logo
२०८१ मंसिर १० सोमवार



बोरोबुडुरका वास्तुकार

शनिवार |


बोरोबुडुरका वास्तुकार


प्रा. त्रिविक्रम भट्टराई

नेपालमा लिच्छविकाल र मल्लकालमै उत्कृष्ट कलाकार तथा वास्तुविद्को जन्म भइसकेको थियो । यसको ज्वलन्त उदाहरणका रूपमा भक्तपुरको पाँचौँ शताब्दीमा निर्मित चाँगुनारायणको मन्दिरलाई लिन सकिन्छ । नेपाली वास्तुकलाको प्रशंसा त्यस समयमा यहाँ भ्रमण गरेका विदेशी पर्यटकले मुक्तकण्ठले गरेका छन् । यतिमात्र होइन, विदेशमा नेपाली वास्तुकलाको प्रचार गर्न पनि यी पर्यटकको योगदान छ । नेपाली कलाकार र वास्तुविद् उम्दा भएकै कारण चीनको मङ्गोलियन शासक कुब्लाइ खानको पालामा त्यहाँबाट माग भएको थियो । मागबमोजिम सन् १२६० मा नेपालबाट कलाकारको एक टोली चीन प्रस्थान गरेको थियो । टोलीको नेतृत्व एक १६ वर्षे बालक बलबाहुले गरेका थिए, जो पछि अरनिको नामले प्रख्यात भए । अरनिकोले निर्माण गरेका थुप्रै मन्दिरमध्ये बेइजिङको प्रख्यात सेतो प्यागोडा पनि एक हो । उनै अरनिकोलाई नेपालले करिब नौ सय वर्षपछि राष्ट्रिय विभूतिको सम्मान प्रदान गरेको छ ।
अरनिकोभन्दा करिब पाँच सय वर्ष अगाडि नै एक नेपाली वास्तुविद्ले आफ्नो कलाकारिताको उत्कृष्ट नमुना विदेशमा देखाइसकेका थिए । यी नेपाली वास्तुविद्का बारेमा हामीलाई कुनै जानकारी नै छैन । इन्डोनेसियामा रहेको विश्वप्रसिद्ध सम्पदा बोडोबुडुर नेपाली वास्तुविद्द्वारा निर्मित एक नमुना हो ।
बोरोबुडुर जाभा प्रान्तको केडु उपत्यकामा अवस्थित एक प्राचीन बौद्ध सम्पदा हो । यो एक महायान बौद्ध मन्दिर हो । बोरोबुडुरको शाब्दिक अर्थ उच्चस्थलमा अवस्थित बुद्धविहार हो । यसको निर्माण आठौँ र नवौँ शताब्दीमा शैलेन्द्र वंशको शासनकालमा भएको थियो । शैलेन्द्र वंशकोे शासन जाभामा पाँच सय वर्ष अर्थात् १०औँ शताब्दीसम्म चलेको थियो । उक्त समयको एक हिन्दु राजा राकाइ पानाङ्करणले यस मन्दिर निर्माण गर्न त्यहाँको बौद्ध सम्प्रदायलाई स्वीकृति दिएका थिए । यो मन्दिर निर्माण गर्न उनले कलासन नामको गाउँ त्यहाँको बौद्ध समुदायलाई प्रदान गरेका थिए । बौद्ध धर्मावलम्बी र हिन्दुबीचमा त्यस समयमा त्यहाँ कुनै विवाद थिएन । दुवै समुदाय सौहार्द रूपमा एकै ठाउँमा बसेका थिए । हिन्दु र बौद्ध समुदायले उत्कृष्ट धार्मिक सामन्जस्यताको उदाहरण प्रदर्शन गरेका थिए । यसप्रकारको सामन्जस्यपछिका सरकारले भने देखाउन सकेनन् ।
बोरोबुडुर केन्द्रीय जाभामा योज्ञकर्ताको ४० किमि उत्तर–पश्चिममा र सुरकर्ता सहरको ८६ किमि पश्चिममा पर्छ । यो प्रोगो र एलो नदीबीचमा पर्छ । यसै क्षेत्रमा अरू दुई प्रसिद्ध बुद्ध मन्दिर पवन र मेन्दुत पनि छन् ।
