प्रा.डा. धर्मराज डङ्गोल
कोरोना भाइरस (कोभिड–१९) को महामारीले २०७६ साल चैत ११ गतेदेखि सरकारले बन्दाबन्दीको घोषणा ग¥यो । यसले हामीहरू सबै घरभित्रै बस्न बाध्य भयौँ । के गर्ने ? टीभी हेर्ने, छोराछोरी र नातिनातिनासँग खेल्ने, घरको सरसफाइ गर्ने, करेसाबारीमा काम गर्ने, करेसाबारी नहुनेले कौसी, बरन्डा, भ¥याङ जहाँ तरकारी, फलफूल लगाउन मिल्छ, त्यहाँ लगाउन थाले । पहिलेदेखि कौसी खेती गरेकाले कौसीमा थप काम गर्न थाले । बन्दाबन्दीको सदुपयोग गर्न थाले ।
बन्दाबन्दी लम्बिँदै गयो । कौसी खेती गर्न जानेकालाई समस्या परेन । नजानेकालाई जानेकाले कौसी खेती गर्ने तरिका के हो ? कसरी गर्ने भन्नेमा अनलाइन (वेबिनार)बाट समेत तालिम दिन थाले । धेरैलाई फेसबुक चलाउन फुर्सद मिल्यो । धेरैको कौसी खेतीबारेमा पोस्टहरू आउन थाले । कौसी खेतीको वेबिनारबाट तालिम लिई कौसीमा तरकारी रोप्न थालेका, फूलहरू गोड्न थालेका र आफूहरूले गरेका कामहरू पोस्ट गर्न थाले ।
सानो ठाउँमा पनि तरकारी फलफूल कसरी लगाउने भन्नेबारे धेरैले फेसबुकमा पोस्ट गरेको पाइन्छ । अझ यस्ता पोस्टमा कसैले झोल मल बनाएर खेतीमा प्रयोग गरेका कुरा, कसैले गँड्यौला मलबाट तयार पारिएका मलहरूका बारेमा, कसैले मल तयार गर्ने विधिहरू पनि उल्लेख छन् । झोल मल बनाउने स्मार्ट बकेटदेखि स्मार्ट ग्रो ब्यागमा बिरुवा लगाउने जानकारी पनि प्रचार–प्रसार हुन थाले । कौसीमा भएका बालीमा भिन्नभिन्न किसिमका वनस्पति रोपेको कुरा पनि देख्न पाइयो । अनि मलाई पनि कसले के–के तरकारी, के–के फूल लगाएको, के–के फलहरू लगाएको जान्न मन लाग्यो । साथै मसला बोट के–के लगाएका छन्, फूलहरूमा शोभाका लागि र देवीदेवतालाई चढाउन दुबो, धतुरोदेखि गुलाफ, श्राद्ध गर्न आवश्यक वनस्पति पनि लगाएको देखिन्छ ।
कीर्तिपुरको आवास क्षेत्रमा बस्ने समाजसेवी राममानको कौसी बगैँचा पनि हेर्न गएँ । तरकारी, फलफूलबाहेक उहाँको कौसीमा मैले सिस्नु पनि देखेँ । कीर्तिपुरकै हनुमानघाटमा बस्ने रामकुमार पाण्डेको कौसीमा उखु, कडिपत्ता र आँक पनि देखेँ । यहाँ जाँदा सन् २०१७ मा पाटनको सुन्धारानिवासी डा. निर्मला जोशीको कौसीमा गएको सम्झना भयो । म मेरो भतिज अनुज डङ्गोलको कौसीखेतीबारेमा थेसिसका लागि अनुसन्धान गर्दा गएको थिएँ, केही फोटो पनि खिचेको र केही समय डा. निर्मलासँग पनि छलफल गरेको थिएँ । उहाँको कौसीमा अरूको भन्दा भिन्दै किसिमका बोटबिरुवा लगाइएका थिए ।
