logo
२०८१ मंसिर १० सोमवार



कोरोनाभित्र तीज

शनिवार |


कोरोनाभित्र तीज


सुकृत नेपाल

‘डराएर हुन्न सानु, कोरोनाले छुन्न सानु
दिक्क लाग्यो घरै बसेर
खुुसी हुँदै बाँच्नुपर्छ, साथीसङ्गी नाच्नुपर्छ
दुई÷चार मिटर परै बसेर...’

तीजको छेकोमा बनाइएको यस कोरोना तीज गीतलाई गायक बद्री पंगेनी र गायिका कविता अर्यालले गाउनुभएको हो । गीतमा हामी डराउन हुन्न, सामाजिक दूरी कायम गरेर भए पनि नाच्नुपर्छ भन्न खोजिएको छ । हुन पनि हो, हिन्दु नारीले तीजलाई नाच्ने र गाउने चाडका रूपमा मनाउँदै आएका छन् । तर, कोरोना महामारीका कारण यसपालिको तीजमा यो रहर पूरा गर्न गाह्रो छ । घरभित्रै बसेर आफ्नै परिवारका साथमा यसपालिको तीजको रहर पूरा गर्नुपर्ने अवस्था आइलागेकोे छ । साथै एक महिना अघिदेखि बजार र पार्टी प्यालेसमा देखिने तडकभडक पनि शून्य भएको छ ।
गाउँघरतिर यो बेला मादलको घिन्ताङ र तीजको भाकाले महिलालाई प्रफुल्लित तुल्याउँछ । घरको कामले थिचिएका महिलाका लागि तीज एक उल्लासको चाड बन्ने गरेको छ । कतिपय महिलाले त माइतीघर जानका लागि तीज नै पर्खनुपर्ने बाध्यता छ । आफ्नो जन्मघर, आमाबुवा, भाइबहिनी, अन्य नातागोता र साथीसङ्गीलाई चटक्क छोडी पराईघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कम गर्ने यो एउटा महŒवपूर्ण अवसर पनि हो ।
गायक बद्री पंगेनी भन्नुहुन्छ, ‘अहिलेको पहिलो प्रथामिकता भनेको बाँच्नु नै हो । बाँचियो भने त तीज गीत त कति गाइन्छ कति । यसपटकको तीजमा आफ्नै घरमा शिव–पार्वती सम्झेर पूजा गर्न उहाँले सबैलाई सल्लाह दिनुभयो । सकेसम्म घरबाहिर नजान पनि उहाँले आग्रह गर्नुभयो । उहाँले अहिलेका तीज गीत एकदमै भड्किलो भएकोमा दुःख पनि व्यक्त गर्नुभयो । यसपालि कोरोनाको असरले तीज मनाउन अप्ठ्यारो भयो । तर, अर्को वर्ष सजिलो होला नि भन्दै उहाँले तीजका भाकामा दाजुभाइले पनि साथ दिनुलाई सुखद पक्षका रूपमा लिनुभएको छ ।
गायिका राधिका हमालले भने गएको वर्षजस्तो यस वर्ष तीजमा केही तामाझाम नहुने भन्दै दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘यदि कोरोनाको त्रास नभएको भए, हामी विदेशमा कार्यक्रम गरिरहेको हुन्थ्यौँ । अब त दुई÷चारजना गायिका साथी भेला गर्ने, सामाजिक दूरी कायम गरेर वरिपरिका मन्दिर गएर यो तीजलाई बिदा गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘फेसबुक लाइभ र भचुर्अल माध्यमबाट कार्यक्रम गर्न हुन्थ्यो तर यसमा प्रत्यक्ष भेटेकोजस्तो रमाइलो हुँदैन ।’ ‘लरक्कै लक्र्याे रातो सारी भुइँमा’ जस्ता चर्चित गीतमा आवाज दिनुभएकी हमाललाई पछिल्ला तीजका गीत–सङ्गीतमा मौलिकता हराउँदै गएकोमा चिन्ता छ । ‘आधुनिकताका नाममा गीतको मौलिकपन लोप हुनुहुँदैन,’ उहाँले भन्नुभयो, ‘धेरै राम्रो चामलसँग केही बियाँ पनि आउँछ, जसलाई केलाउने हामीले नै हो ।’ फेरि पहिलेको तीजमा माइती भेट्ने, मीठोमसिनो खाने चलन थियो । अहिले त्यसको ठीक उल्टो भएको उहाँले बताउनुभयो ।
नारीका दुःख, वेदना व्यक्त गर्ने माध्यमका रूपमा रहेको तीज गीतले पछिल्लो समय बहुल विषय र भावलाई मुखरित गर्न थालेको छ । विश्वलाई आक्रान्त पारिरहेको कोरोनाका अनेक पाटा, पक्षलाई समेत यसले पक्डन भ्याएको छ । कतै सन्देशका रूपमा, कतै व्यङ्ग्य त कतै दुःख, वेदनाको शैलीमा कोरोना प्रकट भएको छ । ऐतिहासिक चाड गीतको उपमा पाएको तीज गीतमा कोरोनाले नयाँ विषयवस्तु थपिदिएको छ । तीजको मौसमी सङ्गीत बजारमा यीखाले गीतको भिन्नै प्रभाव भएको पाइन्छ ।
