रमेश गोर्खाली
प्रत्येक नागरिकले ‘सामाजिक पारिस्थितिकी’लाई चिन्नु आवश्यक छ । समाजको तरलता र गत्यात्मकतालाई नबुझी कोही अगाडि बढ्न सक्दैन । पुस्तागत रूपमा अल्पज्ञात र अनायास प्रत्येकले युगीन जीवनको आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक सन्दर्भलाई बेहोर्नुपर्छ । मान्छे–मान्छेबीचको अन्तरसम्बन्ध होस् वा नकारात्मक विसङ्गति, प्रत्येकलाई सामाजिक हलचलको ज्ञान जरुरी छ । हामी प्रत्येकले पुरानो पुस्ताको कीर्तिवत्ता र यशस्वीतालाई भोग्ने गर्छौं र भोगिरहेका छौँ । सामयिकताको सौन्दर्यलाई अँगाल्नुमा पूर्ववर्तीको परोक्ष प्रत्यक्ष अवदान हुने प्रत्येकले ठम्याउनुपर्छ ।
शताब्दीवरिपरि बाँच्न मिल्ने र सकिने नागरिक जीवनको एउटा महŒवाकाङ्क्षा हुन्छ । देश र परदेशका विविधाङ्गी जीवनी खोतल्दा मान्छेको जिन्दगीको आयुर्दासूचक यस्तै परिचयाङ्कन हामी भेट्टाउने गर्छौं । महाकवि देवकोटाको ‘मार्ग’को कविताङ्गी अभिकथन छ, ‘उडी छुनु चन्द्र एक ।’ विशेषतया अधिसङ्ख्यकको जीवनावधि घरगृहस्थी र सम्बद्ध कार्ययोजनाले अग्रतातिर लम्किन्छ । भावी पुस्ता र समाजका लागि केही गरौँ भन्दा भन्दै एकथरीको लामो समय घर्किन्छ । विकासोन्मुख र अति कम विकासोन्मुख राष्ट्रका थुप्रै नागरिकले एकप्रकारले हातमुख जोर्ने समस्यामा लामो जीवनायु त्यसै खेर फाल्ने गरेको स्थिति छ ।
राजनीतिक प्रणालीको विवेकपूर्ण परिचालनमा प्रायः गरी व्यक्तिको सम्पूर्ण जीवन निर्धारित हुन्छ । वर्गीय जीवनले गर्दा मान्छेका कतिपय इच्छा र आकाङ्क्षा स्वतः खारेजीमा परेको भेटिन्छ । के गरौँ र नगरौँको उत्साह उदराग्निको ज्वालाले नामेट पर्छ । विगतलाई मूल्याङ्कनको दृष्टिले नियाल्दा कतिपय विविध ठुल्ठूला कुरा ठूला मानिने मान्छेले भन्दा साधारण र अति साधारण मान्छेले निर्माण गरेको भेटिन्छ अथवा भनौँ उत्पीडितको पसिनाले निर्माणको संरचना ठडिएको हुन्छ । नैराश्य र उदासीनतालाई स्थायी केन्द्रबिन्दु बनाई कसैलाई कुनै दीर्घकालीन फाइदा छैन । भविष्यको रेखाचित्र र मार्गचित्र आफैँले कोर्ने हो एवम् त्यसमा राम्ररी संलग्न हुँदा फलशील परिणाम निस्कने वस्तुबोधमा हामी आस्थाशील बनौँ ।
पारिवारिक, सामाजिक र स्वास्थ्यजन्य अनेकानेक कारणले सामयिक चिन्तन दुर्बल भएको हुन सक्छ । यसर्थ, वैयक्तिक दुस्साहसलाई प्रत्येकले आफँैभित्र हुर्काउनुपर्छ । परिणामलाई सोची कदम उठाउनुभन्दा सार्थक गतिशीलता प्रत्येकलाई उपयोगी ठहरिन्छ । एउटा ‘युटोपिया’ यस्तोसमेत हुन्छ, हामीले देख्यौँ र बुझ्यौँ कि प्रत्येक मान्छे निर्माता हुन् तथा रहेछन्, समाज एवम् राष्ट्रका । आफूमा अन्तरनिहित उपशक्तिलाई प्रत्येकले चिन्नुपर्छ र त्यसको उष्माले एउटा उदाहरण बनाऔँ ।