आज फेरि उहाँको कौसीमा के–के छ भन्नेबारे जानकारी लिऔँ । बन्दाबन्दी भएको बेला एक महिनाअघि उहाँसँग फेरि के–केको बोन्साई छ भनेर मेसेन्जरबाट सोधेको थिएँ । उहाँले वर, पीपल, समी, डिम्मर, डुम्री, गुलाबजामुन, जामुन, अम्बा, फिरफिरे, अनार, टिम्मुर, तेजपात, सुगन्धकोकिला, कपुर, एभोकाडो, मदिलो, जुरे मयल, चिउरी, बेल, अमला, टाँकी, कोइरालो, राजवृक्षका बोन्साई छ भन्नुभयो । मलाई उहाँको काम धेरै महŒवपूर्ण लाग्यो । अरूले कौसीमा फूल लगाउँछन्, तरकारी रोप्छन् । तर, डा. निर्मलालाई चाहिँ बोन्साईमा इच्छा रहेछ । यो इच्छा उहाँलाई २०३८ सालदेखि नै लागेको रहेछ । सुरु–सुरुमा उहाँले सल्लालाई ‘धौ भ्यगचा’ (दही राख्ने माटोको भाँडो) मा रोपेर बोन्साई गर्नुभएको रहेछ । त्यो बेला आँपलाई बोन्साई गर्नुभएको उहाँले जानकारी पनि दिनुभयो ।
२०४१ सालमा वनस्पति विभाग, राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरीमा काम गर्दा शाही वनस्पति उद्यान (हाल ः राष्ट्रिय वनस्पति उद्यान) मा ग्लास हाउसमा राखेको बोन्साईका थरीथरीका वनस्पति देखेपछि त झन् उहाँको मन बोन्साई प्रविधिले तानेको तान्यै भयो । उहाँले यस उद्यानमा जापानको बोन्साईभन्दा कम नभएको बताउनुभयो । जापानको नाउँ आउनेबित्तिकै क्योटोको बोटानिकल गार्डेनको बोन्साई, टोकियो बोटानिकल गार्डेनको बोन्साई र ओसाकाको बोटानिकल गार्डेनकोे बोन्साईलाई सम्झन पुगेँ ।
बोन्साई जापानी भाषाको शब्द हो । बोन (ट्रे) र साई (रूख) बाट बनेको बोन्साइको अर्थ रूख जातिलाई ‘ट्रे’ (होचो भाँडो)मा रोप्ने र हुर्काउने कला र प्रविधि हो । बोन्साई गरेको बिरुवा रूखको अति सानो रूप हो । यसको साइज ६० सेमिसम्म अग्लो हुँदोरहेछ । पाँच सयदेखि एक हजार वर्षसम्मको बोन्साई बोट पाउन सकिँदोेरहेछ । वर पीपलको परिवारका वनस्पतिमा बोन्साई गर्न सजिलो हुने डा. निर्मलाको अनुभव छ । वर, पीपल, डुम्री, समी, अन्जिर, खनायो आदि जातका वनस्पति वर–पीपल परिवारभित्र पर्छन् ।
बोन्साई बनाऔँ र आफ्नो मन पर्नेलाई आफूले बनाएको बोन्साई बिरुवा उपहार दिऔँ । यसले सहरी हरियाली कायम गर्न मद्दत गर्छ । थकावट कम गर्छ । चिन्ता हट्छ, स्फुर्ति बढ्छ । वातावरण प्रदूषण घटाउन मद्दत गर्छ । कौसीको सौन्दर्य बढाइदिन्छ साथै घरमा शुभलाभ हुन्छ । बोन्साईको यस्ता धेरै फाइदाबारे डा. निर्मलाले हामीलाई बताइदिनुहुन्छ र सिक्न चाहेमा सिकाइ दिनुहुन्छ । उहाँले कौसीका बोन्साई बिरुवाको संरक्षण गर्दै जाने, नेपालका संस्कारलाई चाहिने केही थप मौलिक वनस्पतिको बोन्साई गर्ने, फल खान हुने रैथाने र लोप हुन लागेका केही वनस्पतिको पनि बोन्साई गर्ने जानकारी दिनुभयो । स्कुल, कलेज र विश्वविद्यालयका शिक्षक विद्यार्थीलाई र दिदीबहिनीलाई पनि सिकाउँदै जाने उहाँको योजना छ ।
मलाई पनि बोन्साई कसरी गर्ने भनेर उहाँसँग सिक्न मन छ । अब त बन्दाबन्दी खुलिसक्यो । तपार्इंलाई पनि सिक्न मन लाग्छ भने हामी सँगै सिकौँ ? अब शैक्षिक संस्थाहरूले पनि आफ्ना शिक्षक र विद्यार्थीलाई बोन्साई प्रविधि सिकाउँदा लाभदायक नै हुन्छ । बोन्साई सिकेर आफ्नो घरलाई सजाऔँ, शैक्षिक संस्था सिगारौँ र वनस्पतिको पनि संरक्षण गरौँ ।