनै प्राकृतिक प्रकोप भएमा पशुपतिनाथलाई क्षमायाचना गरी पूजा गर्ने परम्परा रहिआएको छ । पशुका रक्षक, मोक्षदाता, परब्रह्मका रूपमा पुजिने पशुपतिनाथलाई साउन महिना सर्वथा प्रिय रहेको शास्त्रहरूमा उल्लेख गरिएको छ । यस समयमा शिवका विविध स्वरूपको आराधना गर्नेले लौकिक एवम् पारलौकिक सुख प्राप्त गर्छन् भन्ने मान्यता रहिआएको छ । पशुपतिनाथको शास्त्रीय चिन्तनका विविध पक्ष र साउन महिनाको शिवसँगको सम्बन्धबारे यहाँ प्रकाश पार्न खोजिएको छ ।
पशुहरूका मालिक पशुपति
‘पश्यतीति पशु’ अर्थात् जसले अरूलाई देख्छ, त्यसलाई पशु र ‘पशो पतीति पशुपति’ अर्थात् सबैलाई देख्नेहरूका मालिकलाई पशुपति भनेर शास्त्रमा बताइएको छ । पशुपति शब्दले व्यापकता र साक्षीभाव देखाउने भएकाले परम ईश्वरका रूपमा पशुपतिलाई पुज्ने परम्परा रहिआएको छ । शास्त्रले जीव र शिवको सम्बन्धलाई देखाएको छ ।
जीवः शिवः शिवो देवः स जीवः केवल शिवः ।
पाशबद्धो भवेज्जीवः पाशमुक्त सदाशिवः ।।
(अर्थात् जीव नै शिव हो, शिव नै देवता हो, जीव केवल शिव हो । पाशको बन्धनमा रहेको पशु रूप प्राणी जीव हो भने पाश मुक्त भएपछि त्यही जीव शिव हो ।)
कुलार्णव तन्त्र (१३।९०)ले इन्द्रीयजन्य विषयको उपभोगमा नित्य लिप्त रहने तथा लज्जा, शङ्का, भय, घृणा, शील, जाति, कुल र जुगुप्सारूपी अष्टपाशमा जेलिएर बसेको जीवलाई पशु र यी पाशलाई काटेर परम तŒवबोध गराउने नै पशुपति हुन् भनेर व्याख्या गरेको छ । अज्ञानरूपी पाशोमा बाँधिएका पशु (चेतनावान् जीवात्मा)को मोहरूपी पाशोलाई छिनालेर कल्याण एवम् अनुग्रह गर्ने ईश्वर पशुपति हुन् । शिव पुराणले अचेतन मायाको प्रवर्तक, सम्पूर्ण रहस्यका ज्ञाता–सर्वज्ञ, सर्वव्यापी, सततोदित, नित्य र मुक्त बुद्धका रूपमा पशुपतिको व्याख्या गरेको छ । हिमवत्खण्डमा पशुपतिनाथलाई पूर्णज्योतिर्लिङ्गका रूपमा व्याख्या गरिएको छ भने वेदमा पशुपतिलाई पार्थिव जगत्का अधीश्वर, उग्ररूप र कल्याणमय रूपका साथै समस्त भुवनका मालिक तथा विश्वव्यापी परमसत्ताका रूपमा महिमागान गरिएको छ । पञ्चब्रह्मोपनिषद्मा भगवान् को हुन् ? भनी शाकलले पिप्लाद ऋषिसँग प्रश्न गर्दा तत्पुरुष, अघोर, सद्योजात, वामदेव र ईशानरूप धारण गर्ने भुवन मालिक नै पशुपति हुन् भनेका छन् । शिवपुराण, लिङ्गपुराण, स्कन्दपुराण, श्वेताश्वतरोपनिषद्लगायतका ग्रन्थहरूले शिवतŒवको सार नै कल्याण हो भनेर व्याख्या गरेको छ । अतः पशुपति कल्याणको एउटा अभिव्यक्ति हो, मूर्तरूप हो ।
