मानव समाजमा कथाख्यान प्राचीन विधा मानिन्छ । लोकजीवनमा देखापरेका वीरगाथा, तन्त्रकथा, दन्त्यकथा, गाउँखाने कथा आदि हुँदै लोकसांस्कृतिक भाषाका विभिन्न प्रचलन र प्रयोग सँगसँगै हुर्केको कथा परम्परा मानव मनोविज्ञानका अनेकौँ तह र तन्तुमा प्रवेश गरेर यसले आफ्नो आधुनिक स्वरूप तयार गरिसकेको छ ।
जीवन छ र जीवनको कथा छ । जीवन छ र जीवन जस्तै जीवनको संवेदना पनि छ । जहाँ हर्ष, विस्मात वा आरोह, अवरोहका वृत्तमा व्यथा विरह र घात, प्रतिघात पनि मुखरित हुने गर्छ । त्यसैले कष्ट, वेदना, राग–वितराग, कुण्ठा, उदासीनता, तृष्णा, वितृष्णा, अभाव–अन्योल, आह्लाद–आनन्द पनि सँगसँगै रहन्छ, त्यही जीवनभित्र । तसर्थ आख्यानकार स्वयंले भोगेको र कल्पना गरेको जीवनको कुनै मनोभावलाई जस्ताको तस्तै प्रकट गर्दै उसले युगीन जीवन र राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिका सन्दर्भमा पनि आफ्नो सशक्त उपस्थिति देखाउने प्रयत्न गर्छ ।
कथामा जीवनको प्रतिविम्बन हुन्छ । यो जीवन राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक, यौनिक सबै प्रकारका तह र तप्कामा बाँडिएको हुन्छ । यी सबै चेतन अवचेतन स्थितिहरूलाई पात्रता र कथानक संरचनाका माध्यमबाट कथाकारको मनोदशाले उद्घाटन गर्दै आएको हुन्छ ।
नेपाली साहित्यमा तीसको दशकमा देखापर्नुभएका कथाकार किशोर पहाडीले मानवीय जीवनका विभिन्न ऊहापोह र सामाजिक सन्त्रासहरूलाई आफ्ना कथाख्यानका माध्यमबाट कुशलतापूर्वक सम्प्रेषण गर्नुभएको छ । उहाँको भर्खरै प्रकाशित ‘रोजा कथाहरू’मा रहेका कथासमूहले उपरोक्त तथ्य पुष्टि गर्दछ ।
‘रोजा कथाहरू’मा ३१ वटा स्वाद र शैलीका कथा समेटिएका छन् । नेपाली साहित्यमा रुचि राख्ने जोकोहीले एकपल्ट किशोर पहाडीका ‘रोजा कथाहरू’ (उहाँका चुनिएका कथाहरू) पढ्नैपर्ने देखिन्छ । युगीन जीवनको आख्यानिक लयमा कालपात्र र कालचिन्तनको समवेत स्वरसहित समाजका सूक्ष्म र संवेदनशील विषयमा प्रवेश गरेर मानव मनोलोकमा विचरण गर्दै दृश्य अदृश्य भाव जगत्लाई कुशलतापूर्वक उद्घाटन गर्ने किशोर पहाडी समकालीन कथाख्यानमा पहिलो स्रष्टा हुनुहुन्छ भन्नुपर्दा अतिशयोक्ति हुनेछैन । कथाकार पहाडीले कथाको सशक्तीकरणका लागि अकथाभित्र कथानक र कथानकभित्र पात्र उपनिषदताको ‘केमिस्ट्री’ तयार गरेर आफ्नो प्रयोगधर्मी छविको उत्खनन गर्नुभएको छ । यी परिप्रेक्ष्यमा उहाँले आख्यान उपलब्धिको विस्तारितता सञ्चार गर्दै ती–ती सूक्ष्म परिदृश्य अन्तर्गत रहस्य रोमाञ्चकता जोरेर निराकरण विधिको उपचारात्मकता पनि पहिल्याउनुभएको छ ।
समाजमा आन्दोलित कतिपय मार्मिक घटनाक्रम र उपेक्षित पात्र मनोजगत्का विषम परिस्थितिमाथि कसैको विहङ्गम दृष्टि पुग्न नसकिरहेका सन्दर्भमा कथाकार किशोर पहाडीको अर्जुनदृष्टिले ती गुमनाम स्थान, घटना, चरित्र र त्यहाँका परिस्थितिजन्यतालाई पहिल्याइदिएर कथाकारको सर्वश्रेष्ठ रचनाधर्मिता निर्वाह गरेको देखिन्छ । ‘रोजा कथाहरू’ मा जीवन नै जीवनका पात्रहरू भएका सन्दर्भमा ‘छाप्रो’ र ‘कलम’ जस्ता निर्जीवन पात्र पनि जीवन्त लयमा उभिएका छन्, जहाँ निर्जीवनमा जीवनको जीवन्त संवेदना चरितार्थ भएको अनुपम उदाहरण अर्को हुनसक्तैन ।