हिन्दु राजाको अवसानपछि १४औँ शताब्दीमा इस्लाम राज्यको स्थापनापश्चात् बोरोबुडुर पूर्ण रूपमा उपेक्षित रह्यो । यो सम्पदा शताब्दीयौँसम्म ज्वालामुखीको खरानीले पुरिएर रह्यो । अनि यो क्षेत्र घना जङ्गलमा परिणत भयो । यस अद्भुत सम्पदाबारे विश्वलाई जानकारी त्यसबेला मात्र भयो, जब सन् १८१४ मा जाभाको ब्रिटिस शासक सर थोमस स्टामफोर्ड राफल्सको शासनकालमा यस स्थलमा उत्खनन भयो ।
उत्खननपछिका थुप्रै पुनःस्थापन योजना बोरोबुडुर क्षेत्रमा लागू गरियो । इन्डोनेसिया सरकार र युनेस्कोले सन् १९७५ देखि सन् १९८२ सम्म लगाएर गरेको वृहत् पुनःस्थापन योजनापछि मात्र बोरोबुडुर हालको आवस्थामा आइपुगेको हो । यसको पुनःस्थापनमा अधिकतम पुरानै सामग्रीको प्रयोग गरिएको छ । यसलाई सन् १९९१ मा युनेस्कोले विश्व सम्पदामा सूचीकृत गरेको हो ।
संसारका ठुल्ठूला बौद्ध मन्दिरमध्ये बोडोबुडुर पनि एक हो । यो खण्डाकार पिरामिड आकारको मन्दिर हो । यसका नौवटा तला छन् र हरेक तला एक–एक मञ्चका रूपमा रहेका छन् । जसमा तल्लो छवटा वर्गाकार र त्यसमाथि तीनवटा गोलाकार मञ्च छन् । सबैभन्दा माथि केन्द्रमा एउटा गुम्बज पनि छ । यस विशाल मन्दिरको जग चार मिटर गहिरो छ र यो १२३ मिटरको वर्गाकार क्षेत्रमा फैलिएको छ । मन्दिरको उच्च भाग केन्द्रीय गुम्बजको टुप्पो हो, जुन जमिनबाट ३५ मिटर अग्लो छ । यसको चारै दिशमा एक–एकवटा भ¥याङ छन् । यी भ¥याङबाट माथिल्लो मञ्चसम्म उक्लिन सकिन्छ । तीर्थयात्रीहरू यस मन्दिरको परिक्रमा गर्दा पूर्वको भ¥याङबाट चढ्दै हरेक खण्डमा दाहिने घुम्दै माथि चढ्छन् । यसरी नौवटै तला परिक्रमा गर्दै माथि टुप्पोसम्म पुग्न तीर्थयात्रीले ५ किमिभन्दा बढी हिँड्नुपर्छ । मन्दिर २६७२ कुदेका मूर्ति र ५०४ बुद्ध मूर्तिले सजिएको छ । केन्द्रमा रहेको गुम्बजको वरिपरि ७२ वटा स्तूपमाथि बसेको बुद्ध मूर्ति छ । मूर्तिमा बौद्ध धर्म, शिक्षा, बुद्धको आदि जीवन र बौद्ध सूत्रको वर्णन गरिएको छ ।
मन्दिरले बौद्ध धर्ममा आधारित निर्वाण प्राप्तिको बाटोलाई वर्णन गरेको छ । तलदेखि माथिका खण्डमा रहेका मूर्तिले बौद्ध दर्शनले बताएको मोक्ष प्राप्तिको मार्गलाई चित्रण गरेको छ । यसका विभिन्न खण्डमा बोधिसत्वका मूर्ति छन् । यी मूर्तिले विभिन्न तहको ज्ञानोद्दीपन हासिल गरेका थिए । सबैभन्दा माथिको गुम्बजको मूर्तिले ज्ञानोद्दीपको सबैभन्दा माथिल्लो तह मोक्ष प्रप्तिलाई अङ्कित गरेको छ ।