पशुपतिनाथ र नेपालबारेमा स्कन्दपुराणको हिमवत् खण्डको नेपाल महात्म्यमा सविस्तार व्याख्या गरिएको छ । बाह्र ज्योतिर्लिङ्गमध्ये केदारनाथको शिरोभाग मानिने पशुपतिनाथको दर्शन नगरी तीर्थयात्रा गरेको पूर्ण मानिँदैन । यसर्थ भारत, श्रीलङ्कालगायत हिन्दुको बाहुल्य रहेको मुलुकबाट पशुपतिनाथमा दर्शन प्रयोजनार्थ भक्तजनहरू आउने गरेका छन् । पशुपतिनाथको पूर्वपट्टि रहेको पुण्य सलिला बाग्मती (वाग्वती) नदी काठमाडौँको पूर्वोत्तर कोणमा रहेको बागद्वारबाट प्रवाहित भएर बग्छ, जुन पशुपति क्षेत्रको प्रमुख आर्कषण पनि हो ।
सकृदपि नमन्गत्वा तत्पुरे पशुपं प्रभुम् ।
सर्व पुण्यंफलं लब्ध्वा विमुक्तः पशुयोनितः ।। – हिमवत् खण्ड
(अर्थात् जोकोहीले पनि पशुपतिनाथको नगरीमा गएर, एकचोटिमात्र प्रणाम गर्छ, उसले सबै धर्मको फल प्राप्त गरी पशुयोनी (चौरासी लाख) बाट मुक्त हुन्छ ।)
पशुपतिका स्वरूप
ऋग्वेदले ‘एकं सद् विप्रा बहुधा वदन्ति’ अर्थात् एउटै ब्रह्मका विविध रूप हुन्छन् भनेको छ । त्यस्तै पशुपतिको एक रूपबाट विभिन्न स्वरूपहरूको उत्पत्ति भएको वैदिक वाङ्मयले जनाउँछ । पशुपति एकै भए पनि विभिन्न स्वरूपमा रहेर संसारमा विभिन्न क्रियाहरूको सञ्चालन गर्छन् । पशुपतिका छवटा मुख लिङ्ग रहेका छन् । पूर्वलाई तत्पुरुष, दक्षिणलाई अघोर, पश्चिमलाई सद्योजात, उत्तरलाई वामदेव, उध्र्व (आकाश) तर्फको वक्रलाई इशान र अधोमुखलाई कालाग्निरुद्र भनी शास्त्रले पशुपतिको स्तुतिगान गाएको छ । चार दिशाका चार मुखमात्र दृश्य रूपमा रहेका छन्, बाँकी दुई उध्र्ववक्र र अधोवक्रका मुख लुप्त रहेका छन् । कालाग्निरुद्रले संहार गर्ने हुँदा बाँकी पाँच मुख लिङ्गको मात्र पूजा हुने गर्छ, त्यसैले पशुपतिलाई पञ्चवक्र महादेव पनि भन्ने गरिएको छ । यी पाँच श्रीमुख पञ्चतŒवका परिचायक हुन् र सबै प्रणवाकारमा परिलक्षित छन् । तन्त्रज्ञानको प्रवर्तक
तन्त्रशास्त्र पशुपतिको षड्मुखद्वारा नै निःसृत भएको मानिन्छ । पशुपतिनाथका छ मुहारमध्ये प्रत्येक मुहारमा बेग्लाबेग्लै शक्ति रहेका हुन्छन् । ती हुन्– पूर्वमा पूर्णेश्वरी, दक्षिणमा निशेश्वरी, पश्चिममा कुब्जेश्वरी, उत्तरमा गुह्येश्वरी (सिद्धेश्वरी), उध्र्वमा कामेश्वरी र अधोमुखमा बज्रेश्वरी (तारेश्वरी) । शिवले गुरूपद धारण गरी यी छ मुखबाट निस्केको उपदेशहरू पार्वतीले यी छ मुखमा हरेकका शक्तिस्वरूपा (शिष्य भावमा