टोलमा, समाजमा, राष्ट्रमा, अन्तर्राष्ट्रमा अनगन्ती कथा भइरहेका हुन्छन् । पात्रहरू भिन्नाभिन्नै भेषभूषामा, भिन्नाभिन्नै मनोभावमा, भिन्(नाभिन्नै संस्कृतिमा हुर्किरहेका हुन्छन् । त्यहाँ ती–ती प्रकरणमा भिन्नाभिन्नै घटनाक्रमले, फरकफरक ढङ्गका उन्मादहरूले द्वन्द्वित मनोलोकहरूको
‘ग्लेसियर’ पनि तयार भइरहेको हुन्छ । यी कथाक्रमका कोष्ठभित्र सबैको दृष्टि पुग्न सकेको हुँदैन, अन्तर्संवाद जारी भइरहेको हुँदैन, अभिनीत पात्रहरूसित परिचय खुलेको हुँदैन । तथापि किशोर पहाडीजस्ता समाजशास्त्रीय मनोचिकित्सकीय आख्यानकारको उदयबाट मात्र कथाको पर्यवसान पहिल्याइने प्रचेष्टा हुन्छ । पहाडीका प्रचेष्टासित सामेल हुँदा ३१ प्रकारका व्यञ्जनले निर्मित यी ‘रोजा कथाहरू’बाट बेग्लाबेग्लै स्वाद र सन्तुष्टिको आनन्द प्राप्त गर्न सकिन्छ ।
‘अचानक’मा रहेको नमस्तेभित्र गाउँले जीवनको स्वार्थकेन्द्रित मनोवृत्ति, ‘अबोध’मा पिता उदयले सानी छोरी उमाको बालमनोविज्ञानमा गरेको खेलबाड,
‘अर्धाङ्गिनी र सिपाही’ भित्रका वीरबहादुर र उसकी स्वास्नीले बेग्लाबेग्लै भोग गरेको यौन परिपूर्ति, ‘आतङ्कको आँसु’मा माओवादी द्वन्द्वकालमा चेतनदाइले जस्तो सर्वसाधारण नागरिकले भोग्नुपरेको सङ्कट, ‘उत्कण्ठा’मा अवकाशप्राप्त पिताको बाध्यात्मक मनोदशा, ‘खिसी’मा देखापरेको पैसाको बोटको दयनीय चित्रण, ‘खुर्पा र आत्महत्याको सम्भावना’मा फारूख र सुखिया जस्ता कमजोर वर्गले भोग्नुपरेको गरिबी र लाचारी, ‘जाँड र जाँडको कीरा’मा रघुजस्ता लाचार र बेकार पात्रहरूले गर्ने आत्महत्या, ‘डोरी’मा पूर्णमान जस्ता कञ्जुस पात्रहरूको चित्रणले कथाका विभिन्न उत्कर्षलाई रोचक र संवेदनशील तुल्याएको अनुभव हुन्छ ।
‘तासको बहाल’मा गोकुलदाइ, उनकी सुपुत्री सुधा, दर्वेचाको छोरा विकास, दर्वेचाकी स्वास्नी र सिद्धिनाथलगायतका पात्रहरू यसै समाजका त्यस्ता चरित्र हुन् जसले उज्यालो भविष्यको खोजी गर्नेतर्फ चासो राखेका हुँदैनन् । ‘तेरो कथा लेखेँ शमशेर’मा नेपालमा आर्थिक समस्याको कारण क्रिश्चियन धर्ममा प्रवेश गर्ने बाध्यात्मक परिस्थिति, ‘धेरै जनकराजहरू र एउटा झोला’मा वर्तमान समयको आडम्बरपूर्ण जीवनशैली र विकृतिलगायत युवावर्गमा व्याप्त दुव्र्यसनको कुलत र हत्या हिंसाबाट लुटेको पैसाबाट आरामदायी जीवन बिताउने लालसाबाट वर्तमान पुस्ताको विकृत रूप प्रकट गरेका छन् । यसका अतिरिक्त यहाँ समेटिएका ३१ मध्येका अन्य कथाले पनि युगीन कालखण्डका भिन्नाभिन्नै लवज र भिन्(नाभिन्नै पटाक्षेपका प्रसङ्गलाई कालजयी चेतनातह सँगसँगै सम्प्रेषण गरेका छन् । तीक्ष्ण संवेदना र अपूर्व कल्पनाशक्तिको योगले निर्मित पहाडीका यी कथा जति चोटिला छन्, त्यति नै सान्दर्भिक र वस्तुनिष्ठ पनि छन् ।
महेश प्रसार्ईं