गायिका सुनिता दुलाल यसपालिको तीजमा फेसबुक लाइभमार्फत आफ्ना ‘फ्यान’लाई विभिन्न गीत सुनाउने योजनामा हुनुहुन्छ । ‘आमाछोरी, दिदिबाहिनी नेटमै भेटुँला, मनको व्यथा पोखौँला न्यास्रो मेटौँला, यसपालिको तीज मनाऊँ फेसबुक हेरेर’ आफूले कोरोनालाई नै इङ्गित गरेर गीत नबनाए पनि कोरोनासँग मिल्दोजुल्दो भएको उहाँको भनाइ छ । दुलाल भन्नुहुन्छ, ‘पहिला मौलिक गीतलाई धेरै मान्यता दिइन्थ्यो तर अहिले तीजको नाममा भड्किला गीत आउँदा केही विकृति थपिएको हो कि जस्तो लाग्छ । यो कोरोनाले तीजलाई मात्र नभएर हाम्रो महान् चाड दसँैं र तिहारलाई पनि असर पार्ने कुरामा आफू ढुक्क रहेको उहाँले बताउनुभयो ।
तीज साझा चाड बनिसकेको छ । बाहुन, क्षेत्रीमा मात्र सीमित यो चाड अहिले अन्य जातजाति र धर्मावलम्बीले पनि मनाउन थालेका छन् । यसलाई धार्मिक सहिष्णुताको उदाहरणका रूपमा लिन सकिन्छ । फेरि रमाइलो गर्न, राम्रो लगाउन र मीठो खान कसलाई मन पर्दैन होला र ? हिजोआज देखिने तीजको लहरले यसलाई पनि सङ्केत गर्छ । तर, यसपटकको कोरोनाले भने धेरैको यस्तो रहरलाई चकनाचुर बनाइदिएको छ । कोरोना महामारीबीच तीज गीत बनाउँदा, गाउँदा र छायाङ्कन गर्दा धेरै गाह्रो भएको गायिका हरिदेवी कोइराला सुनाउनुहुन्छ । अहिले तीजको मौलिकता र तीजको मर्ममा नै प्रहार हुनेखालका गीत बजारमा आउन थालेको गायिका कोइरालाको भनाइ छ । ‘तीजलाई जथाभावी प्रयोग गरिदिनाले यसको सौन्र्दय नै बिग्रिएको छ,’ कोइरालाले भन्नुभयो, ‘कतै दस वर्षपछिको पुस्ताले तीजलाई एकदेशको कथा भन्ने हो कि भन्ने जटिल प्रश्न पनि उब्जिएको छ ।’ एक हजारभन्दा बढी गीतमा स्वर दिनुभएकी चर्चित गायिका कोइरालाका तीज गीत समसामयिक विषयदेखि नारी जागरणसम्मका छन् । उहाँका शिरै लाउने शिर फूल..., लेकै फुल्यो..., सल्लबल्ल..., उठ नारी उज्यालो भइसक्योजस्ता दर्जनौँ गीतले अहिले पनि श्रोताको मनलाई आह्लादित बनाउँछ । सङ्गीत नाट्य प्रतिष्ठान परिषद् सदस्यसमेत रहनुभएकी कोइरालाले सयौँ गीतका शब्द–रचना गर्नुभएको छ ।
हरितालिका शब्दमा रहेको हरिता र आलिका यी दुई शब्दको अर्थ क्रमशः हरण गरिएकी र साथीहरू हुन्छ । यो प्रसङ्ग पार्वतीसँग जोडिएको धर्मशास्त्रमा उल्लेख भएको पाइन्छ । जसअनुसार जङ्गलमा गएर महादेव वर पाऊँ भनी पार्वतीले व्रत बसेको र यही व्रतको प्रभावले पार्वतीले महादेव वर पाएको भन्ने कथन छ । यही कथनका आधारमा अहिलेसम्म अविवाहित केटीले राम्रो वर पाइयोस् र विवाहित महिलाले पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तीज व्रत बस्ने र शिवालयमा पूजा गर्ने चलन चलेको बताउनुहुन्छ संस्कृतिविद् तुलसी दिवस । समयसँगै महिलाले जागरणका गीत गाउनुपर्ने सुझाव उहाँले दिनुुभयो । अबका तीज गीत–सङ्गीतमा महिलामा आएको राजनीतिक, सामाजिक परिर्वतन पनि समेटिनुपर्ने उहाँको भनाइ छ । संस्कार रहे संस्कृति रहन्छ र संस्कृति रहे हाम्रो अस्तित्व र परिचय रहन्छ । तीजको धार्मिक, साँस्कृतिक महŒव जति छ, त्यति नै तीजको अवसरमा गाइने गीतको महŒव पनि उत्तिकै छ । जे होस् यसपालिको तीज कोरोनाबीच आएको छ । श्रीमान्ले माइत नजाऊ भन्लान्, श्रीमतीले जाने जिद्दी गर्लिन् । एकातिर सुरक्षित भएर माइत जाने, आमासँगै बसेर दर खाने रहर छ, अर्कातिर कोराना लाग्यो भने के गर्ने भन्ने पीर पनि छ । दरको जोहोसँगै यी दुवैलाई मिलाउनुपर्ने बाध्यता यसपालिको तीजमा हाम्रा चेलीलाई परेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?