रहेर) भएर ग्रहण गरिन् । पशुपतिका यी षड्वक्रबाट निस्केका उपदेशहरूलाई आम्नाय भनिन्छ । पूर्वमुखबाट निस्केको ज्ञानलाई पूर्वाम्नाय, दक्षिणमुखबाट निस्केको ज्ञानलाई दक्षिणाम्नाय, पश्चिमबाट निस्केकोलाई पश्चिमाम्नाय, उत्तरमुखबाट निस्केकोलाई उत्तराम्नाय, उध्र्वमुखबाट निस्केको ज्ञानलाई उध्र्वाम्नाय र अधोमुखबाट निस्केको ज्ञानलाई अधराम्नाय भनिन्छ । यी सम्पूर्ण आम्नायअनुसारका पूजापद्धति बेग्लाबेग्लै हुने गर्छन् । यी आम्न(ायहरू तन्त्र शास्त्रमा मार्गका रूपमा रहेका छन् र यही मार्गमा साधकहरू प्रवृत्त रही आचरण गर्ने गर्छन् । कुलार्णव तन्त्रअनुसार पूर्वाम्नायीले सारूपयता, दक्षिणाम्नायी उपासक महाकाल स्वरूप हुने, पश्चिमाम्नायीले ऐहिक फल, उतराम्नायीले सामीप्य मुक्ति, उध्र्वाम्नायीले मुक्ति र अधराम्नायीले लाभ, त्याग, उपकार आदि फल पाइने उल्लेख छ । शिवको मुखबाट निस्केको र पार्वतीले श्रवण गरी मनमा संरक्षित गरेको ज्ञान नै आगम (तन्त्र) हो । यही परम्परालाई नै श्रुतिस्मृति परम्परा (सुन्ने र स्मरण गर्ने) भन्ने गरिन्छ । यसरी सम्पूर्ण आगम शास्त्रका ज्ञाता तथा प्रवर्तकका रूपमा पशुपतिनाथलाई लिने गरिन्छ ।
पशुपतिनाथ र शक्ति उपासना
पशुपतिनाथलाई श्रीविद्याङ्गका प्रधान देवता मानिन्छ । त्यसैले पशुपतिनाथमा केवल शिवको मात्र पूजा नभई, हरेक मुखमा शक्तिको र उध्र्वमुख अर्थात् माथि आकाशतिर फर्किएको मुखमा श्रीचक्र (श्रीयन्त्र) मा पराम्बा राजराजेश्वरी ललितत्रिपुरसुन्दरी (कामेश्वरी शक्ति) को पूजा हुने गर्छ । पञ्चामृत पश्चात् मूलभट्टले सर्वप्रथम चारै मुहारमा चन्दनले त्रिपुण्ड्र लगाई शृङ्गार गर्छन् र मस्तकमा सुवासित तैलभ्याङ्ग स्नान गरी अत्तर लगाउँछन् । त्यसपश्चात् उध्र्ववक्रमा चन्दन लेपन गरी सुवर्णकलमले श्रीयन्त्र बनाउने गर्छन् र श्रीयन्त्रको केन्द्रबिन्दुमा सिन्दुर चढाई ताण्डुल (अछेता) लगायतका द्रव्यले शक्ति उपासना गर्छन् । तन्त्र र वैदिकाचार मिश्रित पद्धति मुताबिकका हस्तक्रिया (मुद्रा)हरू समर्पण गरी कमल र अन्य मौसमी पुष्पहरूले पशुपति लिङ्गमा शिवशक्तिको अर्चना हुने गर्छ । यसपछि वैदिक तान्त्रिक पद्धतिबाट पशुपतिनाथको उपासना हुने गर्छ । श्रीयन्त्रले पूर्ण रूपमा शक्तिको सर्वोच्चतालाई जनाउँछ । हरेक श्रीमुखहरूमा स्व–स्वमुखका शक्तिहरूको समेत पूजा हुने गर्दा पशुपति शिवशक्ति स्वरूप परब्रह्म हुनुहुन्छ ।
किन गरिन्छ जलाभिषेक ?