यसरी बौद्ध धर्ममा आधारित मोक्ष प्राप्तिको बाटोलाई दर्शाउँदै र जाभाली बौद्धकलाको मिश्रणसहित यस मन्दिरको निर्माण गरिएको छ । यसमा भारतको गुप्ता वास्तुकलाको प्रशस्त प्रभाव देखिन्छ । यसका बाबजुद यसमा प्रशस्त जाभाली मौलिकता पनि छ । यी सबै कलाको मिश्रणले बोडोबुडुरलाई एउटा अद्वितीय इन्डोनेसियाली मन्दिर भन्न सकिन्छ । यहाँको वास्तुकला र कलाकारितामा नेपाली वास्तुकलाको प्रभावबारे कुनै अध्ययन भएको पाइएको छैन । यसप्रकारको वास्तुकला संसारमा अर्को कहीँ छैन । संसारकै लागि बोडोबुडुर प्राचीन वास्तुकलाको उत्कृष्ट नमुना हो । यसको निर्माणमा सिमेन्टजस्ता दुई ढुङ्गाा जोड्ने कुनै पनि वस्तु प्रयोग गरिएको छैन । सबै ढुङ्गा ‘लेगो ब्लक्स’मा जस्तै गरी एक ढुङ्गाले अर्को ढुङ्गालाई समाउँदै बनाइएको छ र पूरै मन्दिर एकढिक्काको बनेको छ ।
यो सम्पदालाई भगवान् बुद्धको पवित्र मन्दिरका रूपमा लिइन्छ र हरेक वर्षको वैशाख पूर्णिमा (बुद्धपूर्णिमा)मा यहाँ ठूलो सङ्ख्यामा बौद्ध धर्मावलम्बी भेला भई बुद्धजयन्ती मनाउँछन् । इन्डोनेसियामा सबैभन्दा बढी पर्यटकले भ्रमण गर्ने मन्दिरहरूमध्ये यो पनि एक हो ।
यस विशाल सम्पदाको योजनाकार तथा वास्तुविद् नेपालबाट आएका हुन् । यी व्यक्तिको नाम गुणधर्म र उनी एक कवि तथा विचारक पनि थिए । यिनको जन्म नेपालको ललितपुर (पाटन) मा भएको थियो । यिनी भारत, श्रीलङ्का हुँुदै इन्डोनेसिया पुगेका थिए भन्ने भनाइ छ । इन्डोनेसियाको यस प्रसिद्ध मन्दिरको नाम बोरोबुडुरबाट विश्वविद्यालय, होटेल र भोजनालयको नामकरण गरिएको छ । यहाँको एक रुपियाँको नोटमा पनि बोरोबुडुर अङ्कित गरिएका छ । नेपाली वास्तुकार गुणधर्मको नाममा पनि इन्डोनेसियामा एक विश्वविद्यालयको नामकरण गरिएको छ ।
अरनिकोबारे धेरै तथ्य चीनमा प्रकाशित कृतिमा वर्णन गरिएको छ । विश्वासिला स्रोतबाट हामीलाई नेपालका यी ऐतिहासिक पुरुषका बारेमा थुप्रै जानकारी प्राप्त भएको छ । यसकै आधारमा अरनिकोलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरिएको हो । अरनिकोभन्दा पाँच सय वर्ष पहिले नै नेपालबाट इन्डोनेसिया पुगेर बोरोबुडुरजस्तो प्रसिद्ध विश्व सम्पदा निर्माण गर्ने नेपाली वास्तुविद् गुणधर्मबारे हामीलाई कम जानकारी छ । अहिलेसम्म नेपालले उनका बारेमा कुनै सोधखोज गरेको देखिँदैन ।
आजभन्दा तेह्र शताब्दीपूर्व विदेशमा आफ्नो उत्कृष्ट कला प्रदर्शन गर्न सक्षम नेपाली वास्तुविद् गुणधर्मका बारेमा नेपाल सरकार र नेपाली विद्वान्ले अनुसन्धान गरी तथ्यहरू विश्वसामु ल्याउनु आवश्यक छ । गुणधर्मको पुर्खाका बारेमा र उनले निर्माण गरेको विश्व सम्पदामा आठौँ शताब्दीको नेपाली कलाकारिताको प्रभाव के–कति देखिएको छ, यसबारेमा विस्तृत अध्ययन गर्नुपर्छ । नेपालको पुरातŒव विभाग, नेपाली इतिहासकार, वास्तुविद् र संस्कृति विज्ञले अध्ययन गरी वास्तविकता उजागर गर्नु आवश्यक छ । अनि पो पुर्खाको यसप्रकारको उत्कृष्ट योगदानमा हामी सबैले गर्व गर्न सक्छौँ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?