कपोलकल्पित ईश्वरीय विशेष शक्तिले कसैलाई उठाएको हुँदैन । वस्तुतः दैवी उपासनाले ज्ञात र अज्ञात रूपमा मानवीय आन्तरिक सामथ्र्यलाई सजग तुल्याउने गर्छ । एक्काइसौँ शताब्दीको मध्यान्तर विविधाङ्गी दृष्टिले ऊर्जाशील छ । साइबर अभिज्ञानले ब्रह्माण्डनिकट र निकटतम बनेको परिस्थिति छ तथा थुप्रै कुरामा अब पारस्परिक साझेदारी प्रमुख मुद्दा बन्दै गएको छ । यसबाट हामीले अनेकौँ किसिमले लाभ लिइरहेका छौँ र भविष्यमा झन् बढी लाभ पाउने हुनेछौँ । उच्चतम प्राविधिक अन्तरविकासको आफ्नो महत्ता छ । तर, के अझै सबैजना यसबाट लाभान्वित छन् त ? एउटा अस्पष्ट आशङ्का जन्मिन पुग्दछ । बाङ्गो कूटनीति र कुटिलताले सभ्यताको आदिबिन्दुदेखि मान्छेलाई गाँज्दै आएको यथार्थ हो । वैश्विक गतिविधि नियाल्दा एकथरीले सबैथोक पाए पनि इमानदारी अभावले अन्य पक्ष अज्ञात ढङ्गमा अन्यायको भासमा परेको ठहरिन्छ । कतिपयले संवैधानिक दृष्टिले ‘अब परिवेशमा जाति, धर्म, भाषा, सम्प्रदाय, क्षेत्रीयता र रङको भेदभाव छैन तथा रहेन’ भन्छन् । तर, के यो सतप्रतिशत साँचो हो र सन्देहास्पद परिस्थिति किन जन्मिन्छन् भने माकुरे जालो बुन्न संचेतनाको दृष्टिले अझै एकथरी धेरै अगाडि छन् । त्यसैले अझै सीमान्तकृत छन् र ती ठीक किसिमले लाभान्वित नभएको प्रस्ट छ ।
यसमा कसैको दुविधा हुनुहुँदैन । मानवपीडक अदृश्य कुटिलताले मानवीय विवेकलाई अभैm राम्ररी जगाउन सकेको देखिँदैन । प्रत्येक दिन हामी कहीँ न कहीँ धेर–थोर थोत्रिदै छौँ र भत्किदै छौँ । त्यसमा सबैजना सतर्क हुनुपर्छ । अनपेक्षित परिघटनाले हाम्रो दायित्व र कर्मठता न्यूनीकृत हुनुहुँदैन । त्यसको दिनानुदिन झन् बढोत्तरी भएको हुनुपर्छ । ऐतिहासिक रूपमा कतिपय बाधा र व्यवधान खप्दै हामीलाई पूर्वजले ‘समकालीन सुकिलो परिवेश’ दिएर गए तथा सहअस्तित्व चेत वातावरण तयार गरे । तर, भोलिको पुस्ताका लागि वर्तमानको बोझले हामीबीच कतिपय ठीक सीमारेखामा खडा रहेको प्रतीत हुँदैन । नियोजित रूपमा प्रत्येकले स्वच्छन्द पर्यावरणमा गर्नुपर्ने कार्यको सूची लामो छ । लक्ष्य र आरोहण सदैव चुलिएको हुनुपर्छ सम्बद्धको । धराशयी भविष्यबारे सोच्नु नै घातक मान्नुपर्छ प्रत्येकले ।
सचेत नागरिकले आफ्नो स्वविवेकले अनेकार्थी कार्य गर्दै अरूको विवेक जगाउने प्रारम्भ आजैबाट थालौँ एवम् पूर्ववर्तीले उत्तरवत्र्ती पुस्तालाई दिने सुकार्य र व्यवस्थापनलाई नवपुस्ताको वैभव ठानौँ । यही तथ्याङ्क यथार्थ हो र सुकिलो भविष्यको समुज्ज्वलता यसैमा अन्तरभूत रहेको सत्यलाई आत्मसात् गर्नु उचित छ ।