जो रुद्रदेव रूपले अग्निमा, वरुणको रूपले जलमा र सोमका रूपले लता एवम् औषधिहरूमा व्याप्त छन् तिनले सबैको रचना गर्छन् । ती अग्निरूप रुद्रलाई नमस्कार छ (अर्थववेद ७।८७।१) । महाभारतको अनुशासन पर्वमा शिवले पार्वतीलाई लौकिक भावः शीत र उष्ण गरी दुईप्रकारको हुने कुरा उल्लेख गरिएको छ । सौम्य शीतल भावमा विष्णुमूर्तिमा र उष्ण भाव रुद्रमूर्तिमा जगत्मा व्याप्त रहेकोे उल्लेख छ । शतपथ ब्राह्मणमा देदीप्यमान परिष्कृत अग्नि नै साक्षात् रुद्र हुन् भनी वर्णन गरिएको छ । अन्नरूप सोम पदार्थ शीतल स्वभावको भएकाले उक्त सोमको आहुतिबाट रुद्राग्नि शान्त स्वरूप धारण गर्दै शिव बन्छन् । यही सोम रूप शान्त पदार्थको आहुति बन्द भयो भने क्रुद्ध अग्नि भएर विश्वको संहारक कालाग्नि रुद्र बन्न पुग्छन् । पार्थिव औषधि, वनस्पति आदिले अग्निमा दिइएको आहुतिले रुद्र स्वतः सोममा परिवर्तित हुँदै जान्छन् र लोक कल्याण गराउँदै जान्छन् । शिवलिङ्गमा जलार्पण गर्नुको प्रमुख कारण रुद्रतेज शान्त गर्नका लागि पार्थिव औषधि, लता, वनस्पति आदि सोमरूप शीत पदार्थको समर्पण गर्नु हो । यसरी जगत् कल्याण र अभीष्ट सिद्धिका लागि रुद्रलिङ्गमा सोमरूप द्रव्य र सुशीतल जल वैदिक ऋचाहरूको पाठका साथै अर्पण गर्ने गरिन्छ । जलमात्र नभई, शीतलता प्रदान गर्ने पञ्चामृत, सर्वौषधि, तीर्थजल आदिबाट पशुपतिनाथको नित्यार्चनमा अभिषेक हुने गर्छ । नित्यपूजाबाहेक नैमित्तिक पूजाका रूपमा हरेक चान्द्रमासको अन्त्यमा पर्ने वर्षका १२ वटा पूर्णिमा र कार्तिक शुक्ल चतुर्दशीका दिन विश्व कल्याणका लागि महास्नान हुने गर्छ । अत्यन्त भयावह अग्निलाई शान्त गर्न शीतल जल, औषधिहरू, वनस्पति, अन्न आदिको प्रयोग हुन्छ, जसले अग्नि र सोमको बीचमा तादात्म्यता कायम गरी सृष्टि, स्थिति र संहारलाई सन्तुलित बनाएर राख्छ ।
साउन महिना र शिव
साउन शिवको अत्यन्त प्रिय महिना हो । यस महिनामा शिवलाई प्रसन्न गराउन भक्तजनहरू उपासनामा तल्लीन हुन्छन् । बेलपत्र, धतुरो, दूध, मौसमी फूलहरू, पञ्चामृतलगायतका द्रव्यले शिवको पूजा गर्ने प्रचलन छ । शिवभक्तहरू यस समयमा घरघरमा रुद्री लगाउने गर्छन् र सकेसम्म विभिन्न शिवालयमा दर्शनार्थ जाने गर्छन् । शिवलिङ्गमा केवल शिवको मात्र पूजा नभएर शक्तिको पनि पूजा हुन्छ । शिवका अङ्ग देवताहरू नाग, गङ्गा, चन्द्रमाको पनि पूजा हुने गर्छ । यसर्थ, शिवलिङ्गको पूजा गर्दा अखण्ड सौभाग्यको वरदान पाइने मान्यता छ । अतीव प्रसन्न मुद्रामा रहने, ध्यानमा तल्लीन, नागको माला लगाएका, खरानीले निधारमा त्रिपुण्ड्र धारण गरेका, गङ्गा र बालचन्द्रलाई आफ्नो शिरमा राखेका, हातमा त्रिशूल, डमरु लिएका, बाघ र हात्तीको छालाको पहिरन बनाएर नन्दीमाथि सवार, बायाँ काखमा पार्वतीलाई राखेर नित्य रमण गर्ने आशुतोष पशुपति शिवलाई नमस्कार छ भनी शास्त्रले शिवको महिमागान गरेको छ ।
नारीहरू साउन महिनामा हरिया पहिरन, रङ्गीचङ्गी शृङ्गार, हातमा मेहेन्दी, गलामा पोते, सिउँदोमा रातो सिन्दुरमा सजिएर शिवको व्रत बसी पतिव्रता धर्म उच्च रहोस्, प्रेम अखण्डित रहोस्, पारिवारिक सुख शान्ति कायम रहोस् भनी शिवको सकाम उपासना गर्छन् । विवाह नभएकी युवतीले सुसंस्कृत, सज्जन पति पाउँ भन्ने कामनासाथ व्रत लिन्छन् । हरियो रङ्गले साउनको प्रकृतिलाई सङ्केत गर्छ । असार महिनामा रोपेको धान साउनमा बिस्तारै ठूलो हुँदै आउँछ । कृषि अर्थात् आफूले गरेको कामले पनि बिस्तारै सकारात्मक सन्देश प्रसारित गर्दै जान्छ । प्राकृतिक वातावरण हराभरा हुन थाल्छ । चर्को घामलाई शीतल झरीले वातावरण अनुकूल बनाइदिन्छ । त्यसैलाई नारीहरूले आफ्नो जीवनशैलीमा ढाल्छन्, समुन्नत र सदावहार खुसियालीपूर्ण जीवनको कामना गर्छन् । यो महिनाभरि प्रायः भक्तहरूले मांसाहार गर्दैनन् अर्थात् साŒिवक भोजनमात्र गर्ने गर्छन् । दूधबाट खीर बनाएर साउन १५ मा खीर खाने चलन छ । जनैपूर्णिमाको अवसर पारेर बाह्रथरी गेडागुडीको सम्मिश्रण भएको क्वाँटी टुसा उमारेर खाइन्छ । यस्ता सुपाच्य र पोषिलो भोजनले मानव शरीरलाई शक्तिस्फुर्ति प्रदान गर्छ । साउन महिनाले आहारविज्ञानलाई पनि सरल र सुलभ ढङ्गबाट चित्रण गरेको छ ।
सर्वधर्म समन्वयका प्रतीक पशुपतिनाथ शैव, वैष्णव, शाक्त, गाणपत्य, कौल, बौद्ध, जैन आदि विविध धर्म सम्प्रदायका साझा आस्थाका केन्द्रबिन्दु हुन् । राष्ट्रियमात्र नभई, अन्तराष्ट्र्रिय सद्भाव र एकताका प्रमुख आधार बिन्दु हुन् । विश्व सम्पदामात्रै नभएर पशुपतिनाथ नेपालीको ढुकढुकी बनेर बसेका छन् । नेपाली सभ्यताको प्राचीनतम् प्रमाण बनेर नेपाली समीप रहेका छन् । पशुपतिनाथसँग सम्बद्ध सबै विषयवस्तुको गम्भीर खोज अनुसन्धान गरी ती विषयवस्तुमाथि प्रकाश पारिनुपर्छ । हाम्रो मौलिक संस्कार र संस्कृतिको रक्षणका लागि सम्बन्धित् सबैले आ–आफ्नो तर्फबाट ध्यान पु¥याउनु अपरिहार्य छ ।